सन् १८९६ को नोभेम्वर महिनाको अन्त्यतिर तत्कालीन पाल्पा गौंडाका बडाहाकीम खड्गशमसेरले रुम्मिनदेई (लुम्बिनी) जंगलमा ढुंगाको ठूलो खम्बा जमिनमुनि गाडिएको अबस्थामा भेटिएको जानकारी पाए।
उनी आफै त्यहाँ पुगेर उक्त खम्बाको निरीक्षण गरे र त्यसलाई खन्न लगाए। नजिकै मुकाम खडा गरी आफु पनि त्यहीं बसे। उत्खननको काम धमाधम भइरहेको थियो। १८९६ डिसेम्वर १ तारिखका दिन ३ फिट जति खन्न बाँकी थियो। त्यत्तिकैमा एक जना विदेशी पुरातत्वविद् डा.एलोइस एन्टोन फुहरर देखा परे। कपिलवस्तु क्षेत्रको उत्खननका लागि नेपाल सरकारसँग अनुमति मागेका फुहररलाई पाल्पा क्षेत्रका बडाहामिकसँग सम्पर्क गर्न लगाइएकाले तानसेन पुगेका थिए।
पाल्पा पुगेपछि बडाहाकिमले रुम्मिनदेही जंगलमा ढुंगाको खम्बा खनिरहेका छन् भन्ने थाहा पाएर उनी तानसेनबाट बाटो सोध्दै त्यहीँ पुगे। डा. फुहररको खड्गशमसेरसँग भएको पहिलो भेट नै त्यही थियो।
यसरी फुहररले उत्खनन हुंदै गरेको खम्बा र त्यसमा उल्लेखित अभिलेखको तस्वीर खिचे। पुरातात्विक क्षेत्रको उत्खनन यसरी गर्न नहुने सुझाव दिए। उनले उतार गरेको उल्लेखित अभिलेखको अर्थ ब्राम्ही लिपिविज्ञहरुले अर्थ लगाएपछि गौतम बुद्धको जन्मस्थल तथा प्राचीन लुम्बिनी सोही ठाउँ हो भन्ने स्पष्ट भयो। चौधौं शताब्दीदेखि इतिहासको गर्भमा हराइरहेको लुम्बिनी फेरि भेटियो।
जनरल खड्शमसेर पुरातत्वका विशेषज्ञ थिएनन्। लुम्बिनी पत्ता लाग्नुअघि उनलाई बुद्ध र बुद्धधर्मका सम्बन्धमा खासै ज्ञान समेत थिएन भन्ने गरिन्छ। यद्दपि उनी जिज्ञासु थिए र त्यसको उत्खनन गर्ने रुचि देखाए।
संयोगवश फुहरर आए र लुम्बिनी पत्ता लाग्यो। यसरी लुम्बिनी पत्ता लगाउने व्यक्तिहरुका रुपमा फुहरर र खड्गशसमसेर चिनिए। त्यसो त डा. फुहरर त्यसअघि पनि नेपाल आएका थिए। १८९५ को मार्चमा निग्लिहवासम्म आएर उनले ढलिरहेको अशोक स्तम्भमा कुँदिएको अभिलेख उतारेर फर्केका थिए।
त्यही पाठको अर्थ ठम्याएपछि भारतीय पुरातत्व सर्वेक्षण विभागले नेपालभित्र अरु पनि स्तम्भहरु हुन सक्ने सम्भावना देखेर दोस्रोपटक पनि फुहररलाई नेपाल पठाएको थियो। फुहरर तेस्रो पटक पनि नेपाल आएर कपिलवस्तु क्षेत्रको उत्खनन गरेका अभिलेखहरु छन्।
लुम्बिनी पत्ता लागेको २ वर्षपछि सन् १८९८ मा लुम्बिनीको अध्ययन तथा उत्खनन गर्न अर्का पुरातत्वविद् पी.सी मुखर्जी आए।
मुखर्जीले अशोक स्तम्भ वरिपरि उत्खनन गरेर हेरे। विभिन्न कालखण्डमा बनाइएका प्राचीन ईटाका पर्खालहरु उनले भेट्याए। विभिन्न आकारका भग्वावशेषहरु भेट्याएपछि उनले तीनलाई स्तुप वा विहार रहेको हुनसक्ने अनुमान गरे।
मुखर्जीले अशोक स्तम्भको उत्खनन गरिरहेको तस्वीरको पछाडि दुइवटा साना तर जिवित भौतिक संरचना देखिन्छन्। तीमध्ये एउटा स्थानीयले वनदेवीको रुपमा पूजा गर्ने रुम्मिनदेहीको मन्दिर थियो भने अर्को मठ थियो। ती दुवै संरचनाको पनि उनले उत्खनन गरेका थिए।
पहिलो वनदेवीको रुपमा स्थानीयले पूजापाठ गर्ने रुम्मिनदेहीको मन्दिर थियो। यद्यपि त्यसबेलासम्म मन्दिर भन्ने प्रचलन थिएन भन्ने मान्यता इतिहासविदहरुको छ। जुन भत्केको र छानो खसेको जीर्ण अवस्थामा थियो।
कालान्तरमा यसै मन्दिरलाई रुपान्तरण गर्दै हालको मायादेवी मन्दिर बनाइएको हो। त्यहीँबाट मुखर्जीले मायादेवीले शिशुलाई जन्मदिइहेको सबैभन्दा पूरानो मूर्ति भेट्याएका थिए। शिर भाँचिएको अवस्थामा रहेको सो मूर्तिको पछाडि शिर भेटाएर जोड्दा उक्त मुर्तिको तल्लो भागसँग ठ्याक्कै मिलेको थियो। लुम्बिनीमा भेटिएको सबैभन्दा महत्वपूर्ण र पुरातात्विक मूर्तिको रुपमा यसलाई लिइन्छ।
