मुटुमा बोकी आमाको गुन ।
धड्कनमा राखी संगीतको धुन ।।
हिडेका छन् जो छोराको लागि जून ।
उनी हुन् बुटवल सैनामैनाका अकबरी सुन गोविन पुन ।।
यो श्लोक थियो–हिमालयन टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को गत शुक्रबारको एपिसोडमा कार्यक्रम प्रस्तोता सुशील नेपालको । नेपालले यही श्लोक भन्दै गोविन पुनलाई स्टेजमा गीत गाउन बोलाएका थिए । यसर्थ, यो श्लोकबाट पनि प्रस्ट हुन्छ, गोविन पुन को हुन् ? आमाको मायालाई कसरी आत्मसात् गरेर हिडेका छन् । गीतसंगीत प्रति कत्तिको समर्पित छन् । छोराका लागि के गर्दै छन् । र उनी कहाँका हुन् ?
म्याग्दी जिल्ला ओखरबोट गाबिस वार्ड न ५ खबाङ्ग सिस्नेरी हाल मालिका गाउँपालिका वडा नं. ४ खबाङ्ग पुख्र्याैली थलो भएका गोविन पुन रुपन्देहीको सैनामैना नगरपालिकाबासी हुन् ।
उनले वि सं २०४५ साल भदौ २७ गते बुवा टेक बहादुर पुन र आमा देवकुमारी पुनको कोखबाट जन्म लिए । पुनकोसैनामैना नगरपालिका वडा नं. ४ मुर्गियामा जन्म भएको हो ।
उनको परिवार २०४२ सालमा म्याग्दीबाट सैनामैना बसाई सरेका थिए । ३३ वर्षीय पुनले १७ वर्षको उमेरमै आफ्नो बुवालाई गुमाएका थिए ।
२०६३ सालमा क्यान्सर रोगको उपचारका क्रममा बुवाको निधन भएको थियो । वडा नं. ४ रन्यौरा निवासी पुनको परिवारमा आमा, दाई–भाउजु, दुई बहिनी, श्रीमती र एक छोरा रहेका छन् । गोविन कान्छो छोरा हुन् । दाजु भाउजुको परिवार भने पोखरा बस्दै आएका छन् । दुई बहिनीको विवाह भइसकेको छ ।
सामान्य परिवारमा हुर्किएका पुनले सानै उमेरदेखि नै गीतसंगीतमा रुचि राख्थे । चार पाँच वर्षकै उमेरमा उनले गीत गुनगुनाउथे । ५ वर्ष पुगेपछि २०५० सालमा स्कुल गए । उनले सैनामैनाकै प्रभात आवसीय बोर्डिङ्ग स्कुलमा अध्ययन गरे । उनको पढाई भने सामान्य नै थियो । उनलाई पढाई भन्दा संगीतमै भुल्न मन पथ्र्यो ।
२०५६ साल तिरको कुरा हो । एक दिन गृहकार्य नगरी उनी स्कुल गए । जसको सजाय स्वरुप कक्षा कोठामा गीत गाउन बाध्य भए । उनले गीत गाउन सुरु गरे । कक्षाकोठा पनि शान्त भयो ।
उनले गाएको गीतबाट शिक्षकसँगै साथीहरु पनि आश्चर्यमा पर्दैे ताली बजाए । र, उनलाई बल्ल महसुस भयो, म पनि गीत गाउँन सक्ने रहेछु । फेरि उनलाई अरु गुरुहरु बोलाएर दोस्रो पटक पनि गीत गाउन लगाइयो । त्यसपछि भने उनले पिटाइको सट्टा स्याबासी पाए । यही स्याबासीबाटै ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को टप १२ मा पुग्न सफल सैनामैनाका गोविन पुनको सांगीतिक यात्रा सुरु भयो ।
कक्षा ८ पछि भने उनी काठमाडौँ गए । त्यसपछिको अध्ययन पनि काठमाडौँमै गरे र केही समय उतै बिताए । त्यहाँ रहँदा पनि उनले गीत संगीत गुनगुनाईरहे । संगीतमा रुचि भएपनि उनले संगीतालयमा गएर नै अहिलेसम्म गीत गाउन सिकेका छैनन् । उनले संगीत क्षेत्रमा करिब दुई दशक संघर्ष गरे । सांगितिक क्षेत्रबाटै आफ्नो भविष्य कोर्न अनवरत रहे ।
वैदेशिक यात्रामा पैसाको मोह भन्दा उनलाई यही क्षेत्र प्यारो लाग्न थाल्यो । विभिन्न सांगीतिक कार्यक्रममा हिड्न थाले । विभिन्न क्लबहरुमा पनि गीत गाए । विशेषगरी उनी बुटवलका क्लबहरु, कन्सर्टका कार्यक्रममा नै बढी व्यस्त हुन्थे । उनी म्युजिक कम्पोजर र एरेन्जरको रुपमा संगीत क्षेत्रमै क्रियाशील पनि थिए । । पुनले विशेष गरी सेमी क्लासिकल र पप शैलीका गीत बढी मन पराउँछन् । उनका एलबम पनि बजारमा आइसकेका छन् । जसम समय, जब कोही थिएन, सानो पाइला लगायतका छन् ।
उनले गतवर्ष लकडाउनको समयमा छोराका लागि ‘सानो पाइला’ नामक गीत रिलिज गरेका थिए । जसमा ४ वर्षीय छोरालाई नै उक्त भिडियोमा छोरोको भूमिकामा अभिनय गराएका थिए । उनले अधिक प्रयास गरेपनि संगीतमा चाहेजस्तो सफलता पाएका थिएनन् ।
