उठान
सोह्र संस्कारहरूमध्ये विवाह संस्कार सबैभन्दा महत्त्वपूर्ण संस्कार मानिन्छ । विशेष किसिमले व्यावहारिक जिम्मेवारी वहन गर्ने भएका कारण दुलाहा र दुलहीको औपचारिक सम्बन्ध गाँस्ने संस्कारलाई विवाह भनिएको हो ।
आजकल अविवाहित वा विवाहित पुरुषले अविवाहित वा विवाहित नारीसँग हात मिलाउने दुष्प्रचलन हाम्रो समाजमा बढ्दै जान थालेको भए पनि दुलाहाले विधिपूर्वक दुलहीको हात ग्रहण गर्ने पद्धतिलाई विवाहकै पर्यायका रूपमा ‘पाणिग्रहण’ भनिन्छ ।
वर्तमानमा धेरैजसो वर र कन्या दुवैले विवाहको आत्मनिर्णय गर्न थालेका कारण आफ्ना छोराछोरीको विवाह कहिले, कहाँ र कसरी गर्ने होला ? भन्ने झन्झटबाट हाम्रा अधिकांश अभिभावकहरू प्रायः मुक्त हुन थालेका छन् तर दूरदर्शी आत्मनिर्णयको अभावमा यसरी गरिने विवाह जीवनभर सुमधुर सम्बन्ध कायम गरिरहन नसकेका कारण हाम्रो समाजमा सम्बन्धविच्छेदका घटनाहरू पनि दिन प्रतिदिन बढ्दै गएकाले हाम्रा अभिभावकहरू चिन्तित पनि छन् ।
विशेषतः नेपाल र भारतबाहेकका शारीरिक भोगविलासलाई मात्र विवाहको मूल उद्देश्य ठान्ने देशहरूमा करिब ९० प्रतिशत विवाहहरू जीवनभर एकअर्कालाई साथ दिइरहने सन्दर्भमा असफल भएका देखिन्छन् किनकि त्यस्ता देशहरूमा अधिकांश दम्पतीले सङ्घर्ष, पारस्परिक कलह र दुःखको नै बढ्ता सामना गर्नुपर्छ ।
विधि पुर्याएर विवाह गर्ने क्रममा पनि क्रमशः ह्रास आउन थालेको देखिन्छ । तसर्थ पौरस्त्य मान्यताका आलोकमा विवाहको मर्म बुझ्दै जाने विषयमा सबैको ध्यान आकृष्ट हुनु जरुरी छ ।
विवाह कति प्रकारका हुन्छन् ?
मनुस्मृति (३।२१)का अनुसार ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच गरी विवाह आठ प्रकारका हुन्छन् ।
तीमध्ये अघिल्ला चार विवाहमा वरलाई आमन्त्रण गरी कन्यादान दिइन्छ र यिनलाई उत्कृष्ट विवाह मानिन्छ किनभने यी चारै प्रकारका विवाहमा अभिभावकले विधिपूर्वक कन्यादान गर्छन् ।
आसुर र गान्धर्व विवाहमा वर र कन्या दुवैको स्वविवेकले बढ्ता काम गर्छ र अभिभावक केवल साक्षीजस्ता हुन्छन् भने राक्षस र पैशाच विवाह अपहरण र बलात्कारसँग सम्बद्ध रहेकाले निकृष्ट मानिन्छन् ।
के प्रेम विवाहलाई उत्तम मानिन्छ ?
