उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष अधिवक्ता जोग बहादुर खत्री विक्रम कोरोना संक्रमण पुष्टि भएर बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा छन्। उनी आइसोलेशन बसेको शुक्रबार १२ दिन भयो। यसबीचमा उनले आइसोलेशन बसेका भोगेका अनुभवहरु सामाजिक सञ्जालमा श्यर गरेका छन्। त्यसलाई जस्ताको तस्तै यहाँ साभार गरेर राखेका छौं।
मैले नदेखेका पात्र र उजागर नभएका तथ्यहरू :
कोभिड १९ संङक्रमण प्रमाणित भएपछि आज १२ औं दिन म बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको देवीनगरस्थित एन्फा एकेडमी आइसोलेशन सेन्टर बुटवलमा स्वास्थ्य लाभ गरिरहेको छु।
सरकारी निकायबाट जारी भएको निषेधाज्ञालाई पालना गरि सावधानी अपनाई घरमै बसेकै अवस्थामा अज्ञात तरिकाबाट मलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि आफै बुटवलको नेशनल प्याथ ल्याबमा गरिएको पीसीआर परिक्षणबाट कोभिड १९ पुष्टि भयो। त्यसपछि होम आइसोलेशनमा नबसी उपमहानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशनमा बसेको छु।
एउटा सामाजिक अभियन्ता समेत भएको नाताले आफूले अनुभुत गरेको सिकाई र भोगाईले अन्य नागरिकले केही लाभ प्राप्ति गर्न सक्ने र सम्बन्धित निकायहरूले आफ्नो ध्यान पुराउन मदत पुग्छ र ध्यान दिन नसकेको कुरामा आफ्ना काम कारवाही र गतिविधिहरूको पुन:मूल्याङकन गर्न मदत मिल्ला भन्ने अभिप्रायले मैले यस लेखमार्फत नदेखिएका पात्र तथा उजागर नभएका तथ्यहरू खोज्ने प्रयत्न गरेको छु।
सरकार:
हुनत हामीहरूसँग धेरै सरकार छन्। स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार। मैले यहाँ सरकार देखेको छैन। म संङक्रमित भएको पुष्टि भएपछि होम आइसोलेशनमा नबसी सरकारद्वारा व्यवस्थापन गरिएको आइसोलेशनमा बस्नुको दुईवटा कारण छन्।
पहिलो आफूमा भएको संङक्रमण परिवारका अन्य सदस्यहरू तथा समुदायमा नसरोस् र दोश्रो कारण सरकारद्वारा व्यवस्थापन गरिएका आईसोलेशनका समग्र व्यवस्थापन र त्यहाँ रहेका सङक्रमितहरूको अवस्था कस्तो छ म प्रत्यक्ष हेर्न र अनुभव गर्छु भन्ने भयो।
म यहाँ आउनुपूर्व यस आइसोलेशनलाई देशकै नमूना आइसोलेशनको रूपमा प्रचार गरिएको थियो तर म यहाँ आएपछि सो तथ्य सत्य पाउन सकिन। किनकी तथ्यले सो कुरा प्रमाणित गर्दैन।
हाल यहाँ करिब ५० जना जति सङक्रमित हुनुहुन्छ। (संख्या दैनिक जाने आउने हुँदा परिवर्तन भइरहन्छ) नयाँ पुराना सबै संक्रमितहरू पुरूष र महिलाको लागि अलग अलग रहेको छ तर सबैले प्रयोग गर्ने शौचालय एउटै छ। नुहाउने धारा पनि सामुहिक नै छ र हातमुख धुन प्रयोग गर्ने बाहिरको टंकीको धाराको टुटी भाँचिएको छ।
सामुहिक रूपमा प्रयोग गरिने धारापानी र शौचालय प्रयोगपछि सेनेटाइज गर्ने सेनेटाइजरको व्यवस्था छैन। जसको कारण आफै सेनेटाइज नहुनेहरू पलपलमा पुन:सङक्रमणको डरले तड्पिनुको विकल्प छैन। पटक माग गर्दा पाइदैन त्यसैले यहाँ सरकार छैन।
