विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई कोभिड १९ को नाम दिएको छ। यसरी अहिले विश्व स्वास्थ्य क्षेत्रमा एक अर्को नयाँ रोग थपिएको छ। यसका सम्बन्धमा अनेक थरिका थ्योरि तथा अड्कबाजीहरु भैरहेका छन्।
अमेरिकाले चीनलाई सूचना लुकाएको तथा चीनले अमेरिकी सेनाले चीनमा आएर भाइरस फैलाएको आरोप लगाएका खबरहरु पनि आएका छन्। स्वास्थ्य क्षेत्रको कालो बजारलाई नजिकबाट हेर्दै आएका कतिपय स्वास्थ्य विशेषज्ञहरुले यसलाई बिग फार्मा कम्पनी र शक्ति राष्ट्रहरुको गेम प्लान हो भनेका छन्।
कोरोना भाइरसको प्रकृति, आँधीतुफानझैं फैलिएको यसको महामारी, संसारभरि सृजना भएको डर, त्रास र आतंकको वातावरण तथा कोरोनाका कारण मर्नेहरुको पुर्व अवस्थालाई हेर्दा कोभिड १९ प्रति प्रशस्त शंका गर्ने ठाउँ छ। र, कोरोनालाई जति खतरनाक भाइरसको रुपमा प्रस्तुत गरिएको छ, त्यत्ति खतरनाक यो भाइरस छैन। अर्को कुरा जति मानिसहरु कोरोनाका कारण मरे भनिएको छ, त्यत्ति मानिस सिर्फ कोरोनाका कारण मरेका होइनन्।
विभिन्न अड्कलबाजी तथा हल्लाका खबरहरु पछि नलागौं। वैज्ञानिक अध्ययन अनुसन्धानले के के भन्दछ, त्यसमा विश्वास गरौं। २० वर्ष पहिला डा. स्टेफन मोर्सले यस पृथ्वीमा १० लाख भाइरसहरु भएको बताएता पनि अहिलेको नयाँ अध्ययनले लगभग ३ लाख २० हजार प्रकारका भाइरसहरुको पुष्टि गरेको छ।
ती मध्ये पहिचान भएका प्रमुख भाइरसहरु हुन्ः मरबर्ग भाइरस, इबोला भाइरस, रेबिज, एचआइभी, स्मलपक्स, हन्टाभाइरस, इन्फ्लून्जा, डेंगी, रोटाभाइरस, सार्स कोरोना भाइरस, मर्स कोरोना भाइरस तथा अहिलेको नोभल कोरोना भाइरस (सार्स कोभ २) आदि।
चीनको वुहानबाट अहिले संसारभर आँधीतुफानझैं फैलिएर महामारीको आतंक मच्चाउने भाइरस चाही नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यस भाइरस पनि कोरोनाभाइरस परिवारको हो। कोरोना भाइरस अन्य भाइरस जस्तै एक सामान्य भाइरस हो।
यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्दछ। तर, सबै कोरोना भाइरस खतरनाक हुँदैनन्। सन् १९६० को दशकमा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो। सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो। यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो।
तर अहिलेको नोभल कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या भने ३७ हजार नाघि सकेको छ। मिडियामा आएको खबर अनुसार अहिलेसम्म (चैत्र १८ गते) संसारभरका विभिन्न देशमा कोभिड १९ बाट ७ लाख ८६ हजार जना संक्रमित भएको जनाइएको छ। यसरी एकाएक संसारभरि फैलिएर धेरै मानिसहरुको ज्यान लिएका कारण नोभल कोरोनालाई निकै खतरनाक मानिएको छ। त्यसैले संसार नै अहिले लकडाउनको स्थितिमा छ। कोरोनाले विश्वव्यापीरुपमा स्वास्थ्य समस्या मात्र होइन, आर्थिक, समाजिक, परिवारिक तथा बेरोजगारी समस्या समेत पैदा गरेको छ।