वर्तमान समयमा बहुप्रचलित प्रेम विवाहलाई नै हाम्रा धर्मशास्त्रहरूले गान्धर्व विवाह मानेका छन् । विभिन्न किसिमका उपन्यास, फिल्म, युट्युब र सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा प्रेम विवाहप्रति धेरैको आकर्षण पनि बढ्दै गएको हो ।
त्यति मात्र होइन अन्तर्जातीय विवाहको क्रम बढ्नुमा पनि यिनै माध्यमहरू बढ्ता जिम्मेवार छन् । परम्परागत सामाजिक मान्यतासँग प्रतिरोध गर्न नसक्ने परिस्थितिमा यस्ता प्रेम विवाहमध्ये अदालतमा गएर कानुनी रूपमा दर्ता गरी विवाह सम्पन्न गर्ने प्रचलन पनि हाम्रो समाजमा भित्रिँदै गएको छ ।
वास्तवमा जहाँ प्रेम हुन्छ त्यहाँ विवाह हुन्छ भन्ने धारणा नै दूरदर्शी र व्यावहारिक देखिँदैन । शारीरिक आकर्षणबाट निस्किएको दुईदिने प्रेमलाई प्रेम भन्न सकिँदैन किनकि टिपिएको फुलजस्तै त्यस किसिमको प्रेम पनि छिटै ओइलाएर जाने सम्भावना बढ्ता रहन्छ ।
बाह्य सौन्दर्यमा आश्रित भएको प्रेम कहिल्यै पनि स्थायी हुन सक्तैन । एकले अर्काको मानसिकता बुझेर मनदेखि नै गरिएको प्रेमले विवाहको रूप लिँदा त्यस्ता कतिपय प्रेमहरू सफल नभएका पनि होइनन् तर अपरिपक्व उमेरमा केही दिन र केही महिनामै प्रेम भएको ठानेर गरिएका अधिकांश प्रेम विवाहहरू केही वर्षमै सम्बन्धविच्छेदका रूपमा परिणत हुन पुगेका देखिन्छन् ।
वर्तमान समयमा दिनहुँ अदालतमा दर्ता गरिने मुद्दाहरू हेर्ने हो भने सम्बन्धविच्छेदकै मुद्दाहरू बढ्ता दर्ता हुने गरेका छन् । तसर्थ प्रेममूलक विवाहलाई होइन विवाहमूलक प्रेमलाई बढ्ता प्रश्रय दिँदै जानु आवश्यक देखिन्छ ।
विवाह कहिले गर्ने?
हाम्रा पूर्वजहरूले रजस्वला हुनुभन्दा पहिल्यै कन्यादान गर्नु राम्रो मान्थे र प्रायः बाल्यकालमै विवाह हुने गथ्र्यो तर वर्तमानमा भने बालविवाहलाई कानुनबाट नै अयोग्य ठहर्याएको छ ।
साथै हाल प्रचलित नेपालको कानुनमा २० वर्ष नपुगीकन विवाह गर्न अनुपयुक्त हुने हठर गरिएको छ । प्रायः कन्याको १० देखि १६ वर्षको उमेरभित्रमा रजस्वला हुने क्रमको सुरुवात हुन्छ ।
रजस्वला हुन प्रारम्भ भएपछि नै कन्याका स्तनहरूको क्रमशः वृद्धि र हाउभाउ आदिमा समेत व्यापक परिवर्तन देखिन्छ । कन्याका तुलनामा कुमार वा पुरुषमा केही वर्षपछि पुरुषत्वका लक्षणहरू देखापर्न थाल्छन् । स्त्रीत्व र पुरुषत्वका लक्षण देखापर्न थालेपछि किशोर तथा किशोरी दुवै कुलतमा फस्न सक्ने सम्भावना पनि बढ्ता रहन्छ र यस अवस्थामा अभिभावकहरूले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
शरीर विज्ञानका आयुर्वेदशास्त्री सुश्रुतले २५ वर्षको पुरुष र १२ वर्षकी कन्याका साथमा विवाह गर्नुपर्छ भने तापनि नेपालको प्रचलित कानुनमा विवाहका लागि कन्या र वर दुवैको उमेर २० वर्ष पुगेकै हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।
सुश्रुत संहितामा विवाहका लागि कन्याको न्यूनतम उमेर १२ वर्ष निर्धारण गरिएको भए तापनि गर्भाधानका लागि कन्याको उमेर न्यूनतम १६ र पुरुषको उमेर २५ वर्ष हुनुपर्ने निर्देश गरिएको छ ।
रजस्वलापश्चात् नारीमा पुरुषप्रति आकर्षण बढ्ने र त्यस्तो आकर्षण अनियन्त्रित नभइदियोस् भनेर रजस्वला हुनुपूर्व नै विवाह गर्नका लागि हाम्रा ऋषिमुनिहरूले हामीलाई निर्देशन दिएका थिए ।
विवाह किन गर्ने ?
