फेरि पनि एक वर्षपछि आएको छ – ८ मार्च ! अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यसपटक पनि नयाँ कलेवरमा नयाँ नारा तर, पुरानै भाष्य बोकेर नारी दिवस आएको छ । अनि यो आलेख पनि उसैगरी महिला आन्दोलनका केही सवालहरु बोकेर आएको छ, जसरी दिवस आएको होस् । किनकि समय र सन्दर्भमा लेखिनु र बोलिनु पनि नियमित कर्म जस्तै भएको छ ।
सन्दर्भ मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस ! हुन त नारी दिवस कि श्रमिक महिला दिवस भन्नेमा पनि यदाकदा विवाद सुनिन्छ । खासगरी श्रमिक महिलाका पक्षमा आवाज उठाउने ‘वामपन्थी’ हरु चैं ‘श्रमिक महिला’ दिवस नै भन्नुपर्छ भन्छन् भने अलि उदार दृष्टिकोण राख्नेहरु चैं यो दिवसलाई समग्र महिलाको उत्थान, लैंगिक समानता अथवा महिला आन्दोलनको सम्झना दिवसको रुपमा मनाउनुपर्ने तर्क गर्छन् ।
जे होस्, नाम जे दिए पनि दिवसको सार्थकता तबमात्र स्थापित हुन्छ, जब यसलाई वास्तवमै व्यवहारमा लागू गर्न सकिन्छ । त्यसो त दिवस र पर्व मनाउन हामी अगाडि नै छौं । नारी दिवसलाई पनि हामी समग्र नारीकै ‘मुक्ति दिवस’को रुपमा मनाउन थालेका छौं । ठीकै छ, समग्र महिला मुक्ति दिवस भनेपछि श्रमिक र अश्रमिक भन्नु परेन ।
तर, यो मुक्ति भनेको के हो ? मुक्ति कसरी प्राप्त हुन्छ ? अनि कोबाट प्राप्त हुन्छ, मुक्ति ? अनि मुक्ति पाएर जाने कहाँ ? गर्ने के ? यी अनेक प्रश्नहरु चैं यो आन्दोलनले नै दिशाबोध गर्न नसकेका सवालहरु हुन् । यो सानो आलेखमा यी सबै सवाल निरुपण हुने कुरै भएन । फेरि यी सबै सवालको निरुपण गर्ने ल्याकत पनि यो पंक्तिकारसँग छैन ।
तैपनि यो आलेखमा साँच्चिकै महिला मुक्ति वा नारी समानताका सवालहरुबारे बहसमा आउन छुटेका केही सवालहरुमा पैरवी गर्ने जमर्को भने पक्कै पनि गरिन्छ । साथै महिला आन्दोलनका स्वरुप र मुद्दाहरु पर्गेल्ने प्रयत्न गरिएको छ ।
हाम्रो दिवस र उत्सव मनाउने शैली औपचारिक छ । त्यसो त सजिलो पनि औपचारिक नै हुन्छ । यसो आआफ्नो गच्छे अनुसारका कार्यक्रम आयोजना गर्यो । भाषणभुषण गर्यो । दुई चार थान आन्दोलन र मुक्तिका कुरा गरिदियो । अनि केही संघर्षका गीत गायो । दुईचार कविता, मुक्तक र गजल बोलिदियो । केही थान तस्बिर छाप्यो, छपायो । एक छिमल पितृसत्तालाई गाली गर्यो । बस् कार्यक्रम भव्य रुपमा सफल भैगयो ।
अक्सर दिवसहरु यसैगरी मनाइन्छन् । सार्वजनिक मञ्चहरुमा लैंगिक हक, अधिकार, समानता र स्वतन्त्रताका चर्चा हुन्छन् । सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहुँदै बोलीचालीमा ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को चर्चा हुन्छन् । अँ अनि शुभकामनाका एनिमेशनहरु पनि टाङ्टुङ् गरिरहन्छन् है !
