बुटवल–पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ तुल्सीनगरमा पूर्व पश्चिम राजमार्ग नजिकै कमल पोखरी छ।
पोखरीसँगै चार विघा एक कठ्ठा जग्गालाई समेटेर सरावल गाउँपालिकाले आकर्षक गन्तव्य बनाउने योजना अघि सारेको छ।
पोखरीको विचमा मन्दिर रहेको छ। अहिले जिर्ण रहेको त्यो मन्दिरलाई मर्मत गरेर राम्रो बनाइने छ। पोखरीको किनारबाट मन्दिरमा पुग्न पुल बनाइने छ। किनारमा पैदल मार्ग हुने छ ।
पोखरीबाहेकको जग्गामा हरियाली सहितको सुन्दर पार्क बनाइने छ। नजिकै मनकामना मन्दिर पनि छ। विभिन्न संरचनाहरु बन्ने छन। यहाँ योग सेन्टर पनि हुने छ।
गुरुयोजना अनुसार पोखरी सहितको पार्क तयार भएपनि एउटा राम्रो पर्यटकीय स्थल बन्ने सरावल गाउँपालिका २ का वडा अध्यक्ष भेष नारायण चौधरी बताउँछन्।
‘शास्वत धाम जस्तै यो पनि राजमार्ग किनारमै रहेको छ। भविष्यमा त्यस्तै तरिकाले पर्यटक आउने सम्भावना छ’–उनले भने–‘पूर्वपश्चिम ओहोर दोहोर गर्नेहरु राम्रो ठाउँ देखेर यहाँ पनि पस्नेछन् ।’ पार्कसँगै पिक्नीक स्पट पनि बन्ने चौधरीको भनाइ छ।
गुरुयोजना अनुसार सबै संरचना बनाउन २ करोड लाग्ने अनुमान गरिएको छ। बजेट उपलब्ध गराएमा एक वर्षमा काम सकिने नगरपालिकाका सव इन्जिनियर सन्दिप चौधरीले बताए।
‘अहिले पर्यटन मन्त्रालयबाट प्राप्त १० लाखले पोखरी आसपास रिटेनिङ वाल लगाइएको छ। पूर्वाधार मन्त्रालयबाट आएको बजेटले कोशेलीघर निर्माण हुँदैछ’–उनले भने–‘भनेजति बजेट आयो भने त एक सालमै काम सकिन्छ।’
आर्किटेक इन्जिनियर प्रभा पाण्डेले थारुसंस्कृतिसँग जोडेर त्यो ठाउँको पर्यटकिय विकास गर्न सकिने गरि डिजाइन तयार पारिएको बताइन्।
‘सरावल भनेको थारु समुदाय भएको ठाउँ भएकाले त्यहाँको संस्कृति पनि संरक्षण होस भनेर डिजाइन तयार गरेका छौं’–उनले भनिन्–‘साँस्कृतिकसँगै प्राकृतिक र धार्मीक पहिचान पनि झल्कने छ।’ गुरुयोजना अनुसार काम भएमा आकर्षक गन्तव्य बन्ने इन्जिनियर पाण्डेको भनाइ छ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७, २०:४२:००