जब घरमा साल परिवर्तन भएको नयाँ क्यालेण्डर भित्रिन्छ, नयाँ क्यालेन्डरको पाना पल्टाउँदै गर्दा पूर्ववतः रुपमा उही भूपी शेरचनको ‘नयाँ वर्ष’ कविता याद आउँछ । तथापि डिजिटल जमानामा अब क्यालेण्डरको पाना पल्टाउने झन्झटबाट चैं मुक्ति मिलेको छ । चाहे सफ्ट होस् या हार्ड कपि नयाँ वर्षको आगमनसँगै भूपीका यी पंक्तिहरु भने जहिल्यै ताजा हुन्छन् ।
‘...नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
संगीसाथीहरुको सूचि
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको
शुभकामना–पत्र’
नेपाली वर्ष २०७७ तथा अंग्रेजी वर्ष २०२० ले हामीलाई एउटा नयाँ संकटमा फसाइदियो । करिबन यो वर्षको सम्पूर्ण अवधि हामीले आश र त्रासको विरोधाभाषमै बितायौं । कोरोना महामारीले लैजान्छ कि भन्ने त्रास अनि विपदको अवस्थामा राज्यले केही गरिदिन्छ कि भन्ने आश ! धेरै प्रश्नहरुको उत्तर नभेटेर अलमलिए जस्तो । अझ उत्तर खोज्दाखोज्दै थाके जस्तो । खासमा यो त्रास र आशको बँचाई आफ्नो नहुँदो रहेछ । आफ्नो रुचि र खुसी अनुसारको नहुने रहेछ । सबै अरुकै लागि गरिदिएजस्तो । अरु नै कसैको लागि बाँचिदिए जस्तो ।
अझ भनौं सन्चो र बिरामीको विरोधाभास जस्तो । गर्नु र नगर्नुको अन्तरविरोध जस्तो । हो, हामीले गएको एक वर्ष राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अनि व्यक्तिगत तवरमा पनि यस्तै यस्तै विरोधाभासमा गुजार्यौं । संकटमा गुजार्यौं । अफ्ठेरोमा बितायौं । आफैंले आफैंलाई ढाँटे जस्तो । आशा र भरोसाको त्यान्द्रो समातेर हिँडे जस्तो । खुसीमा रोए जस्तो अनि दुःखमा मुस्कुराए जस्तो । दैनन्दिनीका समस्या, अभाव र पीडासँग पौठेजोरी खेल्दै बाँचे जस्तो । हो, हामीले वर्ष ७७ लाई यस्तै यस्तै गरी व्यतीत गर्यौं ।
अघिल्लो वर्षको झण्डै आधा समय कोरोना भाइरसको सन्त्रास र संकटबिच आआफ्नो थातथलो मै बित्यो । सरकारी निर्देशन अनुसार हामी झन्डै ६ महिना लकडाउन भयो । हामी सबै घरमै बस्यौं । घर हुने घरमै बस्यौं । नहुने यताउता भौंतारिएरै भए पनि छुट्टै बस्यौं । एक्लै बस्यौं । अभाव र समस्यासँग जुध्दै बस्यौं । राज्यले केही गरिदिन्छ कि भन्ने आशमा बस्यौं । मनकारी मान्छेहरुले चलाइदिएको भान्सामा छाक टार्दै पनि बस्यौं ।
बाँकी रहेका ६ महिना पनि त्यस्तै सन्त्रास र अन्यौलताकाबिच दैनन्दिनीका आफ्ना उल्झनहरु सम्हाल्न मै खर्च गर्यौं र गरिरहेका छौं । समस्याहरु ठूला हैनन् । सामान्य रोजीरोटी अनि स्वास्थ्य शिक्षा र सुरक्षाका हुन् । तर पनि यी हामीलाई निकै ठूला र अगम्य भइदिएको छ ।
