महात्मा गौतम बुद्धको नामले विश्वप्रसिद्ध भएका सिद्धार्थ गौतम एक बुद्ध पुरुष हुन् । खोजकर्ता हुन् । दार्शनिक हुन् । गुरु हुन् । शिक्षक हुन् । मनोवैज्ञानिक हुन् । मनोचिकित्सक हुन् । तर, गौतम बुद्ध भगवान् (गड) चाँहि होइनन् ।
अध्ययन स्पष्ट पारेको छ, गौतम बुद्धलाई मेटाफिजिक्सका बारेमा कुनै चासो थिएन, कुनै रुचि थिएन । स्वर्ग र नर्क उनको खोजको विषय नै थिएन । उनलाई परमात्मा र परलोक सिद्ध गर्नु पनि थिएन । उनलाई भगवान् बन्नु पनि थिएन । उनको रुचि सिर्फ मानिसको मनोविज्ञानमा थियो, मानिसको दुःख, मानिसको रोग, रोगको कारण तथा रोगको उपचारमा केन्द्रित थियो ।
मानिस किन दुःखी हुन्छ ? मानिसको रोग के हो ? मानिसको रोग कसरी पैदा हुन्छ ? दुःख तथा रोगको कारण र उपचार के हो ? यही नै बुद्धका मौलिक प्रश्नहरु थिए । यिनै प्रश्नहरुको उत्तर खोज्न सिद्धार्थ गौतम घरपरिवार त्यागेर हिँडेका थिए ।
हो, गौतम बुद्ध संसारका पहिलो व्यक्ति थिए, जसले परमात्माको स्मरण बिना ध्यान गर्ने विधि दिए । बुद्धले ध्यानका लागि परमात्माको कुनै आश्यकता ठानेनन् । परमात्माको मात्र होइन, ध्यानका लागि आत्माको धारणालाई समेत आवश्यक ठानेनन् । बुद्धले भने, ध्यान त स्वास्थ्य हो । तिमी स्वस्थ हुन सक्छौ । स्वस्थ भएपछि तिमीले जे खोज्न चाहन्छौ, खोज्न सक्दछौ ।
म तिमीलाई रोग मुक्त गर्न आएको हुँ । बुद्धले संसारलाई दुःख, कष्ट र रोग मुक्त हुने मनोविज्ञान दिए । संवत् उनी मानवजातिका लागि कृष्ण पछिका अर्का महान् मनोवैज्ञानिक हुन् । सकारात्मक मनोविज्ञानका प्रणेता हुन् ।
ध्यानद्वारा ज्ञान पाएका महात्मा बुद्धले मानिसको मन, मस्तिष्क र शरीरमा विचारको शक्तिशाली प्रभाव रहने कुरामा जोड दिँदै भनेका छन्, मानिसले जस्तो सोच्छ, त्यस्तै हुन्छ । यस तथ्यलाई आधुनिक स्नायुविज्ञान तथा मनोविज्ञानले समेत पुष्टि गरेको छ । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिभ मोडलका अनुसार चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरुको प्रमुख कारण भनेको नै मानिसको सोच हो ।
यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोंचले नै डिप्रेसन लगायतका मानसिक समस्याहरू पैदा गर्छ । आधुनिक मनोविज्ञानको निचोड पनि यही छ, अधिकांश मानसिक समस्याहरु गलत सोचका कारण नै पैदा हुन्छन् ।
त्यसैले, कग्निटिभ थेरापिका अनुसार, यस्ता समस्याहरूबाट मुक्त हुनका लागि अतार्किक नकारात्मक सोच हटाएर तार्किक सकारात्मक सोच स्थापित गर्न जरुरी हुन्छ । त्यो किनभने उचित र तार्किक विचारहरूमा मनमस्तिष्क पुनर्संरचना गर्ने शक्ति हुन्छ, सामथ्र्य हुन्छ ।
महात्मा बुद्धले पनि उहिल्यै यसरी नै मानिसका दुःख, कष्ट र समस्याहरुको समाधान गरेका थिए । कतिसम्म कि खुंखार हत्यारा अंगुलिमाला समेत बुद्धको तार्किक विचारले हत्याहिंसाको बाटो छोडेर भिक्षु भएको थियो । साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी) ले गर्ने पनि यही हो ।
आधुनिक मनोविज्ञानको विकासमा लागेका विश्वका प्रसिद्ध मनोवैज्ञानिक तथा मनोचिकित्सकहरू मनका बारेमा खरबौं धनराशी खर्चिएर आधुनिक मनोविज्ञानले हालसालै ठम्याएका मनसम्बन्धी अधिकांश कुराहरु २५ सय वर्ष अघि महात्मा बुद्धले बताइसकेको थाहा पाएर अहिले तीनछक्क छन् । त्यसैले मनोवैज्ञानिकहरू बौद्ध मनोविज्ञानमा आकर्षित हुने क्रम बढ्दो छ ।
बौद्ध मनोविज्ञानलाई आधार बनाएर अनेक नामका साइकोथेरापिहरु पनि विकास भैरहेका छन् ।