यो हो कोभिड १९ को आउटसाइड स्टोरी। यसको इनसाइड स्टोरी पनि छ। पहिलो तथ्य के हो भने अहिलेसम्म ७ लाख ८६ हजार जना संक्रमित मध्ये १ लाख ६५ हजार पूर्णरुपमा ठीक भएका छन्। यसरी मर्नेहरुमा अधिकांश पाका उमेरका मानिसहरु छन्, जो पहिलादेखि नै मुटु, दम, मधुमेह, श्वासप्रश्वास सम्बन्धि रोग तथा इन्फ्लुन्जा आदिबाट पीडित थिए।
अब यहाँ प्रश्न उठ्छ कोरोना भाइरसबाट संक्रमित यस्ता व्यक्तिहरु कोभिड १९ कै कारण मरेका हुन त ? नहुन पनि सक्छन्। त्यो किनभने ती मृतकहरु मध्ये कतिपय कोरोनाको संक्रमणको नभएको खण्डमा पनि अन्य रोगहरुको कारण मर्नेवाला थिए। स्मरण रहोस्, हरेक वर्ष विश्वमा दसौं लाख मानिसहरु फ्लूका कारण मर्ने गर्छन्।
कोभिड १९ बटा संक्रमितहरु कतिपय मानिसहरु उपचारका कारण पनि मरेका हुन भन्ने कतिपय स्वास्थ्य विशेषज्ञहरुको तर्कलाई पनि नकार्न सकिँदैन। त्यो किनभने कोभिड १९ को कुनै निश्चित औषधि र उपचार विधि छैन र अहिले जति पनि कोरोना संक्रमित मानिसहरु छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेर लक्षण र अनुमानको भरमा विभिन्न एन्टिभाइरल औषधिहरुद्धारा उपचार गरिएको छ।
कतिपय यस्ता औषधिहरुले मानिसको रोगप्रतिरोधात्मक क्षमता झनै कमजोर बनाउने र औषधिको प्रतिप्रभावका कारण विरामीको मृत्यु भएको हुन सक्ने विशेषज्ञहरु दावी छ।
सबै भन्दा उल्लेखनीय र महत्वपूर्ण कुरा मानिसको मनोविज्ञान हो। कोभिड १९ लाई एक खतरनाक ज्यानमारा रोगको रुपमा प्रचारित गर्नु पनि संक्रमित मानिस मर्नुको अर्को प्रमुख कारण हो। मानिसका लागि सबै भन्दा ठुलो डर मृत्युको डर हो।
कोही पनि सामान्य मानिस मर्न चाहँदैनन्। तर, अहिले कोरोनाको डरत्रास यति कहालिलाग्दो छ कि गोबन सर्पले टोकेको मानिस भन्दा पनि बढी कोराना भाइरस संक्रमणको डरले मानिस थर्थरी काँपेका छन्। कोरोना संक्रमण नभएका मानिसलाई यति डर छ भने कल्पना गर्नुहोस् त संक्रमित मानिस कति डराए होलान्।
विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको शरीरमा कुप्रभाव पार्दछ। मानिसको इम्युनिटि कमजोर बनाउँछ। मानिसको इम्युनिटि कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ। अतः हामी सबै सर्वसाधारणले बुझ्नु पर्ने कुरा के हो भने यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन्।
ती मध्ये २१९ प्रकारका भाइरसको पहिचान भएको छ। यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन्। मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटि)का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेका छन्। त्यसैले महत्वपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो। मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन्। यो वैज्ञानिक तथ्य हो।
अन्तमा भन्नुपर्दा कोभिड १९ शक्तिराष्ट्र तथा मेडिकल माफियाको गेम प्लान नै हो भन्ने कुराको अहिलेसम्म ठोस प्रमाण प्राप्त नभएता पनि शंका गर्ने प्रशस्त ठाउँ छ। र, कोरोना भाइरस जे जसरी पैदा भएको भएता पनि हामी सर्वसाधारणहरु यस भाइरसको महामारीप्रति सचेत र सजग हुनु राम्रो कुरा हो। तर यतिविधि त्राहीमाम हुनु चाही आवश्यक छैन।
(लेखक साइकोथेरापिष्ट हुन्।)