प्रकाश पुरी
हामी कोरोनाले ग्रसित मुलुक स्पेनमा छौं तर सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसेका छौं। कोरोना महामारीले तीब्र रुप लिएको स्पेनमा छौं । यहाँ एकैदिन झण्डै सातसय जनाको मृत्यु भएको छ र हजारौं संक्रमित भएका छन् । यहाँका विभिन्न सहरमा सयौं नेपाली रहेको अवस्था छ । करिब १५ दिनदेखि हामी सबैलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म सुरक्षित छौं ।
नजिकै रहेका ६ जनालाई यसको संक्रमण देखिएको छ । यसपालि भने जोखिम बढेको छ । उनीहरू क्वारेन्टाइनको सही पालना नगरेका कारणले संक्रमित भएको सुरक्षाकर्मीले बताएका छन् । तपाईंहरु नेपालमा हुनुहुन्छ र त्यहाँ लकडाउन भएको छ ।
तर सामाजिक सञ्जालहरु हेर्दा लाग्छ यो लकडाउन तपाईंहरुलाई मजाकका लागि लगाइएको जस्तो भएको छ । हेक्का राख्नुस् यहीँ स्पेन र इटलीमा आजभन्दा २०/२५ दिनअघि त्यस्तै थियो ।
हामी बस्ने बार्सेलोना सहर हो । यहाँ चितवन कास्की र पर्वतबाट आएका नेपाली धेरै छन् । नेपालीलाई खान बस्न तेस्तो अफ्ठेरो भएको छैन । यहीँ नजिकै अहिले ३००० जनालाइ कोरोनाको संक्रमण लागेको छ । बार्सिलोनाको यो सिटीमा मात्रै चार हजार जति नेपाली छन् ।
नेपाली दुताबासले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको छ । घरबाट बाहिर निस्कन दिइएको छैन । बाहिर निस्केको देखियो भने पुलिसले १०० यूरोदेखि ५०० यूरोसम्म जरिवाना तिराएको छ । हाम्रो नेपालमा पनि लकडाउन भन्दा ठिक केही समय अघि बिदेशमा रहेका प्रवासी नेपालीहरु गाउँगाउँमा पुगेका छन् ।
उनीहरू कुन कुन साधनमा कुन कुन देश हुँदै त्यहाँ पुगे केही पत्तो छैन । कतै संक्रमितको संसर्ग भएका ठाउँबाट पनि उनीहरू यात्रा गरे । कतिपय हट्टाकट्टालाई झ्याप्पै नसमाउने तर उनीहरुको शरिरमा, कपडामा टाँसिएको अवस्थामा भाइरस केही घण्टा बाँचेर संगै आएको हुनसक्छ । त्यस्तो भाइरस अरु कमजोर अवस्थाकालाई फ्याट्टै सरिहाल्छ रे ।
आफ्नाको होइन भाइरसको विरोध गर्नुस्, भाइरसलाई नाता नजोड्नुस्, माया नगर्नुस् ! स्थानीय पालिकासम्मै अहिले क्वारेन्टाइन बनेका समाचार आएका छन् । त्यहाँ नियम पालना गरेर बस्नुहोस् । सक्ने र हुनेले घरमै अलग्गै कोठामा क्वारेन्टाइन बनाएर नियम पालना गर्नुहोस् । यहाँ अटेर गरेका एकजनाले गर्दा संगै बस्ने अरु ६ जनालाई एकैसाथ संक्रमण भएको छ ! मानव शरीर हो, हजारौं भाइरसको सामना गर्ने, संगत गर्ने र लड्ने चक्र चलिरहन्छ ।
तर यो बेलाको नेपालको अवस्था एकदमै जोखिमपूर्ण देखिएको छ । कम्तीमा अझै १३ दिनजति स्वनियममा रहनुस् ! हामी परदेशमा एउटा कोठामा, नचिनेका मान्छेका सहरमा बसिरहेका छौं ! तर हरदम चिन्ता र पीरलो आफ्नै परिवारको छ, आफ्नै देशको छ । हामी अहिलेसम्म सुरक्षित छौं र यहीँ अवस्थामा रहन सकियो भने सुरक्षित अवस्य नै रहिरहने छौं !
(पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. २, बर्राचौर घर भइ हाल (विगत ३ वर्षदेखि) स्पेनमा छु)