एक करोड बर्षअघि जसरी हिन्द महासागर हुँदै उत्तरतिर धसिइरहेको इण्डियन टेक्टोनिक प्लेट युरेसियासँग टकराएपछि हिमालय बनेको थियो, त्यसरी नै आजको इण्डिया* पनि भिन्न संस्कृति र मानिसहरु बीचको टकरावको नतिजा हो ।
खेतीपातीलाई नै हेरौं न ! इण्डियन उपमहाद्विप खाद्यान्नको भण्डार हो । आज विश्वको एक चौंथाई जनसंख्यालाई यसले खुवाउँछ । ५० हजार बर्षअघि युरेशियामा आवादी बढ्न थालेदेखि नै यो उपमहाद्विप विश्वका ठूला जनसांख्यिक केन्द्रध्येको एक रहिरह्यो । तर, खेतीपाती इण्डियामा आविस्कार भएको होइन । इण्डियाको आजको कृषि युरेसियाका दुई ठूला कृषि पद्धतिको टकरावबाट जन्मिएको हो ।
पुरातात्विक प्रमाणलाई आधार मान्दा पूर्वी शीतकालीन वर्षामा उब्जनी हुने गहुँ र जौं नौ हजार बर्ष पहिलेमात्र सिंधु घाँटीमा आइपुगेको थियो भन्ने थाहा हुन्छ । उदाहरणका लागि वर्तमान पाकिस्तानमा पर्ने सिंधु घाँटीको पश्चिमी किनारमा रहेको प्राचिन मेहरगढलाई हेर्न सकिन्छ ।
लगभग पाँच हजार बर्षअघि सिंधुका स्थानीय किसानहरुले यी फसललाई ग्रीष्मकालीन मनसुनी बर्षा अनुकुल उब्जाउन सक्ने बने । त्यसपछि गहुँ र जौं पुरै उपमहाद्विपमा फैलियो । यता चामल र कोदो जस्ता चीनको मनसुनी फसल पाँच हजार बर्ष अघि इण्डिया आइपुग्यो । सम्भवतः इण्डिया पहिलो स्थान हो, जहाँ निकट पुर्वी(टर्की) र चाइनिज कृषि प्रणाली ठोकियो ।
भाषा अर्को मिश्रण हो । उत्तरी इण्डियाका इण्डो–युरोपियन भाषा ईरान र युरोपका भाषासँग जोडिएका छन् । तर, दक्षिण इण्डियामा अधिक बोलिने द्रविड भाषाले दक्षिण एशियाभन्दा बाहिरका भाषासँग सम्बन्ध राख्दैनन् ।
अर्को सिनो–तिब्बतीयन भाषा पनि छन्, जो ईण्डियाको उत्तरमा तेर्सिएर रहेका उँचो भू–भागमा बस्ने मानिसले बोल्छन् । पूर्वी र मध्य–इण्डियन भू–भागमा केही आदिवासीको समूह छ, जसले कम्बोडियन र भियतनामीसँग सम्बन्ध राख्ने अस्ट्रोएशियाटिक भाषा बोल्छन् । दक्षिण र दक्षिण–पूर्वी एसियामा सबैभन्दा पहिले धान खेती पद्धति भित्र्याउने मानिसले यी दुई भाषा ल्याएका थिए भन्ने मान्यता व्याप्त छ ।
भाषाविद्ले ईण्डो–युरोपियनभन्दा निकै भिन्न मानेका पुरातन द्रविडियन र अस्ट्रोएशियाली शब्दहरु ऋगवेदमा उल्लेख्य भेटिन्छन् । यसले के संकेत गर्छ भने द्रविड र अस्ट्रोएशियाली भाषा इण्डियासँग कम्तिमा पनि तीनदेखि चार हजार बर्ष पहिलेदेखि नै सम्पर्कमा छन् ।
इण्डियाका मानिसको स्वरुपमा पनि विविधता छ, जसले मिश्रणको दृष्य–प्रमाण दिन्छ । इण्डियन सहरका जुनसुकै गल्लिमा एक पटक चाहार्नुहोस्, कति विविधता छ भनेर स्पष्ट हुनेछ ।
