लोकतन्त्र अत्यन्त प्रिय र सर्वस्वीकार्य शब्दावली हो । यो लोक र त्यसमा तन्त्र जोडिएर आएको छ । यो जनताको तन्त्र हो । यो जनताको अभिमतद्वारा सञ्चालन हुने प्रणाली हो । संसारमा धेरै राजनीतिक प्रणालीहरु विकास भएका छन् । तर लोकतन्त्रमा जनता वास्तविक नागरिक वा सार्वभौम नागरिकको रुपमा रहन्छन् ।
यो प्रणालीमा जनता नै सर्वोपरि हुन्छन् । जनताको अभिमत प्राप्त गरेर मात्र जनताहरुको इच्छाअनुसार सञ्चालन हुने र प्रणालीको केन्द्रमा जनता हुने पद्धति हो लोकतन्त्र ।
यो लोकतान्त्रिक प्रणाली लामो कालखण्डदेखि जनताबाट आविष्कार, परिमार्जन र विकास हुदै आएको अत्यन्तै उत्कृष्ट, प्रिय तथा जनता नै सर्वेसर्वा हुने, मानिने तथा स्वीकार गरिएको पद्धति वा प्रणाली हो ।
यसको उत्पत्ति र विकासमा धेरै विद्धानहरुको अभिमत, पसिना, ज्ञान र ऊर्जा समेत खर्च भएको छ र अहिलेको अवस्थामा यो अत्यन्तै परिष्कृत र जनताबीच अत्यन्त लोकप्रिय प्रणाली भएको छ । अहिलेको लोकतान्त्रिक पद्धतिको विकासमा धेरै मानवजातिले जीवन समर्पण गरेका छन र धेरै वर्षहरु बितेका छन् ।
हामी जनता भाग्यमानी छौ । हामी परिष्कृत र सभ्य लोकतान्त्रिक प्रणालीमा बाँचेका छौँ तर हाम्रा पुर्खाहरुले विभिन्न खाले निरंकुशता र मानवताहिन अवस्थाहरुबाट अगाडि बढ्नुपर्यो ।
बर्बर युग, दास युग, सामन्ती युग हुदै आजसम्म आइपुगेका छौ । हाम्रा पुर्खाहरुले पशुवत जीवन समेत व्यतित गर्नुपरेको यर्थाथ हाम्रो अगाडि इतिहासको रुपमा ताजा छ । त्यसैले यी युगहरुको अन्त्य भएको छ र मानिस मानिस भएर जीवन जीउन पाउने प्रजातान्त्रिक अधिकारहरु उपयोग गर्न पाउने अवस्थामा आइपुगेका छौ । यो मानव जातिको दिगविजय हो ।
संसारमा मानवजातिका हितमा बोल्ने, लेख्ने, विचार विमर्श गर्ने तथा अभिमत राख्ने युगको सुरुवात भइसकेको छ । सन् १२१५ को म्याग्नाकार्टादेखि सन् १९४८ को मानवाधिकारको विश्वव्यापी घोषणासम्म प्रजातन्त्र र मानवअधिकारको पक्षामा संसारमा धेरै नै विचार, सिद्धान्त तथा कार्यक्रमहरु विकसित भइसकेका छन र यसको अनुमोदन संसारका सबै मुलुकहरुले गरिसकेका छन् । हामी नेपालीहरुले पनि सगौरव यसलाई स्वीकार गरिसकेका छौ ।
त्यसैले मानवधिकारको संरक्षण आजको प्रमुख एजेन्डा वा मुद्दा हो र यसको निम्ति धेरै विर विरङ्गनाहरुले आफनो अमूल्य जीवन उत्सर्ग गरिसकेका छन् । यसरी जीवनोत्सर्गसँगै उत्पत्ति र विकास हुँदै आजको अवस्थासम्म आएको लोकतन्त्रको बारेमा चर्चा परिचर्चा गर्नु यो आलेखको मूल आशय रहेको छ ।
लोकतन्त्रको कुरा गर्दा सन् १२१५ को म्याग्नाकार्टाको ठूलो देन रहेको छ । यसले संसारमा निरंकुशतालाई झुकाएको र नागरिक अधिकारको पक्षमा एउटा उज्यालो किरणतर्फ अभिमुख गरेको परिघटनालाई स्मरण गराउँदछ ।