विवाहद्वारा नै सामाजिक जीवनको सूत्रपात भएको मानिन्छ । विवाहले नै मान्छेलाई पशुबाट पृथक् र नैतिक बन्धनमा राख्छ । वैदिक सनातन पद्धतिअनुसार विवाहमा दुवै दम्पतीको आत्मा, मन, प्राण र शरीर सबैको एकत्र मिलन गराइन्छ ।
गार्हस्थ धर्मद्वारा मोक्ष प्राप्त गर्नु विवाहको मूल उद्देश्य हो । विवाह पद्धतिको विकास हुँदैनथ्यो भने पशुहरू जस्तै मान्छेले पनि आफ्नो यौनेच्छाको पूर्तिका लागि जस्तासुकै स्त्रीसँग संसर्ग गर्न रुचाउने थियो होला । विवाहले नै परिवारको सृजना गर्छ, घर बनाउन बाध्य बनाउँछ र परिवारको पालनपोषणका लागि कुनै न कुनै पेसाव्यवसायमा संलग्न हुन मान्छेहरूलाई अग्रसर गराउँछ । विवाहले गर्दा नै मन्छेहरू सामाजिक र नैतिक बन्धनमा बाँधिन्छन् ।
विवाह गर्नाले नै मर्यादित रूपमा सृष्टिको विस्तार हुँदै जान्छ । वैवाहिक बन्धन र त्यसको मर्यादाले गर्दा नै मान्छेले बलात्कार, अपहरणजस्ता घटनाहरूलाई निन्दनीय ठान्ने गरेको हो । सन्तानोत्पत्तिका माध्यमले पितृऋणबाट मुक्त हुनका लागि पनि विवाह गर्ने गरिएको हो ।
विवाह नगर्दासम्म हामी आपैmलाई वा आफ्नो शरीरलाई मात्र बढ्ता प्रेम गर्न रुचाउँछौँ तर विवाहपछि आफूलाई मात्र होइन आमा, बुवा, भाइ, बहिनी, श्रीमती आदि परिवारबाट समाज हुँदै देश र विश्वसम्म प्रेमको विस्तार गर्न हामीहरू अग्रसर हुन्छौँ ।
‘वसुधैव कुटुम्बकम्’को उच्च आदर्श स्थापित गर्ने सन्दर्भमा विश्वप्रेम जागृत हुनु आवश्यक छ । विश्वप्रेम जागृत भइसकेपछि प्रत्येक व्यक्ति अध्यात्मतिर प्रवृत्त भएर मोक्ष प्राप्त गर्न सक्षम हुन्छ ।
विवाह संस्कारका मुख्य अङ्ग कुन कुन हुन् ?