नारी दिवसकै सवालमा महिला हक, अधिकार र समानताका निकै ठूला कुराहरु हुन्छन् । अनेकन टक शोहरु चल्छन् । लेख समाचार इत्यादि पनि छापिन्छन् । अरु नभए पनि औपचारिक दिवसहरुमा शुभकामना दिन चैं सबै अग्रसर नै हुन्छन् ।
तर, त्यसको समकालिन एजेण्डा के हो ? साँच्चिकै दिवसलाई सार्थक बनाउन संभव छ कि छैन ? यदि छ भने त्यसको समाधानमुखी उपायहरु के हुन् ? यी यावत विषय भने कहिल्यै बहसमा आउँदैन । सबैले कि त भावनात्मक विषयलाई नै व्याख्या गरिरहेका हुन्छन् कि त संघर्षका केही सीमित दृष्टान्तहरुकै महिमामण्डन ।
के एउटा संघर्षशील श्रमिक महिलाको स्केच अनि सांलोमा बाँधिएकी नारी सांलोबाट मुक्त भएको प्रतिकात्मक चित्र नै महिला मुक्तिको ध्येय हो ? त्यो चित्रले नै मुक्तिको भाषा बोल्छ ?
अनि अर्काथरि जो महिलावादी भएर मुक्तिका कुरा गरेर कहिल्यै थाक्दैनन्, महिला आन्दोलन र मुक्तिका नाउँमा अनेकन एनजीओमुखी व्यवसाय गरिरहेका छन्, तिनले भनेजस्तो महिलामाथिका हिंसा नै लैंगिक विभेनको मुख्य समस्या हो ?
यदि हो भने त्यसको स्रोत के हो ? हिंसा किन हुन्छ ? यसको कारण खोतल्नु पर्दैन ? अनि केही कम्युनिष्टमार्काका राजनीतिक दलहरुले वकालत गर्ने जस्तो निजी सम्पत्तिमाथिको स्वामित्व मात्रै महिला आन्दोलनको केन्द्रीय सवाल होे त ?
निश्चय पनि यी केही बाहिरी आवरणका कुराहरु मात्र हुन् । मुख्य समस्या मानसिकतामा छ । परम्परामा छ । संरचनामा छ । अनि साँच्चिकै महिला स्वतन्त्रता र सहअस्तित्वको प्रश्न भने महिलाको यौन अधिकारसम्बन्धी निर्णयसँग जोडिएको हुन्छ ।
जसलाई परम्परा र संस्कृतिले जगेर्ना गरेको हुन्छ । जुन कुरा अहिलेसम्म मुद्दाको रुपमा उठान हुनै सकेको छैन । त्यसैले महिला मुक्ति र आन्दोलनमा जेजति सवालहरु उत्पन्न भए, ती सबै कस्मेटिक प्रकृतिका मात्र हुन् । ती सबै आवरण मात्रै हुन् । भित्री कथा र गाथा होइनन् ।
साँच्चिकै महिला मुक्तिको सवाल उठाउने हो भने हरेक व्यक्तिले आफ्नो धर्म, संस्कार, संस्कृति, सामाजिक परम्परा अनि रितिरिवाज भन्दै अंगिकार गरेका केही सवालहरुमा प्रश्न गर्नैपर्ने हुन्छ । विद्यमान संरचनागत दोष खुट्याउनै पर्ने हुन्छ । यो पंक्तिकारको ठम्याई छ, महिला मुक्ति आन्दोलनका एजेण्डाको कुरा गर्दा यी केही आधारभूत पक्षहरुलाई आत्मसात गर्नैपर्ने हुन्छ ।
१) आमा (नारी) अन्तिम सत्य
संसारमा दुई सत्य छन् – मृत्यु र आमा (नारी) । अनि सृष्टिमा नारीको भूमिका जहिल्यै प्राथमिक हुन्छ । त्यसैले सिर्जनामा आमा (महिला) सत्य हो भने बा (पुरूष) केवल विश्वास ।
तर, हाम्रो ऐन नियम, कानून अनि सामाजिक चालचलन र परम्पराले यो सत्यलाई स्पेश दिएकै छैन । समाजले नारीलाई दोयम झैं मानेको छ । नत्र भने परम्परादेखि नै समाजमा कसैलाई आमाको परिचयमा किन बाँच्न दिएन ?
बाबुको परिचयबिना किन कोही हेपिन्छ ? किन उसलाई नागरिक हुन सकस छ ? किन उसले सहजै विद्यालयमा प्रवेश पाउँदैन ? आमा, जसले ९ महिना आफ्नो गर्भमा राखेर सन्तान जन्माउँछिन् उनी अस्वीकृत हुने अनि एउटा पुरुषले स्वीकृति दिएपछि चैं सहज रुपमा त्यो बच्चाको परिचय खुल्ने ? यस्तो विभेदकारी अभ्यास किन गरियो ? अझै पनि किन यसैको जगेर्ना गरिँदैछ ?
कुनै पनि नारीको आमा बन्ने प्रकृतिप्रदत्त अधिकार हो । उनले त्यो अधिकार प्रयोग गर्नका लागि उनी किन कसैको ‘स्वास्नी’ हुनुपर्ने ? कसैको स्वास्नी नभइकन, आमा हुन किन नपाउने ? आमा जुन अन्तिम सत्य हो, त्यसलाई अस्वीकार गर्ने धृष्टता किन ?
त्यसैले महिला मुक्तिको कुरा गर्दा सबैभन्दा पहिले आमा हुनका लागि कसैको स्वास्नी हुनुपर्ने बाध्यकारी अवस्था हटाउनुपर्यो । कानूनी रुपमा मात्र होइन, सामाजिक रुपमा पनि यो प्रश्नवाचक हुनु भएन । एउटा महिला मुक्तिको सक्कली यहि अन्तिम सत्यको स्वीकारोक्ति हो ।
२) गर्भमाथिको अधिकार
अहिलेको विद्यमान कानूनी र सामाजिक व्यवस्था अनुसार महिलाको गर्भमाथि पुरूषकै अधिपत्य छ । अनि उसले सन्तानमाथि दायित्वको हैन अधिकारको ‘हक’ जमाएको हुन्छ । श्रीमान्को चाहना अनुसार नै श्रीमतीले गर्भ राख्ने वा नराख्ने निर्णय गर्नुपर्ने अवस्था छ । व्यवहारतः यसको अन्त्य हुनुपर्छ ।
आफूसँग भएको गर्भको अधिकार आफ्नै हो र हुनुपर्छ । किनकी गर्भाधारण प्रकृयामा पुरूष मात्र सहगोगी हो । सहयोगी निर्णायक हुनु र सहयोगीले नै गर्भाशयमाथि अधिकार जमाउने व्यवस्था र संस्कार बदलिनुपर्यो । कुरा स्पष्ट छ कि कुनै पनि प्राकृतिक पुरुषले गर्भधारण गर्न सक्दैन । यो सत्यमाथि किन पर्दा हालिन्छ ?
३) नारी सधैं संरक्षकत्वमा बस्नुपर्ने किन ?
हाम्रो समाजले महिलालाई कहिल्यै पनि स्वतन्त्र अस्तित्वको ‘मानव’ को रुपमा स्वीकार गरेकै छैन । एउटी नारी कहिल्यै पनि आफ्नै अस्तित्वमा समाजमा बस्न पाउँदिनन् । उनी जन्मेदेखि नै कसैको संरक्षकत्वमा बस्नुपर्ने हुन्छ । हो, पुरुषको संरक्षकत्वमा । हामीले किन यस्तो समाज बनायौं ? किन यसरी ‘अवला’को व्यवहार गर्यौं ? कसले र केका लागि यस्तो गरियो ?
एउटी नारी जहिल्यै कुनै पुरुषको संरक्षकत्वमा बस्नुपर्ने किन ? उनका रहर, इच्छा र आकांक्षाहरुको निर्णयकर्ता पनि परिवारका अन्य पुरुष सदस्य नै भइदिनुपर्ने किन ? कहिले बाबु, दाजुभाइ, श्रीमान् अनि फेरि छोरा नै उनको संरक्षक भइदिनुपर्ने । त्यसकारण संरक्षकत्वरहित जीवन पनि नारी मुक्तिको अर्को एजेण्डा हो र हुनुपर्छ ।
४) यौनमाथिको अधिकार
कहिलेकाहीं नारा चैं सुनिन्छ –‘मेरो शरीर मेरो अधिकार !’ । यो नारा वास्तवमै सहि पनि लाग्छ । तर, यसको मर्म र भावनालाई किन कसैले बुझ्दैन ? यौन व्यक्तिको नीजि कुरा हो । कुनै पनि वयस्क व्यक्तिले यौनसम्बन्धी अधिकारको निर्णय स्वयम् आफैंले गर्न पाउनुपर्छ ।
जसरी कुनै पुरुष महिलाको संरक्षक हुन्छ, उनको यौनसम्बन्धी अधिकारको निर्णयकर्ता पनि पुरुष नै भइदिन्छ । महिलाले आफ्नो यौनसम्बन्धी अधिकारको निर्णय आफैं गर्न पाउँदिनन् । त्यो अर्कैले निर्णय गरिदिनुपर्ने किन ? कुनै एक महिलाको यौन अधिकारको निर्णयकर्ता उनी स्वयम् हुनुपर्छ, न कि उनीसँग जोडिएको कुनै अर्को पुरूष ।
५) आर्थिक स्वतन्त्रता
आर्थिक स्वतन्त्रता नै महिलामुक्तिको अनिवार्य शर्त हो । अनि यसका लागि महिलालाई घरको अलवा बाहिर पनि काममा पठाएर हैन उनले घरमा गर्ने कामको नै आर्थिक गणना गरेर हुनुपर्छ ।
महिलामाथि शोषण छ । राज्यले नै शोषण कायम राख्न अनेकखाले अनौपचारिक सत्ताको निर्माण गरिदिएको हुन्छ । जस्तैः सामाजिक सत्ता, धार्मिक सत्ता, आर्थिक सत्ता, सांस्कृतिक सत्ता इत्यादि ।
ती सबै सत्ताहरुले महिलालाई निर्णायक मानेको छैन । महिलालाई स्वतन्त्र मानेको छैन । जबसम्म महिला पनि यी अनौपचारिक सत्तामा निर्णायक हुँदैनन्, महिला मुक्ति केवल रकमी कुरा हुनेछ ।
जबसम्म यी सत्ताले लादेको संस्कारमा बदलाव आउँदैन, कसरी महिलामुक्ति संभव हुन्छ ? त्यसैले महिलामाथि लादिएका बैधानिकसहित सामाजिक, धार्मिक, सांस्कृतिक सत्ताको विभेद हटाउनका लागि आर्थिक स्वतन्त्रता पहिलो र अनिवार्य शर्त हो ।
यी केही आधारभूत सवालहरु हुन् जुन महिला आन्दोलनका एजेण्डा बन्नुपर्छ । तर, यी ठोस विषयहरुमा कहिंकतै देखिने गरी, सुनिने गरी बहस पैरवी भएको सुनिँदैन । एकथरी महिला आन्दोलनको अभियन्ताहरु केवल महिलाका संघर्षका कथाहरु सुनाएरै आफ्नो राजनीति धानिरहेका छन् ।
अर्काथरी चैं महिलालाई चुलाचौकामा मात्र सीमित पार्नु हुँदैन भनेर कामकाजी बनाएपछि स्वतः महिला मुक्ति हुन्छ भन्ने भ्रम पालिरहेका छन् । प्रकारान्तरमा कामकाजले चैं महिलामा दबाब र तनाव थपिएको छ ।
अहिले देखिएका समकालिन महिला आन्दोलनका एजेण्डाहरुले यो सत्ताको संरचनागत परिवर्तनको वकालत गर्दैन । महिला शोषणको अन्तर्यमा जाँदैन ।
यी भइरहेका गतिविधिहरु केवल यसका रुप पक्षीय वकालत हुन् । अनि ती रुपपक्षीय वकालतमा देखिने मुद्दाहरु तिनै पुरुषले डिजाइन गरिदिएका मुद्दाहरु हुन् । त्यही पितृसत्ताले उठाइदिएका एजेण्डाहरु हुन् । जसले प्रकारान्तरमा पितृसत्तालाई नै बलियो बनाउँछ ।
त्यसैले यी विषयमा पैरवी नगरी गरिने महिला मुक्तिका कुराहरू केवल नक्कली बहस र बसिबियाँलो मात्र हो ! साँच्चिकै महिला आन्दोलन र मुक्तिका विषयमा बहस पैरवीगर्ने हो भने, मुद्दाको उठान गर्ने हो भने महिला मुक्तिका सक्कली कुराहरुको वकालत हुनुपर्यो । अन्तर्राष्ट्रिय नारी दिवसको यहि शुभकामना !