अहिले नयाँ वर्ष सुरु हुँदै गर्दा यो वर्ष पनि पुनः अघिल्लो वर्षकै नियतीतिर धकेलिँदै छ । उस्तै समस्या । उस्तै अभाव । अनि उस्तै आशा पनि । गएको एक वर्ष हामीले जीवनको महत्वपूर्ण समय खेर फाल्यौं । मूलतः कोरोना भाइरसको त्राहिमामसँगै समय व्यतीत भयो । कोरोना भाइरसले भन्दा पनि कोरोनाबाट त्रसित मनोविज्ञानले सिर्जना गरेको असर भयावह थियो ।
एकाएक समाज असामाजिक भइदियो । सामाजिक सम्बन्धहरु बिघटित भए । मानवीय मूल्य र मान्यतामा ह्रास आयो । एकले अर्कालाई समस्या देख्ने मनोविज्ञान निर्माण भयो । कोही नयाँ व्यक्ति गाउँघरमा देखिए, त्रसित हुनुपर्ने अवस्था बन्यो । एकले अर्कालाई सहयोग भन्दा पनि हेलाहोचो गर्ने प्रवृत्ति बढ्यो ।
त्यही समयमा व्यक्तिवादी भनेर आलोचित पश्चिम युरोपमा मानवीय सम्बन्ध नयाँ ढंगले परिभाषित हुँदैगर्दा सामुहिकतामा अब्बल ठानिने हाम्रो पूर्वीय सभ्यताले मान्छेलाई एक्ल्याएर सामाजिक सम्बन्धहरुबाट विमुख पारिदियो । कोरोनाको त्रासमै व्यापार व्यवसाय देखि कामधन्दा सबै चौपट भयो । मान्छेको रोजीरोटी गुम्यो ।
मौसमी रोजगारमा संलग्न लाखौं मानिसहरु बेरोजगार बने । रोजगारीकै लागि विदेशिएका तनहरु अलपत्रमा परे । बनिबुतो गरेर पेट पाल्न भारत छिरेका लाखौं नेपालीहरु कयौं दिनसम्म सीमानाको ढोका कुरेर बस्न विवश भए । दुई देशका दुई थरी कुराले तिनले बेलैमा आफ्नो थातथलो फर्किन पाएनन् ।
मुलुकभर लकडाउन घोषणा गरी सबैलाई घरभित्रै थुनेर सरकार भने आफैं ‘आइसोलेसन’मा गयो । मुलुकको अर्थतन्त्र चौपट भयो । राजनीतिक विवाद कचल्टियो । बिचबिचमा सरकारको अकर्मन्यताबारे नागरिक समाजदेखि चल्तापूर्जा बुद्धिजीवीहरुले पनि आवाज उठाए । देशका विभिन्न सहरहरुमा सरकारको अकर्मन्यताबारे मुख खोलेर नागरिक प्रदर्शनमा उत्रिए ।
तर, कोभिडकै बहानामा पद र शक्तिको दूरुपयोग गर्दै भ्रष्टाचार अनि आर्थिक अनियमितता गरी अकूत सम्पत्ति कमाउनेहरु आफ्नो कर्ममा लागिनै रहे । उनको कर्म कमाउनु थियो, कमाए । पदीय मर्यादा विपरित यस्ता गतिविधिमा राज्यका उच्च निकायमा रहेकाहरुकै सन्देहमूलक संलग्नता भेटिएका समाचारहरु आइनैरहे । अझै पनि आइरहेका छन् । नियती बदलियो तर नियत बदलिएन ।
सधैं सुशासन र सदाचारको गीत गाइरहने ओली सरकारले ती सबै अवाञ्छित क्रियाकलापमा आँखा चिम्लिदियो । बरु सरकार विरोध गर्नेहरुप्रति असहिष्णू बन्दै गएको छ । समग्रमा भन्नुपर्दा गएको वर्ष कोभिडले हायलकायल पारिदियो । नयाँ वर्षको सुरुवातसँगै विश्वव्यापी रुपमा कोभिडकै दोस्रो लहर सुरु भएको आशंका गरिँदैछ । अनि देशमै पनि पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको देखिन्छ ।
