नेता पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको समयदेखि नै नेपाली क्रान्तिको कार्यदिशाको बारेमा चर्चा गर्दा नयाँ जनवाद नै हुने धारणा राख्नुभएको थियो ।
त्यसबेलादेखि नै नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको कुरा उल्लेख गर्नु भयो । त्यसबेलादेखि नेपाली समाजको चरित्र २०६२ सम्म यही अर्धसामन्ती र अर्धऔपनिवेशिक नै रहयो । यो नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको कुरामा सबैको सहमति नै रहेको हो ।
कम्युनिष्ट पार्टीको स्थापनाको समयमा नेपालमा राणा शासन थियो र नेपाली जनताको विद्रोहले २००७ सालमा यसलाई परिर्वतन गर्न वा अन्त्य गर्न मद्दत गर्यो ।
निरङ्कुश राणा सासनको अन्त्य भएपनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा कुनै परिर्वतन भएन । समाज व्यवस्था उही पूरानै ढाँचाबाट अगाडि बढी नै रहयो । देशमा यो परिर्वतनले नेपाली जनताको जीवनमा कुनै तात्विक परिर्वतन ल्याएन र यो परिर्वतनबाट पूँजीवादी जनवादी क्रान्लिे सफलता प्राप्त गर्न सकेन ।
सीमित रुपमा प्राप्त हुन आएका जनताका प्रजातान्त्रिक अधिकारहरु पनि २०१७ सालमा आईपुग्दा राजाले खोस्न पुगे । त्यसपछि मुलुकमा सामन्ती राजाको हुकुमी सासन प्रारम्भ भयो । जनताको सङ्घर्ष, विद्रोह र आन्दोलनहरु सोही समय देखि नै निरन्तर रुपमा २०२७/२०२८, २०३६/२०४६ र २०६२/२०६३ सम्म जारी रहे ।
शिक्षा तथा जागरणको कारण नेपाली जनताले आफ्नो लोकतान्त्रिक आन्दोलनलाई निरन्तरता दिदै गए । राजाको तीस वर्षे शासन अवधिमा जनताको प्रजातन्त्र प्राप्तिको आन्दोलनहरु विभिन्न रुपमा भईरहे । किसान आन्दोलन, मजदुर आन्दोलन, विद्यार्थी तथा पेशाकर्मीहरुको आन्दोलनले निरङ्कुशताको विरुद्धमा आवाजहरु बुलन्द हुदै आइरहे ।
नेपालमा राजनीतिक शक्तिहरुले गरेका आन्दोलन तथा सङ्घषले २०४६ सालमा राजाको निरङ्कुशता फाल्न ठूलो तथा ऐतिहासिक सफलता प्राप्त गर्यो ।
निरङ्कुश पञ्चायतको अन्त्य भए पनि मुलुक गणतन्त्रमा रुपान्तरित हुन सकेन । देशमा सामन्ती तथा औपनिवेशिक शोषणको अन्त्य हुन सकेन । यद्यपि मुलुकमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रको बहाली भयो । जनताले केही राजनीतिक र सांगठनिक अधिकारहरु प्राप्त गर्न सफल भए तर पूँजीवादी जनवादी क्रान्तिले पूर्णता पाएन र समाज पूरानै अर्धसामन्ती तथा अर्धऔपनिवेशिक शोषणबाट मुक्त हुन सकेन ।
विशेषगरी सन् १९९० ताका संसारभर लोकतन्त्र बहालीको लहर व्यापक रुपमा चल्यो । यो विश्वव्यापी लोकतान्त्रिक आन्दोलनको लहरले सोभियत संघ, पूर्वी युरोपलगायत संसारलाई लोकतान्त्रिकरणतर्फ अभिमुख हुन प्रेरित गर्यो । साथै विभिन्न नामका तानाशाही व्यवस्थाको अन्त्य भयो ।
खुला समाज, बहुदलीय प्रतिस्पर्धा तथा संघसंगठन खोल्ने स्वतन्त्रता, मानवअधिकारको बहाली, आवधिक निवार्चन, स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्तको कार्यान्वयन र कानुनी सर्वोच्चतालाई हृदयंगम गरियो । यो लहरले संसारका कम्युनिष्ट पार्टीहरुलाई लोकतान्त्रिकरणतर्फ अभिमुख गर्यो ।
नेपालमा स्वर्गीय नेता मदन भण्डारीले अगुवाई गर्नुभएको नेकपा एमालेले पनि लोकतन्त्रको आधारभूत सिद्धान्त र विधिहरुलाई अङ्गीकार गर्नुपर्ने अनिवार्यता औल्याउदै जनताको बहुदलीय जनवादको कार्यदिशा ग्रहण गर्न पुग्यो ।
नेता मदन भण्डारीले त्यस समयको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको समुचित तथा वस्तुनिष्ठ अध्ययन गरी कम्युनिष्टहरु पनि जनताबाट अनुमोदित भई शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका साथ कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकरण गर्दै बहुदलीय प्रतिस्पर्धामार्फत जनताबाट अनुमोदित हुनुपर्ने कुराहरु औल्याए र निर्वाचन मार्फत चुनिएर शासन सञ्चालन गर्नु पर्छ भन्ने मान्यतालाई ग्रहण गर्न पुगेकैले नेपालमा कम्युनिष्ट पार्टी राजनीतिक सत्तामा पुग्न सफल भए र कम्युनिष्ट पार्टी जनताबीच लोकप्रिय पनि भयो ।
विभिन्न समयमा भएका निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीहरु सफल भई शासक बन्न पुगेको यथार्थ सबैका अगाडि ताजा छ । नेता मदन भण्डारीले जनताको बहुदलीय जनबाद एउटा तात्कालिक कार्यक्रम वा कार्यदिशाको रुपमा प्रस्तुत गरी कम्युनिष्ट पार्टीलाई यही कार्यदिशमा अगाडि बढाउने पहल गरे ।
तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ देखि सशस्त्र जनयुद्धको थालनी गर्यो । खासगरी संविधानसभाबाट संविधान निमार्ण गर्ने र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिनुपदर्छ भन्ने स्पष्ट अडान, दृष्टिकोण र मान्यता राखी तत्कालीन सरकारसमक्ष माग प्रस्तुत गर्दै जनविद्रोह वा जनयुद्धमा जाने बाटो तय गर्यो ।
यो बलिदानीपूर्ण जनयुद्धले २०५२ देखि २०६२ सालसम्म निरन्तर रुपमा आफ्नो विद्रोह जारी राख्यो । यो जनविद्रोहमा करीब सत्र हजार नेपाली सपुतले आफ्नो जीवन बलिदानी गरे । यो विद्रोहले विभिन्न बेथितिहरु, अन्याय अत्याचार लगायत राजतन्त्रका सुदुरगाउँसम्म फैलिएका जराहरु हल्लाउन र जनताहरुलाई आफ्ना अधिकारबारे जागरुक गराउन ठूलो मद्दत गर्यो ।
जनताहरु सचेत भए र आफ्ना समस्याहरु राख्न सजग बने । यसले राजनीतिक दलहरुको बीचमा संयुक्त मोर्चा बनाउन र मिल्न प्रेरित गर्यो । साथै २०६२÷६३ को ऐतिहासिक संयुक्त जनआन्दोलनमा होमिन सबै शक्तिहरुलाई एकमत बनायो । यो ऐतिहासिक आन्दोलनले पूँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिने ऐतिहासिक भूमिका निर्वाह गर्यो ।
त्यसैले दशवर्षे माओवादी जनयुद्ध र त्यसको जगमा उठेको २०६२/६३को जनआन्दोलनले मुलुकलाई पूँजीवादतर्फ रुपान्तरित हुन बाटो प्रशस्त गर्यो ।
यसले नेपाली क्रान्तिको चरणलाई पूँजीवादी जनवादी क्रान्तिलाई प्रतिस्थापित गर्दै समाजवादी क्रान्तिको चरणमा रुपान्तरित गरेको छ । यो बदलिएको अवस्थामा शान्तिपूर्ण रुपान्तरणको माध्यमबाट समाजवादतर्फ अभिमुख हुनुपर्ने अनिवार्यता देखिएको छ ।
त्यसकारण अहिले पूँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको छ र अब समाजवादको चरणतर्फ हाम्रा प्रयासहरु केन्द्रित हुनुपर्ने अनिवार्यता छ ।
अब नेपाली क्रान्तिको चरण बहुदलीय जनवाद नभई लोकतान्त्रिक समाजवादतर्फ अभिमुख हुनुपर्ने अनिवार्यता देखिएको छ । मुलुकको संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा अभिमुख हुन निर्देश गरेको छ ।
त्यसैले नेपाली क्रान्तिले एउटा चरण पूरा गरिसकेको र नयाँ समाजवादी चरणमा प्रवेश गरिसकेकाले हाम्रो रणनीतिक लक्ष्यलाई समेट्ने गरी नयाँ कार्यदिशा अवलम्बन गर्नुपर्ने अनिवार्यता आएको छ ।
पूँजीवादी जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको मान्दा अहिले नेपाली क्रान्तिको दिशा समाजवादतर्फ रुपान्तरित हुनुपर्ने अवस्था देखापरेको छ । यद्यपि पूँजीवादको पूर्ण विकास नभइसकेको अवस्था छ ।
राष्ट्रिय पूँजीको विकास गर्दै अर्थतन्त्रलाई सबल र सुदृढ बनाउदै समाजवादतर्फ रुपान्तरण हुनुपर्ने अवस्था देखिएकाले हाम्रो वर्तमान अवस्थामा बहुदलीय जनवाद नेपाली क्रान्तिको कार्यदिशा हुने देखिदैन ।
यो परिर्वतित सन्र्दभमा कार्यदिशा पनि बदलिने कुरालाई आत्मसात गर्ने हो भने अब नेपाली क्रान्तिको कार्यदिशा लोकतान्त्रिक समाजवाद हुने कुरामा मतैक्यता हुनुपर्ने देखिन्छ ।
लोकतान्त्रिक समाजवाद भनेको के हो भन्ने सन्दर्भमा व्यापक छलफल, तर्क विर्तक र नयाँ शष्लेषण हुनु आवश्यक देखिन्छ । लोकतान्त्रिक समाजवाद दुई ओटा शब्दहरु मिलेर बनेको छ ।
लोकतान्त्रिक शब्दले राजनीतिक प्रणाली कस्तो हुने र समाजवादले समाजवादको चरित्र कस्तो हुने भन्नेबारे चर्चा परिचर्चा गर्न जरुरी भएको छ । हाम्रो कार्यदिशा बदलिदो परिस्थिति, सामाजिक आर्थिक तथा वर्तमान अवस्थाको ठीक ढङ्गले रुपान्तरित गर्न सक्ने तथा त्यसलाई मद्दत गर्ने खालको हुन पर्दछ ।
त्यसो हुनाले यिनै कुरालाई ध्यान दिदै कार्यदिशा तय गर्नुपर्दछ । लोकतन्त्र भनेको जनताले, जनताको निम्ति, जनताका प्रतिनिधिहरुद्वारा शासन सञ्चालन गर्ने पद्धति हो । लोकतन्त्रमा जनता सार्वभौम तथा शक्ति सम्पन्न हुन्छन् र आवधिक रुपमा निर्वाचनमार्फत जनताबाट अनुमोदित हुन्छन् ।
यस्तो परिपाटीमा कानुनको शासन र विधानको सर्वोच्चता रहेको हुन्छ । विधिको शासन हुने भएकोले यस्तो पद्धतिमा स्वतन्त्र र सक्षम न्यायलय, मानव अधिकारको बहाली, नागरिक स्वतन्त्रता, बहुल तथा खुला समाज, शक्ति पृथकीकरण जस्ता लोकतान्त्रिक मूल्यमान्यताका आधारभूत पक्षहरु पूर्ण बहालीको प्रत्याभूति हुनुपर्दछ ।
हाम्रो आर्थिक प्रणाली समाजवादी हुनु पर्दछ । यसलाई नेपाली जनताले आफ्नो संविधानमा लिपिबद्ध गरिसकेका छन् र नेपालका सम्पूर्ण राजनीतिक दलहरुले स्वीकार गरिसकेको अवस्था छ ।
समाजवाद मौलिक किसिमको र यसका आधारभूत मान्यताहरुलाई अङ्गीकार गरीएको आर्थिक सामाजिक प्रणाली हुनु पर्दछ । नेपाली धरातल अनुसारको समाजवाद जसमा नीजि तथा सार्वजनिक स्वामित्व रहेको र आर्थिक वृद्धि र विकासलाई तीब्रता दिने खालको सम्पत्ति तथा आयको समतामूलक बितरण भएको न्यायपूर्ण तथा समतामुलक समाज निर्माण गर्ने किसिमको हुन पर्दछ ।
नीजि स्वामित्वलाई निषेध गरेको र पूर्ण सार्वजनिक स्वामित्व रहेको अर्थतन्त्रले ठीकसँग काम नगरेको र समृद्धिलाई मद्दत नगरेको अवस्थालाई विगतमा स्थापित समाजवादले देखाएको छ ।
त्यसैले आर्थिक विकासलाई तिब्रता दिन नीजि सम्पत्ति पनि रहनुपर्ने र पूर्ण नियमन सहितको बजार उन्मुख अर्थप्रणाली अवलम्बन गर्नु उपयुक्त हुन सक्दछ भन्ने कुरा रसिया, चीन लगायत मुलुकहरुको अनुभवबाट सिक्नुपर्ने अनिवार्यता देखिएको छ । विकासका विभिन्न मोडेलहरु हुन सक्दछन् ।
ती विभिन्न मोडेलहरुबाट विचार ग्रहण गर्दै नेपाली वस्तु स्थिति र यर्थाथता सुहाउदो विकास मोडेल अवलम्वन गर्नु पर्दछ ।
आज संसारमा कही कतै चरम तथा विकृत पूँजीवादको अस्तित्व रहेको पाइदैन । संसारका पूँजीवादी भनिने मुलुकहरुमा पनि समाजवादको महत्वपूर्ण तथा कामयावी विचारहरुलाई ग्रहण गर्दै लोककल्याणकारी व्यवस्था अवलम्वन गरिएका छन् ।
समाजवाद पनि नाम मात्रको हुनु हुदैन । यो आर्थिक वृद्धि र समुन्नतिलाई मद्दत पुग्ने खाल्को हुनु पर्दछ । समाजवादमा समृद्ध अर्थतन्त्र र शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै जनताको समान पहुँच स्थापित हुन पर्दछ ।
सम्पूर्ण जनताको स्वास्थ्य, शिक्षा र जीविकाका सवालमा पूर्ण पहुँच स्थापित हुनु पर्दछ । कुनै समुदाय वा जनताको निम्ति जीविकाको पूर्ण प्रत्याभूति हुनु पर्दछ ।
नेपाली जनताको अभिलाशा पनि गरिबी भएको समाजवाद होइन, समृद्ध समाजवाद हो । यो लोकतान्त्रिक समाजवाद लोकतन्त्रका हालसम्म विकसित र स्थापित मान्यताहरुलाई आत्मसात गरेको समाजवाद हो ।
लोकतन्त्र नभएको अधिनायकवादी समाजवाद नेपाली जनताको अपेक्षा होईन । यो समाजवादमा उच्च स्तरको लोकतन्त्र, विकसित र सर्वस्वीकार्य मान्यताहरु रहेको लोकतान्त्रिक परिपाटी हो । त्यसैले लोकतन्त्रहिन समाजवाद हाम्रो चाहना होइन र नेपाली समाजवाद अधिनायकवादी प्रणाली अवलम्वन गर्नेतर्फ होइन, उच्च स्तरको लोकतन्त्र, परिस्कृत र विकसित लोकतन्त्रतर्फ अभिमुख हुनुपर्दछ ।
नेपाली क्रान्ति अब हिंसात्मक आन्दोलन वा बल प्रयोगको कार्यदिशामा फर्किन सक्दैन ।
नेपाली समाज शान्त्तिपूर्ण रुपान्तरणतर्फ अभिमुख हुनु पर्दछ । हत्या, हिंसा समाधान होइन र शान्तिपूर्ण रुपान्तरण मार्फत समाजवादमा जानुपर्दछ । नेपाली जनताको अभिष्ट लोकतान्त्रिक समाजवाद नै हो । बहस गरौ ।