अर्थतन्त्रका विविध शाखाहरुमध्ये डिजिटल अर्थतन्त्र कान्छो शाखा हो। ईन्टरनेटका माध्यबाट आफ्नो व्यापार व्यवसायको विस्तार, प्रर्वद्धन, विकास, संरक्षण गर्ने कार्यलाई डिजिटल अर्थतन्त्र भनिन्छ।
सूचना र प्रविधिका विविध नयाँ यन्त्र, उपकरण तथा प्रणालीको प्रयोगबाट यसलाई सञ्चालन गरिने भएकाले यसलाई प्राविधिक तथा नौलो अर्थतन्त्रका नामले चिनिन्छ।
विश्व अर्थतन्त्रमा यसको धारणा सन् १९९० मा जापानको आर्थिक संकट समाधान गर्न त्यहाँका अर्थशास्त्रीले ल्याएका हुन्। यस अर्थतन्त्रको सफल प्रयोग अहिले युरोपियन युनियनमा भईरहेको छ।
बाँकी विश्वमा पनि यसको प्रयोग दिनहुँ बढिरहेको विश्व बैंक, अन्तर्राष्टिय मुद्रा कोषको प्रतिवेदनले बताईराखेको छ।
आगामी दिनहरुमा विश्व अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको एकाधिकार रहने कुरामा कुनै शंका छैन। जुन कुरालाई वर्तमान समयका अमेजन, दराजजस्ता अनलाईन बजारले संकेत गरेका छन्।
साथसाथै विज्ञापन बजार पनि अनलाईनतर्फ केन्द्रित हुँदै गरेको देखिन्छ। गुगल, फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता विज्ञापनदाता र विज्ञापन बजारका प्लेटफर्मले प्रिन्टबाट अनलाईनतर्फ संकेत गरेको छ।
विश्व अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको प्रयोग १९९०को दशकमा भएता पनि नेपालमा यसको प्रयोग २१ औं शताब्दीबाट सुरुवात भएको पाईन्छ।
डिजिटल अर्थतन्त्रको प्रयोग विकसित देशमा सरल र सहज तरिकाले भईरहेको छ। नेपालमा यसको प्रयोगमा विविध प्रकारका समस्याहरु रहेका छन्।
जस्तैः विद्युतीकरण, तिव्र गतिको इन्टरनेट तथा प्राविधिक जनशक्ति आदि। वर्तमान समय विज्ञान प्रविधिको युग भएकाले यसैमा आधारित भएर आफ्नो गतिविधि सञ्चालन गर्न नसक्ने देश आर्थिक रुपमा पछाडि पर्ने देखिन्छ।
नेपालमा पनि डिजिटल अर्थतन्त्रको ठूलो सम्भावना छ। यहाँका ४० लाख बढी युवाहरु वैदेशिक रोजगारीमा रहेका छन्।
उनीहरुले कमाएको पैसालाई सहज रुपमा आफ्नो घर परिवारसम्म पुराउनुका साथै विदेशबाट नै मुलुकभित्र लगानी गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।
यसैगरी नेपालको बढ्दो वैदेशिक व्यापार घाटालाई कम गर्न डिजिटल अर्थतन्त्रले सघाउ पुर्याउन सक्छ।
नेपालमा २० वर्ष अगाडिबाट यसको अभ्यास थालिएको भएता पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मात्र डिजिटल अर्थतन्त्रलाई प्राथमिकता क्षेत्रमा समावेस गरेको छ।
यसबाट नेपाल सरकारले डिजीटल अर्थतन्त्रलाई आफ्नो अर्थतन्त्रको एक हाँगाका रुपमा स्वीकार गरेको पाईन्छ।
नेपाल विश्व अर्थतन्त्रमा एक उदयीमान देशमा रुपमा पछिल्लो समयमा परिचित भएको परिवेशमा सरकारले डिजिटल अर्थतन्त्रका आधारशिला तयार पार्न लाग्नु आवश्यक छ।
सन् १९८० भन्दा अगाडि विज्ञान, प्रविधि तथा कम्प्युटर शिक्षा पछाडि रहेको भारत आज डिजिटल अर्थतन्त्रमा नेपाल भन्दा धेरै अगाडि बढेको छ।
जसको एउटै कारण प्राविधिक शिक्षामा गरिएको लगानी हो। डिजीटल अर्थतन्त्रमा नेपालको सम्भावनालाई पछिल्लो समयको स्वास्थ्य महामारीमा भएका आर्थिक गतिविधिले प्रमाणित गरेको छ।
नेपालमा डिजिटल अर्थतन्त्रको आवश्यकता किन ?
