हरेक सामान्य मानिसको मनमस्तिष्कमा दुई थरिका भावनाहरु हुन्छन्, एक हो, नकारात्मक भावना र अर्को हो, सकारात्मक भावना। डर, त्रास, उदासी, घृणा, इष्र्या तथा क्रोध आदि नकारात्मक भावनाहरु हुन् भने आनन्द, खुसी, दया, माया तथा प्रेम आदि सकारात्मक भावनाहरु हुन्। यी दुवै थरिका भावनाहरू मस्तिष्कका ‘मूल संवेग’ हुन्।
मानिसको जीवनमा मस्तिष्कका यस्ता संवेगहरुको महत्वपुर्ण भूमिका रहन्छ। नकारात्मक संवेगहरुले मानिसलाई मानसिक रुपमा मात्र होइन शारीरिक रुपमा पनि कमजोर र रोगी बनाउँछ भने सकारात्मक संवेगहरुले स्वस्थ र मजबुत बनाउँछ। मानिसमा मानसिक समस्याहरु तब देखिन्छन् जब नकारात्मक भावनाहरु धेरै समयसम्म मनमस्तिष्कमा रहिरहन्छन्। त्यसैले वैदिक शास्त्रहरुले मात्र होइन आधुनिक सकारात्मक मनोविज्ञानले समेत स्वस्थ र सफल जीवनका लागि सकारात्मक भावनाहरुलाई धेरै महत्व दिएको छ।
प्रेम सर्वाधिक महत्वपूर्ण धनात्मक भावना हो। अब प्रश्न उठ्न सक्दछ। उसो भए प्रेम के हो ? प्रेमको परिभाषा के हो ? साधारण शब्दमा भन्नु पर्दा जब मानिसमा कुनै व्यक्ति, पशुपंक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लव वा एफेक्सन्) को संज्ञा दिइन्छ। यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउँछ। मनोविज्ञानका अनुसार हरेक मानिसमा प्रेम भावना बाल्यकालदेखि नै विकसित हुन्छ।
यौनको जैविक मोडेलका अनुसार प्रेमलाई भोक र तिर्खा जस्तै मानिएको छ। प्रेम विशेषज्ञ डा. हेलेन फिसरले प्रेमको तीन प्रक्रिया बताएकी छिन्, बास्ना, आर्कषण तथा आसक्ति। वास्ना भनेको आवेशपुर्ण प्रारंभिक यौन इच्छा हो, जसले संभोगलाई बढावा दिन्छ। आर्कषण यस्तो रोमानी इच्छा हो जो वास्नाद्धारा पैदा हुन्छ। आशक्ति यस्तो लगाव हो, जसका कारण वर्षौ वर्षसम्म सम्बन्ध बनिरहन्छ।
प्रेम मूलभुतरूपमा दुई किसिमका हुन्छन्, अकामुक प्रेम (ननसेक्सुअल लव) र कामुक प्रेम (सेक्सुअल लव)। एक बालकको अर्को बालकसँगको प्रेम, छोराछोरीको आमाबाबुप्रतिको प्रेम, आमाबाबुको छोराछोरीप्रतिको प्रेम, एक व्यक्तिको पशुपंक्षीप्रतिको प्रेम तथा साथीसाथी बीचको प्रेम आदि प्रायः अकामुक प्रेमको उदाहरणहरू हुन् भने पतिपत्नी बीचको प्रेम तथा प्रेमीप्रेमिका बीचको प्रेम कामुक प्रेमको उदाहरणहरू हुन्। कामुक प्रेमको अभिव्यक्तिमा आलिंगन, चुम्बन तथा रतिक्रिया (सेक्सुअल इन्टरकोर्स)को प्रधानता रहन्छ।
स्नायुमनोविज्ञानका अनुसार प्रेमले मानिसको तनमनमा ठूलो प्रभाव पार्छ। प्रेमले शरीरमा इण्डोर्फिन, सेरोटोनीन तथा इम्युनोग्लोबुलिन जस्ता मस्तिष्क रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो भूमिका निभाउँछन्, निस्कासन गर्दछ। सकारात्मक प्रेमको विचारले खुसीका अणुहरू निस्कासन गर्दछ जबकि नकारात्मक विचारले हाम्रो इम्युनिटिलाई नै कमजोर पार्दछ, जसले गर्दा रोगहरूले आक्रमण गर्दछन्। त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेम भन्दा ठूलो चिकित्सा यो जगतमा अर्को कुनै छैन। वास्तवमा प्रेम हरेक रोगको औषधि हो। प्रत्येक रोगको उपचार हो। यो कुरा हरेक चिकित्सकहरूले बुझ्नुपर्छ र विरामीहरूलाई प्रेम र विश्वासको क्याप्सुलमा औषधि हालेर दिनुपर्छ। तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्दछ ।
हो, प्रेम एक सकारात्मक भावना हो। तर, प्रेममा विघ्न–वाधा तथा अड्चन आइपर्यो भने प्रेम स्वयं एक समस्या बन्छ। यसले मानिसमा क्रोध, व्यथा(डिस्ट्रेस) तथा उदासी जस्ता नकारात्मक भावना निम्ताउँछ।
उदासी (सैड्नेस एण्ड डिप्रेसन), यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड हुँदा तथा प्रिय वस्तु हराउँदा उत्पन्न हुने गर्छ। जब यस्तो उदासीको संवेग ज्यादै तीब्र हुन्छ, त्यसलाई शोक वा विषाद(ग्रिफ) भनिन्छ।
यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अध्यारो छाउँछ। मानिस जिउँदो लास जस्तो भएर बाँचेको हुन्छ। यसलाई कडाखालको अवसाद (क्लिनिकल डिप्रेसन) भनिन्छ। र, आधुनिक समाजमा डिप्रेसन आत्महत्याको एक प्रमुख कारणको रूपमा गनिन्छ।
