काठमाडाैँ- नेपाल टेलीकमले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नरहेमा अद्यावधिक वा नामसारी गर्न ग्राहकलाई अनुरोध गरेको छ। नेपाल सरकारले हालै प्रयोगमा ल्याएको नागरिक एप टेलीकमका ग्राहकले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट मात्र प्रयोग गर्न सक्ने टेलीकमले जनाएको छ। अधिकांस ग्राहकको सिम आफ्नै नाममा दर्ता भएपनि केही ग्राहकहरुले अरुको नामको सिम प्रयोग गरिरहेको भन्दै टेलीकमले सच्याउन आग्रह गरेको हाे।
ग्राहकहरुले *922# डायल गरेर प्रयोग गरिरहेको सिम आफ्नो नाममा छ कि छैन भनेर निक्र्यौल गर्न सकिने र आफ्नो नाममा नभएमा नजिकको दुर सञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।
अरुको नाममा प्रयोग गरिरहेको सिम कसरी नामसारी गर्ने
अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिने टेलिकमले जनाएको छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।
पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ।