धेरै पहिलाको कुरा हो । एकादेशको पहाडी सिमानामा अचानक शत्रुहरुले भीषण आक्रमण गरेको खबर सरकारलाई प्राप्त भयो ।
खबर पाउनसाथ तत्काल नै मन्त्रीपरिषद्को बैठक बस्यो र थप सैनिकहरु सीमातर्फ पठाउने निर्णय भयो ।
सरकारको आदेश पाउने बित्तिकै थप सैनिकहरु गोलीगठ्ठासहित सीमातर्फ बढे ।
सेनाहरु जंगल, पहाड, उकालोओरोलो, खोलानाला पार गर्दै अगाडि बढे ।
हिँड्दै गर्दा अगाडि अलि समतल ठाउँमा एउटा गहिरो खोला आयो । खोलामा पुल थिएन, पुल बनाउन खडा गरेका निकै पुराना दुइटा पिलर ठिंग थिए ।
सैनिकलाई हरहालतमा त्यो खोला पार गरेर अगाडि बढ्नु थियो । तर भासिएको खोलो यति गहिरो र पानीको धार यति तेज थियो कि पुल बिना खोला पार गर्न सम्भव थिएन ।
गाउँ पनि धेरै टाढा माथि डाँडामा थियो ।
खोलाको नजिक रुखहरु पनि थिएनन् । सिर्फ खरको झाडी मात्र थियो । सैनिकहरुले अनेक आइडिया लगाए, तर खोला पार गर्न सकेनन् ।
के गरुँ कसो गरुँ भन्दै रन्थनिएका सेनाका कमाण्डरले अलि पर काठका एउटा सानो घर देखे । अनि केही सहयोग पाइन्छ कि भन्ने मनसायले त्यस घरतर्फ गए ।
घर अगाडि पुगेर चिच्चाए, घरमा को हुनुहुन्छ ? कसैले बोलाएको सुनेपछि एक वृद्धा महिला लौरो टेक्दै घर भित्रबाट ढोकामा निस्किइन् ।
उनलाई ढोकानिर देखेपछि कमाण्डरले भने, आमा, हाम्रो देशको सीमामा शत्रुहरुले आक्रमण गरिरहेका छन्, देश बचाउनका लागि हामी जसरी भए पनि छिटो भन्दा छिटो त्यहाँ पुग्नुपर्छ ।
तर जति प्रयास गर्दा पनि खोला पार गर्न सकिएन । त्यसैले हजुरको घरमा दुईचार वटा लामा लामा काठहरु छन् भने दिनुहोस् । हामी तीनै काठहरुले पुल बनाएर खोला पार गर्छौ ।
वृद्धा महिलाले भनिन्, बाबु, मसँग यो घर बाहेक अरु केही छैन । म यहाँ एक्लै बस्दछु । गाउँ पनि धेरै माथि छ । तर बाबु जसरी भए पनि यो देश बचाउनु पर्छ । बरु छिटो गर, यो मेरो घर भत्काएर काठहरु लिएर जाऊ र पुल बनाऊ ।
वृद्धाको कुरा सुनेर कमाण्डरका आँखा रसाए र उनले शिर झुकाएर भने, आमा ! तर मैले एक बुढीको आमाको ओत लाग्ने घर नै कसरी भत्काउन सक्छु र ? मेरो हात काप्छन् आमा ।
वृद्धा खोक्दै बोलिन्, बाबु एक पटक सोच त, यो मेरो घर ठूलो कि देश ठूलो ? भनेको मान, छिटो गर, घर भत्काएर काठहरु लैजाऊ । यो देश नै नरहे हामी कहाँ रहौलाँ ?
कमाण्डर ती वृद्धा आमाको देशभक्ति देखेर गदगद भए । अनि उनी भुइँमा लम्सार सुतेर वृद्धालाई शाष्टंग दण्डवत् गरे । अनि सैनिक जवानहरुलाई बोलाए । सैनिक जवानहरु आएर फटाफट घर भत्काई काठहरु लगेर पुल बनाए ।
अनि सैनिकहरु ती वृद्धा आमाको आशिवार्द लिएर अझ बढी हिम्मत र साहसका साथ सिमानातर्फ अगाडि बढे ।
सिमानामा पुगेर आआफ्नो मोर्चा सम्हाले । थप सैनिक आएपछि सिमानामा पहिलेदेखि लडिरहेका सैनिकहरुको हौशला बुलन्द भयो ।
अनि सैनिकहरु शत्रु सेनामाथि आक्रामक भए ।
सिमानामा भीषण लडाइँ भयो । देशको रक्षार्थ सैनिकहरु भोकभोकै हप्तादिनसम्म डटेर लडिरहे । लडाइँमा कयौं सैनिकहरुले वीरगति प्राप्त गरे, सयौं सैनिकहरु घाइते भए । तर, घाइते सैनिकहरुले लडाइँको मोर्चा छोडेनन् । गोली लागेर रगत बगेको घाउलाई कपडाले बाँधेर देश जोगाउन लडिरहे ।
अन्ततः शत्रुहरु नराम्रोसँग पराजित भए ।
जीतको सुखद समाचार देशभरि फैलियो । खोलामा पुल बनाउने पैसाले आफ्नो महल बनाएको सरकारले जीतको खुसीयालीमा पाँच तारे होटलमा रात्री भोजको आयोजना गर्यो । होटलको विशाल रेष्टुराँमा सरकार सोमपान गर्दै एकअर्कालाई बधाई दिँदै खुसीले नाचिरहेको थियो ।
विजयको खबरले जनता पनि निकै खुसी थिए । विजोत्सव मनाउन सडकमा निस्किएका जनताले चर्का नाराहरु लगाइरहेका थिए, राष्ट्रवादी सरकार जिन्दावाद । हाम्रा महान राजनेता अमर रहून् ।
उता,
घाइते सैनिकहरु सिमाना नजिकै लगाइएको अस्थाई क्याम्पमा छटपटाइरहेका थिए ।
वृद्धा आमा भत्किएको घरको पीढीमा टुक्रुक्क बसेर एकटकले सैनिकहरुको बाटो हेरिरहेकी थिइन् ।