डेविड राइखको पुस्तक ‘हु वी आर एण्ड हाउ वी गट हियर: एन्सियन्ट डीएनए एण्ड द न्यु साइन्स अफ ह्युमन पास्ट’को लेखलाई जीवराज चालिसेले नेपालीमा भावानुवाद गरेका हुन् । साप्ताहिक रुपमा प्रकाशन गर्न लागिएको लेखको यो तेस्रो भाग हो:
- प्रागैतिहासिक इण्डियाबारे मेरो अनुसन्धान एउटा किताब र पत्रबाट २००७ मा सुरु भएको हो ।
लुका काभाली–फोर्जाको भव्य पुस्तक ‘द हिस्ट्री एण्ड जियोग्राफी अफ ह्युमन जिन’मा लेखकले बंगाली खाडीमा रहेको अण्डमान द्विपमा बस्ने ‘नेग्रिटो’ मानिसहरुको बारेमा उल्लेख गरेका छन् ।
आधुनिक मानव इतिहासका धेरै कालखण्डसम्म अण्डमान द्विप ‘मेनल्याण्ड’बाट सयौं किलोमिटर टाढा महासागरमा एक्लिएर रह्यो । पछिल्ला केही सय बर्षदेखि मात्रै ‘मेनल्याण्ड’को प्रभाव पर्न थालेको हो । द्विपलाई बेलायतले औपनिवेशिक जेलको रुपमा प्रयोग गरेको थियो ।
अण्डामनको उत्तरी सेन्टिनेल द्विपमा कतैबाट पनि नछोइएका तर निकै थोरै मात्र बाँकी रहेका ढुङ्गे युगीन मानिसको बसोबास छ । उनीहरु केही संख्यामा मात्रै छन् । भारत सरकारले उनीहरुलाई बाहिरी हस्तक्षेपबाट जोगाएको छ । यतिसम्म कि २००४ मा हिन्द महासागरमा आएको सुनामीपछि उद्धारका लागि पठाइएका भारतीय हेलिकप्टरलाई उनीहरुले बाँण हानेका थिए ।
अण्डमानीहरु यस्तो भाषा बोल्छन्, जसको कुनै पनि इतिहास युरेसियामा बोलिने अरु भाषासँग जोडिएको छैन । न त उनीहरुको भाषाको इतिहास नै कसैलाई थाहा छ । उनीहरु अन्य मानिसहरुभन्दा निकै भिन्न देखिन्छन् । अनुहारको वनावट हल्का तर कपाल भने निकै कडा र घुम्रिएको हुन्छ । आफ्नो पुस्तकको कुनै एक खण्डमा कभाली–फोर्जाले अण्डमानीहरु अफ्रिकाबाट बसाइँसरी आएका मानव पूर्खाको प्रतिनिधित्व गर्ने अनुमान गर्छन् ।
यो पढेपछि म र मेरा सहकर्मी मिलेर हैद्रवालको सेन्टर फर सेलुलर एण्ड मोलिकुलर वायोलोजीका लालजी सिंह र कुमारसामी थंगाराजलाई एउटा चिठ्ठी लेख्यौं ।
त्यसको केही बर्षअघि मात्रै सिंह र थंगराजले अण्डमानका मानिसहरुको माइटोकण्ड्रियल र वाई क्रोमोजोम डीएनएबारे अध्ययन गरेर शोधपत्र प्रकाशित गराएका थिए ।
उनीहरुको अध्ययनले के देखायो भने अण्डमानका मानिसहरु दशौं हजार बर्षअघि युरेसियन ‘मेनल्याण्ड’बाट छुट्टिएका थिए ।
सिंह र थंगराजलाई मैले अण्डमानीहरुको अवस्थाको पूर्णचित्र पाउन उनीहरुको पुरै जिनोमहरु विष्लेशण गर्न सकिन्छ कि सकिन्न भनेर सोधेको थिएँ ।
सिंह र थंगराज हामीसँग मिलेर काम गर्न निकै इच्छुक देखिए । उनीहरुले ‘मेनल्याण्ड’का इण्डियनहरुलाई पनि समेटेर अध्ययन गरेमा अझै प्रष्टिकरण आउने भनेर मलाई ‘कन्भिन्स्ड’ गरे ।
उनीहरुले डीएनएको वृहत संचितिमा हामीलाई पहुँच दिए । सीसीबीएमको फ्रिजरमा उनीहरुले भारतको मानव विविधतालाई प्रतिनिधित्व हुने गरी डीएनए संकलन गरेर राखेका थिए । पछिल्लो समय मैले हेर्दा त्यहाँ तीन सय समूहका १८ हजारभन्दा धेरै डीएनए नमूना राखिएका थिए । यी नमूनाहरु भारतभरबाट विद्यार्थीहरुले संकलन गरेर त्यहाँ ल्याएका थिए ।
सीसीबीएमको संकलनबाट हामीले २५ वटा समूह छनौट गर्यौं । हामीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतालाई आधार मानेर उक्त समूहहरु छनौट गरेका थियौं । समूहमा भारतीय जातीय प्रणाली अनुसार उच्च मानिएका र तल्लो मानिएका समेत थिए । तीबाहेक जात प्रणालीबाट अछट्टै रहेका आदिवासीहरुको डीएनएलाई पनि छनोट गरेका थियौं ।
केही महिनापछि थंगराज बोस्टोनमा रहेको हाम्रो प्रयोगशालामा आए । उनले आफूसँगै हामीले छनोट गरेका पृथक र किम्ती डीएनएका नमूनाहरु लिएर आएका थिए ।
हामीले ‘अ सिंगल न्युक्लिओटाइड पोलिमर्फिज्म माइक्रोआरे(एसएनपी–माइक्रोआरे)’ नामको प्रविधि प्रयोग गरेर डीएनए नमूनाको अध्ययन गर्यौं । यो प्रविधि अमेरिकामा भर्खरमात्र उपलब्ध भएको थियो । भारतमा भने अझै उपलब्ध भइसकेको थिएन ।
यहीँ कारणले भारत सरकारले थंगराजलाई आफ्नो देशका डीएनएहरु अमेरिकासम्म लिएर आउन पनि अनुमति दिएको थियो । तर, आनुवांशिक अध्ययन यदी भारत मै हुनसक्थ्यो भने भारतीय कानूनले त्यसो गर्न दिने थिएन ।
एसएनपी–माइक्रोआरेको मद्धतले गरिएका आनुवांशिक अध्ययनले मानिसहरु बीचको आनुवांशिक सम्बन्ध के छ भनेर पत्ता लगाउन मद्धत गर्छ । यो प्रविधि सस्तो भएपनि जनसांख्यिक इतिहासको बारेमा धेरै जानकारी दिनसक्छ ।
अध्ययनबाट हामी के अनुमानमा पुग्यौं भने अहिलेका इण्डियन ‘समूह’हरु पश्चिम युरेसियासँग जोडिएका पुख्र्यौली जनसंख्या र अर्को निकै भिन्न जनसंख्याको मिश्रण हुनसक्छन्, तर फरक–फरक अनुपातमा ।
सुरुमा हामीले युरोपियन र इण्डियनहरु साझा पुर्खाबाट विकास भएका मानव हुन् भन्ने परिकल्पनालाई नै परिक्षण गर्यौं । यी दुईका साझा पुर्खाहरु पूर्वकालमा नै पूर्वी एसियनहरु (हान चाइनिज) बाट छुट्टिएका थिए । हामीले डीएनए ‘लेटर’ भेट्यौं, जहाँ युरोपियन र इण्डियन जिनोम छुट्एिका थिए ।
त्यसपछि चाइनिज नमूनालाई युरोपियन र इण्डियनसँग तुलना गर्यौं । पत्ता लाग्यो कि चाइनिजहरुको आनुवांशिक सम्बन्ध युरोपियनसँगभन्दा इण्डियनसँग धेरै रहेछ । यसले चाइनिज पूर्वजहरु अलग भइसकेपछिको सजातीय पुर्ख्यौली आवादीका वंशज युरोपियन र भारतीयहरु हुन् भन्ने कुरालाई सिधै खारेज गर्यो ।
त्यसपछि हामीले बैकल्पिक परिकल्पनाको परिक्षण गर्यौं । युरोपियन पूर्वज अलग भइसकेपछिको सजातीय पुर्ख्यौली आवादीबाट चाइनिज र इण्डियन वंशजको विकास भएको हो भन्ने कुरालाई हामीले बैकल्पिक परिकल्पनाका रुपमा राखेका थियौं । तर, यो परिकल्पना पनि सही ठहरिन सकेन किनभने अध्ययनले युरोपियन समूहहरु चाइनिजसँग भन्दा इण्डियनसँग आनुवांशिकरुपमा बढी मिल्न गएको देखाएको थियो ।
यसअघिका भागहरु:
सिंधु घाँटीः टकरावहरुको भूमि
सिंधु सभ्यताको पतन