बुटवल -बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको विकासे योजनाहरु फागुन महिनामै सक्ने गरि कार्यतालिका ल्याएको छ। उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले पूर्वाधार विकास निर्माण तर्फका योजनाहरु कार्यान्यवन गर्नको लागि बार्षिक कार्यतालिका ल्याएको हो। जस अनुसार उपभोक्ता समिति मार्फत सञ्चालित चालु आर्थिक वर्षका योजनाहरु फागुनमै सक्ने कार्यतालिकामा उल्लेख छ ।
योजना कार्यान्वयनको लागि साउन र भदौ महिनामा योजनाहरुको लगत स्टमेट गर्ने र उपभोक्ता समिति गठन गरिने उपमहानगरले जनाएको छ असोज महिना भित्र उपभोक्ता समितिलाई तालिम दिने र उनीहरुसँग सम्झौत गर्ने उल्लेख छ।
ठेक्का प्रक्रियाबाट सञ्चालित हुने योजनाहरुको सूचना भने भदौ महिनामा प्रकाशित हुने छ। असोज देखी मंसिर महिना भित्र ठेक्का सम्झौता हुने तय भएकाे छ।
उपभोक्ता समिति मार्फतका अघिल्लो आर्थिक वर्षबाट सरि आएका क्रमागत योजनाहरु असोज भित्रै सम्पन्न गराउने तालिकामा उल्लेख छ। फागुनमा उपभोक्ता समिति अन्तर्गतका योजनाहरु सम्पन्न भएपछि योजनाहरुको सुपरिवेक्षण अनुगमन फरफारक गर्ने उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै साउन, मंसिर र चैत्र महिनामा चौमाशिक प्रतिवेदन पेश गर्ने समय तोकिएको छ । ठेक्का प्रक्रियाका योजनाहरु भने सम्झौता बमोजिम हुने उल्लेख छ ।
अघिल्ला आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले बैशाख भित्र योजनाहरु सम्पन्न गर्ने गरि कार्यतालिका बनाउने गरेको थियो । तर मध्य असारमा पनि हतार हतार विकासका कामहरु भएको देखिन्थ्यो । गत २ आर्थिक वर्ष त विकासको काम सुस्त गतिमा हुनु कोरोना संक्रमण बहाना बनेको थियो ।
बुटवल उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले कोरोना संक्रमणले प्रभाव नपरेमा तोकिएको समयमै विकासका काम सकिने बताए । ‘योजना कार्यान्वयनको लागि हामीले अहिलेबाट काम सुरु गरेका छौं।’ उनले भने ‘गत वर्ष जस्तो अवस्था भएन भने तालिका अनुसार काम हुन्छ।’
कोरोना प्रभावित वर्ष भन्दा अघि पनि तोकिए अनुसार काम नहुँदा उपमहानगरले विचमै तालिका संसोधन गर्ने गरेको थियो। चालु आर्थिक वर्षमा पनि विशेष परिस्थितीले काम हुन नसकेमा पूर्वाधार विकास समितिले आवश्यक निर्णय गर्ने उपमहानगरले उल्लेख गरेको छ। 'कार्यसञ्चालन गर्ने क्रममा कार्यक्रम सञ्चालन गर्ने क्रममा विशेष परिस्थिती सिर्जना भइ समय थप गर्नुपर्ने भएमा आवश्यकता र औचित्यका आधारमा पूर्वाधार विकास समितिको निर्णय बमोजिम हुने छ।' उपमहानगरपालिको कार्यापालिकोको निर्णयमा भनिएको छ ।