गुल्मी- गुल्मीको रेसुंगा नगरपालिका ७ र ९ जोडने बगाले खोलामा झोलुङ्गे पुल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन्। पुलको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शिलन्यास गरे। पुलको शिलान्यास गर्दै मेयर भुसालले नमूना झोलुङ्गे पुलको काम समयमै सम्पन्न र गुणस्तरिय बनाउन आग्रह गरे।
उनले पुल आफ्नो चुनावी बाचा पनि भएकाले कार्यकालभित्रै सकेसम्मका सवै काम पुरा गर्ने प्रतिबद्धता अनुरुप कामहरु अगाडी बढेको बताए। यो पुलले दुई वडाका स्थानीय वारपार गर्न र वडा नं ९ का स्थानीयलाई नगरपालिकासंगै बजार आउन सहज बनाउने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।
वडा नं ७ भजुेलखर्कका नागरिक बजार झर्न पौने घण्टाको घुमाउरो बाटो झर्नुपर्ने बाध्यता छ। झोलुङ्गे पुल पुल बन्न लागेपछि स्थानीय पनि खुसी भएका छन्। ‘झोलुङ्गे पुलले स्यानीयलाई आवतजावतमा सहजतासंगै बजार नजिक भएकाले पर्यटकीय दृष्टिकोणले पनि गज्जब बन्नेछ,’स्थानीय रमेश पन्थीले भने,‘पुलमा फोटो खिचेर मनोरञ्जन गर्नेको घुइँचो हुनेछ ।’
झोलुङ्गे पुल निर्माणको लागि सामाजिक तथा प्राबिधिक सहयोग सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीले गरेको छ। कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीका शब इन्जिनियर डिल्लीराज खनालले जानकारी दिए।
क्षेत्रगत कार्यक्रम अन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ र उपभोक्ता समितिको २ प्रतिशत श्रमदान मार्फत पुल निर्माण हुने खनालले बताए। पुल निर्माणको लागि हेल्मेटार नेपाल (टिभिएसयु) ले लट्टा सहयोग गर्ने भएको छ । बिद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई एक सय १८ मिटर रहेको छ।
पुल निर्माणको लागि २०७७ साल असोज २८ गते रेसुङ्गा नगरपालिका र उपभोक्ता समितिबीच सम्झौता भएको थियो। सम्झौता अनुसार पुल एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ।