रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभएर शारीरिक,मानसिक र सामाजिक रुपमा पनि स्वस्थ रहनुलाई स्वास्थ्य भनिन्छ । आधुनिक एबं परमपरागत स्वास्थ्य उपचार पद्धतिको प्रबर्द्धन र विकास गरि आम नागरिकको शारीरिक एबं मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने दायित्वसहितका जिम्मेवारी अहिले पालिका स्तरमा समेत आएका छन् ।
संघीय र प्रदेश सरकारका विभिन्न निकायको सहकार्यमा पालिकाहरुलेसमेत जनस्वास्थ्यको संवेदनशीलतालाई व्यवहारिक बनाउन लागेका छन् । खासगरी बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा विशेष महत्व र चासो दिएको छ । नीति निर्माण गर्ने देखि सामाजिक संघ सस्था एबं निजि क्षेत्रको सहकार्यमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने काम भइरहेको छ ।
पछिल्ला केही वर्षयता स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनहरु भएको पाइन्छ । यद्यपि स्वास्थ्य क्षेत्र अझै पनि सेवा भन्दा व्यवसाय ज्यादा भयो भन्ने आम गुनासो भने उत्तिकै छ । यसलाई सुधार गरेर स्वास्थ्यलाई सेवामूलक बनाउने र अझ प्रभावकारी बनाउनेतर्फ तीनै तहका सरकारले चासो बढाउनुपर्ने छ । स्वास्थ्य नीतिलाई समयसापेक्ष बनाउनुपर्ने छ ।
अहिलेको कोरोना महामारीले हाम्रो स्वास्थ्य क्षेत्र कुन अवस्थामा रहेछ भन्ने प्रष्ट भएको छ । सर्ने रोगहरुका यस्ता महामारी आउँदा हाम्रा स्वास्थ्य संरचना र जनशक्तिले थग्ने रहेनछन् भन्ने प्रष्ट भएको छ । अब यसैबाट पाठ सिकेर स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र बलियो बनाउनुपर्ने छ ।
अहिले जनप्रतिनिधिले जनस्वास्थ्यलाई प्राथमिकतामा राखी स्थानीय स्वायत्त शासन ऐन अनुरुपका कानुन बनाएको पाइएको छ । बुटवल उपमहानगरले कानुन बनाउने, कार्यविधि बनाउने र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने काम गरिरहेको छ ।
उपमहानगरपालिका क्षेत्र भित्रका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य चौकीहरुमा ल्याबसहितका सुविधा उपलव्ध गराइएको छ । पोलियो, भिटामिन ए, हात्ती पाईले, डेंगु, स्क्रब टाइपसलगायत विभिन्न नागरिक सचेतना कार्यक्रमहरु यहाँ सञ्चालित छन् । महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन भएका छन् । कार्यालयमा नै प्राथमिक उपचारको लागि क्लिनिक संचालन, निशुल्क ल्याब सेवा, गर्भवती तथा सुत्केरीलाई पोषण र स्वास्थ्य सेवादेखि जनचेतनाका नमुना काम बुटवलमा भइरहेका छन् ।
व्यक्तिगत र वातावारणीय सरसफाई, प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धि जनचेतना कार्यक्रम,बिधालय किशोर किशोरी शिक्षा, विभिन्न संघ सस्थाको सहयोगमा डटस कार्यक्रम, विभिन्न किसिमको स्वास्थ्य शिबिर संचालन, स्वास्थ्य कार्यालय रुपन्देहीको प्राबिधिक सहयोगमा बिधालय टि.टि.खोप कार्यक्रम, दादुरा रुबेला खोप कार्यक्रम संचालन गरिएका छन् ।
