शिक्षण एउटा यस्तो पेशा हो जसले आफ्नो लागी भन्दा आफ्ना शिष्यको लागि बढी योगदान गरेको हुन्छ । शिक्षक ज्ञानको उत्पादक भएतापनि यसले आफ्ना उपभोक्ताको जीवनस्तरलाई माथि उठाउने महान लक्ष्य राखेको हुन्छ । संसारमा रहेका हरेक पेसाको आ आफ्नै योगदान रहेको छ । जसमध्ये यी सबै पेसाका लागि योग्य जनशक्ति उत्पादन गर्ने कार्य शिक्षकको प्रत्यक्ष सहभागिता विना सम्भव छैन।
प्रत्येक व्यक्तिमा निहित अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्ने काम विश्वका अन्य पेशाले गर्न सक्दैन। यस्तो अद्भूत क्षमता शिक्षकमा रहने भएतापनि वर्तमान समयमा नेपाली निजी विद्यालयमा अध्ययन गराउने ८५ प्रतिशत शिक्षकले यो आफ्नो विगतको महाभूल भनेर स्वीकार गरेका छन्।
विशेष गरी विश्वव्यापी कोभिड १९ महामारीका कारणले नेपालमा गरिएको बन्दाबन्दी र यसले निजी विद्यालय र सरकारी विद्यालयका निजी स्रोतका शिक्षकको अर्थतन्त्रका बारेमा आज हामी छलफल गनेछौं ।
शिक्षक को हो ?
नेपाली शब्दकोशमा शिक्षकको अर्थ यस प्रकार पाउन सकिन्छ । शिक्षक भनेको शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर। शाब्दिक रुपमा हेर्दा शि भनेको शिखरमा लैजाने व्यक्ति, क्ष भनेको क्षमा गर्ने व्यक्ति र म भनेको कमजोरी टाढा गर्ने व्यक्ति हो। अहिलेको समयमा शिक्षकको परिभाषामा एकरुपता हामीले पाउन सकिदैन। ब्रान्ड हेनरी भन्छन्-“एउटा असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्दिप्त गर्छ र सिकाइमा बिस्तारै प्रेम भर्छ।”
एउटा असल शिक्षक हुनु सबैभन्दा जटिल काम हो। किनकी शिक्षकसँग आशा, आर्दश, र अपेक्षा उच्च राखिएको हुन्छ। यसैबीच इलेनोर रुज्भेल्ट भन्छन्-“सानो दिमागले सधै मानिसहरुको कुरा गर्छ। मध्यम दिमागले सधै घटनाहरुको कुरा गर्छ। महान दिमागले सधै विचारहरुको कुरा गर्छ।” यसकारण शिक्षक भनेको समाज परिवर्तनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका जनशक्ति उत्पादन गर्न सक्ने क्षमता भएको व्यक्ति हो।
यसर्थ शिक्षक एउटा यस्तो व्यत्ति हो जसले आफ्ना सम्पूर्ण अधुरा चाहना आफ्ना शिष्यबाट प्राप्ति गर्ने योजना बनाएको हुन्छ।
शिक्षकले आफना हरेक शिष्यलाई समान प्रकारको शिक्षा दिएको हुन्छ। शिक्षकले सबै विद्यार्थीलाई समान प्रकारको ज्ञान दिएको भएतापनि नेपाली समाजमा निजी क्षेत्रका शिक्षकले यो सम्मान पाउदैनन्।
कोभिड १९ र शिक्षक
कोभिड १९ का कारणले गर्दा २०७६ चैत ११ गते देखी भएको बन्दा बन्दीले गर्दा देशका सबै शैक्षिक संस्थाहरु बन्द रहेका छन्। कोभिड १९ का कारणले लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भई रहदा नेपालको निजी शैक्षिक क्षेत्रमा काम गर्ने जनशक्तिको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पक्षमा नकारात्क प्रभाव परिरहेको छ।
