एक मनोवैज्ञानिकले मानिसको सामाजिक स्वभावको मनोविज्ञान अध्ययनका लागि एउटा प्रयोग गरे । प्रयोगका लागि उनले एक अस्पतालको प्रतिक्षा कक्षलाई उपयोग गरे । प्रतिक्षा कक्षमा बिरामी आउनु पूर्व नै उनले त्यहाँ भिडियो क्यामेरा लुकाएर राखेका थिए ।
बिरामीहरु आए, बसे । प्रतिक्षा कक्ष भरियो । कसैले मोबाइल चलाएर त कसैले किताब पढेर आफ्नो पालो पर्खिरहेका थिए । त्यसैबेला घण्टी बज्यो । कतिपयले चनाखो आँखाले यताउति हेरे । कतिपय आफ्नै धूनमा थिए । फेरि घण्टी बज्यो । एक बृद्ध महिला उठिन् । उक्त बृद्ध महिला उठेको देखेर अरु मानिसहरु पनि उठे ।
महिला बसिन् । अरु मानिसहरु बसे । भित्रबाट बोलावट आयो, एक मानिस उठेर चिकित्सक कक्षतिर गए । फेरि घण्टी बज्यो । सबै मानिसहरु उठे । अनि बसे । पालैपालो मानिसहरु चिकित्सक कक्ष जाने क्रम र घण्टी बज्नासाथ प्रतिक्षा कक्षमा रहेका मानिसहरु उठ्ने क्रम चलिरहेको थियो ।
अब एक युवती मात्र प्रतिक्षा कक्षमा थिइन् । उनले मोइबाल चलाएर आफ्नो पालो पर्खिरहेकी थिइन् । अनि एक युवक आएर नजिकै बसे । फेरि घण्टी बज्यो । युवती उठिन् । युवती उठेको देखेर युवकले सोध्यो, किन उठेको ? युवतीले भनिन्, मलाई थाहा छैन, तर घण्टी बज्दा यहाँ बस्ने मानिसहरु उठ्ने गर्छन् ।
पुनः घण्टी बज्यो । युवती पुनः उठिन् । युवक पनि उठ्यो । अर्की महिला प्रतिक्षा कक्षामा आएर बसिन् । फेरि घण्टी बज्यो, युवक र युवती दुवै उठे । उनीहरु उठेको देखेर ती महिला पनि उठिन् र उनीहरु बसेपछि महिला पनि बसिन् ।
प्रतिक्षा कक्षमा एक जोडी महिला पुरुषहरु आए र बसे । भित्रबाट बोलावट आयो, युवती भित्रतिर गईन् । केही बेरपछि पुनः घण्टी बज्यो । युवक र महिला उठे । सँग आएका महिलापुरुषहरु पनि उनीहरुलाई हेर्दै उठे ।
आखिर अधिकांश मानिस एक प्रकारले भेडा नै हुन् । त्यो किनभने प्रायः मानिसले अरुले जे जे गर्छन्, त्यही त्यही नै गर्छन् । भीड जता जान्छ, मानिस पनि त्यत्तै त्यत्तै जान्छन् ।
मानिसको यस्तो प्रवृत्तिलाई सामाजिक मनोविज्ञानमा हर्ड मेन्टालिटी भनिन्छ । चुनावका बेलामा कुनै पार्टीको लहर भनेको पनि यही हर्ड मेन्टालिटी हो । हरेक दिन समाजमा हर्ड मेन्टालिटीका सानाठुला घटनाहरु घटिरहन्छन् । तर यस शताब्दीको सबै ठूलो हर्ड मेन्टालिटीको घटना हो, कोरोना भाइरसको डर र त्रास ।
कोरोना भाइरसको कारण हरेक मानिसको मनमा डर, त्रास र आतंक छ । यस किसिमको डरत्रासले मानिसको मनमस्तिष्कमा पहिलादेखि नै विद्यमान हर्ड मेन्टालिटीलाई झनै मजबुत बनाइदिएको छ ।
त्यसैले त मानिसहरु कोरोनाको क पनि नजानेका कतिपय युट्युबरहरुको कुरा समेत पत्ताएर यो या त्यो खाने गरिरहेका छन् । जोकोहीले पनि मास्क लगाउने, सेनेटाइजर दल्ने, पटक पटक हात धुने, तातो पानी खाने, प्रतिरोधक क्षमता बढाउन गुर्जो लगायतका खानेकुराहरु खाने गरेका छन् ।
अहिलेको परिवेशमा मास्क लगाएर नहिँड्ने मानिस असामाजिक मानिन्छ । कोरोनाप्रतिको सही सूचनाको अभाव, डर र अनिश्चिताको कारण नै मानिसहरुमा यस किसिमको मानसिकता विकास भएको हो ।
मानिसको मानसिकता घर, परिवार, समाज, संस्कार, धर्म, संस्कृति, परम्परा, शिक्षादीक्षा तथा वातावरणले निर्माण हुन्छ । मानिस सामाजिक प्राणी भएकाले सामाजिक मूल्य र मान्यताहरुबाट प्रत्यक्ष्यपरोक्षरुपमा प्रभावित हुने गर्दछ । र, त्यसैको अनुसरण गर्ने गर्दछ । वास्तवमा हरेक मानिसको मनमस्तिष्कमा यसरी नै हर्ड मेन्टालिटी विकास भएको हुन्छ ।
अधिकांश परम्परा, संस्कृति तथा रीतिरिवाज यही हर्ड मेन्टालिटीको उपज हो । हर्ड मेन्टालिटीलाई मोब, प्याक तथा गैंग मेन्टालिटी पनि भनिन्छ । सरल शब्दमा यसलाई भेडोपना वा भीडको पागलपन भन्ने गरिन्छ ।
हर्ड मेन्टालिटी मानिसहरुमा भन्दा पनि जनावरहरुमा बढी देखिन्छ । गाई, भैँसी, भेडा, बाख्रा तथा चराचुरुंगी आदि सबैमा हर्ड मेन्टालिटी प्रचुर मात्रामा देखिन्छ । भेडा त यसको सबैभन्दा सशक्त उदाहरण हो ।
मानिसमा देखा पर्ने यस्तो हर्ड मेन्टालिटीका कारण समाज तथा राष्ट्रलाई कहिलेकाहीँ त अकल्पनीय हानी पुग्न सक्दछ भने कसै कसैका लागि भने हर्ड मेन्टालिटी निकै फाइदाजनक पनि हुन्छ । बजारले तथा राजनीतिले मानिसको हर्ड मेन्टालिटीबाट भरपुर फाइदा लिने गर्दछ ।
राजनीतिक पार्टीले चुनावका बेलामा वा विरोध प्रदर्शनका बेलामा जतिसक्दो भीड जम्मा गर्ने प्रयास गर्नु पनि यही हर्ड मेन्टालिटीको उपयोग गर्नु हो ।
हर्ड मेन्टालिटीबाट बच्न सजिलो छैन । मानिस जति नै सचेत र बुद्धिमान भएता पनि कुनै न कुनै बेला हर्ड मेन्टालिटीबाट प्रभावित भएको हुन्छ ।
समाजमा जति जति अनिश्चिता र अस्थिरता बढ्छ, त्यति नै हर्ड मेन्टालिटी बढ्छ । त्यो किनभने अनिश्चिता तथा सही सूचना अभावको वातावरणमा मानिसले आफुले ठीक निर्णय गर्न सक्दैन, अनि भीडको पछि लाग्छन् ।
एउटा दृश्य कल्पना गर्नुहोस् त तँपाई कुनै नौलो ठाउँमा जाँदै हुनुहुन्छ, बाटोमा ठूलो खोला आउँछ, खोलामा पुल हुँदैन । माथिपट्टि खोला कम गहिरो देखिएको भएता पनि मानिसहरु तलपट्टि गहिरोतिरबाट खोला पार गरिरहेका छन् । त्यस्तो अवस्थामा तपाई निश्चित रुपमा अरु मानिसहरुले खोलापारको ठाउँबाट नै खोला पार गर्नुहुनेछ । हो कि होइन ?
विरोध प्रदर्शनमा जब अचानक प्रहरीले हस्तक्षेप गरेर लाठी चार्ज तथा हवाइफायर गर्छन्, त्यस्तो बेलामा प्रर्दशनकारीहरु प्रायः एकै दिशातर्फ भाग्छन् । यस्तो अवस्थामा भीड जता भागेको छ, त्यही बाटो नै सुरक्षित हो भन्ने व्यक्तिको ठम्याइ हुन्छ । तर भीडले गरेको निर्णय अक्सर गलत हुन्छ ।
स्नायु मनोवैज्ञानिकका अनुसार डर र अनिश्चितताको बेलामा मानिसको नियोकोर्टेक्स भन्दा पनि म्यामलियन ब्रेन सक्रिय हुन्छ । जसले गर्दा मानिसले जनावरको जस्तो व्यवहार देखाउँछन् । कतिपय मानिसहरुमा सामान्य अवस्थामा पनि म्यामलियन ब्रेन सक्रिय भएको हुन्छ, यस्ता मानिसहरु हमेशा भीडको पछि लाग्ने गर्छन् ।
अन्तमा कोरोना भाइरसका बारेमा जनमानसलाई अहिले सही तथ्य ठीक सूचना प्राप्त भएको छैन । त्यहीमाथि आआफ्नो स्वार्थका लागि डर, त्रास र आतंक तथा अनेक किसिमका अफवाह, षडयन्त्रका सिद्धान्तहरु फैलाउनेहरु हाबी भएका छन् ।
जसले गर्दा समाज डर, त्रास र अनिश्चितताको वातावरणले व्याप्त छ । यही कारणले समाजमा हर्ड इम्युनिटी भन्दा पनि कोरोनाको हर्ड मेन्टालिटी विकास भएको छ । यस्तो हो भने कोभिड १९ विश्वको सबैभन्दा जटिल मानसिक समस्या हुन बेर छैन ।
(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् । उनको ब्रेन बाइट्स स्तम्भ हरेक शनिबार प्रकाशित हुन्छ।)