बुटवल - भौगोलिक आकार र जनसंख्या समेत उच्च रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ लाई विभाजन गर्ने प्रस्ताव गरिएको छ। हालै बसेको उपमहानगरको नगरसभा बैठकमा वडालाई तीन भागमा विभाजन गर्न प्रस्ताव गरिएको छ ।
नगरसभाले प्रस्ताव गरेर प्रदेश सरकारमा पठाउँछ। संघिय सरकारले निर्णय गरेमा एक वर्ष भित्रै हुने स्थानिय तहको चुनावमा बुटवल ११ तीन वटा वडामा विभाजन हुने छ।
यो वडामा पर्ने तिनाउपारिको क्षेत्रलाई एउटा वडा र वारी दुईवटा वडा रहने गरि विभाजनको प्रस्ताव गरिएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। ‘९ र ११ नम्बर वडाको सिमाना सडकबाट देवीपथ हुँदै देवसिद्ध चोक, एन्फा एकेडेमीसम्मको सडकले वडालाई दुई भाग लगाउने प्रस्ताव छ ।’ उनले भने देवीनगर चौपारी, प्रगतिनगर हात्तीसुढ एउटा वडामा पर्छ । कालिकानगर, सिद्धनगर तल्लो देबीनगर लगायतका ठाउँ अर्को वडामा पर्छ । तिनाउपारीका मजुवा, बुद्धनगर, सिर्जनानानगर, नहरपुर लगायतका स्थान मिलाएर अर्को वडा बनाइने छ ।’
२०६८ सालको जनगणना अनुसार अहिलेको बुटवल -११ मा ७ हजार २ सय ५८ घर धुरी रहेको थियो । यो वडामा २८ हजार १ सय ९३ जनसंख्या रहेको तथ्यांक छ । तिब्र बसाइ सराइका कारण अहिले यसको दोब्बर बढि जनसंख्या पुग्न सक्ने वडाध्यक्ष क्षेत्री बताउँछन् । ‘अबको जनगणनामा ६० हजार भन्दा जनसंख्या बढि पुग्छ ।’ उनले भने ‘गत चुनावमा १३ हजार मतदाता थिए । अर्को चुनावमा २५ देखी ३० हजार मतदाता पुग्न सक्छन्।’
बुटवलको दोस्रो बढि जनसंख्या भएको वडा नम्बर ८ मा अघिल्लो जनगणना अनुसार ११ हजार ९ सय ४२ रहेको छ । यो बुटवल ११ को भन्दा करिब १४ हजारले कम हो। बुटवल ११ नेपालमै धेरै जनसंख्या भएका केही वडा मध्येमा पर्दछ । काठमाडौँ सहितका महानगरका केही वडा मात्र यहाँको भन्दा बढी जनसंख्या छ।
ठूलो भुगोल र जनसंख्याको चाँप हुदाँ जनप्रतिनिधिहरुलाई निकै गाह्रो भएको बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । ‘विहान ७ बजेदेखी बेलुका ८ बजेसम्म व्यस्तको व्यस्त भइने । वडा बाहिर काम विशेषले जान पनि समय नै नहुने ।’ उनले भने ‘हाम्राे त वयस्त भएरै कार्यकाल जान लाग्यो । अर्को चुनावपछि आउने जनप्रतिनिधिलाई कामको चाप नहोस भनेर वडा विभाजन गर्नै पर्ने अवस्था छ ।’ वडा कार्यालयमा पनि सेवाग्राहीको अत्याधिक भिड भइरहने क्षेत्रीले बताए ।
अहिलेको बुटवल ११ लाई विभाजन गर्ने प्रस्ताव २०७४ सालको स्थानिय चुनाव अघि नै गरिएको थियो । त्यसबेला चुनावका लागि मतदाता छुट्याउन गाह्रो हुने भएकाले निर्वाचन आयोगको अनुरोधमा कुनै पनि वडा विभाजन गरिएको थिएन।
पार्टीमा समेत छलफल गरेको भए हुन्थ्यो : एमाले नगर अध्यक्ष
नेकपा एमालेको बुटवल उपमहानगर कमिटिको नेतृत्वले ११ नम्बर वडालाई विभाजन गर्ने विषयमा असन्तुष्टी व्यक्त गरेको छ । वडा विभाजन गर्ने प्रस्ताव नगरसभाबाट पारित गरेर केन्द्रमा प्रस्ताव गरेपछि एमालेको उपमहानगर कमिटीले पार्टीमा छलफल नभएको भन्दै असन्तुष्टी व्यक्त गरेको हो । ‘आवश्यकता हो कि होइन भन्ने बारेमा दलगत रुपमा पनि छलफल गरेको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरा हो ।’ एमाले नगर अध्यक्ष बाबुराम पन्थीले भने 'उपमहानगर मात्र हुँदा त वडा ठूलो नै हो । महानगरमा गयो भने कस्तो हुने भन्ने छलफल भएको भए हुन्थ्यो ।’