नजिकै रहेको दोस्रो मठ एउटा सन्यासीले त्यसको केही वर्षअघि मात्र स्थापना गरेको भनिएको छ। उक्त मठमा ताल्चा लागेको तस्वीर मुखर्जीको तस्वीरमा प्रष्ट देख्न सकिन्छ। मुखर्जीले त्यसको पनि उत्खनन गरेर केही मूर्ति र भाँडाकुँडाहरु भेटाएका थिए।
सन् १८९८ मै थाइल्याण्डका राजकुमार भिक्षु दीपंकर वंशजलाई साथमा लिएर आएका अनागरिक धम्मपालले पनि लुम्बिनीमा एककोठे भवन देखेका थिए। उक्त कोठाभित्र कपडाले छोपिएको मूर्ति राखिएको आफुले देखेको उनले बताएका छन्। तर त्यहाँ सुरक्षा गार्डले मूर्ति हेर्न पाल्पाबाट स्विकृति लिएर आउनुपर्ने बताएपछि उनले पैसा दिएर मूर्ति हेरेको र मूर्तिको टाउको र खुट्टा नदेखेको उल्लेख गरेका छन्।
त्यसपछि लुम्बिनी भेटिएको चर्चा संसारभर फैलिएको थियो। सन् १९३३ मा केशरशमशेरको नेतृत्वमा लुम्बिनीको विस्तृत उत्खनन शुरु भयो। उनको उत्खनन् वैज्ञानिक नभएको आरोप लाग्ने गरेपनि उनले थुप्रै संरचनाहरुको संरक्षण गर्दै पिसी मुखर्जीले उत्खनन गरेको त्यही पूरानो वनदेवीको मन्दिरलाई छोपेर पूरानो मायादेवी मन्दिर निर्माण गरेका थिए।
अशोक स्तम्भदेखि पूर्वको माटाको ढिस्कोमाथि रोमन शैलीमा सेतो चुना लगाएर निर्माण गरेको त्यतिबेलाको संरचना नै हालको मायादेवी मन्दिर हो। मौर्य सम्राट अशोकले लुम्बिनीमा अशोकका वृक्षमुनि सात तहको ईंटामाथि हिफाजतसाथ राखेको जन्मस्मारक शिलामाथि पछि विभिन्न कालहरुमा संरचनाहरु निर्माण भएको पुरातत्वविद्हरुको मान्यता छ।
त्यहाँ गुप्तकालमा शिखर शैलीमा सप्तरथ निर्माण गरिएको थियो भनिन्छ। तर पछि लुम्बिनी ओझेलमा पर्दा मन्दिर जीर्ण भई माटोको ढिस्कोमा परिणत भएको मान्यता छ। कालान्तरमा त्यसलाई वनदेवीको कल्पना गरी रुम्मिनदेई वा रुम्मिनमाई भनिएको थियो। पी.सी मुखर्जी आउँदासम्म पनि यसलाई मायादेवी मन्दिर भनिएको थिएन।
उनले मायादेवीको मूर्ति भेटिएको कोठा मात्र भनेका छन्। त्यो कोठा कसले बनायो भन्ने पत्ता लागेको छैन। सेतो रंग लगाइएको र झट्ट हेर्दा रोमन शैलीमा बनेको देखिएकाले खड्गशमसेरले नै उक्त कोठा बनाएका हुन् की भन्ने अनुमान छ।
तीनै खड्गशमसेरले पाल्पामा रानीमहल समेत निर्माण गरेका छन्। उनैले बनाएको अड्कल काटिएको कोठालाई छोपेर केशरशमसेरले मायादेवी मन्दिर बनाए। त्यसबाहेक उनले पुष्करणी पोखरीलाई समेत संरक्षण गरे।
पछि उक्त मन्दिर समेत जीर्ण हुंदै गएपछि थप उत्खनन गर्नुपर्ने आवश्यकता ठानी लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्थाको संयुक्त उत्खनन कार्य सन् १९९३ देखि १९९६ सम्म जारी रह्यो।
त्यतिबेला पुरानो मायादेवी मन्दिर भत्काइयो। सोही समय मार्कर स्टोन, पन्ध्र वटा च्याम्वर, गुप्त, कुषाण, शुंग र मौर्यकालीन ईटा र वास्तु अवशेषहरु सहित थुप्रै महत्वपूर्ण सामग्री भेटिए।
जसले लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा पुष्टि गर्न थप सहयोग मिल्यो। १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा समावेश भयो। त्यसपछि युनेस्कोको सहयोगमा मायादेवी मन्दिरको डिजाइन पास गरेर विक्रम सम्वत २०५८ सालमा हालको मायादेवी मन्दिर निर्माण गरियो।
पुनः निर्मित मायादेवी मन्दिरको बाह्य आवरण केशरसमसेरले १९३३–३९ सम्मको अवधिमा निर्माण गरेको अर्धरोमन शैलीमा निर्मित मायादेवी मन्दिरकै पुनरावृत्ति देखिन्छ।
सन्दर्भ सामग्री
लुम्बिनी विकास कोषबाट प्राप्त लिखतहरु
बसन्त विडारी–लुम्बिनी: विगत, वर्तमान र भविष्य
डा. गितु गिरी–लुम्बिनी क्षेत्रका सांस्कृतिक सम्पदाहरु
वसन्त महर्जन–लुम्बिनी, ऐतिहासिक तथा पुरातात्विक अध्यनन
बाबुकृष्ण रिजाल–लुम्बिनीका पुरातात्विक संरचना
बुद्धपूर्णिमाको अवसरमा सान्दर्भिक यो लेख पुन: प्रकाशित गरिएको हो।