हरेक महिलामा मातृत्वको चाहना हुन्छ र सन्तान जन्माउने क्रममा आमाले आफ्नो ज्यान दाउमा राख्छिन । २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रसुतिको क्रममा एक लाख जीवित शिशुको जन्ममा २३९ आमाले ज्यान गुमाईरहेका छन् । नेपालका करीव ४१ प्रतिशत महिलाहरुले अझैपनि घरमै सुत्केरी गराउने गरेका छन । यसले उनीहरुको स्वास्थ्य जोखिममा परेको छ । उक्त सर्वेक्षण अनुसार शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ३२ जना र ५ वर्ष भन्दा मुनिको बाल मृत्युदर प्रति एक हजार जन्ममा ३९ जना रहेको छ ।
यो मृत्युदरले नेपालमा प्रत्येक २५ मध्ये १ बच्चाको ५ वर्षको जन्मदिन मनाउन नपाउँदै मृत्यु हुने गरेको पाईएको छ । प्रदेशको आधारमा हेर्दा ५ बर्ष मुनिको बच्चाहरुको मृत्युदर प्रति एक हजार जन्ममा २७ छ । त्यस्तै एसईई वा सो भन्दा माथि शिक्षा हासिल गरेका आमाहरुबाट जन्मेका बच्चाहरु प्रति एक हजारमा २१ को मृत्यु हुने गरेको तथा शिक्षा हासिल नगरेका आमाहरुबाट जन्मेका बच्चाहरु प्रति एक हजारमा ६० जनाको मृत्यु हुने गरेको देखिएको छ । प्रसुतिको बेला शिशुको मृत्यु हुदाको पिडा आमाको लागि सर्वाधिक अकल्पनीय हुन्छ । जति कष्ट र संघर्ष गर्नु परेपनि सन्तानलाई बेहिसाब हार्दिकताका साथ हुर्काउने मुख्य भूमिका आमाकै हुन्छ ।
समाजको विधिविधान विपरीत विना बिहे आमा बनेर सगर्व सन्तान हुर्काउने कुमारी आमादेखि टेष्ट ट्युव विधिबाट बच्चा जन्माएर ममता वात्शल्यको तृष्णा मेट्ने आमाहरु पनि छन् ।
पैसा लिएर अरुको शिशु जन्माईदिने अप्राकृतिक आमा (सेरोगेट मदर) को अभ्यास पनि नेपालमा भयो । विदेशतिर त समलिंगी महिला र पुरुषले पनि बच्चा एडप्ट गरेर आमाबाबुको चाहना पूरा गर्ने कानुनी अधिकार पाएका छन् । परिवारका भाउजु फुपु र बुबाहरुले आमाको भूमिका निर्वाह गरेका नेपाली समाज पनि बदलिंदो जीवनशैलीका कारण त्यस्तो अभ्यासबाट टाढा नभएको अनुमान गर्न सकिन्छ ।
अब्राहम लिंङ्कनले भनेका छन–‘आमाको काखमा भएको मान्छे कहिले दुखी हुंदैन ।’
एउटा सन्तानको लागि आमा प्रेम र विश्वासको बास्केट हो । प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन । आमा आफैमा एक महान शब्द हो । अझ भनौं, आमा शब्दकोषको एक शब्द भन्दा बढी प्रेम र मायाको पर्याय हो । निस्वार्थ मायाको पाठ सिकाउने आमा भन्दा ठूलो व्यक्ति संसारमै कोही हुँदैन । आमा धरती हुन् । किनभने आमाले धरतीलेझैं सहनशील भएर छोराछोरीलाई पालनपोषणका साथ सुरक्षा प्रदान गर्छिन् । आमाको महिमा अपरम्पार छ । आमालाई भगवानको जिउँदो रुप समेत भनिन्छ । आमाको त्याग, तपस्या एवं समर्पणकै कारण हामी सफल हुन्छौं । आमाको मायालाई कसैसँग तुलना गर्न सकिदैन ।
