समाजको विकास क्रममा आज मानव सभ्यता धेरै अगाडि बढेको देखिन्छ । तर यो विकासक्रम विश्वभर समानरुपमा सम्भव छैन। नेपाल र अमेरिकाको भौतिक विकासको सन्दर्भमा अतुलनीय विविधता छ। आज नेपालीमात्र होइन धेरै अल्पविकसित र विकासोन्मुख तथा विकासशील देशका मानिसहरुको सपना अमेरिका बनेको छ। यद्दपी समुन्नत अमेरिकाको आफ्नै लामा संघर्षमय कथाहरु छन्। यही संघर्षमा यहाँका रेडइन्डियन अब अल्पसंख्यकमा रुपान्तरित भैसकेका छन्। मानिसको मानसिक स्तरअनुसार उसको चिन्तन शक्तिले विकासलाई मुर्तता प्रदान गरेको हुन्छ। त्यसैले संसारका धेरै आदिबासीहरु पछि परे। परिणामतः त्यो चिन्तनले कुनै जातिको गौरवगाथा इतिहासमा पनि छ र आज पनि स्थापित भएको छ। मानिस जन्मिदा समान जन्मिन्छन्, तर देश काल परिस्थितीले उसमा विविधता देखिएको हुन्छ। शिक्षा, परिवेश र उसका केही जन्मजात संस्कार प्रदत्त चिन्तनले उसमा अझ फराकिलो परिवर्तन हुन्छ।
सारा श्रृष्टि विचारको उपज हो। आज हामीले संसारमा जे जे देखिरहेका छौं। जस्ता भौतिक सामानहरुको उपयोग गरिरहेका छौं। ती सबै हिजो अदृश्य विचार थिए कसैको मस्तिष्कको, कसैको मनको। त्यसकारण आज हामीले जे देखेका छैनौं ती अद्भुत अविष्कारहरु भोलि हुन सक्छन्।
विष्टर्न चर्चिल भन्छन्– “निराशावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आशावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ।” सोचाई सकारात्मक भए पानीले समेत औषधीको काम गर्दछ। विचार भनेको कार्यको जननी हो। उन्नति प्रगतिको निम्ति बीऊ हो। सामान्यतया विचार दुई प्रकारका हुन्छन्–सकारात्मक र नकारात्मक। जीवनमा सफलताका लागि सकारात्मक सोच हुनु जरुरी छ। आन्तरिक शक्ति प्राप्त हुन पनि हाम्रो मस्तिष्कमा सकारात्मक सोंच निरन्तर भईरहनु पर्छ। जीवनमा सबैले सफलता प्राप्त गर्न चाहन्छन तर निकै थोरैले मात्र सफलता हात पार्छन। त्यो ठूलो जमात चांही किन असफल हुन्छ त ?
हामी कहाँ जन्म्यौं, हुर्कियौं, बढ्यौं, पढ्यौं त्यो समाज परिवार, विद्यालय आदिमा हामीले के पायौं त ? हो हामीले आफ्नो हरेक तहतप्काबाट प्राय नकारात्मक प्रवृत्ति अनुशरण गर्यौं। सकारात्मक प्रवृत्तिलाई अनुसरण गर्न सकेनौं।
जानेर नजानेर हामी अभ्यस्त भयौं नकारात्मक सोंचमा। सफलताको बलियो आधार नै सकारात्मक सोंच हो। जीवनमा कुनै पनि कार्य गर्नका लागि पहिला मानसिकता तयार हुनुपर्छ। कहीलेकांही त हामीलाई लाग्छ कि हामीसँग असाधारण विशेषता छ, विलक्षण प्रतिभा छ, अविश्वसनीय शक्ति छ। तर आफ्नै वरपरबाट सुन्छौं कि यो सम्भव छैन, तिमी जे गर्न सोंच्दैछौ त्यो गर्न सम्भव छैन। अरुले गर्न सक्दैनौ भन्दा त एक भिन्न किसिमको जोश जागर पलाउला तर जिन्दगीमा अघि बढ्ने क्रममा सबैभन्दा घातक हामी आफै आफ्नै क्षमता अनि दक्षता माथि शंका गर्छौं। अनि बिजुलीको चिम बाल्न स्वीच दबाएजस्तो गरी सफल हुने आशा राख्दछौं।
आदर्श विहीन गन्तव्य सार्थक हुंदैन। हामीले आफ्नो गन्तव्य निर्धारण गर्न सक्नु महत्वपूर्ण पक्ष हो। यसका साथै गन्तव्य अनुसारको योग्यता पनि चुनौतीपुर्ण पक्ष हो। त्यसैले हामीमा आफ्नो क्षमताको मुल्याङ्कन गर्न सक्ने योग्यता हुनुपर्छ। समयको अन्तरालले हाम्रो ऊर्जाशील जीवन पर्यन्तसम्म समान रहन सम्भव छैन। तरपनि हामीले प्रतिकुल परिस्थितिमा पनि केही कालका लागि उत्साह प्रदर्शन गर्न सक्नुपर्दछ। व्यक्तिगत सन्दर्भमा दीर्घजीवन पाएर पनि हामीले आफ्नो जीवनलाई सुगन्धित बनाउन सकेनौ भने हाम्रो जीवन सार्थक हुन सक्दैन।
मानिस प्राय पद, पैसा र प्रतिष्ठाको भोको हुन्छ। केहीले सीमित आय भएर पनि सार्वजनिक जीवनको गन्तव्य अंगालेका छन् भने केही देश विदेशमा प्रयाप्त साधन श्रोत जुटाएर पनि एकांकी जीवनमा सीमित रहने सोच भएका छन्। पारिवारिक सहयोगको अभाव तथा नजिकका इष्टमित्र र सहयोगीहरुबाट भएको शोषण तथा अनुचित लाभ लिने प्रवृत्तिले समाजका ठूला हस्तीहरुले समेत बान्छित सफलतामा वाधा तथा अपमानबोध भोग्नुपरेको छ। यो समाजमा विविध रुचिका पात्रहरु छन्। यो विविधताले गन्तव्यमा पनि विविधता छ। देशको गौरव राख्न आहुती दिने पात्र पनि हामीले देखेका छौं, सुनेका छौं। आफ्नै लागि बाँच्ने वा समाजमा सम्मानित पात्रको रुपमा आफुलाई स्थापित गर्ने यो आफुनो रोजाइको कुरा हो। यसलाई निर्धारण गर्ने पनि व्यक्तिको विचार वा सोंच नै हो जुन व्यक्तिपिच्छे फरक हुन सक्छ।
हामी आफैभित्र यति कमजोर मानसिकता बोकेर अगाडि बढेका छौं कि जसले आफैलाई चिन्दैन र सधै निराश मात्र बनाउँछ। पहिलो काम हामीलाई हामीभित्र खोज्नु हो। दोश्रो आफुभन्दा कमजोरतर्फ हेर्ने हो। त्यसपछि आफु कुन ठाउँमा छु भन्ने थाहा हुन्छ। तर आजभाेिल एक जमात छ जसले आफुले आफुलाई खोज्दैनन्, बरु हजार माईल परको सपना बुन्छन, त्यो पनि अभाव, गरीब र समस्याका मात्र। आफुलाई आफ्नो घरको आगन सफा गर्न आउँदैन, उसका कुरा भने संसार नै आफुले थामेको जस्तोगरी चिच्चाउँछ। खासमा हामीलाई अहिलेको सुधारिएको व्यवस्थाले गाली मात्र गर्न सिकायो कि रचनात्मक भएर आफ्नो जिम्मेवारी के हो भन्ने कुराको ज्ञान दिलायो त ?
अर्कोतर्फ हामीले यो समाजका लागि कति योगदान गरेका छौं त्यसतर्फ कहिले ध्यान दिंदैनौ, अर्काले मात्र यो गरेन, त्यो गरेन भन्दै समय खर्च गरेका छौं। दिनभरी क्यारेमबोर्डको गोटी हान्दै फुर्सद नहुनेले नै देश निर्माण र समृद्धिका ठूला कुरा गरेको देखिन्छ। हाम्रो काम भनौं की रोजगारी भनौं अर्कालाई गाली गर्ने हुन्छ। घरको पर्खाल भत्किँदा पनि नेतालाई गाली गर्ने बानीमा हामी अभ्यस्त भैसक्यौं।
हामी दैनिक किन आलोचनाका नाममा जहांपनि अभाव, गरीब र भ्रष्टाचार मात्र देख्छौं। बाटोमा रहेको ढुङ्गा उठाएर आफु हिंड्ने बाटोमा ठेस लाग्न नदिने सम्म चेतना हामीसंग छैन भने त्यही ढुङ्गामा ठेस लाग्दा गाली कसलाई गर्ने ? ढुङ्गालाई या बाटोलाई कि त्यो पनि नेतालाइ बाटो सफा नगरेको नाउँमा ? जिम्मेवार व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गरौं। धामी पनि आफै, बोक्सी पनि आफै पो भईन्छ की ?
