आज विश्व पर्यटन दिवस। कोभिड–१९ को महामारीको कहरमा सबैभन्दा धेरै प्रभावित भएको अर्थात् पिल्सिएको क्षेत्र नै पर्यटन भएको छ।
आर्थिक समृद्धिको आधारका रुपमा विकास हुँदै गरेको पर्यटन क्षेत्र नै महामारीको मारमा परेको अवस्था छ।
यो महामारी सधैं रहनेछैन। महामारीको अन्त्य हुनेछ र सबै कुरा पूर्ववत हुने नै छ। तर, त्यतिञ्जेलसम्मका लागि पनि धानिने, थामिने र बाँच्ने आधार खोज्नुपर्ने दुखदायी अवस्थामा पुगेकालाई राहतको खाँचो छ र उद्धारको खाँचो छ।
पर्यटन उद्योगको अर्बौं लगानी के होला ?
नेपालमा केही समययता पर्यटन क्षेत्रमा लगानी निकै आकर्षित भएको देखिन्छ । बुटवल भैरहवा क्षेत्रमा पनि लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर पर्यटन उद्योगमा लगानी धेरै भएको छ।
साना–ठूला लगानीकर्तादेखि नेपालका औद्योगिक घरानाका परिचित अनुहारसमेत यहाँको पर्यटन क्षेत्रमा आकर्षित भएको अवस्था छ। एकैसाथ जुर्मराउँदै गरेको यहाँको पर्यटनमा अहिले भने सुस्तता छाएको छ।
यहाँ मात्रै होइन मुलुकभरि नै सबैभन्दा थलिएको क्षेत्रका रुपमा पर्यटन नै छ। अझ पर्यटन वर्ष २०२० लाई लक्षित गरी ठूलो लगानी गर्नेहरुमा त प्रतिस्पर्धा नै चल्यो। अर्बौंको लगानी रहेको यो क्षेत्रलाई बचाउन जरुरी छ।
राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षोत्रले चार प्रतिशतको जीडीपीमा योगदान पुर्याएको छ।
हजारौंले प्रत्यक्ष र लाखौंले अप्रत्यक्ष रोजगारी पाएको अवस्था छ। समृद्धिको एउटा महत्वपूर्ण आधारका रुपमा रहेको क्षेत्रलाई बचाउनु सरकारको पनि प्रमुख दायित्व हो ।
मिनी नेपाल जस्तो प्रदेशमा पर्यटन सम्भावना
पाँच नम्बर प्रदेश हिमालदेखि तराईसम्मको भूगोलमा फैलिएको मुलुककै नमुना प्रदेश हो। हावापानी, जैविक, भौगोलिक र सामाजिक विविधताले मिनी नेपालका रूपमा समग्र राष्ट्र निर्माणको आधारशीला तयार गर्नेसमेत अवसर प्राप्त भएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले यो विषयलाई प्राथमिकताका साथ उठाउँदै पनि आउनुभएको छ। यद्यपि विशिष्ट भौगोलिक परिस्थितिले विकास निर्माणमा केही जटिलता तथा खुला वैदेशिक सिमानाका कारण व्यवस्थापनमा रहेका विद्यमान चुनौतीलाई सामना गर्ने खालका प्रभावकारी कार्यक्रम बन्न सकिरहेका छैनन्।
बुटवलसहितका घना सहरमा एकीकृत गुरुयोजना
प्रदेश सरकारले आर्थिक तथा सामाजिक विकासको अवधारणालाई मूर्त रूपले व्यवस्थित गर्न प्रदेशका छ स्थानलाई शीर्षविन्दु घोषणा गरेको छ। आव २०७७/७८ को बजेट मार्फत् आर्थिक मामिला मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री पोखरेलले तराईका बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुल्सीपुरमा व्यवस्थित घना शहरीकरणलाई आत्मसात गरी एकीकृत गुरूयोजना अनुरूप विकास गर्ने योजना अगाडि सार्नुभएको छ।
पहाडमा पर्यटनमैत्री गाउँ–सहर
पहाडका पाल्पाको रामपुर, गुल्मीको रिडी र प्युठानको स्वर्गद्वारी (भिङ्ग्री)लाई पर्यटनमैत्री पहाडी सहर बनाउने घोषणा प्रदेश सरकारको छ। यी पहाडी सहरमा नदी सभ्यता तथा धार्मिक, ऐतिहासिक सम्पदालाई आधार मानी स्थानीयता झल्कने पर्यटनमैत्री क्षेत्र बन्ने प्रदेश सरकारको सोंच छ।
तराई झर्ने क्रमलाई रोक्नका लागि पनि यसखालका कार्यक्रम प्रभावकारी हुने विश्वास छ। रिडी कालिगण्डकी नदी र रिडीखोलाको बीचमा र तीन जिल्लाको संगममा पर्छ।
