परिचय
नेपालमा जात जाति वर्ण विभेदको शुरुवात कहिलेदेखि भएको हो यकिन नभएपनि कामको आधारमा जात विभाजनको वैधानिकता दिने काम मल्ल शासन कालबाट राजा जयस्थिति मल्लको (१४३८(१४५६) पालामा भएको ईतिहास पाइन्छ। पृथ्वीनाराण शाहले नेपाल एकीकरणपश्चात् ४ जात र ३६ बर्णको साझा फूलवारीको रुपमा दिव्य उपदेशमा चित्रण गरेको पाइन्छ।
ब्राह्मण भन्नाले शासन गर्ने र धर्मकर्मका कार्य गर्ने, क्षेत्री सुरक्षा दिने तथा हातहतियार चलाउने, वैश्य कृषि कर्म गरी अन्यलाई पालन पोषण गर्ने र शुद्र भन्नाले शिल्पकारी, सेवामूलक र कठिन श्रम गर्नेलाई भनेर कर्मको आधारमा जातको पहिचान गरेको पाइन्छ।
ऋषि मनुद्वारा लिखित धार्मिक ग्रन्थ मनुस्मृतिमा जातिय विभेद तथा छुवाछुत, महिला माथिको भेदभावआदि शब्दहरुको वर्णन पाइन्छ।
मावनशास्त्री तथा समाजशास्त्रीहरुको भनाईअनुसार जाति सामाजिक स्तरीकरणको एक रुप हो, जसमा एक पेशा, रीतिरिवाज, प्रेम, जीवनशैलीको वंशानुगत ट्रान्समिशन हुन्छ। मानव सभ्यताको विकासको क्रममा अघि बढ्दै जाँदा परम्परागत संस्कारले उच–नीच, सानो–ठूलो जातिय भेदभावको जरा गाडेको छ।
दलित समुदायमा गरिबी
नेपालमा २५.२ प्रतिशत (सन् २०११) मानिसहरु गरिबीको रेखामुनि छन्। जातीय भेदभावको कारण नेपालमा दलित समुदायमा सबै जातजाति भन्दा बढी ४६ प्रतिशत (नन्द नेपाली, २०७६, पूर्वी दर्शनको विश्लेष्णात्मक दृष्टिकोण लेख) गरिबी रहेको पाइन्छ।
नेपाली समाजमा व्यक्तिको सामाजिक अवस्था र जीवनस्तर निर्धारण गर्न जमीन मुख्य श्रोतको रुपमा लिइन्छ। दलितहरु गरीब हुनुको कारण श्रममा आधारित उत्पादनको श्रोतहरु (जमीन, सीपमा आधुनिकिकरण र पूँजी) मा पहुँच नहुनु हो।
दलितलाई विभेदित र शोषणयुक्त प्रथाहरु बालीघरे, हलियामार्फत मूलधारको समाजबाट पूरै अलग्याइएको, राज्यको श्रोत र साधनबाट टाढा राखेको र गरिबीको कुचक्रमा फसाएको विभिन्न आलेखमा पाइन्छ।
नेपालको संविधान
नेपालको मुलुकी ऐन (२०२०), अन्तरिम संविधान (२०६३) तथा नयाँ सविधान (२०७२) मा सवै वर्ग, जातजाति, धर्म, लिंग, वर्णलाई समान हक, अधिकार उल्लेख भएको पाइए तापनि मानिसको सोचमा परिवर्तन नहुञ्जेल जातपात, छुवाछुत, उच–नीच, हत्या, हिंसा, बलात्कार आदि सामाजिक कुरीतिहरु विद्यमान छ। सभ्य समाजको निर्माण गर्न सामाजिक हक अधिकार एवं दमन शोषणको विरुद्ध आवाज उठाउने मानव अधिकार आयोग, दलित आयोग जस्ता संस्थाहरु सक्रिय हुनु पर्दछ।
जातीय भेदभाव
पुर्खाले दिएको जात र पहिचानलाई निरन्तरता दिदै अन्यमाथि शासन, अधिकार जताउन जातिय भेदभाव विश्वमा रहेको पाइन्छ। जातीय भेदभाव जन्म, बंश, वर्ण, छालाको रंग, कामको प्रकृति, भाषा र संस्कृति इत्यादिको आधारमा विश्वमा देखिन्छ।
अमेरिका जस्तो विकसित मुलुकमा रंगको आधारमा काला र गोराबीच जातिय भेदभाव, नेपाल र भारतमा दलित र गैह्रदलित बीचको भेदभाव, दक्षिण अफ्रिकामा श्वेत अश्वेत वीचको सामाजिक भेदभावका केहीं उदाहरणहरु छन्।
मानिसको विचारधारा, रहनसहन, वर्ण, रंग, संस्कृति भौगोलिक प्रभावको कारण फरक भए पनि श्वास लिने, छोड्ने, मुटुको चाल, भोकप्यास, संवेदना, चाहना उस्तै हुन्छ । तैपनि जातपातको नाममा भेदभाव, छुवाछुत, सानो ठुलो जस्ता कुरीतिहरु व्याप्त छन्।
भेदभाव विरुद्धको संघर्ष
विश्वमा विभिन्न नामले जातिय विभेद, हत्या, हिंसा उच्चनीच विरुद्धको संघर्ष सदियौंदेखी गरेको देखिन्छ। अमेरिकामा काला र गोराबीचको रंग विभेदको अन्त गर्न किंङ मार्टिन लुथरले I Have a Dream सिद्धान्तको प्रतिपादन गरे जुन सन् १९६३ मा पूरा भई अड्डा, अदालत, सार्वजनिक स्थल, स्कूलमा गोरा जातिले झै काला जातिलाई वरावरको अधिकार प्राप्त भयो।