विवाह संस्कारका वरपूजन, कन्यादान, लाजाहोम र सप्तपदी गरी चार अङ्ग मुख्य मानिन्छन् । कन्याका पिताले वरका चरण प्रक्षालन गरी वरलाई आसन दिएर अघ्र्य आदिले पूजा गर्नुपर्छ । कन्याका अभिभावकहरूले दूबो, जल, अक्षता, पूmल आदिसहित हातमा जल लिएर कन्याको गोत्र, प्रवर, शाखा आदि उच्च स्वरमा तीनपुस्ते व्यक्तिको नाम उच्चारण गर्नुपर्छ ।
उच्च स्वरमा यसरी नाम आदिको उच्चारण गर्नु भनेको वर वा वधू कुनै पक्षमा शङ्का लाग्यो भने हुन लागेको विवाह कार्यक्रम रोकिन पनि सकोस् भन्ने नै हो ।
यसरी सङ्कल्पपूर्वक कन्यादाताले कन्याको दाहिने हातको बूढी औँला वरका हातमा समर्पित गरिदिन्छन् । हे अग्नि ! तपाईंले मलाई जन्मघरबाट बिदाइ हुने शक्ति दिनुहोस् र कर्मघरमा मलाई सृदृढ बनाउनुहोस् भनेर आफ्ना भाइको सहायताले कन्याले लावा हवन गर्नुपर्छ ।
भाइले लावा दिँदा दिदीभाइको पारस्परिक स्नेह प्रगाढ हुन्छ । लावा समृद्धिको प्रतीक मानिने हुँदा बिदाइ भएर कर्मघर गए पनि जन्मघरसँगको स्नेहसम्बन्ध लावाझै ऊर्वर रहिरहोस् भन्ने अपेक्षा राखिएको हुन्छ । कन्यालाई जन्मघरबाट बिदाइ हुने शक्ति प्राप्त हुन सकोस् भन्ने कामनाले नै लावाको हवन गरिन्छ । अग्निलाई नै साक्षी राखेर वरले कन्याको पाणिग्रहण (हात ग्रहण) गर्ने शास्त्रीय विधान छ ।
कन्यालाई पत्थरमा टेक्न लगाउनुको आशय पत्थरजस्तै गृहस्थाश्रममा दृढ रहन प्रेरित गर्नु हो । विवाहमा चारपटक यज्ञको प्रदक्षिणा गर्नु भनेको धर्म, अर्थ, काम र मोक्ष चार पक्षको प्राप्तिका लागि हो । विवाहमा सप्तपदीको पद्धति अवलम्बन गर्नु भनेको सात पाइला अघि बढाउँदै क्रमशः पत्नीलाई सात ठाउँको अधिकार प्रदान गर्नु हो ।
अन्न, बल, धन, सुख, गाईवस्तु र ऋतुचर्या यी छ स्थानको अधिकार प्राप्त गरिसकेपछि कन्याले सातौँ स्थानका रूपमा पुरुषको अर्धाङ्गिनी बन्छे । पुरुषले प्रत्येक स्थानमा अधिकारिणी बन्न आग्रह गर्दै जान्छ भने कन्याले तिनलाई क्रमशः स्वीकार गर्दै जान्छे । “सखे ! सप्तपदा भव” भनेर पत्नीलाई वैदिक मन्त्रद्वारा नै साथीका रूपमा स्वीकार गरिएका कारण पत्नीसँग दासीको जस्तो व्यवहार गर्नु हुँदैन ।
विवाह गरेका दिनदेखि सिँदुरले भरिएको सिउँदो सजाउँदै जाने पत्नीलाई देवताले मात्र होइन मान्यजनहरूले सौभाग्यवती भइरहने शुभाशीर्वाद प्रदान गर्छन् परन्तु वर्तमान समयमा विवाहित महिलाको सिउँदामा सिँदुर देख्ने सुअवसर अत्यन्त कम पाइन्छ ।
रातमा गरिने विवाहमा पत्नीलाई ध्रुवताराको दर्शन गराउनु भनेको ध्रुवतारा जस्तै हाम्रो सम्बन्ध अटल रहन सकोस् भन्नका लागि हो । आजकल सबैजसो विवाह दिउँसो नै सम्पन्न गरिने भएकाले विवाहमा ध्रुवताराको दर्शन गर्नबाट नवदम्पतीहरू वञ्चित भएका छन् ।
दुलाहाले दुलहीसँग केकस्तो अपेक्षा राख्ने ?
ऐश्वर्यको वृद्धिका लागि मैले तिम्रो हात ग्रहण गर्छु, तिमी मेरा साथमा वृद्धावस्थासम्म सुखपूर्वक निवास गर, भग, अर्यमा, सूर्य, इन्द्र आदि देवताले तिमीलाई गृहस्थ धर्मका लागि मेरो साथ सुम्पिएका हुन् र ‘सञ्जीव शरदः शतम्’ अर्थात् तिमी मेरा साथमा सय वर्षसम्म कल्याणपूर्वक जीवित होऊ भन्ने कामना पनि वैदिक मन्त्रका माध्यमले दुलाहाले दुलहीसँग अपेक्षा राखेका हुन्छन् ।
कन्यादान दिने अधिकार ककसलाई छ ?
