भैरहवा–संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले शनिबार लुम्बिनीको दर्शन गरेका छन्। समग्र रुपन्देहीको पर्यटन विकास तथा निर्माणधीन आयोजनाको स्थलगत निरिक्षणमा आएका मन्त्री भट्टराईले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै निर्माणाधीन पाँच हजार मानिस अट्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र र रोयल थाइ विहार, चीन, म्यानमार लगायतका विहारहरुको अवलोकन गरेका हुन्।
दर्शनपछि लुम्बिनीको निरीक्षण गर्दै मन्त्री भट्टराईले केन्जो टाँगेले बनाएको लुम्बिनी विकास कोषको गुरुयोजनाको बाँकी काम अबको साढे २ वर्षमा पूरा हुने बताएका छन्।
‘लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम भइरहेको छ । यसलाई संसारकै आस्था र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको छ’–उनले भने।
लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुनासाथ लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका अन्य क्षेत्र बुद्ध मावली देवदह, कपिलवस्तु रामग्राम लगायतको विकासलाई समेत सँगसँगै अगाडि बढाउने उनले बताए।
.jpg)
‘लुम्बिनी विकास कोषले संरचनाहरु छिटो भन्दा छिटो बनाउनका लागि परामर्शदाता नियुक्त गरेर सबै डिपीआरहरु बनाइसकेका छौ, अब सिधै काममा जाने बाटो खुलेको छ, यो धेरै महत्वपूर्ण काम लकडाउनको अवधिमा भएको छ, विश्वव्यापी रुपमा प्रभाव पारेको कोभिड–१९ भाइरसले बुद्ध जन्मस्थलमा आउने पर्यटकहरुलाई प्रभावित बनाएपनि विकास निर्माण कार्यले निरन्तरता पाएको छ,–कोषका अध्यक्ष समेत रहेका मन्त्री भट्टराईलाई जानकारी गराउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त अवधेशकुमार त्रिपाठीले भने।
कोभिड संक्रमणले मन्दिर बन्द भएपनि विकासको कार्य भइरहेका थिए। काम गर्ने व्यक्तिहरुलाई सोही ठाउँको साइटमा नै रहने व्यवस्था गरी विकास निर्माणका महत्वपूर्ण योजनालाई अगाडि बढाइएको कोषले जनाएको छ। लकडाउनको समयमा मायादेवी मन्दिरको प्रवेश मूलमार्ग ५ नम्बर द्वारको ब्रिक लेन लगायतका डिजाइनको काम, नेपालमै नमूना बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभा तथा ध्यान केन्द्रको प्रारम्भिक चरणको काम सकिएको र बाहिरी स्वरुप दिने काम भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले बताए।
.jpg)
‘रामग्रामको पनि गुरुयोजना बनिसकेको छ, कपिलवस्तुका सबै साइटहरु समेट्ने गरी ४–५ महिनामा गुरुयोजना बन्छ, यसलाई पनि प्रक्रियागत रुपमा जान्छ’–उनले भने–अहिले गरिएको मूल्यांकनबाट अब ३५ प्रतिशत काम मात्र बाँकी छ, जुन करीब ६ अर्बको लागतमा सकिन्छ । कागजी काममा कुनै रुकावट छैन, डिपीआर भइसकेको अवस्था छ पर्याप्त रुपमा बजेट आएमा २ वर्षमा सबै गुरुयोजनाका काम सकिन्छन्’–उनले भने।
कोषका अनुसार रातीमा लुम्बिनी क्षेत्र उज्यालो राख्न सोलार प्यानलहरु जडान भएका छन्। विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन पनि बनेको छ। पहिला आएका सवारी साधनमा विवाद आएपछि अहिले फेरि बसहरु भन्सार नाका आइपुगेका छन्।
.jpg)
सिम्रिक एयरको विमानबाट शुक्रबार साँझ ४ बजे भैरहवा आएका मन्त्री भट्टराईले आएलगत्तै निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थिए।