लामखुट्टेको यहाँ खानी नै छ। लामखुट्टे मार्ने किटनाशक विषादी र छर्ने स्प्रेयर माग गर्दा सरकारले उपलब्ध गराउदैन। त्यसैले म भन्छु यहाँ सरकार छैन। यसलाई आइससोलेशन नभनी सङक्रमितहरूको होल्डिङ सेन्टर भन्दा उपयुक्त देखिन्छ। मलाई सङक्रमण पुष्टि भएको दुईदिन पछि भाद्र १६ गते मेरो परिवारको कन्ट्याक ट्रेसिग भयो।
घर परिवारका सदस्यहरूको पीसीआर टेष्टको लागि स्वाब लगियो। आफू संक्रमित भएपनि परिवार सदस्य तथा आफ्नो सम्पर्कमा रहनु भएका अन्य कसैलाइ पनि संक्रमण नभएको होस् भन्ने चाहना सबैमा रहन्छ नै तर ८ दिनसम्म परीक्षण रिपोर्ट आएन। रिपोर्ट नआउँदाको मानसिक तनावको मूल्य मापन गर्न नसकिने रहेछ।
सङ्क्रमणको पिडा माथि समयमा परीक्षणको रिपोर्ट नआउनुको कारणबारे सूचना पनि दिइदैन। कसैको दुईतीन दिनमै परीक्षणको नतिजा आउने तर धेरैजसोको आठदश दि पछि मात्र पीसीआर रिपोर्ट आउने गरेको छ।
यति धेरै दिनसम्म रिपोर्ट नआउनुको कारणका बारेमा नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी माग गर्दा फोन नउठाउने तथा एकले अर्कालाई देखाउने र आएको रिपार्टको तत्काल सम्बन्धित व्याक्तिलाई जानकारी नगराइने गरेको पाइयो। यो गम्भीर लापरवाही ठान्दछु म। त्यसैले यहाँ सरकार छैन।
कतिपय सङक्रमितहरू आफ्नै घरमा आइसोलेशनमा बस्न चाहेपनि टोलका पदाधिकारी तथा अन्य सदस्यहरूले जोर जबरजस्ती आइसोलेशनमा पठाइएको पनि पाइयो। खासगरी बुटवल वडा नं.११ का धेरै जनाको भनाइ यस्तो रहेको पाइयो।
संक्रमण पुष्टि भएपछि सम्बन्धित व्याक्तिलाई उचित सरसल्लाह दिने गरेको पाइएन। सङक्रमितहरूको आइसोलेशन तथा परिवार तथा सम्पर्कमा रहेका अरु मानिसहरूको क्वारेन्टिनको व्यवस्थापनमा सरकारका निकायहरूको काम कारबाहीमा कुनै तालमेल देखिदैन। त्यसैले म भन्छु यहाँ नागरिक सरकार छैन।
हाल कोरोना सङक्रमित र निजको परिवारलाइ ठूलै अपराध वा कुकर्म गरेजसरी अपमान गर्ने जस्तो घर शिल गरेको भनी त्रसाउने, निजको घरमा नजाने तथा अन्य मानसिक यातना हुने कार्यहरू पनि भएको सुनिएको र यहाँ रहेका केही सदस्यको हकमा पनि गरेको पाइयो।
आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले अज्ञात तरिकाबाट वा सेवा प्रवाहको दोरानमा कोरोना लाग्नुलाई जसरी हाल घृणाजन्य र अपमान गरिदै छ। मानिसहरूले रोग लुकाउने र अरूलाइ सार्ने खतरा बढ्दै छ। यो विषय ज्यादै संवेदनशील हुदाँ हुदैपनि सरकार र यसका निकायहरू यस विषयमा गम्भीर भएको मैले महशुस गरेको छैन। त्यसैले म भन्छु यहाँ सरकार छ सरकार छैन।
राजनैतिक दल:
मैले यहाँ राजनैतिक दलहरू पनि देखेको भेटेको छैन। आइसोलेशनमा बस्न आउने कसैको रहर हुँदैन समय परिस्थितिको विवशताले यहाँ आउने हो। आइसोलेशनमा आउने मानिसहरू कुनै न कुनै राजनैतिक दलमा आवद्ध वा मतदान गरेका वा सो परिवारको सदस्य त अवश्य पनि होलान् नै।
महामारीको कारणबाट शारीरिक तथा मानसिक रूपमा तनावमा रहेको व्यक्तिलाइ सम्बन्धित आइसोलेशनमा आइ हौसला दिने, के समस्या परेको छ के सहयोग चाहिएको छ भनी चासो राखेको तथा भेट्न आउने गरेको पाइएन। सुखमा त आफै रमाउन जानेको हुन्छ मानिस तर दुःखमा साहारा खोज्ने हो।
चुनाव नजिकै आएको हुदो हो त यहाँ राजनैतिक दलका झन्डाले दैनिक झकिझकाउ हुने थिए आइसोलेशन वा क्वारेन्टिनहरू तर अहिले महामारी छ त्यसैले यहाँ राजनैतिक दल छैनन्। राजनैतिक दलले सरकारलाइ बाटो देखाइदिने हो। बाटो देखाउनको लागि समस्या कहाँ छ के समस्या छ। समाधानको उपाय के हुन सक्दछ भनी जानकारी चाहिन्छ।
जानकारी लिनको लागि सम्बन्धित सङक्रमित र निजको परिवारजनसँग भेट गर्ने जानकारी लिन जरूरी हुन्छ। तर दलका मानिसहरू संक्रमित र निजको परिवारलाइ भेटन आएको जस्तो मैले देखिन। सामाजिक संजालहरूमा कोरोना केही होईन भन्नेहरूनै कोरोना लागेको वा निजको परिवारलाई भेटेमा आफूलाइ नै सर्ने मनोवैज्ञानिक डरले त्रसित छ।
संक्रमित व्यक्तिलाई भौतिक दुरी कायम गरी मास्क लगायतको सुरक्षा विधि अपनाइ भेट्दैमा कोरोना सर्दैन। आईसोलेशनमा आउँदैमा कोरोना सर्ने भएमा यहाँ कार्यरत सुरक्षाकर्मी, व्यवस्थापनमा आउने कर्मचारी, जनप्रतिनिधि, दैनिक योग ध्यान प्राणायम सिकाउने योग गुरू कसैलाई पनि सरेको छैन त्यसैले डराउनु जरूरी छैन। त्यसैले मैले यहाँ राजनैतिक दल देखेको छैन।
प्रतिपक्ष दल:
भनिन्छ प्रतिपक्ष दल वैकल्पिक सरकार हो। सरकारका राम्रा काममा सहयोग पुर्याउने र गलत वा सरकारको कमी कमजोरीको खबरदारी गर्नु उसको धर्म हो। नेपालमा प्रतिपक्ष दल हराएको सूचनाहरू धेरै अघिदेखि प्रकाशित हुँदै आएका छन् तर प्रमुख प्रतिपक्ष दल जनताले महसुस गर्ने गरी भेट्न सकेको छैनन्।
यो क्रम महामारीको यस अवधिसम्म पनि कायमै छ। राजधानीमा मात्र प्रतिपक्ष हराएको नभइ प्रदेश र स्थानीय तहमा समेत प्रतिपक्ष दल देख्न पाईएन भनी सङक्रमित तथा निजका परिवार भनिरहेछन्।
कोरोना रोग नियन्त्रण र व्यवस्थापनमा सरकार (तीन तह सरकार) भए गरेका काम कारवाही खबरदारी गर्ने, कमी कमजोरी सच्चाउन दबाब दिने, कोरोनाको नाउँमा भए गरेका खर्च तथा अन्य सरोकारका विषयमा सत्यतथ्य तथ्याङ्क केलाउने कार्यमा प्रतिपक्ष दल देख्न पाइएन। त्यसैले म भन्छु यहाँ प्रतिपक्ष दल छैन।
मिडिया:
महामारीको जोखिमका बीचमा मिडिया र मिडियाकर्मीहरूले गरिआउनु भएको भूमिका प्रशंसनीय छ। यद्यपि खोजमूलक पत्रकारिताको सवालमा मिडियाको उपस्थिति कमजोर नै देखियो। धेरैजसो समाचारहरू मृत्यु र संक्रमितको संख्यासँग सम्बन्धित रहेको पाइन्छ।
कोरोनाको कारणबाट कुनकुन क्षेत्रमा कस्तो प्रभाव परेको छ ? पेशा व्यावसाय गर्ने मानिसहरू लामो समयसम्म व्यवसाय बन्द गर्दा कस्तो समस्यामा परेका छन् ? सङक्रमित परिवारहरूलाइ के कस्ता भेदभाव र अपमान भएका छन् ?