पिता पितामहो भ्राता सकुल्यो जननी तथा ।
कन्याप्रदः पूर्वनाशे प्रकृतिस्थः परः परः ।।(याज्ञवल्क्यस्मृति १।६३)
अर्थात् कन्याका बुवा, हजुरबुवा, दाजु वा भाइ, कुलको कुनै पुरुष र आमालाई कन्यादान दिने अधिकार छ । यीमध्ये बुवा नभएमा हजुरबुवाले, हजुरबुवा नभएमा व्रतबन्ध भएका दाजु वा भाइले, व्रतबन्ध भएका दाजुभाइ नभएमा कुलको कुनै पुरुषले र कुलका पुरुषको पनि अभाव भएमा आमाले कन्यादान दिनुपर्छ ।
सबै नभएमा मामा, सानीमा आदिले पनि कन्यादान दिन सक्छन् । नेपालकै कतिपय ठाउँमा परिवारका ज्येष्ठ पुरुष जीवित रहेसम्म आफ्नै बुवाले पनि कन्यादान दिन मिल्दैन भन्ने परम्परालाई अँगाल्दै आएको पाइन्छ भने कतिपय ठाउँमा घरतिरका र मावलीतिरका समेत सबैले एकैसाथ कन्यादान दिने गरेको पाइन्छ ।
कन्याको मृत्यु भएमा कन्यादान दिने सबैले क्रियाकर्म गर्नुपर्छ । विवाहमा कन्यादानपछि वरलाई विष्णुको रूप र वधूलाई लक्ष्मीको रूप मानिन्छ ।
कुन कर्म गर्दा पत्नी पतिको कतातिर बस्ने ?
परमेश्वरकै बायाँ अङ्गको प्रतीक मानेर धेरैजसो कर्महरू गर्दा पत्नीलाई बायाँतिरको आसनमा बस्ने अनुमति दिइन्छ ।
सृष्टिकर्ता ब्रह्मा स्वयं नै स्वेच्छिक रूपमा दुई भागमा विभक्त भई दायाँ अंश पुरुष एवं बायाँ अंश नारी भएको हुँदा नारीलाई वामाङ्गी भनिएको हो ।
आशीर्वाद लिँदा, अभिषेक गर्दा, ब्राह्मण, कन्या आदिको पाउ पखाल्दा, सुत्ने बेलामा र भोजनका समयमा पनि पत्नी बायाँतिरको आसनमा बस्नुपर्छ भने कन्यादान दिँदा, विवाह गर्दा, प्रतिष्ठा कर्म गर्दा, यज्ञकर्म वा धार्मिक अनुष्ठानमा, हवन गर्दा, देवताको पूजा गर्दा र नान्दी श्राद्ध गर्दा पत्नी पतिको दायाँतिरको आसनमा बस्नुपर्छ ।
यसप्रकार यसलोकमा फल प्राप्त गर्ने सबैजसो कर्ममा पत्नी पतिको बायाँतर्फको आसनमा र सबैजसो पारलौकिक कर्म गर्दा पत्नी पतिको दायाँतर्पmको आसनमा बस्नुपर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
टीकाटालामै स्वयंवर गर्न मिल्छ ?
विवाहका लागि वर र कन्या दुवै मन्जुर भएपछि कन्याका पिता वा अभिभावकले वरलाई फलाना दिन विवाहका लागि आमन्त्रण गर्दछु भनेर वचनबद्ध हुने विधिलाई वाग्दान भनिन्छ र यसैलाई हाम्रो नेपाली समाजले टीकाटालो गर्ने प्रचलन भनेर बुझ्दै आएको छ ।
पहिल्यै विधिवत् वाग्दान नभएको भए विवाहकै दिन जन्ती पर्छेपछि वाग्दान गरिन्छ । पहिल्यै वाग्दान गर्नुपरेमा दीप, कलश र गणेशको पूजा गरी पुण्याहवाचनपूर्वक वाग्दान गर्नुपर्छ ।
कन्यादान गर्ने व्यक्तिले वरलाई पूर्वतर्फ फर्काएर राखी टीका लगाइदिने र वरलाई दिने जनै, सुपारी, फूल, दूबो, अक्षता आदि हातमा लिएर तपाईं फलानालाई फलाना मुहूर्तमा फलानो नामकी कन्या विधिवत् दिनेछु भनेर सङ्कल्प गर्नुपर्छ ।
त्यसपछि कन्यादाताले कन्या अवलोकनका लागि आउनुभएका तपाईंलाई मैले कन्या दिएँ र तपाईं निश्चिन्त एवं सुखी हुनुहोस् भनेर वरको प्रार्थना गर्छन् भने वरले पनि वरको अवलोकन गरिसक्नुभएका तपाईंले वचनद्वारा दिइसकिएकी कन्यालाई मैले स्वीकार गरेँ भनेर कन्यादातालाई विश्वस्त पार्नुपर्छ ।
प्रचलित वाग्दानविधिमा यसबाहेक अन्य विशेष कुरा उल्लेख भएको पाइँदैन तर वर्तमान लोकप्रचलनलाई हेर्ने हो भने वाग्दान वा टीकाटालाकै दिन कन्याले वरलाई र वरले कन्यालाई टीका र माला लगाइदिने अनि एकआपसमा अँगालो मारेर थरीथरीका तस्बिरहरू खिच्ने प्रचलन बढ्दो छ । यस किसिमको प्रचलनले टीकाटालाकै दिन स्वयंवर र विवाह नै भएको पो हो कि ! भन्ने झझल्को पनि दिन थालेको छ ।
वास्तवमा विवाहमा कन्यादाताले कन्याको दाहिने हातको बूढी औँला विधिवत् रूपमा दुलाहालाई नसुम्पिएसम्म टीकाटालाकै दिन यसरी एकआपसमा टीका र माल्यार्पण गर्नु शास्त्रीय दृष्टिले युक्तिसङ्गत मानिदैन । बूढी औँलाको मूल ब्रह्मतीर्थ मानिन्छ ।
ब्राह्म विवाहमा पुरुषको अंश मानिने भएकाले कन्याका दायाँ हातको बूढी औँला वरलाई ग्रहण गर्न दिने परम्परा बसेको हो । तसर्थ वर र वधू दुवैले टीका र माला लगाइदिने काम कन्यादाताले नै गर्नु उपयुक्त हुनेछ ।
विवाहविधिको सामान्य क्रम कस्तो छ ?
वर्तमानमा पर्याप्त समय दिएर विधिपूर्वक विवाह संस्कार गर्ने व्यक्तिहरूको सङ्ख्या अत्यन्त कम हुँदै गएको छ । विवाहमा विशेषतः पूर्वाङ्गविधिका रूपमा दीप, कलश र गणेशको पूजा गरी मातृकाको पूजा र आभ्युदयिक (नान्दी) श्राद्ध पनि गर्नुपर्छ ।
जन्ती आइसकेपछि कन्याले स्वयंवरका लागि प्रतिज्ञासङ्कल्प र इन्द्राणीको पूजा गर्ने तथा वर र वधू दुवैले कपडामा दुवै हातका दश औँला स्पष्ट आउने गरी छाप लगाउने ‘पटलाञ्छनविधि’ पनि विवाहपद्धतिमा उल्लेख भएको पाइन्छ तर पटलाञ्छनविधि प्रायः कुनै क्षेत्रविशेषका क्षत्रिय जातिमा मात्र सीमित रहेको देखिन्छ ।