छालाका रंग कालोदेखि पहेँलोसम्म छन् । केहीका अनुहारको बनावट युरोपियनसँग मिल्छ, केहीको भने चाइनिजसँग । आज देखिने यो विविधताले सुदूर–अतितको कुनै समयमा भएका भिन्न–भिन्न मानिसहरुको टकरावलाई झल्काउँछ ।
तर, शारिरिक बनावटको अधिक विष्लेषणबाट निस्कने निचोड सधैं सत्य नहुन सक्छ । किनभने वातावरण र खानपानले पनि शारिरिक बनावटलाई प्रभाव पारिरहेको हुन्छ ।
भारतमा भएको पहिलो आनुवांशिक(जेनेटिक) अनुसन्धानले परस्पर विरोधी नतिजा निकाल्यो । अनुसन्धानमा सधैं आमाबाट मात्रै पुस्तान्त्रण हुने(पछिल्लो एक अध्ययनले बाबुबाट पनि पुस्तान्त्रण हुने देखाएको छ) माइटोकन्ड्रियाको डीएनएलाई अध्ययन गरिएको थियो । अध्ययनबाट बहुसंख्यक इण्डियन डीएनए यो उपमहाद्विपको लागि अद्वितीय रहेको नतिजा निस्कियो । अर्थात्, उनीहरुको डीएनए दक्षिण एसियाभन्दा बाहिरका मानिसहरुसँग मिल्दैन थियो । यसले के देखायो भने मातृ–वंशरेखा अनुसार अधिकांश इण्डियन पुर्खाहरु उपमहाद्विपमा निकै लामो समयदेखि एक्लिएर रहेका थिए । पूर्व, पश्चिम अथवा उत्तरका मानिसहरुसँग मिसिएका थिएनन् ।
तर, बाबुबाट पुस्तान्तरण हुने वाई–क्रोमोजोम(Y-chromose)को अध्ययन गर्दा नतिजा उस्तै थिएन । वाई–क्रोमोजोमको अध्ययनले ईण्डियन पुर्खाहरु पश्चिम युरेशियन(युरोपियन, मध्ये एसियन र निकट पूर्वी) सँग जोडिएको देखायो । अध्ययनले ईण्डिएन पुर्खाहरुलाई युरेसियन मानिसहरुको मिश्रित नतिजाका रुपमा अथ्र्यायो ।
केही इण्डियन इतिहासकारले आनुवांशिक अध्ययनमा देखिएका यस्ता विरोधाभासतर्फ औंला तेर्याउँछन् । आनुवांशिक(जेनेटिक) अध्ययनलाई उनीहरुले वास्ता गर्दैनन् ।
मानवको प्रागैतिहासिक अध्ययनमा विरासत जमाएका पुरातत्व, मानवशास्त्र र भाषाशास्त्रबारे जेनेटिसिस्टहरुमा औपचारिक ज्ञान नहुनुले इतिहासकारहरुले सहजै आनुवांशिक अध्ययनलाई मान्न तयार हुँदैनन् । अर्कोतर्फ आनुवांशिक अध्ययनहरु गल्तिका भण्डार हुन्छन् भन्ने मान्यता पनि छ ।
तर, जेनेटिक्सलाई वेवास्ता गर्नु महामुर्खता हो । हामी जेनेटिसिस्टहरु मानव अतित अध्ययन गर्न निकै पछि आएका असभ्य र संस्कारहीन हुन सकौंला, तर असभ्यहरुलाई बेवास्ता गर्नु सधैं प्रत्युत्पादक हुन जान्छ । हामीसँग अरु कोहीसँग नभएका तथ्यहरुमा पहुँच हुन्छ । र, हामीले ती तथ्यलाई ‘वेल्डिङ’ गरेर प्राचीन कालका मानिसहरु को थिए भन्ने कठिन प्रश्नहरुको जवाफ पत्ता लगाउँदै छौं ।
–डेविड राइखको पुस्तक ‘हु वी आर एण्ड हाउ वी गट हियरः एन्सियन्ट डीएनए एण्ड द न्यु साइन्स अफ ह्युमन पास्ट’को लेखलाई जीवराज चालिसेले नेपालीमा भावानुवाद गरेका हुन् । साप्ताहिक रुपमा प्रकाशन गर्न लागिएको लेखको यो दोस्रो भाग हो ।
*लेखमा इण्डियालाई उपमहाद्विपको अर्थमा प्रयोग गरिएको छ, भारत देशको रुपमा होइन ।