भैरहवा–रुपन्देहीमा आइतबार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमणबाट रुपन्देहीमा थप ३ जनाको मृत्यु भएको छ।
आइतबार साँझ साढे ६ बजे सम्ममा रुपन्देहीका विभिन्न ७ पालिकाका २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमणबाट बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिला, सम्मरीमाई गाउँपालिका २ मुडिलाका ३८ वर्षीय पुरुष र रोहिणी गाउँपालिकाका ३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।
ती २ जनाको कोरोना विशेष अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो भने ५३ वर्षीय पुरुषको हिजो शनिबार मृत्यु भएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार आइतबार ४ जना महिला र १६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
संक्रमण भएकामध्ये बुटवलका ५, रोहिणीका ७, कोटहीमाईमा १, कञ्चनका २, देवदहका ३, सिद्धार्थनगरका १ र मायादेवीका १ जना रहेका छन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५१ पुगेको छ भने मृतकको संख्या ५ पुगेको छ।