पहिल्यै वाग्दान (टीकाटालो) नभएको भए वाग्दान गर्ने, वरको पूजा र वरण गर्ने, पाद्यदान वा गोडा धुने (गोडधुवा दिने), मधुपर्क ग्रहण गर्ने, दुलाहादुलही दुवैले कपडा फेर्ने, दुलाहाले दुलहीका हातमा गरगहनाहरू दिने, अचलाबन्धन वा लगनगाँठो बाँध्ने, कन्यादान गर्ने, यज्ञमण्डपमा बसेर पूजा, हवन गर्ने, त्यस क्रममा तीनपटक लावा पनि हवन गर्ने, पाणिग्रहण (दुलाहाले दुलहीको हात ग्रहण) गर्ने, दुलहीले पत्थरमा टेक्ता दुलाहाले गाथा गाउने, अग्निको प्रदक्षिणा गर्ने, अष्टपर्वत, सप्तपदी र सप्तर्षिको पूजा गर्ने, सूर्य वा ध्रुवतारा हेर्ने, दुलाहाले दुलहीको हृदय स्पर्श गर्ने, सिँदूर हाल्ने, दुलाहाको बायाँ भागमा दुलहीलाई राख्ने र हवनको अवशिष्ट कर्म गर्ने क्रमलाई क्रमशः अवलम्बन गर्नुपर्छ ।
विवाह भएको चौैथो दिन गरिने कर्म भएकाले चतुर्थी कर्म भनिएको हो तापनि आजकल विवाहकै दिन वा भोलिपल्ट चतुर्थी कर्म गर्ने प्रचलन छ ।
चतुर्थी कर्मकै क्रममा परम्पराअनुसार दुलाहाको जूठो दुलहीले खाने गर्छन् र यस कर्ममा दुलहीले दुलाहाबाट भने जति रकम नदिएसम्म जूठो खाँदैनन् ।
बैठान
नयाँ दुलही गृहप्रवेश गर्ने क्रममा दुलाहाकी बहिनीले बाटो छेक्ने र समुचित दक्षिणा वा उपहार प्राप्त भएपछि गृहप्रवेशका लागि अनुमति दिने गरिन्थ्यो तर आजकल त्यसको सट्टा प्रायः सबैतिर बहिनीले नवदम्पतीलाई आरती देखाएर पूजा गरी स्वागतका साथ गृहप्रवेश गराउने प्रचलन बढ्दै गएको छ ।
नयाँ दुलहीले पहिलोपटक गृहप्रवेश गर्दा घरका अगाडि बलिरहेका बत्तीहरू खुट्टाले टेकेर निभाउँदै गृहप्रवेश गर्ने प्रचलन नेपालका अधिकांश क्षेत्रमा पाइन्छ तर अँध्याराबाट उज्यालोतिर लम्किनुपर्नेमा उज्यालालाई नै कुल्चिएर गृहप्रवेश गर्ने परम्परामाथि भने पुनर्विचार गर्नु आवश्यक छ । सम्भवतः मलाम गएर फर्कंदाजस्तै बलिरहेका बत्तीलाई नाघ्ने परम्परा थियो होला पहिला तर पछि आएर त्यसमा विकृति आएर निभाउने प्रचलन कायम रहेको हुनुपर्छ ।
विवाह कर्म र चतुर्थी कर्मसमेत सकिएपछि नयाँ दुलहीले भार बाँध्ने, बिस्कुन सुकाउने, चोखो माटो खन्ने जस्ता कर्महरू हाल हराउँदै गएका छन् भने शुभ मुहूर्त हेरी दुलहीले भान्साको काम सम्हाल्ने कुरामा पनि त्यति विचार पुर्याइएको पाइँदैन ।
चतुर्थी कर्म गरेपछि मन्त्र सुनेर दैनिक रूपमा सन्ध्याकालमा जप गर्न चाहने नयाँ दुलहीहरू पनि वर्तमानमा भेटिन मुस्किल पर्दै गएको छ । सहरबजार र विदेशतिरको बसाइसराइले गर्दा नयाँ दुलहीहरू परम्परागत रीतिरिवाजबाट प्रशिक्षित हुनबाट पनि वञ्चित हुँदै आएका छन् भने दुलाहाहरू पनि आफ्नो परम्परागत शास्त्रीय मान्यताबाट बेखबर जस्तै बन्न थालेका छन् ।
विवाहको मुख्य विधिमा भन्दा भोजभतेर र तडकभडकमै धेरैको ध्यान जान थालेको छ । यस परिस्थितिमा विवाहकर्मको शास्त्रीय मर्यादा र प्रचलनबाट यथासम्भव परिचित हुँदै जानु नितान्त आवश्यक छ ।