भन्न जति सजिलो छ त्यति सजिलो छैन व्यक्तिगत सुरक्षा सामग्री (PPE) लगाएर काम गर्न। तराईको गर्मिमा एकछिनमा नै पसिनाले निथ्रुक्क रुझ्छ सम्पूर्ण शरीर।
हिजोआज अस्पतालबाट फर्कदा अलिक चाडै अँधेरो भएको महसुस गर्छु। सन्ध्याकालीन शीतल हावाले दिनभरिको थकानबाट केही राहत दिने गर्छ, वरपर खेतमा पहेंला धानका बाला त्यहि हावाको बेगमा झुलिरहेका हुन्छन्। प्रकृतिले दशैंलाई स्वागत गरेजस्तो माहोल छ। कति चाडै दशैं आइसकेछ। हुन त यसपालि दशैं कात्तिकमा पर्योि, तरपनि कोरोना महामारीको कहरले ध्यान अन्त गएको छैन।
हामीले नयाँ वर्षपनि राम्रोसँग मनाउन पाएनौं। एउटा निकै अनौठो रोगको संक्रमणले संसारलाई नै चकित पार्यो, हाम्रो नेपाली समाज पनि यसको सन्त्रासबाट अछुतो रहन सकेन।
कुनै पनि धर्म र परम्पराका चाडबाड पर्व जसरी मनाउन सकिएन। समय अनुरुप हरेक चाड पर्वलाई मनाउने शैलीमा परिवर्तन आउनु स्वाभाविक हुन्छ, झन् यसपालिको परिवेश त अझ फरक रह्यो। अहिले हामी हिन्दु नेपालीहरुको महान चाड दशैंको आगमनको जसरी प्रतिक्षा गरिरहेका थियौं, त्यसरी नै एउटा डरलाग्दो संक्रमण गराउने भाइरस, कोभिड-१९ को संक्रमणले पनि दिनानुदिन हामीलाई जित्ने प्रयासमा निरन्तर आक्रमण गरिरहेको थियो।
अहिले हामी निरन्तर संघर्षमा छौं, यस भाइरससँग, र कहिले हामीले यसलाई त कहिले यसले हामीलाई हार-जितको प्रक्रिया निरन्तर छ। आशा छ, हामीले चाडै नै यस रोग माथि विजय प्राप्त गर्ने छौ तर त्यसको लागि अहिले केही समय हामीले यो परिवेशमा सम्झौता गर्न आवश्यक छ।
विगततिर फर्किएर सोंच्दा, पोहोर साल अस्पतालतिर आउँदा जाँदा, खुसीले धपक्क बलेका अनुहार, आफन्त प्रियजन लाई भेट्ने/स्वागत गर्न पाउने खुसियालीले भरिएका ती उत्साहित आँखाहरु कहिले घर पुगिएला भन्ने हतारमा हुने गर्थे। असिमित खुशी सहितका झोला-झाम्टाभित्र माया र स्नेहरुपी थुप्रै सामानका भारी बोकेर देशविदेशबाट मानिसहरु आआफ्नो घरतिर फर्कने क्रम हुने बेला हो यो।
देशविदेशबाट आउने, आफ्ना परिवारलाई भेट्ने खुसियाली दशैंको दिन चाडै आओस् भन्ने प्रतिक्षामा रहन्थे सबै जना। व्यापार व्यवसायमा लागेका व्यक्तिदेखि लिएर गृहिणी सबै जना दशैंको तयारीको चटारोमा व्यस्त हुन्थे।
तर यसपटक पहिलेको जस्तो चहलपहल छैन, मास्कभित्र रहेका अनुहार कहिले यो मास्क हटाएर खुला रुपले सास लिन पाइएला? म लगाएत मेरा परिवार कैले सम्म यस संक्रमण बाट सुरक्षित रहौला? भन्ने जस्ता तमाम चिन्ता र प्रश्न कानमा ठोक्किइरहन्छन्।
तर एक चिकित्सकको नाताले प्राय सोधिने प्रश्नको उत्तर नहुँदा छटपटी हुने रहेछ। दशैं पनि दशा बन्न खोजिरहेको छ, कामना छ सबैको मंगल होस्, सबै को घरमा खुसियाली छाओस्। दशैं हाम्रो घरआगनमा आइसक्यो, तर संगसंगै यो माहामारीको उच्च जोखिममा पनि छौ।
आज अस्पतालमा जाँदा एकजना सहकर्मीलाई संक्रमण भएको थाहा पाएँ, कस्तो छ अवस्था भन्दा, अवस्था जटिल छैन केही सामान्य लक्षण मात्र रहेछ। ऊसंग कुराकानी पनि भयो, धैर्यता गर्न भने, तर उसको मानसिक र शारिरीक पिडा त मैले कसरी महसुस गर्न सक्थे होला।
मापदण्ड अनुरुप ऊ घरैमा एकान्तबासमा थियो। एक दिनपछि बुझ्दा त उसलाई सकस भइसकेको रहेछ, र सास फेर्न अप्ठेरो भएको हुनाले अक्सिजन दिनुपर्ने भएछ। ऊ लडिरहेको थियो संक्रमणलाई जित्न, र भाइरसले भने उसलाई शिथिल बनाउदै थियो।
केहीदिनको निरन्तर उपचारपछि ऊ निको भयो, तर अझै पनि शरीर कमजोर थियो, अन्तत उसले कोरोनालाई जितेर फर्कियो।
तर यसबीच उसले कति पीडा भोग्नु पर्यो भन्ने कुराले पिरोल्छ। यो त एउटा उदाहरण मात्र हो, यी र यस्ता अवस्था कति जनाले प्रत्यक्ष भोग्नु परेको छ।
संक्रमण निको भएका साथी भाइसँग कुरा गर्दा, निकै गार्हो हुने अनुभव सुन्न पाईन्छ र कसैलाई नपरोस भन्ने गर्छन् सबैजना। उचित सावधानी बेलैमा अपनाएको भए संक्रमणबाट जोगिन सकिन्थ्यो कि भनेर पछुताएको हुन्छन्। फेरि यसो वरिपरि हेर्दा अनावश्यक भीडभाड गरेको देख्छु, सामान्य मास्क पनि नलगाई, भौतिक दुरीको ख्याल नगरी बसेको जमात देख्छु, अनि डर लाग्छ, के हामी इटाली/फ्रान्स जस्तो अवस्थातिर त लम्कदै छैनौ?
त्यसैले अहिले नै निर्वाध हिडडुल गर्ने बेला भएको छैन। हो-दशैं को बेला हो हर्सौल्लासका साथ मनाऔं, तर अलिक सावधानी अपनाएर, संक्रमण नहोस् भन्ने आधारभूत नियम पालना गरेर। परिवार र आफन्तजनको सु-स्वास्थ्य र दीर्घायुभन्दा अरु बढी केनै महत्वपुर्ण छ र।
त्यसैले जो जहाँ छौ, त्यहीँ बसेर रमाइलो क्षण व्यतित गरौ। टेलिफोन, इन्टरनेट लगायत विभिन्न माध्यमबाट नै आशिर्वाद आदान-प्रदान गरौ। एक चिकित्सकको नाताले सबैमा आग्रह छ, यसपटक अलिक फरक ढंगले संयमित भएर दशैं मानौ, आफु पनि सुरक्षित रहौं र आफ्नो परिवार समाजलाई पनि सुरक्षित बनाऔं।
(थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभागमा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन (एघारौ तह) मा कार्यरत छिन्।)