यद्यपि, केही समयअघि देखि भने पुनको गायकीको चर्चा हुन थालेको छ । उनलाई दर्शक श्रोताले चिन्न थालेका छन् । उनको गायकीको प्रशंसा गर्नेहरु थपिएका छन् । यसको एउटै कारण हो-लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका गोबिन पुन राष्ट्रियस्तरको रियालिटी शो गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपालको भोटिङ राउण्ड’ (टप १२) मा पुग्न सफल हुनु ।
मुर्गियाका पुन रुपन्देहीबाट उक्त प्रतियोगिताको टप १२ मा पुग्ने एक्लो प्रतिस्पर्धी हुन् । यद्यपि, पुनको गायकीको चर्चा भने टप १२ मा पुगेर भएको होइन । उनको चर्चा त ब्लाइन्ड अडिसनबाटै सुरु भएको हो ।
हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति सवा ८ बजे प्रशारण हुने यो प्रतियोगितामा सर्वप्रथम गोविन पुनले डिजिटल अडिसन दिएका थिए । डिजिटल अडिसनबाट छनोट भइसकेपछि मात्र ब्लाइन्ड अडिसनमा प्रवेश गरेका थिए । उनको ब्लाइन्ड अडिसनमा खुबै चर्चा भएको थियो ।
किनकि ब्लाइन्ड अडिसनमा उनको पर्फमेन्सलाई विशेष गराइएको थियो । जसमा डबल ब्लाइन्ड प्रतिस्पर्धीको रुपमा स्टेजमा प्रस्तुत गरिएको थियो । उनलाई अन्य प्रतिस्पर्धीको भन्दा फरक तरिकाले प्रस्तुत गरियो । पुनले यस समयमा आफ्नो गायकीले कोचहरुको कुर्ची टर्न भयो । या भएन त्यो सम्म पनि थाहा पाउन सकेनन् । थाहा पाउन नसक्नुको पनि कारण थियो । कारण हो । उनको अगाडि सेतो पर्दा । यद्यपि, उनको गायकीबाट चारै जना कोचहरु प्रभावित भएर भने टर्न भएका थिए ।
यहीँबाट नै गोविन पुनको चर्चा सुरु भयो । ब्लाइन्ड अडिसनबाट सबै कोचहरुबाट राम्रो प्रतिक्रिया पाए । फाइनल सम्म पुग्न सक्ने एक क्षमतावान प्रतियोगी भनी प्रशंसा गरे । यति मात्र होइन । गोविन पुनले प्रतियोगितामा भाग लिनुको कारण यतिका वर्ष सम्म संगीतमा लागेर तेरो बाबाले के ग¥यो भनेर साथीभाई र आफन्तले आफ्नो छोरालाई सोध्दा छोराले के जवाफ देला भन्ने सोंचेर प्रतियोगितामा भाग लिएको बताए ।
यसपछि स्टेजको माहोल पनि फेरियो । यी शब्दहरुले सबैलाई भावुक बनायो । देश विदेशबाट सबै दर्शक श्रोताले चिन्न थाले । शुभचिन्तक बढे । प्रतियोगितामा देशभरबाट करिब ४ हजार जनाले भाग लिएका थिए ।
ती मध्ये डिजिटल अडिसन, ब्लाइन्ड अडिसन,ब्याटल राउण्ड र नकआउट राउण्डमा छनोट हुंदै गोबिन भोटिङ राउण्डमा प्रवेश गरेका हुन् । उनी नकआउट राउण्डमा प्रिया गुरुङ, कुशल श्रेष्ठ सँग प्रतिस्पर्धा गरेका थिए । यो समयमा कोभिड संक्रमणका कारण कोच दीपको सट्टा राजेश पायल राई कोचको रुपमा थिए ।
राजेशले यतिबेला पुनको आवाजको प्रशंसा गर्दै अघिल्लो राउण्डमा प्रवेश गराएका थिए । स्टेजमा अरु कोचबाट पनि उनको गायकीको प्रशंसा भएको थियो । फेरी स्टेज पनि भावुक बन्न पुगेको थियोे । भावुक बन्नुको कारण थियो । शुभचिन्तक विजु महर्जनले पुन र छोराको फोटो पेन्टिङ स्केच गरेर पुनलाई स्टेजमै सरप्राईज दिनु ।
हरेक एपिसोडमा पुनले कोचको मन जित्ने गरेका छन् । गत शुक्रबारबाट भोटिङ्ग राउण्ड सुरु भइसकेको छ । अब कोचको मन जितेर मात्र होइन टप १२ मा पुगेका गोविन पुनलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । पुनकी आमा देवकुमारी पुनले देश तथा विदेशका नेपालीले भोट गरेर सहयोग गर्न अनुरोध गरेकी छन् । गोविनलाई भोट गर्न म्यासेजमा ०४ टाइप गरी ३७००० मा पठाउनु पर्नेछ । देश र बिदेशबाट ‘प्रभु पे’ एप डाउनलोड गरेर पनि भोट गर्न सकिने उनले बताइन् ।
प्रतियोगितामा १२ जनामध्ये गोविनसहित टिम दीप श्रेष्ठबाट आर्यन तामाङ र जेनिश राई छन् । अहिले टिम प्रमोद खरेलबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज, टिम राजु लामाबाट विजय ठाडा, सोनाम शेर्पा र तारा श्रीस तथा टिम तृष्णाबाट ज्वाला राई, अफ्रिता खड्गी र कर्णराज गिरी छन् । अब यी १२ जनामध्ये दर्शक भोटका आधारमा प्रतियोगिताको विजेता बन्ने छन् । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी हरेक हप्ता बाहिरिदैै जाने छन् । त्यस्तै सबैभन्दा धेरै भोट पाउनेले उपाधि जित्ने छन् ।