डिप्रेसन नयाँ समस्या होइन, युगौदेखि, अझ भन्ने हो भने मानिसको उत्पत्तिसँगै समाजमा देखा परेको मनौवैज्ञानिक समस्या हो।
यस समस्याको पूरानो नाम उदासीनता हो। हजारौँ वर्ष पहिला, रामायणमा, रामको बिछोडमा दशरथ तथा सीताको बिछोडमा राम समेत डिप्रेसनको शिकार भएको देखिन्छ भन्ने महाभारतमा श्रेष्ठ धनुर्धरको उपाधि पाएका अर्जुन पनि उदासिनताका चुंगुलमा परेको भेटिन्छ। रामले हनुमानको सहयोग (सोसल सर्पोट) पाए। अर्जुनले कृष्णको सहयोग (उपदेश) पाए र दुबै आ–आफ्नो लक्ष्य पूरा गर्न सफल भए। तर दशरथले यस्तो मौका पाएनन्। उदासिनताकै कारणले उनको ज्यान गयो।
नेपाली समाजमा प्रेमीप्रेमिकाको ‘प्रेम’को बाधक भनेको नै जातपात र धन हो। त्यसो त शिक्षा पनि कहिलेकाहीँ प्रेममा बाधक बन्ने गर्छ भने अल्लारे प्रेमले पनि धेरै युवा–युवतीको जीवनमा समस्या पैदा गर्छ।
किनकि अल्लारे बैंसमा धेरै युवा–युवतीले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन्। तर ढिलो–चाँडो यस्तो उन्मत्त कामुक प्रेमले मानिसहरूको जीवनमा धेरै समस्याहरू निम्ताउँछ।
युवायुवतीको कुरा मात्र पनि होइन, किशोरकिशोरदेखि बृद्धसम्मका मानिसहरूका लागि पनि हिजोदेखि नै यौन प्रमुख आकर्षणको केन्द्र भएको छ। अधिकांश बिबाहित पुरुषहरू समेत अन्य स्त्रीहरूसँग यौनसम्पर्क गर्न सधैँ लालयित रहन्छन्। कतिपय यस्ता मानिसहरू यसैको खोजीमा हुन्छन्।
तर बिबाहित महिलाहरूको कुरा गर्ने हो भने पतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेका तथा आर्थिक स्थिति कमजोर भएका कतियप महिलाहरूले परपुरुषसँग यौनसम्पर्क राख्ने गरेको देखिन्छ। बढ्दो शहरीकरण, शहरकेन्द्रित बसाइ तथा मोबाइल फोन, च्यानलन टीभी र इन्टरनेटले गर्दा नेपाली समाजमा समेत यौन उन्मत्ता बढ्दै गएको हो। त्यहीमाथि भ्यालेन्टाइन डेको बहाना त छँदै छ।
हो, यौन प्राकृतिक कुरा हो। हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ। अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रुपमा मौजुत हुन्छ।
यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवती हुने गर्छ। विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणका अनुसार युवाहरूमा यौन सम्बन्धि आर्कषण निकै तिब्र हुन्छ।
तर यस्ता युवकहरू कण्डम या अन्य कुनै गर्भनिरोधक उपाय बिना नै यौन सम्र्पक मन पराउँछन्। कतिपय युवतीहरूको इच्छा पनि यस्तै हुन्छ। यस्तो असुरक्षित यौन सम्र्पकबाट थुप्रै समस्याहरू देखा पर्छन्। मानिसहरू एचआइभी–एड्सको शिकार समेत हुने गर्छन्।
यौन एउटा मनोभावले एक समस्या हो, तर अर्को मनोभावले परमानन्द पनि हो। त्यो किनभने निर्मल प्रेमपूर्ण अंगालोको यौन क्रिडाले मानिसलाई परम आनन्दित बनाउँदछ। स्त्री–पुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउँछ। वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो। त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावानाले नै मानिस शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्दछ।
इतिहास साक्षी छ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उच्च यौनशक्तिले परिपूर्ण थिए, तर उनीहरू कहिल्यै यौन–उन्मादको शिकार भएनन्। बरु उनीहरूले त्यो उच्च यौन–शक्तिलाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गरी लाभार्थी भए।
अन्तमा ‘प्रेम’ बिना मानिसको जीवन असम्भव छ। ‘प्रेम’ बिना मानिस बा“च्नै सक्दैन। अरु कुरो छोडौं मानिसको आफ्नै शरीरका अङ्गप्रत्यङ्गहरूले पनि बेला–बेलामा ध्यान आकर्षण गर्न खोज्छन्। प्रेम खोज्छन्।
त्यसैले शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहाँका जीव कोषहरूले प्रेम खोजिरहेका छन्। त्यसैले त्यो अंगमा ध्यान दिई प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्ने हो भने तुरुन्तै राहत महसुस हुन्छ। त्यसैले त प्रसिद्ध लेखक एम्मेट फाक्स्ले भनेका छन्ः “यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ।”
(लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन्।)