विहान ७ बजेबाट बेलुका ८ बजेसम्म वडाकै काममा दौडिरहनु परेको छ । एक मिनट पनि फुर्सद मिल्दैन । प्रदेशको राजधानी बुटवलमा छ। अहिलेसम्म कुनै पनि मन्त्रालयमा जान पाएको छैन । मन्त्री र सांसदहरुलाई पनि भेटम भन्नलाई समय नै हुँदैन ।
ठूलो वडाको वडाध्यक्ष भएँ भनेर गर्व त लागेको छ। तर जनसम्पर्क चाँही बन्द हुने कसैसँग भेटघाट गर्नै नपाइने अवस्था छ । वडामा आउनेहरुसँग मात्र भेट हुन्छ ।
त्यहाँ पनि कामको चापले कागजातबाहेक सेवाग्राहीको अनुहार हेर्नेसम्म फुर्सद हुँदैन । आफ्नै वडाको टोल टोलमा जान समेत पाएको छैन । बुटवलका अरु वडाको जनसंख्या तीन चार हजारको हाराहारीमा जनसंख्या छ । केही वडाको अलि बढि होला ।
हाम्रो वडामा ६० हजार भन्दा बढि जनसंख्या छ । आफैं मुल्यांकन गर्नुहोस् कति वेफुर्सदी भइन्छ, कार्यालयमा कति भिड हुन्छ भन्ने कुरा । आउँदो महिना त अलि फुर्सद होला कि भन्यो । कार्यकाल भरि फूर्सद नै भएन । कर्मचारीलाई त शनिवार विदा हुन्छ, हामीलाई त विदाको दिन झन फुर्सद नहुने ।
अरु वडाका वडाध्यक्षहरुले वडासदस्यहरुलाई विभिन्न विषयको जिम्मा दिने गर्छन्। मैले आफ्नो वडामा क्षेत्र क्षेत्रको जिम्मा दिने गरेको छु । एउटा वडा सदस्यलाई एउटा भुगोल हेर्न र अर्कोलाई अर्को भुगोल हेर्न भन्नुपरेको छ। हाम्रो कार्यकाल त सकिन लाग्यो । अबको चुनावबाट आउने जनप्रतिनिधिलाई पनि उही समस्या नै हुन्छ।
२०७४ को स्थानिय तहको चुनाव अघि नै वुटवल उपमहागनरपालिका वडा नम्बर ११ विभाजन गर्न भनेर केन्द्रमा प्रस्ताव गरेको हो । तर वडाको सर्वदलिय बैठकले सहमती गरेर नै त्यसबेला वडा विभाजन गर्न पठाएको हो। त्यतिखेर विभिन्न कारणले भएन । अहिले म सहित वडाका सबै पदाधिकारीले वडा विभाजन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।
कुराकानीमा आधारित