हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको हर्ष।।
कविशिरोमणि लेखनाथ पौड्यालको कवितामा भनिएजस्तै दशै भन्नेबित्तिकै प्राकृतिक सुन्दरता त आउँछ नै हरेकको मनमष्तिस्कमा आनन्दको वर्षा पनि गराउँछ । वर्षा ऋतुको हिलोमैलोलाई पार गरेर शरदीय आनन्दमा रमेकै समयमा दशैं आउँछ, दशै भन्नेबित्तिकै मलाईमात्र होइन, सबैलाई बालापनको यादले सताउँछ ।
सम्झदा मात्र पनि आनन्दित भइने बाल्यकालीन गतिविधिहरु,हरेक दशैंसँगै याद बनेर ओठको मुस्कान बन्नपुग्छन् ।
उमेर, अनुभव र आइपर्ने व्यवहारिक अप्ठेराबिच पनि ती मीठा दशैं सम्झनाले आँसुबिचमै हँसाउने गर्छन् । दशैं सांस्कृतिक पर्व हो, यसको आफ्नै महत्व छ, यसका आफ्नै सुन्दर पक्षहरु छन् । पारिवारिक मिलनको पर्व हो यो ।जीवनमा हरेक वर्ष दशै आउँछ, मनाइन्छ पनि तर कुनै दशैं त्यस्तो हुन सकेका छैनन् जुन बाल्यकालमा हुन्थे ।
आफ्नो जन्मठाउँ जहाँ र जस्तो भएपनि विशेष हुदोरैछ । जीवनमा भाग्यको लहरले किन कताकता नपुर्याओस् मनको लहरले हमेशा आफ्नै ठाउँ खोज्दोरहेछ । अझ चाडपर्व आइदियोस् मन विभोर भई सानोमा डुलेका बारी, कान्ला र बाटोमै दौडन्छ ।
दशै भन्नेबित्तिकै मेरो मन पनि त्यही सुन्दर पहाडी गाउँमा पुग्दछ जहाँ म जन्मे, हुर्के । आफ्नो जन्मठाउँ छोडेको डेढदशक बितिसक्दा पनि मेरो हातमा तम्घासकै महक छ र अझै लाग्छ कि मेरो शिरमा ऋष्यश्रृङ्ग बाबाकै आशिर्वाद छ । जब म जान्छु तब बिर्सिदिन्छु सबै कुरा, समयले त मलाई परिपक्वताको बाटोमा डोर्याइसकेको छ ।
मलाई मात्र होइन सबैलाई यस्तै हुन्छ । सानोमा फुपूकोमा जाँदा उहाँले भनेको याद आउँछ,—“हेर त यहाँबाट रेसुङ्गा देखिन्छ, म हरेक दिन बिहान यही हेर्छु र काम शुरु गर्छु, कुहिरो लागेको दिन त म देख्न नि पाउँदिन ।” त्यतिबेला त लागेको थियो ह्या के भनेको होला दिदीले भनेर, अहिले बल्ल बुझ्दैछु ।
साउने संक्रान्ति देखि नै चाडपर्व आएको महसुस हुन्थ्यो । अहिले जस्तो सूचना प्रविधिका संसाधनहरु थिएनन्, रमाइलोको परिभाषा नै छुट्टै । म त भन्छु सूचना प्रविधिका साधनले मानिसलाई बढी आत्मकेन्द्रित बनाएका छन् । सृजनशीलता गुमिसकेको छ ।
हामी परिवारभित्रै धेरै केटाकेटीहरु भएकोले साथी खोज्न बाहिर जानु पनि परेन । धेरै दिदीबहिनीको जमात हुँदा रमाइलो पनि कहिल्यै छुटेन । अहिलेजस्तो मोबाइल कम्प्युटरले हाम्रो स्वभाविक सिर्जनशीलता पनि खोसेन ।
विजयादशमी भनेर लामो एकमहिने बिदा हुन्थ्यो । दशैं बिदा भनेर स्कुलबाट धेरै नै गृहकार्य दिइएको हुन्थ्यो । हामीबिच कडा प्रतिस्पर्धा नै चल्थ्यो कस्ले छिट्टो गृहकार्य सक्ने भनेर । दिनदिनै लेख्ने भनेर दिइएको दैनिकी बाहेक सबै गृहकार्य गरेर सकेपछि बल्ल दशैं शुरु ।
