बुटवल । मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको बुटवल उपमहानगरपालिकाले सीप सिकेर उद्यम गर्न चाहेका महिलाहरुका लागि औजार र उपकरण प्रदान गरेको छ ।
तालिम तथा प्रशिक्षणसमेत सञ्चालन गरेको उपमहानगरले तालिम पछि सीपलाई उद्यममा परिणत गर्न चाहेका यस क्षेत्रका महिला उद्यमी र तेस्रो लिङ्गीलाई सीप अनुसारका सामग्री प्रदान गरेको हो ।
एक समारोह बीच उद्यमीहरुलाई उपकरण एवम् औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलम युक्त जनशक्ति उत्दान गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवल बनाउने र त्यसैका आधारमा समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पारिने बताए ।
बुटवल उपमहानगरले उपमहानगर मातहतको संस्था बुटवल टेक्निकल इन्ष्टिच्यूट (बीटीआइ) र दातृ निकाय यूएनडीपीको सहकार्य तथा साझेदारीम सोह्र जना तेस्रो लिङ्गी, २५ जना महिला सहित एक सय २९ जनालाई सीपमूलक प्रशिक्षण दिएको थियो ।
महिला आर्थिक शसक्तिकरण उद्यमशील विकास परियोजना अन्तर्गत बुटवल उपमहानगरपालिकाले उनीहरुलाई इच्छाएको सीप सिकाउनुका साथै सीप अनुसारको उद्यम सञ्चालनका लागि आवश्यक पर्ने उपकरणसमेत निशुल्क प्रदान गरेको प्रमुख सुवेदीले जानकारी दिए ।
बीटीआइको प्राविधिक सहयोगमा बीटीआईमै विभिन्न सीप सिकाइएका महिलाहरुलाई सिलाई मेसिन, कपडा, कुर्ची टेवल सहितका औजार र उपकरण प्रदान गर्दै उद्यममा सक्रिय हुन हौसला बढाउने प्रयास गरिएको उपप्रमुख तथा उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमका संयोजक गुमादेवी आचार्यले बताइन् ।
उद्यमशील कार्यक्रममा सहभागीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, युएनडिपी लुम्बिनी प्रदेश संयोजक सुदीप अर्याल, बीटीआईका कार्यकारी निर्देशक प्रद्युम्नलाल श्रेष्ठ (पीएल श्रेष्ठ)लगायतले संयुक्त रुपमा प्रदान गर्दै उद्यम सफलताको कामना गरेका थिए ।
वारिस्ता तालिम, सोलार इलेक्ट्रीक, हेयर कटिंग र व्यटीपालर,फाष्टफुड, ढाका बुनाई, गारमेन्ट कटिंग र फेशन डिजाइनसम्बन्धी विभिन्न अवधिको तालिम लिएकाहरुलाई एक समारोहका बीच उपकरण प्रदान गरिएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए ।