कलेजमा मेरिड लाइफको विषयमा कार्यक्रम भइरहेको थियो । उक्त कार्यक्रममा विवाहित जोडीहरुको बाक्लो सहभागिता थियो । वक्ताहरुले पति, पत्नी र विवाहका वारेमा रोचक र घोचक जोक्स सुनाएर खुब हँसाइरहेका थिए । मञ्च तताइरहेका थिए ।
हास्य कलाकार हरि आए र बोल्न थाले, बादल सुतिरहेका थिए । वर्षाले सुटुक्क बादलको मोबाइल चेक गरिन् ।
मोबाइलमा सेभ गरिएका तीन शंकास्पद नामहरु देखिन्ः मेरी सृष्टि, मेरी प्यारी र माई लभ । मोबाइलमा ती नामहरु देखेर वर्षाको पुर्पुरो तातो, छाती पुत्पुतायो । मलाई तैले यसरी ठग्ने रहिछस् है भन्दै उनले तुरुन्त मेरी सृष्टिको नम्बरमा फोन लगाइन्, सासुले फोन उठाइन् । अनि मेरी प्यारीमा फोन लगाइन्, नन्दाले फोन उठाइन् । यो नम्बर त पक्का पनि कुनै आइमाईको नै हो भन्दै उनले माई लभ नम्बरमा फोन लगाइन्, उनको आफ्नै फोनको घण्टी बज्यो ।
वर्षा खिन्न भइन् । बेकारमा मैले आफ्नो सिधासाधा मासुम पतीमाथि शंका गरेँ भन्ने अफसोच भयो वर्षालाई । एकाएक वर्षाको आँखाहरु रसाए । बादलमाथि उनको माया झनै बढ्यो । वर्षाले आँसु पुछिन् र अब आइन्दा बादलमाथि शंका नगर्ने सकंल्प गर्दै पश्चाताप कम गर्न आफुले बचत गरेको राखेको पैसा बादललाई उपहार दिइन् । बिहानै पैसा पाएर बादल निकै खुसी भए । धेरै धेरै धन्यवाद भन्दै वर्षाको निधारमा म्वाइँ खाए । खुसीले रमाउँदै पट्रोल पम्प गएर कारमा फुल टंकी तेल भरे । अनि गोजीबाट मोबाइल निकालेर बिजुलीवालामा फोन लगाए ।
र, गर्लफ्रेण्डसँग नगरकोट घुम्न गए ।
अनि मदन आए र उनले भने, म पनि एउटा जोक नै सुनाउँछु । अनि उनी बोल्न थाले, दिनभरि अफिसको कामले हैरान भएका बुद्धिबलले एक दिन साँझ हात जोडेर भगवानसँग प्रार्थना गरे, भगवान्, मैले सारा दिन काम गर्दछु, परिवारका लागि गोरुझैं जात्तिएर मेहनत गर्दछु, तर मेरी पत्नी शान्ति भने दिनभरि घरमै बसिरहन्छिन् । न अफिसको काम, न कुनै टेन्सन, उनलाई पो जीवनमा निकै मस्ती छ ।
भगवानले भने, वत्स ! के उसो भए दुई दिनका लागि तिम्लाई पत्नी र शान्तिलाई पति बनाइदिऊँ ? घरमै बस्न कति मजा आउँदो रहेछ तिम्लाई पनि थाहा होस् ?
बुद्धिबलले हुन्छ भने । भगवानले तथास्तु गरे । बुद्धिबल पत्नी (महिला) र शान्ति पति (पुरुष) भए ।
अर्को दिन बिहानै ५ बजेको अलार्म बज्यो । पत्नीको रुप धारण गरेको बुद्धिबलले उठेर नुहाइधुवाइ गरी पूजापाठ गरे । छोराछोरीका लागि नास्ता बनाए । अनि बेडरुममा गएर शान्तिलाई उठाए र बेड टी लगेर दिए । खाना खुवाइवरि छोराछोरीलाई स्कूल पठाए । शान्ति अफिस गएपछि शारा घरको सरसफाइ गरे । अनि तरकारी किन्न बजार गए । बजारबाट फर्किएर आएपछि हिजोका लुगाहरु धोए ।
लुगा धोएपछि घडी हेरे, छोराछोरी स्कूलबाट फर्किने बेला भैसकेको थियो । अनि हतार हतार नास्ता बनाए ।
छोराछोरीलाई नास्ता खुवाएर होमवर्क गर्न लगाए । अफिसबाट शान्ति आइन् । उनलाई पहिला तातो पानी टकारे, अनि नास्ता । फेरि साँझको खाना पकाउन जुटे ।
खाना खाँदै गर्दा शान्तिले यो ठीक भएन त्यो ठीक भएन भनेर अनेक खोट लगाइन् । खाना खाएपछि भाडाकुँडा माँझे । अनि किचन सफा गरे । घरको काम गर्दागर्दै रातीको १० बजिसकेको थियो । दिनभरिको घरायसी कामले थाकेर लुथु्रक्क परेको बुद्धिबल बिछौनामा मुढोझैं पल्टेर सुते ।
बिहान उठ्ने बित्तिकै हतपत भगवानसँग प्रार्थना गरे, भगवान् मलाई राम्रोसँग थाहा भयो महिलाले घरमा बसेर कति काम गर्नुपर्छ भन्ने कुरा ? अब मलाई फेरि पुरुष नै बनाइदिनुहोस् ।
हा हा हा भगवान् हाँसे ।
बुद्धिबल अचम्म पर्दै बोले, किन यसरी हाँस्नु भएको भगवान् ।
भगवान् बोले, त्यसो त मैले तिम्लाई दुई दिनका लागि महिला बनाएको थिएँ, तर अफसोच अब मैले तिम्लाई चाहेर पनि आजै पुरुष बनाउन सक्दिनँ ।
बुद्धिबल हक्कानिएर बोले, किन भगवान् ?
भगवान् मुँसुक्क हाँस्दै बोलेः किनकी तिमी गर्भवती भएका छौ । ल अब ९ महिना पछि फेरि भेटौलाँ । यति भनेर भगवान् अन्तध्र्यान भए ।
शारा मञ्च फेरि हाँसोले गुन्जियो ।
कार्यक्रमको अन्तमा,
प्रमुख अथिति डा. मेमोरी मञ्चमा गइन् । र, सहभागीहरुलाई हेर्दै भनिन्, धेरै हाँसियो, हाँस्दा हाँस्दा मेरो पेट नै दुःख्यो । शान्ति, बुद्धिबल, मस्तराम सबैले खब हँसाए । ल अब एक गैम खेलौं, अनि मूल विषयमा केन्द्रित हौलाँ ।
सुबै खुसी भए ।
कुबेरले भने, कस्तो गेम ?
डा. मेमोरीले भनिन्, गेम खेल्न इच्छुक एक महिला मञ्चमा आउनुहोस् त ।
सम्झना मञ्चमा गईन् ।
डा. मेमोरीले सोधिन्, सम्झना, पक्का गेम खेल्ने हो ? गेम निकै कठीन छ, बिचमै छोडेर भाग्न पाइँदैन नि फेरि ।
सम्झनाः ओके । डन ।
डा. मेमोरीः अब तँपाईले बोर्डमा तँपाईलाई मन पर्ने २५ जना मानिसहरुको नाम लेख्नुहोस् ।
सम्झनाले पहिला फटाफट परिवारका सदस्यहरुको नाम लेखिन् ।
अनि साथी तथा छिमेकीहरुको नाम लेखिन् ।
त्यसपछि सहकर्मीहरुको नाम लेखिन् ।