घटस्थापनामा जमरा राखेपछि रमाइलो लाग्थ्यो । कस्को घरमा जमरा कत्रा भए भनेर पटकपटक हेर्न जानुपर्ने । द्वादशीदेखि पूर्णिमासम्मै मन्दिर पुग्ने हाम्रो काम । सप्तमीको दिन फूलपाती निकाल्ने, पूर्णिमाको दिन बाजागाजा सहित सेलाउने । हामीहरुको कोट (दुर्गा मन्दिर) ब्यारेकभित्र भएकोले दुर्गापूजाका हरेक क्रियाकलापमा सेनाको सक्रियता हुन्थ्यो, अझै पनि हुन्छ ।
नवमीको दिनमा बिहानै मन्दिर जान्थ्यौ तर त्यहाँको दृश्यले नै मन आहत हुने । बाटाभरि रगतैरगत, बली दिएर टाउको मन्दिरमा देवीलाई चढाउने, शरीर चाहीं ठूला लठ्टीमा झुण्ड्याउँदै घर घरमा ल्याउँथे ।
दशैको सबैथोक मन परेपनि देवीको नाममा निसहाय जनावरको काटमार गर्ने प्रचलन कहिल्यै मन परेन । एकवर्ष अगाडि भ्रमणको क्रममा बर्मा पुग्दा त्यहाँको नेपालीभाषी समाजले नेपालमा हुने बलिप्रथाको तीव्ररुपमा विरोध गरेको थियो । नेपाल हाम्रो पितृभूमि हो, हाम्रो लागि नेपाल अत्यन्तै प्यारो छ धर्मको नाममा बलि दिने कुरामा हाम्रो असहमति छ, हाम्रो यो भावना नेपालमा पुर्याइदिनुहोला ।
यो उनीहरुको अनुरोध थियो । उनीहरुको आशय पनि दशैंमा साथै गढीमाइ मन्दिरमा हुने बलिप्रथाप्रति लक्षित थियो । बुद्धपूर्णिमाको दिनमा त बलि दिने हामी नेपालीहरुको यो अन्धविश्वास कहिले हट्ने होला ?
बडादशैमा हामी विभिन्न कोटहरुमा पुग्ने सिलसिला चल्थ्यो । अर्घाखाँची जिल्लामा पर्ने उल्कादेवीको मन्दिरमा अनिवार्यरुपले नै धुपधजा लिएर जाने प्रचलन थियो । त्यहाँ जानको लागि पालो कुर्नुपथ्र्यो, दशैको बेला घरमा थन्किएर बस्न कसलाई पो मन लागोस् । हामी उल्का उत्पात गरेर आफू जाने कोशिश गथ्र्यौ ।
त्यहाँ जाँदा बुबाहरुले विभिन्न ठाउँ, त्यो ठाउँको नामाकरण कसरी भयो, त्यो ठाउँको विशेषता के हो सबै बताउँदै जाने हुनाले पनि त्यहाँ जानको लागि हाम्रो प्रतिस्पर्धा नै चल्थ्यो । गाउँको जनजीवन कत्ति सहज थियो, कत्ति आत्मीय थियो, जहाँ तिर्खा लाग्यो त्यहाँ मीठो हार्दिकतासाथ पानी, भोक लागेको ठाउँमा अम्बा, काक्रो खान पाइन्थ्यो । उल्काको मन्दिरमा पनि धेरै बलि चढ्थ्यो । बाटोमा पर्ने हरेक देवी मन्दिर रगताम्य हुन्थे, अहिले पनि त्यस्तै त होला नि ।
हाम्रो पुरै परिवार शाकाहारी भएको हुनाले हामीले कहिल्यै पनि दशैंलाई मासु खाने पर्वको रुपमा हेरेनौ । हामीलाई हजुरबुवा, हजुरआमा, आमा, बुवाहरुले सिकाएको एउटा आर्दश नै जीवनमा कसैको मासु पनि नखाने, आँशु पनि नखाने नै हो । दशैमा हाम्रोमा फिनी, अर्सा, अनरसा, सेल लगायतका रोटी, फलफूलहरु, दुधजन्य परिकारहरु नै खाइन्थ्यो ।
काक्राको अमिलोअचार दशै भन्नेबित्तिकै याद आउँछ । पीङ खेल्ने,नाचगान गर्ने, हजुरआमाहरुका पुराना कुरा सुन्ने, किरण पुस्तकालयले गर्ने कार्यक्रममा भाग लिने, घर लिपपोतमा आमाहरुलाई सघाउने, बुवासँग बसेर दुर्गा सप्तशती पाठ गर्ने लगायत हाम्रो काम हुन्थ्यो ।
हामी निकै स्वतन्त्र र स्वच्छन्द विचरण गथ्र्यौ, कत्तिपटक हामी दिदीबहिनी ग्रुप घरमा कोठामा बसेर पढ्दैछन् भन्ने भान पारेर एकघण्टा टाढा पर्ने फुपूको घरमा पुग्थ्यौ, हामीले लगाएका कपडा देखेरै त्यहाँ सबैलाई थाहा हुन्थ्यो भागेर आएछन् भनेर तर निकै माया गरेर फुपूले के के खान दिनुहुन्थ्यो । घरमा फर्केपछि बुवाको त हैन आमाको गाली खाइन्थ्यो । त्यस्ता गालीमा माया धेरै हुने भएकोले हाँसेरै जितिन्थ्यो ।
