गुल्मी-गुल्मी दरबार गाउँपालिकामा ‘कस्तो छ आमा ?’ कार्यक्रम सुरु गरिएको छ ।
आर्थिक वर्ष ०७७/०७८ को नीति कार्यक्रम उल्लेख भएअनुसार सुरक्षित मातृत्व, नवशिशु तथा बाल स्वास्थ्य सेवा, खोप, पोषण, परिवार नियोजन, स्वास्थ्य र सरसफाईलाई केन्द्रमा राखेर ‘कस्तो छ आमा ?’ कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
यो कार्यक्रम मार्फत गर्भावस्था र सुत्केरी अवस्थाका आमाहरुलाई आवश्यक स्वास्थ्य सेवा र पोषण सेवा प्रवाह गर्ने उदेश्यले सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए।
‘त्यो समयमा हुन सक्ने खतराका लक्षण र चिन्हहरुका बारेमा जानकारी दिएर सुरक्षाका उपाय बताउँछौं’–उनले भने –‘आमा, गर्भ र बच्चाको रुग्णतादर कम गर्ने, मातृ मृत्युदरका साथै शिशु मृत्यु हुनबाट जोगाउने उदेश्यले रचनात्मक कामको सुरुवात गरेका हौं।’
विगतदेखि गाउँपालिकाले प्रत्येक टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, विशेषज्ञसहितका विभिन्न स्वास्थ्य शिविर, ल्याव तथा बर्थिङ्ग सेन्टर सञ्चालन लगायतका कामहरु गरिरहेको छ।
स्वास्थ्यकर्मीलाई मोबाइल
‘कस्तो छ आमा ?’ कार्यक्रमले स्वास्थ्यकर्मी र गर्भवतीबिचको सम्बन्धलाई नजिक बनाएको छ । भने परिवार र जनप्रतिनिधीलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम संचालन पुर्व स्वास्थ्य संस्थाका प्रमुखहरु, वडाध्यक्षहरु, आमा सुरक्षा कार्यक्रमका फोकल पर्सनहरु, महिला स्वास्थ्य स्वयमसेविका र सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको थियो।
‘अब प्रत्येक स्वास्थ्य संस्थाको लागि एक/एक थान मोवाइल र सिमकार्ड उपलब्ध गराइनेछ ।’–गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले भने–‘गर्भवतीहरुसँग स्वास्थ्यकर्मीको निरन्तर संवादको निम्ति मोबाइल उपलब्ध गराउन लागिएको हो।’
छिमेकमा कुनै पनि महिला गर्भवती भएको थाहा हुनेबित्तिकै महिला स्वास्थ्य स्वयमसेवीकाले स्वास्थ्य संस्थाको फोकल पर्सनलाई फोन गर्नुपर्नेछ। त्यसपछि फोकल पर्सनले गर्भवती महिलालाई निरन्तर फलोअप गर्ने कार्ययोजना निर्माण भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत अर्यालको भनाइ छ।
गर्भवतीलाई बधाई र ऐना
गर्भवती भएको खबर पाउने बित्तिकै जनप्रतिनिधिसहित स्वयमसेविका र स्वास्थ्यकर्मी उनको घरमा पुग्ने र बधाइ दिनेछन्।
त्योसँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाह सहित गर्भवतीलाई सन्देशमुलक ऐना प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले बताए । त्यस्तै बावुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्यक्रमको कार्य योजना बनाइएको छ।
गर्भवतीको घरबाट फर्किने बेला गर्भवतीलाई छिट्टै टि.डि. खोप लगाउने र चौथो महिनामा गर्भजाँचका लागि आउने सल्लाह दिइने अर्यालले बताए । ‘त्यसपछि हरेक महिना फोकल पर्सनले गर्भवतीलाइ फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझेर आवश्यक सल्लाह दिने कार्यलाई निरन्तरता दिनेछ ’–उनले भने।
गर्भवतीलाई गाउँपालिकाको कोशेली
गाउँपालिकाका जनप्रतिनिधि, स्वयसेविका र स्वास्थ्यकर्मीसहितको टोलीले चौथो, छ्रैठौ र आठौ र नवौ महिनामा गर्भ जाँच गराएपछि गर्भवतीलाई ३० वटा अण्डा आयोडिन नुनको पोका, नुहाउने र सावुन, नङकट, आइरन र क्याल्सियम सहितको कोशेली प्रदान गर्ने गाउँपालिकामा कार्यरत अहेब विष्णु सुर्यवंशीले जानकारी दिए।
त्यस्तै सुत्केरी भएको तेस्रो दिनमा पनि यो कार्यक्रम मार्फत कोशेली प्रदान गर्ने योजना रहेको छ। गर्भावस्थाको पाँचौ, सातौ महिनामा फोकल पर्सनले फोन गरि स्वास्थ्य अवस्था बुझ्ने र महिला स्वास्थ्य स्वयमसेविकाले आइरन र क्यालसियम उपलब्ध गराउने कार्ययोजना रहेको छ।
प्रसुति ब्यथा लाग्ने बित्तिकै फोकल पर्सनलाइ खबर गर्ने, स्वास्थ्य संस्थामा लिएर आउने, सुरक्षित तवरले प्रसुती सेवा २४ घण्टाभित्र गर्नुपर्ने, सुत्केरी तथा नवशिशु जाँच गरेर आमा र बच्चालाई न्यानो झोला तथा नगद २८ सय प्रदान गरिने सुर्यवंशीले बताए।
बच्चालाई पनि अण्डा उपहार
सुरक्षित प्रसुतिपछि स्तनपान, खोप र तौललाई यो कार्यक्रमले विशेष जोड दिएको छ। बच्चा ६ महिना पुग्ने बित्तिकै दुई वर्षसम्म १८ पटक तौल लिँदा पनि प्रति पटक दुई वटा अण्डा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा फोकल पर्सनले आमालाई गर्भवती भएदेखि बच्चा दुई वर्षको हुने बेलासम्म कम्तिमा ३० पटक फोन गर्ने कार्यतालिका बनाइएको छ।
गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले आफुहरु जनताको आधारभुत स्वास्थ्य सेवाको बारेमा अत्यन्तै चिन्तित भएकाले विभिन्न कार्यक्रम र अभियानहरु सञ्चालन गरिएको बताए। उनले विगत वर्षहरुमा पनि स्वास्थ्यको क्षेत्रमा थुप्रै उल्लेखनीय काम गरेको बताउँदै नागरिक स्तरबाट थप रचनात्मक सुझाव र सहयोगको अपेक्षा व्यक्त गरे।