अनि मेमोरीले भनिन्, ल अब कम मन मर्ने ५ नामहरु मेटाउनुहोस् ।
सम्झनाले तुरुन्तै सहकर्मीहरुको नाम मेटाइदिइन् ।
डा. मेमोरीले फेरि भनिन्, अरु ५ नामहरु मेटाउनुहोस् ।
सम्झनाले केही बेर सोचिन् र छिमेकीहरुको नाम मेटाइदिइन् ।
अनि डा. मेमोरीले भनिन्, अब फेरि १० नामहरु मेटाइदिनुहोस् ।
सम्झनाले साथीसंगी लगायतका नामहरु मेटाइदिइन् ।
अब बोर्डमा सिर्फ ५ नामहरु थिए ।
बाबा, आमा, पति र छोराछोरी ।
डा. मेमोरीले भनिन्, सम्झना, गेम कठिन मोडमा आएको छ गेम छोड्न पाइँदैन नि अब ।
सम्झनाः भाग्दिनँ ।
डा. मेमोरीः क्याबात ! ल अब अरु २ नामहरु मेटाइदिनुहोस् ।
सम्झना असमंजसमा परिन् । के गर्ने के नगर्ने ? सम्झनाको अनुहार रातो भयो, निधारबाट तपतप पसिना झर्यो ।
निकै बेर सोचेपछि दुःखित हातले बाबाआमाको नाम मेटाइदिइन् ।
सबै मानिसहरु स्तब्ध र शान्त ।
किनकी यो गेम डा. मेमोरी र सम्झना मात्र खेलिरहेका थिइनन्, हेर्नेहरु सबै खेलिरहेका थिए ।
अब बोर्डमा ३ नामहरु बाँकी थिए ।
पति, छोरा र छोरी ।
डा. मेमोरीले भनिन्, सम्झना, अब अरु २ नामहरु मेटाइदिनुहोस् ।
एकातिर सातफेरा लिएका पति थिए, अर्कोतिर कलिला मासुम छोराछोरी ।
निकै बेर सोचेपछि हात कपाउँदै सम्झनाले छोराछोरीको नाम काटिदिइन् ।
अब बोर्डमा सिर्फ पतिको नाम थियो ।
डा. मेमोरीले भनिन्, ल अब तपाई आफ्नो ठाउँमा गएर बस्नुहोस् । अनि दर्शकतिर हेर्दै डा. मेमोरी बोलिन्, अब कसैले भन्न सक्दछ यस्तो कसरी भयो, बोर्डमा पतिको नाम मात्र किन रह्यो ?
सबै चुप ।
सबैले अनुहार लटकाएका थिए ।
डा. मेमोरीले फेरि सम्झनालाई उठ्न भनिन् र सोधिन्, सम्झना, तपाईले किन यस्तो गर्नु भयो ? तपाईले तपाईलाई जन्म दिएर पालनपोषण तथा शिक्षादीक्षा दिएर हुर्काएका आफ्नै बाबाआमाको नाम नै मेटाइदिनु भयो ? अनि आफैले जन्माएका कलिलाका छोराछोरीको नाम मेटाइदिनु भयो ?
सम्झनाले नम्र भएर भनिन्, मेरा बाबाआमालाई म धेरै माया गर्दछु, उहाँहरु भएर नै मैले यस संसार देख्न पाएकी हुँ । उहाँहरुकै योगदानकै कारण म यस अवस्था आइपुगेकी हुँ ।
तर उहाँहरु वृद्ध भइसक्नुभएको छ, अब केही समयपछि मलाई र यस संसार छोडेर जानहुन्छ । मेरा छोराछोरी पनि ठूला हुन्छन्, उनीहरुको विवाह हुन्छ, उनका आआफ्नै परिवार हुन्छन् । तर मेरो पति भनेको मेरो जीवन साथी हुन् । अन्तिम साससम्म मेरो साथ निभाउने जीवनसाथी । त्यसै मेरो लागि सबैभन्दा प्यारा मेरो पति हुन् ।
मञ्च तालीको गडगडाहटले गुन्जियो ।
डा. मेमोरीले भनिन्, तपाईले ठीक भन्नुभयो सम्झना । पति, पत्नी तथा विवाहको मजाक मस्ती र पतिपत्नी बिचको झगडा आफ्नो ठाउँमा छ । तर, हरेक मानिसको लागि आफ्नो जीवनसाथी नै सबै भन्दा प्यारो हुन्छ ।