हरेक दिन दशैं थिए हाम्रा लागि । बडादशैको दिन विशेष हुने नै भयो । बडो व्यग्रताका साथ साइत कुर्ने, घरमा टिका लगाउने बित्तिकै यताउता दौडनुपर्ने । नयाँ कपडाको महत्व कत्ति धेरै ।
दशैंको मुख्य आकर्षण दक्षिणा पनि थियो । भाइहरुले दशैंमा टिका लगाएर पैसा पाउदैनथे, हामी दिदीबहिनीले पाउने भएकोले दशैंको दिन हामी स्पेशल महसुस गथ्र्यो । नवमीको दिनमा पनि हामी कन्याहरुकै पूजा हुने, मन्दिरमा पनि दुर्गा देवीकै पूजा हुने । तिहारमा तिमीहरुको पूजा गर्छौ नि हामी भनेर भाइहरुलाई जिस्काउथ्यौं ।
लैङ्गिक सहिष्णुतामा हाम्रा सनातन रीतीथिति कति उदाहरणीय छन् भन्ने कुरा हामीले मनाउने चाडपर्वबाट बुझ्न सकिन्छ । गलत व्याख्या गर्छौ सधै हामी, लक्ष्मी भनेर ल्याइएकी बुहारीलाई दासीको व्यवहार गर्छौ । नारी शक्तिस्वरुपा दुर्गा हुन् भनेर बिर्सन्छौ र नारीप्रति कुदृष्टी राख्छौ ।
दशैंमा पाएको पैसा जतन गरेर राख्थ्यौ, खुब रमाइलो, त्यो आफ्नै पैसा, आफ्नो हिसाबले खर्च गर्र्ने अधिकार । स्वतन्त्रता कति महत्वपूर्ण हुन्छ है ।
हाम्रोमा दशैको टिका एकदिन मात्र लगाउने चलन छ, सबै हिसाबले यो चलन नै मलाई मन पर्छ । हाम्रो धागीथुम कोटमा पूर्णिमाको दिन सरायँ नाच हुन्छ, सराय हेर्न जाने भनेर योजना बनाएर आ आफ्नो ग्रुपमात्र गइन्थ्यो ।
आफूभन्दा साना भाइबहिनी सकेसम्म लैजान्नथ्यौ । सानोतिनो बजारै लाग्थ्यो । सरायँ तरवार नचाएर झुम झुम वाक्खै भनेर नाचिने नाच हो ।त्यतिबेला मैले केटामान्छेमात्र सराय खेलेजस्तो मानेकी छु, यो पनि मलामी, जन्त केटामान्छेमात्र जाने भनेको जस्तो होला जस्तो लाग्छ । अब त सरायँ हेर्न नगएको पनि वर्षो भइसक्यो ।
माओवादी जनयुद्धको नाममा हत्याहिंसा बढेपछि हाम्रो दशैपनि प्रभावित भयो । सधै स्वतन्त्र रुपमा पूजागर्न गइने कोटमा जाँदा पनि पुरा परिचय खुलाएर, सेनाका अघिपछि गरेर जानुपर्ने भयो ।
दिनमा दशौपटक ओहोरदाहोर गर्ने मन्दिर पुग्न पनि गाह्रो भयो । सुरक्षा सर्तकता त्यतिबेलाको आवश्यकता पनि थियो ।
जनयुद्धको नाममा अरु जनताले पाएको दुःख तनावको तुलनामा हाम्रो दुःख थोरै हो । ब्यारेक नजिक भएको कारण जनयुद्धको नाममा भएका दुःख, अप्ठेराहरुको साक्षी हामी पनि भयौ । पछि जनयुद्धको समाप्तिसँगै पुन मन्दिर प्रवेशमा सहजता आयो ।
दशैंका अनुभूति धेरै छन् । बाल्यावस्था जीवनको स्वर्णिम पल हो । बाल्यकालीन अनुभूतिले बाँकी जीवनमा अमिट छाप छाडेको हुन्छ । बालसुलभ चन्चलता, स्वतन्त्रता, स्वच्छन्दता बाँकी जीवनका लागि उर्जा हुन् । न केही जिम्मेवारी, न कुनै तनाव, आफूलाई निस्वार्थरुपले माया गर्ने बाबुआमाको काख, प्यारा दाजुभाइ दिदीबहिनीको साथ । तब पो दशै दशै हुन्छ ।