बुटवल-रुपन्देहीमा २ दिनमा कोरोना भाइरसको संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। शनिबार एकजनाको मृत्यु भएको थियो भने २ जनाको आइतबार मृत्यु भएको छ।
योसँगै रुपन्देहीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिबार मृत्यु हुने व्यक्ति रोहिणी गाउँपालिकाका हुन्। उनको मृत्युपश्चात् पीसीआर परीक्षण गरिएको थियो।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार आइतबार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका २ मुडिलाका ३८ वर्षीय पुरुष रहेका छन् ।
शनिवार मृत्यु भएका रोहिणीका ५३ वर्षीय पुरुषको उपचारका लागि अस्पताल जाँदै गर्दा मृत्यु भएको थियो। उनको मृत्युपश्चात दाहसंस्कारमा सहभागी भएकाहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको र केही दिनमा ट्रेसिङ गर्ने स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक शाहले बताए।
आइतबार मृत्यु हुनेमध्ये एकजना बुटवलकी महिला हुन् भने अर्का एकजना सम्मरीमाइका पुरुष हुन्। बुटवलकी ६७ वर्षीया मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले प्रेस विज्ञप्ती निकालेर जनाएको छ। उनमा श्वासप्रश्वासमा समस्या, दिर्घ रोगी, प्रेसर र मृगौलाको समस्या रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।
यस्तै सम्मरीमाईका ५३ वर्षीय मृतक पुरुष श्वासप्रश्वासको समस्याले अस्पतालमा भर्ना भएका थिए। उनीहरु दुवैजनाको कोरोना विशेष अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो।