हरेक मानिसको जीवनमा अनेक उतारचढाव आउँछन् । थुप्रै बाधा अडचन तथा कठिनाइहरू देखा पर्छन् । सामान्यतया मानिसले यस्ता बाधा अड्चन तथा कठिनाइहरूमा सफलतापूर्वक समायोजन स्थापित गर्दछन् ।
तर कतिपय अवस्थामा यस्ता बाधा अडचन तथा कठिनाइहरूद्वारा उत्पन्न तनाव, कुण्ठा एवं निराशा अति प्रवल भई त्यसलाई समायोजन गर्न नसक्ने स्थिति आउँछ भने तव मानिसको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दछ र मानिसको व्यवहार असामान्य हुन पुग्दछ ।
यस्तो असामान्य व्यवहार यदि महिनौसम्म रहिरहेको खण्डमा यसले मानसिक समस्याको रुप धारणा गर्छ ।
मानसिक समस्याका लक्षणहरु मानसिक रुपमा मात्र होइन शारीरिक रुपमा पनि देखा पर्छन् ।
के हो मानसिक समस्या?
मानिसको भौतिक शरीर जसरी विभिन्न रोगहरूद्वारा ग्रस्त हुन्छ, ठीक त्यसैगरी मानिसको मन पनि विभिन्न कारणहरू (जैविक, मनोवैज्ञानिक तथा सामाजिक आदि कारणहरू)ले विकार ग्रस्त हुन सक्दछ ।
मनको यस्ता विकारहरूलाई नै मनोरोग अर्थात् मानसिक रोगको संज्ञा दिइन्छ ।
मानसिक विकारहरुलाई मानसिक रोग भन्दापनि मानसिक समस्याहरु भन्न ठीक हुन्छ । मानसिक समस्याहरू बीसौं प्रकारका छन् । डिप्रेसन, चिन्तारोग तथा स्किजोफ्रेनिया आदि मानसिक समस्याहरुका प्रमुख उदाहरणहरू हुन् ।
मिचिगन विश्वविद्यालयले हालसालै गरेको एक अध्ययन अनुसार हरेक चार जना अमेरिकन मध्ये एक जनामा मानसिक समस्या भएको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
अमेरिकामा मात्र होइन अहिले विश्वभरि नै मानसिक समस्याहरू निकै बढेको छ । पेट आदिको दुःखाइबाट फिजिसियनकहाँ पुग्ने आधा भन्दा बढी विरामीहरू कुनै न कुनै मानसिक समस्याबाट पीडित भएको देखिन्छ ।
अधिकांश शारीरिक रोगहरु पनि मनोवैज्ञानिक कारणबाट उत्पन्न हुन्छन् ।
नेपालमा भने मानसिक समस्याको स्थितिका बारेमा एकिन भरपर्दो तथ्यांक छैन । तर एक अध्ययनका अनुसार कम्तिमा पनि १० नेपाली मध्ये १ नेपाली कुनै न कुनै मानसिक समस्याको चपेटामा परेको देखिन्छ । यो संख्या दिनप्रति दिन बढ्दै गएको छ ।
मुख्य रुपमा नेपालीहरू डिप्रेसन, दुश्चिंता, फोबिया, मेनिया, तनाव, मानसिक थकान, यौन समस्या, लागू–औषध दुव्र्यसन तथा सिजोफ्रेनिया आदिबाट पीडित छन् ।
माओवादी सशस्त्र द्वन्द, भुकम्प, राजनीतिक आन्दोलन तथा बाढीपहिरोका कारण पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी)का रोगीहरूको संख्या पनि निकै धेरै छ ।
साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्ने भन्दा बढी मानसिक आघात(ट्राउमा) का कारण यदि व्यक्तिमा एक्कासी र बारम्बार आघातपुर्ण घटनाका दृश्यहरू मानसपटलमा आउने, अनि उत्तेजना र छटपटि एकदम बढ्ने र मुटुको धड्कन तथा श्वासप्रश्वासको गति बढ्ने, शरीर काँप्ने तथा घबराहट बढ्ने, तथा त्यो स्मृतिलाई हटाउन खोज्ने, तर हटाउन पुर्णरुपमा सफल नहुने तथा निरन्तर भय र तनाव जस्ता लक्षणहरू देखिए भने त्यसलाई पोष्ट ट्राउमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिन्छ ।
पीटीएसडीमा उपर्युक्त लक्षणहरूका साथै एक्लै बस्ने, समाजिक कार्यमा अभिरुचि नदेखाउने, चिन्ता बढ्ने, निद्रा नलाग्ने, घटनासँग सम्बन्धित डरलाग्दो सपना देख्ने, ध्यान एकाग्र नहुने, चिडचिडापना तथा क्रोध बढ्ने आदि लक्षणहरू पनि देखा पर्न सक्छन् ।
दैनिक जीवनमा देखा पर्ने घटनासँग सम्बन्धित कुराहरूले स्थितिलाई झन् जटिल बनाउन सक्छन् ।
जस्तो कि भयानक हवाईजहाज दुर्घटनावाट संयोगवश बाँचेका व्यक्ति ‘हवाईजहाज’ शब्दको नाम मात्रले पनि तीब्र भय र आतंकको संवेग देखा पर्नसक्दछ र ऊ एक्कासी उत्तेजित भएको देखिन्छ ।
किन बढ्दै छ मानसिक समस्याः
आधुनिक युगमा मानसिक समस्या ज्यादै तीव्र गतिमा बढिरहेको छ । युवा तथा बृद्धबृद्धा मात्र होइन कि कलिला बालबालिकाहरु समेत अनेक मानसिक समस्याहरुबाट पीडित देखिएका छन् ।
यसको मुल कारण भागदौडको जीवन र तनाव नै हो । तनाव मानसिक समस्याहरुको मात्र होइन कि हृदय रोग, वातरोग, मधुमेह तथा क्यान्सर आदिको पनि जननी हो ।
हो, आज स्वास्थ्य विज्ञानले धेरै प्रगति गरेको छ । तर यो वैज्ञानिक युगमा पनि हरेक राष्ट्रमा मानसिक समस्यालाई हेर्ने दृष्ट्रिकोणमा कुनै न कुनै रुपमा अंधविश्वासहरू कायम छन् ।
त्यसैले नेपाल जस्तो सबै कुरामा पिछडिएको राष्ट्रमा मानसिक समस्याको सम्बन्धमा पनि गलत धारणा रहनु कुनै अनौठो कुरो होइन । अहिले पनि अधिकांश नेपालीहरूले मानसिक समस्यालाई भुतप्रेत, पुर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूको कारणले पैदा भएको मान्दछन् ।
देवीदेवताहरूको अभिशाप ठान्दछन् । त्यसैले नेपाली समाजमा मानसिक रोग लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ ।
अशिक्षित मानिसहरूको कुरा परै छोडौँ । शिक्षित मानिसहरूले पनि यस्ता समस्याहरू भरसक छुपाउने–लुकाउने र रोगले निकै च्याप्यो भने उपचारकालागि धामीझाँकीहरूको शरण पुग्ने प्रचलन छ ।
यसबाट नै प्रष्ट छ नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दहनीय छ । मानसिक समस्याहरुको उचित उपचार नहुनाले पनि नेपाल जस्ता देशहरुमा मानसिक समस्याहरु बढ्दै गएका छन् ।
मानसिक समस्याका सम्बन्धमा धेरै अध्ययन–अनुसंधानहरू भएता पनि यसको कारणात्मक पक्षहरूमा अझै पर्याप्त अध्ययन–अनुसंधान गर्न बाँकी नै छ । तर, साधारणतया आनुवांशिक कारण, जैवरासायनिक कारण, मनोसामाजिक कारण, मद्यपान तथा औषध दुव्र्यसन तथा दीर्घ र जटिल रोगका कारणहरूले गर्दा मानसिक समस्याहरु हुने गर्छ ।
उपचार सम्भवः
हो, मन अदृश्य छ, त्यसैले मानसिक समस्याको पहिचान र उपचार गर्न सजिलो हुँदैन । तर मानसिक स्वास्थ्यको क्षेत्रमा विश्वले ठूलो फड्को मारेको छ । त्यसैले उचित उपचार भएको खण्डमा अधिकांश मानसिक मानसिहरू बिलकुल ठीक हुन्छन् ।
कतिपय अवस्थामा मानसिक समस्याहरु राम्रोसँग ठीक नहुनुको कारण लुकाउने छुपाउने प्रवृत्ति पनि हो । यौनजन्य विकार तथा समाजिक मर्यादा विपरितको व्यवहारहरुका कारण पैदा भएका कतिपय मानसिक समस्याहरु उपचार गर्न साइकोथेरापिष्टलाई यसकारण गाह्रो हुन्छ कि पीडित व्यक्तिले लाज, धक र गोप्यता भंग हुने भयले सही कुराहरु बताउँदैनन् ।
विश्वमा अहिले मानसिक समस्याहरुको उपचारका लागि प्रमुख दुई उपचार पद्धतिहरू प्रचलित छन् ।
ती हुन्ः एक, जैविक चिकित्सा (औषधि तथा विद्युत आघातद्वारा चिकित्सा) र अर्को, मनोचिकित्सा (साइकोथेरापि) । यसका साथै पुरक तथा बैकल्पिक चिकित्साका पनि प्रयोग हुँदै आएको छ । पुरक तथा वैकल्पिक चिकित्सा केवल शारीरिक रोगका लागि उपयोगी नभएर मानसिक समस्याहरुका लागि पनि निकै उपयोगी देखिएको छ ।
यसरी हिजोआज विश्वमा अनेक किसिमका चिकित्साहरु प्रचलनमा आएको भएता पनि नेपालमा भने मानसिक समस्याहरुको उपचार शर्वसुलभ हुन सकेको छैन ।
नेपालका प्रमुख शहरमा औषधिद्वारा मानसिक समस्याहरुको चिकित्सा सेवा उपलब्ध भएता पनि मनोचिकित्सा सेवा भने शुन्य प्रायः छ ।
पुछारमाः
अंधविश्वासमा जकडिएको समाज, अशिक्षा र गरीबी, दक्ष्य जनशक्तिको अभाव तथा मानसिक स्वास्थ्य सेवाप्रति सरकारको उदासिनताले गर्दा नेपालमा उचित मानसिक स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन ।
त्यसैले नेपाल सरकारले तुरुन्त यसप्रति ध्यान दिन जरुरी छ । नेपालमा मनोवैज्ञानिक सेवा तथा मनोचिकित्साको समुचित विकास भएको खण्डमा नेपालले मानसिक स्वास्थ्यमा ठुलो फड्को मार्ने थियो ।
स्मरणीय कुरा के भने मानिसकालागि जति शारीरिक स्वास्थ्यको महत्व हुन्छ, त्यो भन्दा बढी महत्व मानसिक स्वास्थ्यको हुन्छ र यस्तो स्वास्थ्य सेवा मनोचिकित्सा बिना अपुरो हुन्छ ।
(लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)