आधुनिक मनोविज्ञानले यस कुरालाई स्वीकार गर्दै छ कि बौद्ध दर्शनमा जुन जुन तत्वहरु छन्, ती आधुनिक चिकित्सा विज्ञानको करीब छन् । त्यसैले बौद्ध ज्ञान र बौद्ध मनोविज्ञानलाई आजको परिप्रेक्ष्यमा कसरी प्रभावकारी बनाउन सकिन्छ, यस कुराप्रति विशेष शोधको आवश्यकता महसुस भइरहेको छ ।
बौद्ध मनोविज्ञानले नकारात्मक तथा अनैतिक कार्य गर्दा व्यक्ति भित्र कुन कुन मनोवैज्ञानिक तत्वहरु उपस्थित हुन्छन्, सकारात्मक व्यक्तित्व कसरी निर्माण हुन्छ, यसमा बिस्तारपुर्वक प्रकाश पारेको छ । चित्तका बारेमा गौतम बुद्धले बहुत गम्भिर उपदेश दिएका छन् । मानिसको मन चंचल छ । अनुशासनहीन छ । मनका कारण नै मानिस अशान्त र दुःखीत छ ।
बौद्ध मनोविज्ञान सुख र शान्तिप्राप्त गर्नका लागि अनुशासनहीन मनलाई नियन्त्रण गर्ने विज्ञान हो । यदि मानिसले यस विज्ञानलाई ठीकसँग बुझेर प्रयोगमा ल्याउने हो भने मानिसको मन प्राकृतिकरुपमा आउँछ र मानिस भावनात्मक अज्ञानताहरु र त्यसले स्वत ल्याउने दुःखबाट मुक्त हुन सक्दछ ।
बौद्ध मनोविज्ञानका अनुसार मानिसको शरीरमा विद्यमान पंचइन्द्रियहरुले मनमस्तिष्कलाई निरन्तर रुपले सुचनाहरु उपलब्ध गराउँदछ । फलस्वरुप विभिन्न प्रकारका अनुभवहरु उत्पन्न हुन्छन् । शारीरिक तथा मानसिक अनुभवहरुद्वारा भौतिक संसारप्रति अनुराग जाग्दछ । यही अनुरागका कारण नै मन अशान्त हुन्छ । दुःखीत हुन्छ । मानिसको दैनिक जीवन नै खलबलिन पुग्दछ । अनि मानिस अशान्त र दुःखी मात्र होइन कि रोगी पनि बन्न पुग्दछ ।
त्यसैले मानिसको जीवनलाई खलबलाउने हतासा र निराशाहरुको सामना गर्नका लागि बुद्ध मनोविज्ञानले ठुलो सहायता पुराउन सक्दछ ।
तर, यहाँ उल्लेख्य कुरा के भने बौद्ध मनोविज्ञान असामान्य मनोविज्ञान होइन । त्यसैले यदि कुनै व्यक्ति मानसिक रुपमा विमार छ, उसलाई आफ्नो दैनिक क्रियाकलापहरु गर्न गाह्रो भएको छ, अफिस जान, व्यापार व्यावसाय गर्न, पसल चलाउन तथा सम्भोग गर्न समेत कठिनाइ भएको छ भने उसका लागि बौद्ध मनोविज्ञान होइन, आधुनिक मनोचिकित्सा सहयोगी हुन सक्दछ ।
तर सन्तान छन्, परिवार छ, धनसम्पत्ति तथा भौतिक सुखसुविधाहरु सबै छन् । तर पनि उसलाई एक दिन त सबै छोडेर जाँदै छु भन्ने लागेको छ भने उसलाई बौद्धको मनोविज्ञान निकै सहयोगी हुन सक्दछ । बौद्ध मनोविज्ञान असमान्य मनोविज्ञान होइन, सकारात्मक मनोविज्ञान हो ।
ध्यान बौद्ध मनोविज्ञानको महत्वपुर्ण पक्ष हो । बुद्धले ध्यानलाई नै बढी महत्व दिएका छन् । त्यो किनभने ध्यानले मनलाई नियन्त्रण मात्र गर्दैन कि मन भित्रको सत्य कुरा देखाइदिन्छ । जसरी आँखाले संसारिक कुराहरु देखिन्छ, त्यसरी नै ध्यानले मन भित्रका सकारात्मक कुराहरु, नकारात्मक कुराहरु, सबै फोहोरमैलाहरु देखाइदिन्छ ।
तर ध्यान गर्नुको मतलव आँखा बन्द गरी पलेँटी कसेर बस्नु मात्र होइन । ध्यानको परिभाषा व्यापक छ । हिंडदा, बस्दा, खाँदा, पिउँदा तथा कुनै पनि दैनिक क्रियाकलापहरु गर्दा चेतनशील (माइन्डफुलनेस) हुनु नै ध्यान हो ।
अतः महात्मा बुद्धको खोज तथा बौद्ध मनोविज्ञानको सार हो, संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र आर्य अष्टागिंक मार्गको अनुसरणबाट दुःखको अन्त्य हुन्छ ।
भवचक्ररूपी दुःखको अन्त्य नै बौद्ध मनोविज्ञानको प्रमुख र एक मात्र लक्ष्य हो । यो वैज्ञानिक तथ्य हो । त्यसैले मन तथा शरीरप्रति होशपुर्वक रहेर सम्यक दृष्टि, सम्यक वचन, सम्यक संकल्प, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पालन गर्ने हो भने नै दुःखहरुबाट छुटकारा पाउन सकिन्छ ।
बौद्ध मनोविज्ञानका अनुसार शान्ति तथा निर्माणको यही एकमात्र बाटो हो । शान्ति, बुद्धि तथा जागरुकता बिना विश्वको कुनै भविष्य छैन । बौद्ध मनोविज्ञानको निचोड नै यही हो ।
(लेखक मनोविद् हुन् ।)