विश्व महाशक्तिलाई नै माथ खुवाएको कोरोना भाइरसले हामीलाई झनै बहुआयामिक संकटमा फसाइदिएको छ । त्यसो त हामीले आफ्नै मौलिक तरिकाले संकटसँग जुध्ने चेष्टा पनि गरेनौं । हामीले आफ्नै किसिमले यसबाट पर्न गएको राष्ट्रिय अर्थतन्त्रको असरबाट बाहिर निस्कने कुनै मौलिक तौरतरिका अवलम्बन गर्न सकेनौं ।
यदि सरकार जनउत्तरदायी हुन्थ्यो भने, जवाफदेही हुन्थ्यो भने, कल्याणकारी हुन्थ्यो भने केही न केही उपाय अवश्य गर्नेथियो । नागरिकमा परेको आर्थिक बोझ घटाउन केही न केही राहतका प्याकेज वितरण गथ्र्याे । तर, त्यसो हुन सकेन । सरकारलाई जसरी हुन्छ, रित्तिएको ढुकुटी भर्ने र आफ्ना र आसेपासेका लागि अकन्टक खर्च गर्ने बानी परेको छ ।
खर्चका प्राथमिकताहरु निर्धारण गरेर धेरै कुरा कटौति गरी स्वास्थ्य सेवालाई जोड दिन सकिन्थ्यो । तर, सरकारलाई आफ्ना विकासे नारालाई कार्यान्वयन गर्ने बहानामा पार्क, भ्यु टावर अनि मन्दिर बनाउनमै चटारो छ । विलासिताका मोटरगाडी खरिदमै ध्यान छ । आफ्नै भातभान्साको चटारो छ ।
गएको वर्ष संसारको एउटा कुनामा हामी पनि कोरोनाको असर नियाल्दै बस्यौं । बस् चुपचाप! अर्बौं मान्छेहरुको मस्तिष्कलाई एकैपटक शासन गर्ने कोरोनाको शक्तिदेखि डराएर, थाकेर अनि लुकेर! किनकि हामीसँग त्योसँग जुध्ने सामथ्र्य थिएन । राज्य पनि त्यसका अगाडि विकल्पबिहीन भइदियो । तर पनि आशावादिताले भन्छ – यसपछि पनि संसार बौरिनेछ, फेरि बचेखुचेको आशालाई स्याहार्दै हामी धुलो टक्टक्याएर उठ्नेछौं र उठ्नैपर्छ ! बस् अब नयाँ वर्षको अवसरमा त्यही आशाको त्यान्द्रोकै सहारा बाँकी छ ।
कोरोनाको पहिलो चरणको कहरबाट केही खुकुलिएको अर्थराजनीतिमा फेरि नयाँ संक्रमणको त्रास फैलिएको छ । यसर्थ, फेरि अघिल्लो वर्षमा जस्तै विश्व नै भौतिक रुपले सुनसान हुने अवस्थामा फर्किने हो कि भन्ने आशंका बढेको छ ।
अघिल्लो वर्ष केही नयाँ प्रश्नहरु जन्मिएका थिए कि – अबको विश्व कता जाला ? अहिलेको विद्यमान अर्थराजनीतिक व्यवस्थामा बदलाव आउला कि नआउला ? आए कस्तो आउला ? अब विश्वको महाशक्ति को होला ? के अमेरिका र युरोपतिर केन्द्रित अर्थराजनीतिको चुम्बकीय शक्ति पूर्वतिर सर्ला ? अनि नेपालकै पनि भविष्य के होला ? कोरोना संकटपछि हुनसक्ने संभावित आर्थिक मन्दीको मार कसरी थामिएला ? संभावित महाबेरोजगारीको अवस्थाबाट सिर्जना हुने अर्थराजनीतिक संकट कस्तो होला ? के अहिलेको राज्यले त्यो संकट झेल्न सक्ला ? अहिलेका शासकहरुले त्यसको सामना गर्न सक्लान् ?