मानव सभ्यताको विकासका लागि यस आन्दोलनको ठूलो भूमिका रहेको छ र यो सधै विश्वको राजनीतिक इतिहासमा सुनौला अक्षरले अंकित रहने छ । त्यसपछि संसारमा प्रजातन्त्र, लोकतन्त्रको निम्ति लडने आँधिबेहरी नै आएको इतिहास छ । यसका लागि ठूलो त्याग, बलिदान र जीवनोत्सर्ग गरेका भीमकाय घटनाहरु हाम्रा अगाडि प्रमाणका रुपमा रहेका छन् ।
लोकतन्त्र÷प्रजातन्त्रको आशय जनताको शासन हो । जनताले जनताको निम्ति र जनताका प्रतिनिधिद्वारा गरिने शासन प्रणाली नै लोकतन्त्र हो । लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् ।
सबैभन्दा माथि जनता नै रहेका हुन्छन् । जनताभन्दा माथि कोही रहदैन । जनताले जनताका प्रतिनिधिहरु मार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु त्यही संविधानमा लिपिबद्ध गर्दछन् । कानुनका अगाडि सबै नागरिक समान हुन्छन् । कानुनले दिएको हक अधिकार प्रयोग गरी जनताले जनताका प्रतिनिधिहरु मार्फत शासन गर्दछन् ।
कानुनको सर्वोच्चता रहेको हुन्छ । यसो भन्नुको तात्पर्य विधिको शासन चल्दछ । कानुनको व्याख्या, नागरिक अधिकारको संरक्षण गर्न तथा न्याय सम्पादन गर्न सर्वोच्च निकाय अदालत रहन्छ । जुन स्वतन्त्र, सक्षम तथा निर्भिक ढङ्गले न्याय सम्पादन गर्दछ ।
देशमा जनताको अभिमत प्राप्त गरेको सरकार रहन्छ । यस्को निम्ति आवधिक रुपमा महानिर्वाचन सम्पन्न गरी जनताको अभिमत प्राप्त गरिन्छ ।
जनताहरुबाट निष्पक्ष रुपमा निर्वाचित श्रेष्ठता प्राप्त गरेको दलले एउटा निर्धारित समयका निम्ति शासन गर्दछ भने अल्पमत प्राप्त दल प्रतिपक्षमा रही जनताको लागि खबरदारी गरिरहेको हुन्छ ।
यो आवधिक हुन्छ । त्यसैगरी देशमा प्रेस स्वतन्त्रता संविधान मार्फत प्रत्याभूत गरिन्छ र प्रेस जगतलाई राज्यको चौथो अङ्गको रुपमा ग्रहण गरिएको हुन्छ ।
सरकारका काम कारबाही तथा जनताका हक अधिकारबारे जनतालाई सुसूचित गर्ने, जनताको हितका बारेमा जनतालाई सचेत र जागरुक गर्ने काम प्रेस जगतले गर्दछ । प्रेसले जनतालाई के ठीक के बेठीक, के राम्रो के नराम्रो तथा के न्याय र के अन्यायबारे जनतालाई सचेत गर्दछ ।
राज्यका तीन प्रमुख अङ्ग रहेका हुन्छन् । यी तीन प्रमुख अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन् र यिनीहरुबीच आपसमा जाँच, सन्तुलन र नियन्त्रणको पद्धतिलाई कडाइका साथ लागू गरी सरकारलाई निरंकुश हुनबाट रोकिन्छ ।
यदि यी अङ्गहरु बीच यस खालको व्यवस्था नगर्ने हो भने मुलुकमा निरंकुशता र बेथिति हुने भएकोले यसलाई बडो कडाइका साथ अवलम्बन गरिन्छ । यो सिद्धान्तलाई शक्ति पृथकीकरणको सिद्धान्त भनिन्छ ।
नागरिकका सम्पूर्ण हक अधिकारका विषयहरु संविधानमा नै लिपिबद्ध गरिन्छन् र कसैबाट यी हक अधिकारको उल्लंघन गरिएमा कानुनी उपचारको प्रत्याभूति गरिएको हुन्छ । कानुन सबैलाई समान ढंगले लागू हुन्छ । सबै नागरिकहरु कानुनका अगाडि बराबर हुन्छन् । कुनै विभेद भन्ने हुदैन ।
राजनीति गर्ने, सभा संगठन गर्ने, दल खोल्ने र सञ्चालन गर्ने सबै अधिकारहरु संविधानमै प्रत्याभूत गरिएका हुन्छन् । खुला समाजको प्रत्याभूति गरिएको हुन्छ ।
संविधान अनुुसार सबै राजनीतिक दलहरुलाई राजनीतिक प्रतिस्पर्धा गर्ने हक सुनिश्चित गरिएको हुन्छ । संविधान अनुसार सबै दलहरुलाई राजनीतिक तथा दलीय प्रतिस्पर्धा गर्न निषेध गरिदैन । बहुलबाद स्वीकार गरिएको हुन्छ । यो लोकतन्त्रको पूर्ण बहाली भई सो अधिकार प्रयोग गर्न सम्पूर्ण नागरिक स्वतन्त्र हुन्छन् ।
लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा जनवाद उस्तै उस्तै अर्थ दिने शब्दावलीहरु हुन् । यसको प्रयोग विभिन्न राजनीतिक दलहरुले आ–आफनै ढंगले गरे पनि यसको शाब्दिक अर्थ एउटै हो । कम्युनिष्टहरु जनवाद, जनतन्त्र भन्न मन पराउँछन भने प्रजातन्त्रवादीहरु प्रजातन्त्र भन्न उपयुक्त ठान्दछन् ।
हाल आएर चाहे ती कम्युनिष्ट हुन् वा कांग्रेस दुवैले लोकतन्त्र भन्न रुचाउँदछन् । त्यसैले जे भन्न रुचाएपनि यसको अर्थ लोकतन्त्र (डेमोक्रेसी) नै हो ।
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको बहाली पछि यसलाई लोकतन्त्र भन्न थालिएको छ । नेपालको लोकतन्त्रले राजाविहीन लोकतान्त्रिक प्रणालीलाई जनाउँदछ । यो राजतन्त्र विहिन जनताको शासन हो ।
लोकतन्त्रमा सम्पूर्ण फूलहरु फक्रर्ने र फुल्ने सबैलाई समान हक अधिकार हुन्छ । विभिन्न विचारहरु बीच प्रतिस्पर्धा हुन्छ । विचारहरुको प्रवाह राजनीतिक दलहरु गर्दछन् । राजनीतिक दलहरुले जनताको आकांक्षा र आवश्यकता आफ्नो घोषणापत्र मार्फत गर्दछन् । जनतालाई छनोटको अधिकार हुन्छ ।
जनताले आफुलाई चित्त बुझ्ने र आफुलाई मन परेको दलहरु मार्फत चुनाबमा प्रस्तुत प्रस्ताव वा घोषणा पत्रलाई समर्थन गर्ने वा जिताउने अधिकार राख्दछन् ।
जनता नै सबै कुराहरुको निर्धारक हुने भएकोले निर्वाचित दलले जनताको चाहना, भावना, आकांक्षा प्रतिबिम्वित गरेको हुन्छ ।
अधिनायकवाद लोकतन्त्रको विपरीत अवस्था हो ।
अधिनायकवादमा जनता सार्वभौम हुदैनन् । जनता कमजोर तथा निरीह हुन्छन् । शासक सर्वेसर्वा तथा निरंकुश हुन्छ । जनताका मौलिक हकहरु बोल्ने, लेख्ने, शान्त्तिपूर्ण जुलुस गर्ने आफना माग राख्ने, सरकारको विरोध गर्ने कुनै संवैधानिक अधिकारहरु दिइदैन ।
राज्यका तीन प्रमुख अंगमा सरकारको असीमीत अधिकार हुन्छ । शक्ति सन्तुलन तथा एक अङ्गले अर्को अङ्गगलाई नियन्त्रण, सन्तुलन तथा जाँच गर्ने परिपाटी हुदैन ।
प्रेस जगत स्वतन्त्र नहुने हुँदा जनतालाई सुसूचित गर्ने अधिकार राख्दैन । त्यसैले अधिनायकवाद संसारमा अलोकप्रिय भैसकेको छ ।
जनताहरु यसको तिरस्कार गर्दछन् । त्यसैले यो युग भनेको लोकतान्त्रिक युग हो । लोकतन्त्रमा नै व्यक्ति, समुदाय, समाज तथा सिङ्गो देश सुखी, समृद्ध र सुसंस्कृत बन्न सक्दछ ।
लोकतन्त्रमा भएको विकास दिगो, भरपर्दो र दिर्घजीवि हुन सक्दछ भन्ने लोकतन्त्रवादीहरुको अभिमत रहेको छ । अतः लोकतान्त्रिक समाजवादका लोकतान्त्रिक पक्षहरुमा बहस गरौ ।
(ढकाल, बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक हुन् ।)