कोभिड १९ का कारणले नेपालमा ३० लाख मानिसले रोजगारीका अवसरहरु गुमाउदा निजी शिक्षण संस्थामा मात्रै २ लाख बढीले रोजगारी गुमाएका छन्। देश भरका १० हजार भन्दा बढी निजी विद्यालयमा अध्यापन गराउने शिक्षकले अहिले आफ्ना बालबच्चालाई भोक लागेको बेलामा प्रयाप्र्त खाना खुवाउन सकेका छैनन्।
विद्यालयमा काम गर्दा सबैका बाल बच्चालाई मातृत्व सहित शिक्षा प्रदान गरेका शिक्षकहरु आज आफ्नो विगतको रोजगारीले आफ्ना छोराछोरीलाई खाना पनि खुवाउन नसक्दा मानसिक रुपमा विक्षिप्त छन्।
दिनभर अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले आफ्ना सन्तानलाई दिनदिनै मासु भात खुवाएको आफ्नै आँखा अगाडि एक निजी विद्यालयको शिक्षकले हेर्न बाध्य छ। यही बाध्यताका बीच ऋण खोजेर भएपनि वाईफाई किनेर समाज सेवा गर्नुपर्ने नैतिक संकटमा उसले दिन कटाएको छ। नेपालको ८० प्रतिशत भन्दा बढि निजी शिक्षण संस्थाहरु शहरमा रहेका छन्।
जसका कारणले ती संस्थामा काम गर्ने जनशक्ति पनि बाह्य जिल्लाका रहेका छन्। चैत ११ मा बन्दा बन्दी सुरुवात हुदाँ वार्षिक परिक्षाको नतिजालाई कारण देखाएर अधिकाशं विद्यालयले शिक्षकलाई घर जान रोकिराखेका हुन्।
वार्षिक परिक्षाको नतिजा प्रकाशन भएपछि ६० प्रतिशत भन्दा बढी विद्यालयले चैत महिनाको ५० प्रतिशत मात्रै तलब दिएका छन्। अधिकांश निजी शिक्षण संस्थाले माध्यमिक तहमा अध्यापन गराउने शिक्षकलाई सरकारी तलब स्केलको ५० प्रतिशत भन्दा कम दिएका छन्।
यद्दपि निजी विद्यालयका शिक्षकले सरकारीले पाउने बेतन सुविधाको आधा मात्रै सुविधा पाएपनि शिक्षाको गुणस्तरमा सरकारीको तुलनामा ८५ प्रतिशत ज्यादा रहेका छन्।
जुन निजी विद्यालयका लागि विद्यार्थी तान्ने माध्यम मात्र रहेको तथ्यलाई अहिलेको उनीहरुको व्यवहारले बताएको छ। निजीकरणको विश्वव्यापी मान्यताअनुसार नेपालमा सञ्चालित निजी शिक्षण संस्थाले आफ्ना श्रमिकको जीवनस्तर बचाउनका लागि कुनै ठोस आर्थिक राहतका कार्यक्रम ल्याउन चुकेका छन्।
निजी शिक्षण संस्थाका मालिक तथा सञ्चालकलको आफ्ना श्रमिकलाई अन्नदाता भन्दा पनि आफुहरु नै अन्नदाता भन्ने गलत मानसिकताले गर्दा कोभिड १९ पछि अहिले बेरोजगार बनेको तथा तलब नपाएको जनशक्ति पुन: सोही पेशामा आउने पनि शंकास्पद छ।
निजी क्षेत्रका जनशक्तिले गत वैशाखदेखि नि:शुल्क रुपमा आफ्नो पेशागत दायित्वलाई पूरा गर्दै अनलाईन कक्षाहरु सञ्चालन गरिरहेका छन्। आज पाँच-पाँच महिना सम्म पनि बिना तलब आफ्ना शिक्षकहरुले कलास चलाईरहदा सञ्चालकलाई कुनै पनि हिनताबोध छैन।
कतिपय विद्यालय सञ्चालकले जुन विषय र कक्षामा विद्यार्थी कम आउछन तिनको रोजगारी छुटाईदिने धम्की पनि शिक्षकलाई दिएका छन्। निजी शिक्षण संस्थाका शिक्षकको पेसागत हितका लागी कुनै संग्ठन देशमा नरहेको कारणले गर्दा पनि उनीहरुको आर्थिक अवस्था निकै कमजोर मोडमा पुगेको हो।