विश्व अर्थतन्त्रमा नेपाल विकासोन्मुख मुलुकका रुपमा आफुलाई प्रस्तुत गरेको वर्तमान समयमा डिजिटल अर्थतन्त्रको सान्दर्भिकता रहेको छ। नेपाली अर्थतन्त्र परनिर्भर अर्थतन्त्रका रुपमा रहेको समयमा यसलाई विज्ञान र प्रविधिको माध्यबाट आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन पनि यसको आवश्यकता रहेको छ।
नेपाली अर्थतन्त्रका हरेक क्षेत्रहरु जस्तैः कृषि तथा पशुपालन, उद्योग, व्यापार, पर्यटन, सञ्चार, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा यसको आवश्यकता रहेको छ। नेपालको पछिल्लो समयको आवधिक योजना तथा बजेटले स्थापना गर्न चाहेको समृद्ध नेपाल, खुसी नेपाली नारा शतप्रतिशत पूरा हुनेछ।
वर्तमान समयमा नेपालमा प्रतिसय जनसंख्यामा १३० वटा मोबाईल फोन तथा ६५ जनामा ईन्टरनेटको सुविधा पुगेको छ। अहिले विश्वका हरेक आर्थिक गतिविधिहरु अनलाइनका माध्यमबाट हुने गरेका छन्।
यसबाट नेपाल पछाडि परेको अवस्थामा देशको आर्थिक विकासको गतिमा पोलियो लाग्ने भएकाले मुलुकका तिनै तहका सरकारको पहिलो प्राथमिकता डिजिटल अर्थतन्त्रको पूर्वाधार विकास हुनु पर्दछ।
हामीले हाम्रा सबै उत्पादनहरुलाई विश्व अर्थतन्त्रका उत्पादनसँग प्रतिस्पर्धा गराई थप ज्ञान, सीप तथा दक्षता हाशिल गर्नका लागी पनि सरकार जर्बजस्त रुपमा भएपनि यस अर्थतन्त्रमा जानुको विकल्प छैन।
डिजीटल अर्थतन्त्रका पूर्वाधार विकास गरि यसलाई अभ्यासमा लैजान सकेको अवस्थामा अबको १० वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादनमा १२ देखि १८ प्रतिशत योगदान गर्ने छ।
नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्रको विकास तथा विस्तारका लागि सक्षम रहेको छ।
जसलाई भरपुर प्रयोग गरी मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउनका लागी सरकारी, सहकारी तथा निजी तीनवटै पिलरहरुले आपसमा सहकार्य गरी अगाडि बढ्नु पर्छ।
नेपाली अर्थतन्त्रमा रहेका विविध समस्या समाधान गर्नमा डिजिटल अर्थतन्त्रले प्रमुख भूमिका निर्वाह गर्न सक्छ। नेपालमा डिजिटल अर्थतन्त्रको आवश्यकताका कारणहरु निम्नलिखित छन्।
शैक्षिक बेरोजगारी
पछिल्लो तथ्याङ्क अनुसार नेपालको बेरोजगारी दर ३८ प्रतिशत रहेको छ। जसको ४० प्रतिशत शैक्षिक बेरोजगारी रहेको छ। यस्तो अवस्थामा नेपाल सरकारलाई आफ्ना नागरिकलाई रोजगारी प्रदान गर्न कठिन छ।
सरकारका लागी बेरोजगारी समस्या समाधान गर्ने उपयुक्त विकल्प भनेको डिजिटल अर्थतन्त्रको पूर्वाधार विकास तथा विस्तार हो। शैक्षिक रुपमा सक्षम रहेर बेरोजगार रहेको जनशक्तिलाई नेपाल सरकारले यसमा व्यवस्थापन गर्न सक्ने प्रबल सम्भावना रहेको कारणले गर्दा डिजीटल अर्थतन्त्र नेपालको बेरोजगारी समाधान गर्ने बलियो आधार बन्नेमा शंका छैन।
गरिबी निवारण
सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोवारलाई विद्युतीय माध्यबाट सञ्चालन र व्यवस्थापन गर्न डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल प्रविधिको व्यापक उपयोग मार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा तथा अर्थतन्त्रका बृहत्तर आयामको रुपान्तरण गर्नेछ।
जसका माध्यबाट अर्थतन्त्र सरल तथा सहज माध्यमबाट अगाडि बढ्ने छ भने यसले आम नागरिकको आम्दानी पनि बढाउने छ। जसको सिधा नतिजा हाम्रो गरिबीको दर बिस्तारै घट्ने छ। अर्थतन्त्रका सबै क्षेत्रमा अनलाईन गतिविधि बढाउन सकेको खण्डमा योग्य व्यक्ति जिम्मेवार पदमा रहने भएकाले यसले नेपाली गरिबीको संख्यालाई बिस्तारै घटाउन सहयोग गर्नेछ।
पर्यटन उद्योगको विकास
नेपालमा पर्यटन उद्योगको ठूलो सम्भावना रहेको तथ्यलाई बाँकी विश्वले स्वीकार गरिसकेको छ। त्यसकारण नेपाली पर्यटन उद्योग र डिजिटल अर्थतन्त्र एक अर्काका परिपुरकमा रुपमा अगाडि बढाउन जरुरी छ। अनलाईन प्रविधिको प्रयोग गरेर नेपालको जैविक विविधता, पर्यावरणीय सौन्दर्यता, धार्मिक, सास्कृतिक, ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्न सकिन्छ।
जसका माध्यमबाट नेपाली अर्थतन्त्रमा रहेका चक्रिय आर्थिक सामाजिक समस्याहरु दिगो रुपले समाधान गर्ने प्रबल सम्भावना रहेको छ। वर्तमान समयमा कुल ग्राहस्थ उत्पादनमा २ प्रतिशतको योगदान गरेको यस क्षेत्रमा डिजिटल अर्थतन्त्रको प्रयोग सफल रुपमा गर्न सरकार तथा निजी क्षेत्र चुक्नु हुदैन।
आज विश्वका बिभिन्न देशहरुले अनलाईनका माध्यमबाट पर्यटन क्षेत्रको विकास गरिहेका छन्ः जस्तै सिंगापुर, स्वीजरल्याण्ड। अतः देशको विकासमा महत्वपूर्ण योगदान पुराउन सक्ने डिजिटल अर्थतन्त्रलाई व्यवहारिक जीवनमा सफल कार्यान्वयन गराउन सक्नुपर्छ।
वर्तमान समयमा डिजिटल अर्थतन्त्रलाई आत्मसाथ गर्दैै निर्माण भएका गुगल, एप्पल, फेसबुक, ट्वीटर, अमेजनको वार्षिक बजेट विश्वका विकसित देशका हाराहारीमा रहनुले पनि यसको सान्दर्भिकता पुष्टि गरेको छ।