शहरी क्षेत्रमा ठुला अस्पताल, प्राइभेट अस्पताल, नर्सिंगहोमहरू भएपनि प्राथमिक सेवाहरुको उपलब्धता, प्रतिकारात्मक र प्रर्बद्धनात्मक सेवाहरु नगन्य मात्रामा रहेकोले बुटवलका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा उपचार गराउनेहरुको संख्या बढेको छ । यहाँको सहरी जनसंख्यालाई उपलव्ध स्वास्थ्य सेवा पुर्याउनु पर्छ भन्ने उद्देश्य उपमहानगरको रहेको छ । अत्यावश्यक प्राथमिक स्वास्थ्य सेवा निशुल्क र सहज रुपमा नै उपभोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले काम भइरहेको छ । जनप्रतिनिधिहरुबाट यी कामको निरन्तर निगरानी समेत भइरहेको छ ।
हाल बुटवल उपमहानगरपालिकामा ५ ओटा शहरी स्वास्थ्य केन्द्र, १ ओटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र २ ओटा स्वास्थ्य चौकी गरि जम्मा ८ ओटा स्वास्थ्य सस्था रहेको छ । यीबाट स्वास्थ्यसेवा उपलव्ध छ । यस बाहेक वडा तथा गाउँघर क्लिनिक संख्या १३ ओटा रहेको छ र आधारभूत स्वास्थ्य केन्द्र वडा न.१५,१६ र १९ मा स्थापना हुने क्रममा रहेको छ । त्यस्तै ८ ओटा स्वास्थ्य सस्थाको १८ ओटा खोप केन्द्र र खोप सेसन संख्या २० ओटा रहेको छ । त्यस्तै पालिका मातहक बाहिरको सरकारी र सामुदायिक अस्पताल गरि ३ ओटा सस्थामा ३ ओटा खोप केन्द्र बाट ३६ ओटा खोप सेसन संचालन हुन्छ । (यी सबै संख्या मासिक रुपमा संचालन हुने संख्या हो) ।
बुटवलले आफ्नो पालिकाको खोप भण्डारण केन्द्र (कोल्ड चेन स्टोर) सञ्चालनमा ल्याएको छ । यसका लागि सिद्धार्थ बाल तथा महिला अस्पतालमा नगर क्षेत्र भित्रको खोप कार्यक्रमको लागि कोल्ड चेन स्टोरको स्थापना गरिएको छ । त्यहि बाट नै भ्याक्सिनको वितरण हुदै आएको छ । यो कामको सुरुआत प्रमुख शिवराज सुवेदीले गर्नुभएको थियो । खोप भण्डार केन्द्रले महत्वपूर्ण टेवा पुराएको छ ।
बुटवल उपमहानगरपालिका भित्रको स्वास्थ्य सस्थाहरु:
क्र.स. |
स्वास्थ्य सस्थाको नाम |
कभरेज वडा |
१ |
शहरी स्वास्थ्य केन्द्र १ |
१ र २ |
२ |
शहरी स्वास्थ्य केन्द्र ३ |
३ र ५ |
३ |
शहरी स्वास्थ्य केन्द्र ४ |
४ र ६ |
४ |
शहरी स्वास्थ्य केन्द्र ७ |
७, ८ र १० |
५ |
शहरी स्वास्थ्य केन्द्र ११ |
९ र ११ |
६ |
शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र १२ |
१२ र १३ |
७ |
सेमलार स्वास्थ्य चौकी १४ |
१४, १५ र १६ |
८ |
मोतिपुर स्वास्थ्य चौकी १७ |
१७, १८ र १९ |
जनस्वास्थ्य क्षेत्रका केही सफल प्रयास:
१)बुटवल उपमहानगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र (ओडीएम) घोषणा गर्न सफल भएको, जसले गर्दा दिशा तथा दिशा बाट पानी प्रदुषित भइ लाग्ने रोगमा कमि आएको छ ।
२)पूर्ण खोपयुक्त नगर घोषणा गर्न सफल भएको जसले गर्दा २५ प्रतिशत बाल मृत्युदर घटाउन सहयोग मिलेको (राष्ट्रिय तथ्यांकको आधारमा )
३)राज्यलाइ पोलियो मुक्त गराउन सहयोग मिलेको
४)मानिसमा व्यक्तिगत र वातावरणीय सरसफाइमा सचेतना बढेको
५)सरुवा तथा नसर्ने रोग बारे सचेतना बढ्दै गएको
६)आधारभूत स्वास्थ्य सेवाको पहँुचमा वृद्धि भएको
