दाङ-कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि घोराही उपमहानगरको कार्यालय असोज ४ गते सम्म बन्द भएको छ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले सूचना जारी गर्दै बुधबार देखि असोज ४ गतेसम्म कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरिएको उल्लेख गरेका छन्।
तर स्वास्थ्य शाखा, सरसफाई सेवा र विपद व्यवस्थापन शाखाको काम भने जारी रहनेछ। चिकित्सक, इन्जिनियर, अधिकृत र कार्यालय सहयोगी गरी ६ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
बन्दका बीचमा संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने उपमहानगरले तयारी गरेको छ। उपमहानगरले वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुको सेवा भने नरोकिएको जनाएको छ।
संक्रमण पुष्टि भएका कर्मचारीहरुमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको उपमहानगरले जनाएको छ।