भैरहवा–जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेसँगै सोमबारदेखि लकडाउनमा थप कडाई गरिएको छ। दैनिक रुपमा बढिरहेको संक्रमणको जोखिमलाई मध्यनजर गरी बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको छ।
सडकमा अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएका छैनन्। सडकमा परिचालित सुरक्षाकर्मीले सर्वसाधारणलाई घर भित्रै बस्न, अनावश्यक घर बाहिर ननिस्कन आग्रह गरिरहेका छन्। सिद्धार्थनगरको प्रवेश नाका शान्तिनगर डण्डा खोला पुलमा सयौँ कामदार तथा मजदुरहरुलाई समेत आज रोकिएको छ।
सुरक्षाकर्मी लकडाउन पालना गराउन सडकमा अनावश्यक मानिसलाई निस्किन दिएको छैन। नगरको प्रवेश नाका शान्तिनगर, बेलहिया, अञ्चलपुर, मिलनचोक, देवकोटा चोक, बुद्धचोक विद्रोही चोक, गल्लामण्डी लगायतका ठाउँबाट प्रहरी परिचालन गरी अतिआवश्यकलाई मात्र प्रवेश दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते राती १२ बजेसम्म लागि खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजे सम्म मात्र सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्न दिने निर्णय गरेको छ।