नौ महिनासम्म आमाले हामीलाई पेटमा पाल्छिन । गर्भावस्थाभरि वाकवाकी सहन्छिन् । खुट्टा सुन्याईसुन्याई पेटको छाला तन्किउन्जेलसम्म बोक्छिन् । दुःख, पीडा, आशु, पसिना र रोदन सहेर पनि हामीलाई केही नहोस् भन्ने चाहन्छिन । सुत्दा कोल्टे परेर सुत्छिन्, पेट भित्र नानीले हानेको लात्तीले उनको भोक उड्छ । त्यसपछि मुटु फुट्नेगरि व्यथा सहेर हामीलाई जन्माउँछिन् । उनी हाम्रो नर्स बन्छिन्, छातीको दशधारा दुध चुसाएर हुर्काउँछिन, उनी हाम्रो भान्से बन्छिन । धाई बन्छिन, पुलिस बनेर सुरक्षा दिन्छिन, गुरुआमा बनेर कखरा सिकाउँछिन, ड्राइवर बनेर घुमाउन लैजान्छिन्, फ्यान बनेर प्रशंसा गर्छिन्, हाम्रो लागि संघर्ष गर्छिन, हाम्रो लागि अहोरात्र खट्छिन्, डाक्टर बनेर स्वास्थ्यको ध्यान राख्छिन् ।
आमा ईश्वरको कृपा हुन्, बिना मागेको पूजा हुन्, दुआ हुन भाकल हुन् । आमा सधैभरि जाँतो र कोल जस्तै घुम्दै गरिन्, आफुले सधै तिता मिठा कुरा सुन्दै गरिन् । कहिलेकाही आमा उदास हुन्छिन, बाबादेखि टाढा हुन्छिन्, फेरि पनि बालबच्चाहरुको अझ नजिक हुन्छिन् । तरपनि यसको बदलामा हामीसँग केही माग्दिनन् । आमाले एउटा लक्ष्मण रेखा बनाईराखिन । न कहिले मागिन् हिरा मोती, न कहिले मागिन सुनचाँदी, न त कुनै चम्कने किरण । आमाले सधै चाहिन्, त्यो घरको खुसी जुन घरमा थिए उनका लालाबाला ।
आमाको आशा उनीहरुलाई आकाश छुवाउने, उनीहरुको सबै सपना पूरा गराउने तर समयको सारसँगै सबै सपना उड्दै उड्दै गए । दुर्भाग्यवश आमाको दुख बढ्दै गए । उनी समयको लपेटामा भकभक पाक्दै गइन, बुढी भईन् । भित्रैदेखि नै गल्दै गईन, जुन घरलाई उनीले आवध गरेकी थिइन त्यही घरमा आज उनी बुढीआमा खट्कन लागिन् । त्यही बालबच्चाको अघि जसलाई औंला समातेर हिड्न, उभिन, सम्हालिन सिकाईन, प्रत्येक पाईलामा अडिन सिकाईन, जसको जुठो खाईन, जसलाई लोरी सुनाईन, बाबादेखि उनीहरुका सबै गल्ती छुपाईन् । प्रत्येक रात आफ्नो छातीमा लगाई उनलाई सुताइन्, बच्चालाई पेटभरी खुवाई आफु सधै आधा पेट नै बसिन्, दुई पाटामा सधै पिसिदै रहिन् । आमा आफ्ना बच्चाहरुको लागि सधै चुप रहिन । यस्ती एउटी आमा आफ्ना बच्चाहरुको लागि मैनबत्ती जस्तै सधै जल्दै गरिन । अन्तमा जल्दाजल्दै निभिगईन् ।
एउटी आमाले घर एक्लै सम्हाल्न सक्छिन, तर पूरै घर मिलेर एउटी आमालाई किन सम्हाल्न सक्दैनन् । आखिर आमाको जीवनमा साँझको उज्यालोको भाग्य किन हुंदैन । आज आमाको सहाराको किन माने हुंदैन ।
गरीबीले गर्दा छोराछोरीलाई भोक मेटाउन नसकेर छोराछोरीलाई विष खुवाउने, छोराछोरी सहित खोलामा हाम फालेर आफुपनि आत्महत्याको प्रयास गर्ने आमाहरुका समाचार बेलाबेलामा आईरहेका छन् । बच्चा तुहाउने आमाका निर्दयी रुप पनि देखिन्छन् । तर क्रुर बाध्यतामा परेका आमाहरु अपवादको रुपमा मात्र आफ्नो बच्चालाई खत्तम गर्न विवश भएको देखिन्छ ।
