बुटवल। आर्थिक राजधानीका रूपमा स्थापित बुटवलमा पहिलो पाँचतारे होटल सञ्चालनमा आएको छ।
नेपालकै अग्रणी औद्योगिक समूह करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सका सञ्चालकद्वय कमल मालपानी र चुन्नुप्रसाद पौडेललगायतको समूहले आइतबारदेखि होटेल हायात प्लेसको सफ्ट ओपेनिङ गर्दै सञ्चालनमा ल्याएको हो।
आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा दिने अभिप्रायका साथ बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि छ जना व्यवसायीले ३५० करोडको लगानीमा हायात प्लेस सञ्चालनमा ल्याएका हुन्।
होटेलको औपचारिक उद्घाटन नोभेम्बर २५ मा गरिनेछ। होटलका लगानीकर्तामा कमल र चुन्नुसहित नरीश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी समेत छन्।
होटलका सञ्चालक पौडेलका अनुसार २५ कट्ठा क्षेत्रफलमा बनेको दश तले भवनमा १०९ वटा अत्याधुनिक र सुविधा सम्पन्न कोठा छन्। यो बुटवलको पहिलो पाँचतारे र प्रदेशको सबैभन्दा ठूलो होटलका रूपमा सञ्चालनमा आएको हो।
लगानीकर्ताहरूले सुरुमा यस होटललाई सेफ्रोन होटल नाम दिएर निर्माण सुरु गरेका थिए। तर केही समयमै अन्तर्राष्ट्रिय चेन ब्रान्ड हायात प्लेससित सम्झौता भएपछि हायात प्लेसमा नाममा सञ्चालनमा आएको हो।
सन् २००६ मा सुरु भएको हायात ब्रान्ड अहिले संसारभरि ४२० स्थानभन्दा बढी स्थानमा फैलिएको छ।
‘बुटवलमा पाँचतारे होटलको अभाव खट्किएको थियो। यही देखेर हामी हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका हौँ’, पौडेलले भने।
विविध प्रकारका १०९ कोठा रहेको होटलमा एकै पटक २५० पाहुनालाई आरामपूर्वक बास बसाउन र स्वागत सत्कार गर्न सकिने होटल व्यवस्थापनले जनाएको छ।
पौडेलले भने, ‘होटेल र यसका कोठाहरूको आकार र आकृतिले भगवान् बुद्धको शान्ति र आधुनिकताको संयुक्त आभास दिनेछन्। होटलको डिजाइनलाई आध्यात्मिकता र आधुनिकताको फ्युजनको स्वरूप दिइएको छ। त्यसैले यो कहिल्यै पुरानो नहुने टाइमलेस शैली र बान्कीमा निर्माण भएको विश्वास हामीले गरेका छौँ।’
होटलका धेरै संरचनामा बोधी वृक्षको पातको आकृति देख्न पाइन्छ। त्यस्तै एक सय ५० क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरका इटाको बनावटको झझल्को पाइन्छ।
‘हामीले क्याजुअल कम्फर्टमा बढी जोड दिएका छौँ। होटेलको लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार वटा विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ। जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुःख छ, दुःखको कारण छ, दुःखको निरोध सम्भव छ र दुःख निरोधको मार्ग छ भन्ने झल्काइएको छ’, उनको भनाइ छ।
सञ्चालक चुन्नुका अनुसार आजको जीवनशैली अत्यन्त व्यस्त छ। पाहुनाले एकै पटक धेरै काम गर्नुपर्ने हुनसक्छ। त्यसैले होटलमा दैनिक जीवनका सबै सुविधा सहज र नवीन रूपमा प्रदान गर्ने प्रयास गरिएको छ। यसका लागि पाहुनाले आरामदायी बसाइसँगै काम गर्न, सुत्न र खेल्न छुट्टाछुट्टै आरामदायी र सुविधा सम्पन्न स्थान प्राप्त गर्नेछन्।
उनले भने, ‘हामीले कर्पोरेट क्षेत्रका ग्राहकलाई फोकस गरेका छौँ। तर सँगसँगै यो होटल पारिवारिक परिभ्रमण र हल्टेजका लागि पनि त्यत्तिकै उपयोग हुनेछ। समग्रमा होटलले नेपालको सुगन्ध, पहिचान र सारलाई समेटेको छ।’
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै होटलमा जिङबार, ११ सय वर्ग मिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, माटोको घरको डिजाइनमा बनेको स्पा, ज्याकुजी र पर्याप्त पार्किङ सुविधा उपलब्ध रहेको व्यवस्थापनले बताएको छ।
पौडेलले सुनाए, ‘बुटवलसित सिमाना जोडिएको भारतको उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ। यसमध्ये केही प्रतिशत मात्र भित्र्याउन सके मात्र हामीले पर्यटनका क्षेत्रमा ठूलो फड्को मार्नेछौँ। र, हामीलाई विश्वास छ कि हामी उत्तर प्रदेशका पाहुनालाई आकर्षित गर्न सक्नेछौँ।’
उनले भारतीय र खासगरी उत्तर प्रदेशका सम्भ्रान्त पाहुनाको रुचिअनुसार होटेलको आर्किटेक्ट डिजाइन, बनावट र सजावट गरेको स्पष्ट पारे। होटलले निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ।
पौडेलले बुटवलमा क्यासिनो सहितको पहिलो पाँचतारे होटल हायात नै हुने बताए। यसबाट विदेशी मुद्रा आर्जनसँगै रुपन्देहीको रोजगारी र अर्थतन्त्रमा पनि योगदान पुग्ने उनको विश्वास छ।
होटलका अर्का सञ्चालक कमलकिशोर मालपानीले सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भने पनि पर्यटनमैत्री नीति र कानुन निर्माण गर्न नसकेको गुनासो गरे।
उद्योगी मालपानीले सरकारले पर्यटनमैत्री कानुन र नीति लागु गर्ने हो भने एकै वर्षमा आर्थिक वृद्धिदरले छलाङ मार्ने दाबी गरे।
मालपानीले भने, ‘सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्छ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सञ्चालन गरिनुपर्छ। यति गरे मात्र यहाँको होटल र पर्यटन क्षेत्रले ठूलो राहत पाउनेछ।’
अर्का सञ्चालक नरीश्वर शर्माले होटल पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनाले रोजगारी पाउने र यसमा स्थानीयलाई प्राथमिकता दिइने जानकारी दिए।
होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक ४० लाखको खर्चमा पिच र सौन्दर्यीकरण गरेको होटलका अर्का सञ्चालक भूमिराज पौडेलले जानकारी दिए।