आइसोलेशन तथा क्वारेन्टिनहरूको व्यवस्थापन कस्तो छ, खानपान औषधि उपचार, व्यवस्थापनका सबल पक्ष र दुर्वल पक्षहरू के के छन् भनी स्थलगत अध्ययन गर्न जरूरी छ। सोको लागि संक्रमित, निजका परिवार व्यवस्थापनमा संलग्न व्यक्तिहरू, संक्रमणबाट मुक्त भएका व्यक्ति वा परिवारलाई भेटेर स्थलगत अध्ययनको आधारमा खोजमूलक पत्रकारिताको जरूरी देखिन्छ तर सो सवालमा मेरो बसाईको दौरानमा मिडियाको उपस्थिति पाइन। अपवादको रूपमा आज पत्रकार सी. पी. खनाललाई देखेँ।
मानवअधिकारवादी संघ सस्था:
नेपालको संविधानले नागरिकलाइ आधारभूत स्वास्थ्य सेवा प्राप्तिको ग्यारेन्टी गरेको छ। महामारीको यस अवधिमा राज्यले ठूलो धनराशी खर्च पनि गरेको छ। संक्रमितहरूको उपचार, बसोवास, औषधि उपचार, खानपान तथा अन्य आवश्यक सेवा सुविधाको अवस्था कस्तो छ भनी मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ सस्थाहरूले अनुगमन मूल्याङकन गर्ने र सोको यथार्थ बाहिर ल्याई सरकारलाइ दवाब दिने कार्य अधिकारकर्मी संस्थाहरूको हो तापनि निजहरूको उपस्थिति पनि देखिएन।
यस आइसोलेशनको सकारात्मक पक्ष:
संक्रमितहरूको व्यवस्थापन गर्ने कार्य आफैमा जोखिमयुक्त हो। बुटवल उपमहानगरपालिकालगायत अन्य स्थानीय निकायहरूले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेशन सञ्चालन गर्नु नै सकारात्मक कार्य हो। होम आईसोलेशन वा क्वारेन्टिनमा नबस्ने तथा घर नभइ डेरा गरी बस्नेहरूको लागि सरकारी संरक्षण र व्यवस्थापन हुनु राज्यको जिम्मेवारी हो।
यहाँ बस्ने सबैलाई खानाको प्रबन्ध मिलाइएको छ। आफै घरबाट मगाएको खाना पनि खान पाइने हुँदा स्थानीय नागरिकले घरकै खाना खाइ बस्न पाउने सुविधा छ। दैनिक रूपमा योग ध्यान, प्राणायम, नृत्य सबभन्दा राम्रो र सबल पक्ष हो।
जसको लागि योगगुरू विष्णुहरि आचार्य (कविराज आचार्य) धन्यवादको पात्र हुनुहुन्छ। केही आयुर्वैदिक औषधी पनि दिइदै आएको छ। दैनिक सुरक्षा प्रबन्धमा शुरूदेखि नै खटिदै आउनु भएका प्रहरी हवल्दार खेम विक्रम थापाको सहयोगी व्यवहार प्रशंसनीय रहेको छ।
कविराज गणेश सापकोटाको उपस्थितिले संक्रमितलाई ढाडस दिएको पाइन्छ। प्राकृतिक रूपमा एकान्त तथा हरियाली सहितको खुल्ला स्थानले सकारात्मक उर्जा दिएका छन्। यहाँ रहेका संक्रमितहरू सबैजसो सक्रिय लक्षण नभएका छन्। हाल सम्मको तथ्याङ्क अनुसार एक जना मात्र यहाँबाट अस्पतालमा उपचारका लागि पठाइएको र सोबाहेक सबैले अस्पताल नगई स्वास्थ्य लाभ लिइ फर्किनु भएको पाइयो।
तत्काल सुधार हुनु पर्ने पक्षहरू:
हुनत मैले यहाँ उल्लेख गरेका विषयमा म आइसोलेशनमा आएको दोश्रो दिन योग समयमा आउनु भएकी बुटवल उपमहानगर पालिकाकी उपमेयर गुमादेवी आचार्यलाई केही कुराहरु पूरा गरिदिन अनुरोध गरेको थिएँ। तैपनि यस आलेखमा पुन: सम्बन्धित निकायको ध्यानाकर्षणका लागि उल्लेख गरेको छु।
१. व्यक्तिगत तथा भूइँ कोठाको बाथरूमको लागि सेनेटाइजर।
२. पर्याप्त मास्क उपलब्ध गराइएको छैन। कसैले एउटै मास्क दुईतीन दिन सम्म लगाउने गरेको पाइयो।
३. लामखुट्टे मार्ने विषादी र छर्ने स्प्रे।
४. नयाँ र पुराना संक्रमितहरूलाई राख्ने स्थानको रोटेशनअनुसारको बसाई व्यवस्थापन।
५. खानाको गुणस्तरमा थप सुधार, अधिकाशंले बढी खान खोजेको मासु पाइयो हुनत म पूर्णतः शाकाहारी हुँ तथापि हप्तामा एक दिनसम्म भएपनि मासुको व्यवस्थापन गर्दा उत्तम।
६. सङक्रमित तथा निजका परिवारहरूलाइ मनोपरामर्श सेवा।
७ .१५ दिनका दिन यहाँबाट डिष्चार्ज गर्दा पीसीआर नगरी पठाइने तर कागजमा सही गराउदा पीसीआर रिपोर्ट साथै छ भनी सही गराएको पाइयो। कि त पीसीआर गरी पठाऔं होइन भने झुठ्ठा कागजमा सही गरी नपठाऔं।
बाँकी केही भएमा अर्को पोष्टमा लेखौंला। तपाई जहाँ रहेपनि सुरक्षित रही आफ्नो पेशा व्यवसाय गर्नु होला, रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हो। जयनेपाल।