अमेरिकामा धनी मानिसले गरीब मानिसलाई दास बनाउने, गोरुको जस्तो व्यवहार गर्ने, सिक्रीमा बाध्ने, विक्री समेत गर्ने जस्ता घिनौरा प्रथा थियो। अब्राहम लिंकन, अमेरीकाको १६ औ राष्ट्रपतिले दास प्रथा उन्मुलनको अभियान चलाए।
सत्यको सदा जीत हुने हिन्दु धर्मग्रन्थ भागवत गीताको उपदेश बमोजिम सन् १८६० को दशकमा विभेदकारी दास प्रथाको उन्मुलन भयो।
दक्षिण अफ्रिकामा अश्वेत र शवेत (काला र गोरा) मानिसहरु वीचको रंग विभेद थियो। देशमा अश्वेत करीब ७५ प्रतिशत थिए भने बाँकी श्वेत जाति। अश्वेत जातिको कमाईबाट सवैको भरणपोषण हुन्थ्यो तर कुनै पनि निकायको कार्यकारी श्वेत जाति नै हुन्थे। राज्यबाट पाउने सुविधाहरु रंगको आधारमा हुन्थ्यो। यस्ता विभेदकारी नीतिको खिलाफ नेलसन मण्डेलाको नेतृत्वमा संघर्ष गरे।
अन्ततः अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति विश्वकै महान नेता नेलसन मण्डेलाले सन् १९९४ मा सो प्रथाको अन्त गर्न सफल भए।
सन् १९४७ मा भारत स्वतन्त्र पछि बाबासाहेब अम्वेडकर दलित समुदायबाट पहिलो कानून मन्त्री भए। अम्वेडकरले भारतलाई सन् १९५० मा पहिलो संविधान दिनुका साथै संघर्ष गरी गरिव, महीला, दलितमाथिको छुवाछुत, भेदभाव हटाई सामाजिक अधिकार दिलाए।
महात्मा गान्धीले देशलाई स्वत्रन्त्र गर्न लगायत छुवाछुत, जातपात, सामाजिक कुरीति विरुद्ध अहिंसा सिद्धान्तमा आधारति आन्दोलन गरे।
सन् १९४७ मा देश स्वतन्त्र भए भने सन् १९५५ मा छुवाछुत र सामाजिक भेदभाव विरुद्धको कानून संसदले पास गरी जात, धर्म, संस्कृतिमा समान हक र अधिकार स्थापित गरे। साथै जातिय भेदभावविरुद्ध आवाज उठाउने उपरोक्त सफल एवं महान समाजिक व्यक्तित्वहरु महात्मा गाँधीले प्रतिपादन गरेको अहिंसाको सिद्धान्तलाई अंगालेको पाइन्छ।
दलितको योगदान
दलित समुदायमा जन्मिने व्यक्तिलाई कु दृष्टिले हेर्नु र अछुतको व्यवहार गर्नु एक पाखण्डपन हो। समाज र देशको मुहार फेर्न सवै जातजातिको उत्तिकै योगदान हुन्छ। सदियौ देखि पछाडी पारीएका शिल्पकारी, सेवामूलक र कठिन श्रम गर्ने दलित जातिबाट समाज र देशलाई पुर्याएको योगदानको केहीं उदाहरणहरु निम्न अनुसार रहेको छ।
-सन्त गुरु रविदासजी (चमार): सन् १५०० सौं शताब्दिको महान दार्शनिक कवि, समाज सुधारक, सम्प्रकायिक आन्दोलनको नेतृत्व कर्ता।
-विषे नगर्चीः नेपालको एकिकरणमा पृथ्वी नारायण शाहलाई पुर्याएको अमूल्य योगदान।
-के. आर नारायणः भारतको ९ औं (१९९२ देखी १९९७ सम्म) उप राष्ट्रपति एवं सन् १९९८ मा १० औं राष्ट्रपति (सर्वोच्च पद) रही देश र जनताको सेवा।
-रामनाथ कोभिण्डः दलितहरुमध्ये विपन्नपरिवार, भारतको बर्तमान १४ औं राष्ट्रपति, सर्वोच्च पदमा रही देश र जनताको सेवामा समर्पित।
-बाबासाहेब अम्वेडकरः भारत स्वतन्त्र पश्चात् दलित समुदायबाट पहिलो कानूनमन्त्री। भारतीय संविधानको निर्माता एवं छुवाछुत, सामाजिक भेदभाव, कुरीति विरुद्धको अभियन्ता।
-रजनिकाँतः हिन्दी र तमिल भाषाको फिल्मी दुनीयाँलाई उचाईसम्म पुर्याउने योगदान।
-मायावतीः भारतीय बहुजन समाजबादि पार्टि एवं सामाजिक अभियन्ताका महान नेता।
-विनोद काम्लीः भारतीय क्रिकेट जगतलाई उचाईमा पुर्याउने योगदान।
मानव सवै एउटै हो, सामाजिक विभेद त्यागौं, सुन्दर जीवन, असल समाज तथा समृद्ध राष्ट्रको परिकल्पना गरौं ।