काठमाडौं-गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन आज भदौ १ गतेदेखि खुला गरेको छ।
डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको यो चौथो संस्करणको अडिसन हुनेछ।
कसरी दिने अडिसन ?
नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ। अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ।
अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।
भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपाल आइडल प्रोडक्सन युनिटले नयाँ सिजनका लागि सबै तयारी पूरा भएको जनाएको छ।