सोंच बदल्ने बेला आएको छ। नकारात्मक पक्षलाई सही रुपमा केलाउंदै सकारात्मक पक्षको बारेमा पनि विश्लेषण गर्नु जरुरी भएको छ। जसले हामीमा भएको निराशालाई कम गर्न मलजल पुग्ने छ। अहिले हामीसँग समय छ जुन तारा झैं झिलमिलाईरहेको छ र हिउँजस्तै पग्लिरहेको छ, यसलाई सदुपयोग गरौं र जीवनलाई किंवदन्तीजस्तो यादगार बनाऔं कि जुन सयौंसालसम्म संसारमाझ जीवित रहोस्।
संसारमा हिजोभन्दा आज बढी समृद्धि छ। तर तुलनात्मक रुपमा आक्रोश, असन्तोष पनि बढी छ। सम्पन्नताले मानिसलाई उदार हुनुभन्दा इष्र्यालु बनाएको छ। भौतिक सम्पन्नतासँगै रुचि र दृष्टिकोण पनि परिष्कृत हुनुपर्ने थियो। तर आवरण र वास्तविकता फरक भयो। यो व्यवसायिकताको परिणाम हो। मानिसको बाह्य आवरण सून्दर बनाउन धेरै ठूला उद्योग फस्टाएका छन्, तर मनलाई सून्दर बनाउने व्यवसाय आकर्षणविहीन छ। किनभने यसमा लाभ छैन पद, पैसा र प्रतिष्ठाका सन्दर्भमा राज्यमा उच्च स्थान प्राप्त गरेको व्यक्तिहरु प्रायः आफुलाई स्वभाविक रुपले अरुभन्दा विशेष योग्यता भएको ठान्दछन्। त्यसैले कसैले प्रस्तुत गरेका उपयोगी सुझाव उनलाई चित्त बुझेपनि सहजै स्वीकार गर्न सक्दैनन्। यसले पनि राज्य र समाजमा समय समयमा द्वन्द्वको स्थिति सिर्जना गरेको छ। जसको प्रमुख कारण व्यक्तिको विचार हो।
होटलमा टिप्स दिन २० रुपैयाँ केही जस्तो लाग्दैन हामीलाई। तर भिखारीलाई दिन त्यही रुपैयाँ धेरै लाग्छ। पूरै २/३ घण्टा जिमखानामा कसरत गर्दा नलागेको थकाई आमालाई भान्साकोठामा सहयोग गर्दा लाग्छ। यो सोंचको कुरा हो। समयको परिवर्तनसँगै हाम्रो मानसिकता सकारात्मक रुपमा परिवर्तन भएन। समय बदलिएर भएन सोंच बदल्न जरुरी छ। समयको चुनौतीलाई व्यवस्थापन गर्न निराश होईन जागरुक बन्नुपर्छ, आत्मविश्वास हुनुपर्छ घमण्ड होइन । आफुले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुको मूल्यांकन सकारात्मक कोणबाट गरौं। पहिला हाम्रो मानसिकता तयार बनाऔं अनि त्यसै अनुरुपको कार्यमा प्रेरित बनौं। कुनैपनि कार्यको लागि राम्रो समयको प्रतीक्षा नगरौं, बरु आजै सुरुवात गरौं किनकि यो नै उपयुक्त समय हो। आजैदेखि सकारात्मक बनी आफ्नो लक्ष्य प्राप्तिमा अघि बढौं। अब अबेर नगरौं – जीवनका प्रत्येक पाइलामा सकारात्मक विचार एवं दृष्टिकोंणको विजारोपण गर्न।