गुल्मी–मदाने गाउँपालिका ७ पुर्कोटदहका प्रेम बिकले गत वर्ष टीन घर चिटिक्क पारे । अहिले कुनै कुराको डर छैन । विपन्न दलित समुदायलाई खुसी दिने यो राम्रो कार्यक्रम भएको प्रतिक्रिया दिए ।
धुर्कोट गाउँपालिकाले अहिलेसम्म करिब साढे ५ सय घर परिवारले खरको छाना हटाएर टीन लगाएको छ । जसका लागि गाउँपालिकाले अहिलेसम्म दुई करोड बजेट खर्च गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।
धुर्कोटमा मात्रै हैन, गुल्मीमा कुनै समय निन्याउरो देखिने विपन्न परिवारका बस्तीहरु अहिले झल्किन थालेका छन् ।
जिल्लाको सबै स्थानीय तहले खरका छाना विस्थापन अभियान सञ्चालन गरेसँगै खरका छाना हटाएर टिन लगाउने अभियान चलाएका छन् । कोरोना संक्रमण नभएको भए क्षेत्र नं २ का सबै स्थानीय तहले अहिले खरका छाना मुक्त घोषणा गरिसक्थे । यो वर्ष मुसिकोट र रेसुंगा नगरपालिका तथा मालिका, मदाने, धुर्कोट, इस्मा गाउँपालिकाले सवै खरका छाना बिस्थापन गर्दैछन् ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटले आफुहरुका लाभग्राही ९ सय ९३ घर परिवारलेनै टीन प्राप्त गरेकाले कोभिडको कारणले मात्रै खरका छानामुक्त नगर घोषणा गर्न नसकिएको बताए । सापकोटाका अनुसार खरका छाना बिस्थापनकै लागि अहिलेसम्म करिव साढे चार करोड खर्च भएको छ ।
मालिका गाउँपालिकामा अहिलेसम्म ९ सय २८ घरधुरी खरका छाना मुक्त भएका छन् । जम्मा १ हजार ४७ खरका छाना भएका लाभग्राही मध्ये बाँकी १ सय १९ घरले पनि केहि समयमै टीनका छाना लगाएपछि गाउँपालिकालाई खरका छाना मुक्त गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
खरका छाना बिस्थापन गाउँपालिकाले गर्न गाउँपालिकाले अहिलेसम्म ३ करोड ९० लाख खर्च गरेको छ । मदाने गाउँपालिकाले ३ करोड खर्च गरेर ७ सय १२ घर खरका छानामुक्त गरेको जनाएको छ ।
छिटै नै गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिने गाउँपालिकाका सूचना अधिकारी रिषिराम पोख्रेलले बताए ।
जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै अहिलेसम्म करिव चार हजार घरलाई खरका छाना मुक्त गरिसकेका छन् भने करिव २० करोड बजेट खर्च गरेका छन् । जिल्लाका १२ स्थानीय तहमा यो अभियान जारी छ । यो अभियान पुरा हुँदा करिव ८ हजार घर धुरी घरका छाना मुक्त हुनेछन् ।
खरका छाना विस्थापन गर्ने र एक घर एक धारा स्थानीय तहहरुले गरेका मध्येको उत्कृष्ट काम हो ।
केही वर्ष पहिले जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा आगलागी भएर थुप्रै खरे घर जलेपछि पुर्व मन्त्री गोकर्ण बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको खरका छाना विस्थापन अभियान अहिले देशव्यापी बनेको नेकपाका नेता गणेश श्रीपालीले बताए ।
उनले दुई÷चार बर्षमै जिल्लाका थुप्रै बिपन्न परिवारको झुप्रे घरहरु पनि टिनले टलक्क देखिएकाले अत्यन्तै खुसी लागेको बताए ।
त्यस्तै स्थानीय तह पछि अहिले गाउँमा खानेपानीको क्षेत्रमा भएको प्रगति पनि प्रसंसायोग्य रहेको बताए ।
०७४ सालको तीनै तहका निर्वाचनमा खरका छाना मुक्त प्रमुख चुनावी एजेण्डा हो । अहिलेकै कार्यकालमा जिल्लाका सबै स्थानीय तह खरका छाना मुक्त गर्ने अभियानमा जनप्रतिनिधी र सांसदहरु छन् ।
बिपन्न परिवार खरे घरमा बर्षातमा पानी परेर र हिउँदमा आगलागीको त्रासमा थिए । तर, स्थानीय तहले संचालन गरेको खरका छाना मुक्त गर्ने कार्यक्रम अन्तरगत टीन पाएपछि नागरिकमा खुसीयाली छाएको छ ।