निश्चय नै कोरोनाको कहरबाट धेरै मानिसहरु प्रताडित भए । रोजगारी गुमाउने र आम्दानीको स्रोत गुमाउनेहरु पनि निकै बढे । यद्यपि आफ्नै जिउने कला भएका नेपालीहरुले संकटको समयमा पनि जेनतेन प्राण धानेरै बसे । स-सानो कारोबारमा आधारित मुलुकको रैथाने प्रकृतिको अर्थतन्त्र चलायमान नै रह्यो ।
ठूलो राष्ट्रिय संकटको अवस्था व्यहोर्नु परेन । यद्यपि व्यक्तिगत रुपमा कोरोनाकालमा भएको लामो समयको लकडाउनबाट भने धेरैले धेरै चिज गुमाए । कतिको व्यापार व्यवसाय चौपट भयो । कतिको रोजगारी गुम्यो त कति मानिसहरु बसाईंसमेत सर्न बाध्य भए ।
फेरि पनि नयाँ वर्षकै कुरा जो छ । अब भूपीले जस्तो शुभकामनाका सन्देशहरु लेख्नुपरेन । अक्सर हामी भावनात्मक रुपमा होइन परम्पराकै निरन्तरताका लागि धेरै कुरा गरिरहेका हुन्छौं । जस्तो कि नयाँ वर्षको शुभकामना ! किनकि हामी संस्कार, संस्कृति र परम्परामा बाँधिएका छौं ।
त्यसैले भूपीका माथि उधृत गरिएका पंक्तिहरु बारबार सम्झनाको तरेलीमा आइनैरहन्छन् । ती पंक्तिहरुले निरन्तर गिज्याइरहेको भान हुन्छ । अनि बाध्य भएर फेरि एकपटक ‘नयाँ’ भएर आएको त्यही पुरानो ‘नयाँ वर्ष’लाई स्वागत गर्न पुग्छौं ।
अनि जीवनको ‘भिसा’ थप एक वर्ष छोट्याउँदै निरन्तर आइरहने त्यही पुरानो ‘वर्ष’लाई नयाँ भनाउँदै फोन, एसएमएस, इमेल, सामाजिक सञ्जालमार्फत शुभकामनाका शब्दहरुले सजाइरहेका हुन्छौं, नयाँ वर्षको शुभकामना !
वर्ष ७७ सम्पूर्ण रुपले उत्साहमूलक रहेन । कोरोनाले त्राहिमाम बनायो । धेरैको रोजीरोटी गुम्यो । कतिको घरबारनै बिग्रियो । संख्यात्मक रुपमा धेरै नदेखिए पनि दुई हजार बढी नागरिकले कोरोनाकै कारण ज्यान गुमाएको तथ्यांक छ । लाखौं मानिसको दैनिकी प्रभावित भयो ।
अर्थतन्त्र संकटमा पुग्यो । व्यापार व्यसाय ठप्प भयो । कति मानिसहरु कोरोनाले सिर्जना गरेका कहरहरु अहिले पनि भोग्दैछन् । सुरुमा सबै तह र तप्काका मानिसलाई बराबरी व्यवहार गरेको झैं लाग्ने कोरोनाले अन्ततः नहुनेहरुलाई नै बढी पिरोल्यो । हुनेको दैनिक चल्न गाह्रो भएन, तर नहुनेलाई छाक टार्नै मुस्किल पारिदियो ।
राजनीतिक कचिंगल झन् झाँगियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई नै बन्धक बनाइदिए । उनको शासकीय दम्भ, अहंकार र अभिमानले मुलुकको राजनीति नै अकर्मन्यतामा फस्न पुगेको छ । आफैंले भंग गरेको संसदलाई सर्वोच्चले पुनःस्थापित गरिदिएपछि उनी संसदको उपहासमै समय कटाइरहेका छन् । आफूइतरका राजनीतिक शक्तिहरु र समकक्षी नेतृत्वलाई अनेकन लाञ्छना लगाउने र हियाउने खेलमा उनी लागेका छन् । यसबाट राजनीतिक संकट झन् गहिरिने खतरा बढ्दै गएको छ ।
यी सबै परिस्थितिका बाबजुद हाम्रो सामु नयाँ वर्ष आएको छ । तर, वर्ष मात्रै नयाँ छ, बाँकी सबै पुरानो । न नयाँ वर्षमा कोभिड रोग हट्यो, न कोरोना भाइरस संक्रमणको सन्त्रास नै कम भयो । न त प्रतिगामी चलखेलकै अन्त्य भयो, न त राजनीतिमाथि लागेको कालो बादल नै फाट्यो ।
न त ‘बा’ नै हटे, न त बाको हुँकार नै हट्यो । हुँदा हुँदा हाम्रो दैनिकीमा त वर्ष ७७ ले सिर्जना गरेको सकसपूर्ण अवस्थाको दोस्रो अध्याय पो आउला झैं भएको छ । सबै पुरानै, कष्टकर अनि दुष्कर अवस्था यथावत रहेको अवस्थामा कसरी भनूँ नयाँ वर्षको शुभकामना !?