७)जनप्रतिनिधि आएपछि जनस्वास्थ्यको संवेदनशिता बुझेर नीति कार्यक्रम तय
८) महामारीका बेलामा बुटवलमा सुरु भएको संक्रमितका लागि घरदैलो र अक्सिजन बैंक सेवा कार्यक्रम मुलुकमै नौला हुन । यहाँ प्रमुख, उपप्रमुख र स्वास्थ्यकर्मीहरु अक्सिजन सिलिण्डर बोकेर संक्रमितको घरदैलोमा पुगेर मुलुकमै उदाहरणीय काम भएको छ । संक्रमितको मनोबल बढाउन आयुर्वेद बोकेर घरघरमा लगिएको छ ।
अब गर्नुपर्ने काम
सम्पूर्ण स्वास्थ्य सस्थाको आफ्नै भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने छ । स्वास्थ्यमा लगानी बढाएर सेवामूलक क्षेत्रको पहिचान स्थापित गर्नुपर्ने छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बीचको समन्वयलाई अझ प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेछ । निशुल्क औषधिहरुको आपुर्तीमा कुनै बाधा उत्पन्न गराइनु हुन्न । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई समयानुकुल बनाउनुपर्ने छ । दक्ष जनशक्ति उत्पादनका कामलाई तीनै तहले प्राथमिकतामा राख्नुपर्ने छ । भौतिक बिकास नै सम्पूर्ण बिकास हो भन्ने मान्यता कायम रहेकाले यसलाई बदल्नुपर्ने छ र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने छ । गरिब तथा बिपन्न नागरिकलाइ स्वास्थ्य सेवामा सहज पहुँच उपलव्ध गराउनुपर्ने छ ।
बुटवल उपमहानगरपालिका पूर्ण खोपयुक्त नगर हो । यद्यपि यहाँका केही पालिकामा अझै हुन नसकेको अवस्था छ । नेपालमा अझै पनि ३ प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको अवस्था छ । बुटवलबाट यो सन्देश प्रवाह गर्नुपर्ने छ । स्वास्थ्य सेवा भनेको उपचारात्मक स्वास्थ्य सेवा मात्र हो भन्ने बुझाइलाई बदल्नुपर्ने छ । सचेतनाका कामलाई अझ प्रभावकारी बनाउनुपर्ने छ ।
स्वास्थ्य संस्थाका सेवाहरु
१) प्राथमिक उपचार सेवा
२) खोप सेवा
३) परिवार नियोजन सेवा
४) मातृ तथा बाल स्वास्थ्य सेवा
५) क्षयकुष्ठ उपचार सेवा (डट्स कार्यक्रम)
६) सर्ने तथा नसर्ने रोग सेवा
७) औलो कार्यक्रम सेवा
८) बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
९) व्यक्तिगत र वातावरणीय सरसफाई सेवा
१०) एचआईभी एड्स सेवा
११) पोषण तथा सचेतना कार्यक्रम
१२) निशुल्क परामर्श सेवा
१३) नगर प्रमुख ज्येष्ठ नागरिक कार्यक्रम, ज्येष्ठ नागरिकको घरदैलोमै सेवा
१४) उपप्रमुख सुत्केरी भेट (सेमलार बर्थिंग सेन्टरमा सुत्केरी भएका लागि मात्र)
१५) गर्भवतीलाइ निशुल्क रगत जाच सेवा (ल्याब भएको केन्द्रमा मात्र)
१६) ४० बर्ष माथिकाको लागि निःशुल्क सुगर जाँच सेवा
१७) स्वास्थ्य सुचना तथा संचार
१८) सीबी, आइएमएनसीआई
१९)आयुर्वेदिक स्वास्थ्य सेवा (शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र–१२ )
२०) निशुल्क रुपमा तोकिएका औषधिहरु वितरण
२१) महामारीका बेलामा जनप्रतिनिधि र स्वास्थ्यकर्मी संक्रमितको घरघरमा
२२) महामारीमा प्रदेश स्तरीय अभिभावकीय भूमिका निर्वाह
-लेखक बुटवल उपमहानगरपालिकाका अधिकृत छैठौ (हे.इ.) हुन् ।