पहाडमा विविधतासहितका ‘हिलस्टेशन’
पहाडका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई हिलस्टेशनहरूको माध्यमद्वारा पर्यटनको विकास गर्ने प्रदेश सरकारको तयारी छ। यसले पहाडी अर्थतन्त्र चलायमान बनाउने, पहाडमै अवसर सिर्जना गर्ने र स्थानीय उत्पादनहरूको बजार वृद्धि गर्ने संभावना छ।
विगत वर्षहरूमा यसबारे प्रशस्त छलफल भएतापनि खासै प्रगति गर्न भने हुन सकिरहेको छैन। आगामी वर्ष यो क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुनेगरी अघि वढ्ने प्रदेश सरकारको तयारी छ।
तराई–पहाड जोड्ने गौतमबुद्ध विमानस्थल
भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ को महामारीमा पनि खासै प्रभावित भएको छैन। निर्माणकार्य लगभग ९५ प्रतिशत पूरा भएको छ। यहाँ टेक्निकल जडानका काम मात्रै अब बाँकी छन्।
यसले अर्थतन्त्रमा नयाँ इन्जिनको सिर्जना हुने मुख्यमन्त्री पोखरेलको विश्वास छ। विमानस्थलसँग उद्योग, व्यापार, कृषि, रोजगारी, यातायात, होटेल तथा सेवा क्षेत्र तथा जनजीविका जोडिने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले यसलाई अभूतपूर्व सम्भावना भन्दै निजी क्षेत्रलाई बेलैमा अग्रसर बन्न आह्वान गर्नुभएको छ।
प्रदेशमा ५० नयाँ पर्यटन गन्तव्य
प्रदेश सरकारले यहाँका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको छ।
प्रदेश सरकारले थप ५० वटा नयाँ गन्तव्य पहिचार गरेर तिनको विकासमा केन्द्रित भएको छ। पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकास गरी पर्यटन व्यवसाय, स्थानीय उत्पादन, स्थानीय कला र संस्कृतिबीच अन्तरघूलन गर्ने प्रदेशको तयारी छ।
साहसिक पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन, शैक्षिक पर्यटन, ग्रामीण पर्यटनलगायतका कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको तयारी छ। यद्यपि यसलाई कोरोना महामारीले भने पर धकेल्ने भएको छ।
स्थानीयले अपनत्व गर्ने ग्रामीण पर्यटन कार्यक्रम
पर्यटन विकासका लागि स्थानीयलाई जोड्नैपर्छ। जबसम्म स्थानीय समुदायको संलग्नता सुनिश्चित हुँदैन तबसम्म पर्यटन क्षेत्र फस्टाउन सक्तैन। प्रदेश सरकारले अहिले समुदायलाई जोडेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने तयारी गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको भनाइ छ।
यसका लागि होमस्टेलाई स्थानीय संस्कृति, भेषभूषा, मौलिकता, परम्परागत पेशा र अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमको योजना बनाइएको उहाँले बताउनुभयो।
होमस्टेमा पूर्वाधार विकास ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाइने मन्त्री गिरीको भनाइ छ।
महामारी सधैं रहँदैन
खासमा अहिले मानव सभ्यताको आधुनिक विकासको मोडेलमा नै ठूलो धक्का दिँदै कोरोना भाइरस (कोभिड–१९) ले सबैक्षेत्र अस्तव्यस्त बनाइदिएको स्थिति छ। यसको सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रमा परेको छ।
महामारीले हामी सबैको सोंचमा, शैलीमा, रहनसहनमा व्यापक परिवर्तनको खाँचो छ भनेर देखाइदिएको छ। यसलाई हामीमा रहेका सबैखाले संकूचित धारणालाई सुधार गर्ने अवसरसमेत प्राप्त भएको छ।
महामारी सधैं रहँदैन र रहनेपनि छैन। विश्व पर्यटन दिवसका अवसरमा महामारीको सामना गर्दै पर्यटन क्षेत्र फेरि जुर्मुराउन सकोस्, फेरि जुरुक्क उठ्न सकोस् सबैमा शुभकामना।