निजी विद्यालयका सञ्चालकले आफ्नो हितका लागि प्याब्सन तथा एनप्याब्सन खोलेका छन्। यसकारण अब ती संस्थामा काम गर्ने जनशक्तिको आर्थिक हितका लागि पेसागत संगठन खोल्नुपर्छ।
जुन नेपाली निजी विद्यालयमा काम गर्ने जनशक्तिका लागि कोभिड १९ ले दिएको राम्रो सन्देश हो। निजी शिक्षण संस्थामा कार्यरत श्रमिकको आर्थिक अवस्था अत्यन्तै दयनिय अवस्थामा पुग्नुको पछाडि विद्यालय सञ्चालक, स्थानीय, प्रदेश तथा संघ सरकारको साथमा अभिभावक पनि जिम्मेवार रहेका छन्। वैशाख महिनादेखि आफ्ना छोराछोरीलाई मिहिनेत गरेर अध्यापन गराएका शिक्षकका बालबच्चा भोकमा खाना नपाउँदा पनि हासेर पढाएको छ।
शिक्षकको यस्ता कारुणिक वास्तविक पिडा बुझ्न जरुरी छ। देशमा राम्रो वातावरण हुँदा पनि बजारमा नाम चलेका विद्यालयका श्रमिकले समयमा तलब नपाउने विगतको तितो ईतिहास रहेको छ। नेपालका ९० प्रतिशत निजी शिक्षण संस्थाका सञ्चालकहरुले आजका मितिसम्म पनि श्रमिकको हित हुदाँ संस्थागत उन्नति दिगो हुने तथ्यलाई आत्मसाथ गरेका छैनन्।
कोभिड १९ का कारणले नेपाली निजी शिक्षण संस्थामा काम गर्ने जनशक्तिको सामाजिक स्तरमा पनि स्खलन आएको छ। विगतमा सामाजिक स्तर राम्रो भएका शिक्षकहरुले आफ्नै छिमेकीबाट समेत अभ्रद व्यबहारको सामना गरेका छन्।
नेपाली समाजमा व्यक्तिको ईज्जत उसको मानसिक क्षमतामा नभई आर्थिक क्षमतामा जाँच्ने पद्दति हावी भएकाले पनि निजी विद्यालयका शिक्षकको सामाजिक जीवनमा प्रभाव परेको हो।
कोरोना महामारीको फैलावट विश्वव्यापी भए पछिका मेडिकल विज्ञानका अध्ययन अनुसन्धानहरुले विश्व बजारमा अहिले मानसिक रोगका बिरामीको संख्यामा उल्लेखनीय वृद्धि आएको छ।
पछिल्लो समयमा वृद्धि भएका मानसिक रोगीहरुमा ७० प्रतिशत भन्दा बढी मध्यम आय वर्गीय परिवारका छन्। मध्यम वर्गीय परिवारमा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नले गर्दा मानसिक तनाब बढेको छ। नेपालको मध्य आय वर्गीय परिवारको परिभाषाभित्र निजी विद्यालयका शिक्षकहरु पनि समावेश गरिन्छ।
अन्त्यमा, शिक्षक ज्ञानको मुहान हो र यसले आफ्ना उपभोक्ताको जीवन स्तरलाई माथि उठाउने महान लक्ष्य राखेको हुन्छ।
संसारमा रहेका हरेक पेशाको आआफ्नै योगदान रहेको छ। जसमध्ये यी सबै पेशाका लागि योग्य जनशक्ति उत्पादन गर्ने कार्य शिक्षकको प्रत्यक्ष सहभागिताविना सम्भव छैन।
प्रत्येक व्यक्तिमा निहित अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्ने काम विश्वका अन्य पेशाले गर्न सक्दैन। यस्तो महान पेशामा लागेका जनशक्तिको आर्थिक अवस्था नियतवस दयनीय बनाउने मुठ्ठी भरका सञ्चालकलाई कारबाही गर्नुपर्दछ। जुन सञ्चालकहरु वास्तविक रुपमा पिडित छन्, तिनलाई राहतका कार्यक्रम दिएर भए पनि राज्य आफ्ना नागरिक प्रति पूर्ण ईमान्दार बन्नुपर्छ। धन्यवाद ।