सदियौंदेखि हुने गरेका यस्ता घटनामा आमा भन्दा पनि अरु कारण बढी दोषी देखिन्छ । कानुनबाट संरक्षित आजका महिलाले आफ्नो शरीरमाथि आफ्नो अधिकार स्थापित गरेका छन् । अब आमाहरु अनिच्छित गर्भधारण नगर्न स्वतन्त्र छन् । करबलमा परेका कतिपय आमा बच्चा फालेर हिड्छन तर त्यस्ता शिशुलाई उठाएर वात्सल्य दिने अर्की आमा पनि प्रकट हुन्छिन् । जन्म दिने र कर्म दिने दुवैलाई आमाको स्थान दिने नेपाली संस्कार पनि हो ।
छवि र पहिचान उही भएपनि बदलिंदो समयसंगै नेपाली आमाको भूमिका र शैली परिवर्तन भएको छ । बाल र बहुविवाहमा बन्देज, शिक्षा र स्वास्थ्य उपचारमा पहुँच, परिवार नियोजन, विद्युत, सडक, खानेपानी लगायतका सुविधाको विस्तारले आमाहरुको जीवनलाई सहज बनाएको छ । पहिले त सुत्केरी हुंदै र बच्चा स्याहार्दैमा आमाहरुको आधा जीवन बित्थ्यो अहिले उनीहरु घरको चौघेरा बाहिरको व्यावसायिक प्रतिष्पर्धामा पनि संलग्न छन् ।
बढ्दो पश्चिमीकरण र तिनका मूल्यमान्यता अंगाल्ने होडमा धेरै घरका आमाहरु अपहेलनामा परिरहेका छन् । आफु सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई सहाराविहीन बनाउने सन्तानहरु बढिरहेका छन् । हाम्रै समाजमा पनि आमाहरु छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका देखिन्छन् । सन्तानको खुशीका लागि आमाले आफ्नो खुशीको बलि दिएका उदाहरणहरु प्रशस्तै छन् । छोराबुहारी आरामदायी सवारीमा हुंइकिरहँदा सडकका पेटीमा आँशु बगाउंदै बसेका आमाहरु हामीले देखेका छौं ।
भाव विचारहरु व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षीत बनेर सहारा विहीन भएका आमाहरु आज वृद्धाआश्रममा भेटिने गरेका छन् । प्राणजत्तिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बुढेसकालमा वा अशक्त अवस्थामा अपहेलना गर्दछन्, त्यतिबेला जुनसुकै आमाको पनि मन कुडिन्छ । छोराछोरीको रेखदेख र स्याहार सुसारमा बुढ्यौली जीवन कटाउने मिठो सपनामा रहेका आमाहरुले सबैभन्दा दुखको अनुभुति त्यतिबेला गर्दछन्, जब आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ । अचेल आमा आफ्नै श्रीमान र सन्तानबाट हेलामा पर्न थालेकी छन् । आमाहरुकै लािग भनेर विभिन्न गाउँशहरमा वृद्धाश्रमको योजना तथा भवन निर्माण हुंदैछन् । बुढेशकालमा सहारा चाहिने बेलामा आमालाई उही एकलोपनको उपहार दिने संस्कार मौलाउंदै छ । यसतर्फ पनि आमाका सन्तानहरुले सोच्नुपर्ने बेला आएको छ । सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दुखकष्ट सहेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरुलाई नमन । सुखजति आफैले राखेर दुख मात्रै नथोपरिदिउँ आमाका नाममा ।
(लेखक सीमा वन कृषि बिकास बैंक खस्यौली शाखा प्रमुख हुन् ।)