मध्यरातमा सूर्य उदाउने देश नर्वेका बारेमा मैले सानैदेखि अचम्मलाग्दा अनेक रोचक प्रसंगहरु सुनेको थिएँ, पढेको थिएँ । त्यसैले युरोपको यस सुन्दर लोककल्याणकारी राष्ट्र घुम्ने मेरो निकै चाहना थियो।
२०७६ सालको बडादशैं मनाउन हाम्रो सम्पूर्ण परिवार स्वीडेनको मार्स्तास्थित दिदीको घरमा जम्मा भएको अवस्थामा लण्डनबाट आएको भाइले अचानक कार्यक्रम बनायो । भाइले अनलाइनबाट नर्वेको ओस्लोमा बास बस्नको लागि अपार्टमेन्ट नै बुक गर्यो।
अनि भाइ, म, दुई भान्जा र भिनाजु दिउँसो २ बजे टेल्सा कार लिएर स्वीडेनको स्टोकहोमबाट नर्वेतिर प्रस्थान गर्यौ, हाम्रो गन्तव्य थियो, ओस्लो ।
भान्जा सुबृतले गाडी हाँक्ने इच्छा गरे ।
नेपाल र भारतमा लेफ्ट ड्राइभ मात्र गरेको मलाई त्यहाँको सडकमा राइट ड्राइभ गर्ने हिम्मत नै भएन । हुन त भान्जा सुबृतले लण्डनमा लेफ्ट ड्राइभ नै गरेका थिए । तर उनी निकै सिपालु चालक थिए । भान्जा सानै उमेरका भएकाले भाइले भन्यो, खुल्ला बाटोमा तिमीले चलाऊ, पछि भिनाजुले चलाउनु हुन्छ ।
स्टोकहोमको मास्र्ताबाट चिल्लो बाटोमा चिल्लो कार तुफान कुद्न थाल्यो । टमक्क मिलेका दाँत जस्ता आकर्षक घरहरु, पार्क, टलक्क टल्किने सफा सडक, ठाउँठाउँमा सडकको वरिपरि फूलबारीझै मिलाइका जंगल पार गर्दै हामी गन्तव्यतिर कुदिरहेका थियौं, १५० किलोमिटर प्रति घण्टाको स्पीडमा ।
कारको झ्यालबाट देखिएका मनोरम दृश्यहरु देखेर रमाइरहेका पनि थियौ । रोमान्च थियो । छुट्टै आनन्द थियो ।
करिब ५ घण्टाको यात्रापछि स्वीडेन र नर्वेको सीमाना आयो । सानैदेखि रक्सौल र सुनौली नाका देखेका हामीहरु त्यहाँको सीमानाका देखेर अचम्म पर्यौं।
नाकामा न त प्रहरी छन्, न त कुनै कर्मचारी । साइनबोर्डमा लेखिएको छ, चेकजाँच गर्नु पर्ने सामान भए, यो बाटो जानुहोस्, नपर्ने भए चाहि यो बाटो ।
त्यो देखेर हामी सबै दंग पर्दै हाँस्यौं । भिनाजुले भन्नुभयो, सुनौलीमा यस्तो भएको भए कति तस्करी हुने थियो है ?
बाटोमा हामीले धेरै नौलो कुराहरु देख्यौ । घाँस काट्दै गरेको स्वचालित मेसिनहरु पनि देख्यौ । करिब ६ घण्टाको यात्रापछि हामी सूर्य नअस्ताउने देश भनेर चिनिएको नर्वेको राजधानी ओस्लो पुग्यौं। झमक्क रात परेको थियो ।
सारा ओस्लो शहर सुनसान थियो । सुनसान शहरलाई चिर्दै गाडी भने गन्तव्यको खोजीमा थियो । गाडीमा जडित जीपीएसले यो बाटो जाऊ, यता मोड, फेरि उता मोड, अनि अघि जाउ भन्दै कारलाई ठीक अपार्टमेन्ट अगाडि खडा गर्यो।
कारलाई पार्किङ गरेर हामी अपार्टमेन्ट भित्र पस्यौ । अपार्टमेन्ट स्वाचालित थियो । भाइले कम्प्युटरमा बुकिङ कोड हाल्यो । तर चाबी खुलेन । पटक पटक इरर देखायो ।
के भयो ? कसलाई सोध्ने ? हामी एकछिन रनभुल्ल भयौं । भान्जा सुबृतले पुनः अनलाइन बुकिङ हेरे । हत्तेरिका ! बुकिंग त सोमबारदेखिको पो रहेछ । भाइले अपार्टमेन्ट बुकिङ गर्दा आइतबारलाई सोमबार ठानेर बुकिङ पो गरेको रहेछ ।
हो, सम्झना शक्तिले मानिसलाई बेला बेलामा धोका दिन्छ । झुक्काउँछ । आफ्नो जीवनकालमा कुनै न कुनै बेला यसरी नझुक्कने मानिस सायद कोही हँुदैनन् । प्रायः अनलाइन बुकिङ गर्दा यस्ता गल्तीहरु हुन्छन् ।
त्यसैले अनलाइन बुकिङ गर्दा सबै कुराहरु ध्यान पुराएर गर्न उचित हुन्छ ।
भाइ अलि टेन्स्ड भयो । हामीहरु चाहीँ दुःखी हाँसो हाँस्दै थियौं । भाइले कताकताबाट त्यस अपार्टमेन्टको व्यवस्थापकको फोन नं. भेटायो र सबै कुरा बतायो । उसले कोठाको व्यवस्था मिलाउने प्रयास गर्छु भन्यो ।
हामीले राहत महसुस गर्यौं। ओस्लोमा आफन्त तथा परिचित नेपाली तथा नर्वेजियनहरु पनि थिए । हामीलाई उनीहरुको निम्तो पनि थियो । तर, हामीलाई घरको पाहुना भन्दा होटलकै पाहुना हुन ठीक लाग्यो र स्वीडेनबाट नै अपार्टमेन्ट बुक गरेका थियौं ।
केही क्षणपछि भाइले फेरि फोन गर्यो । उताबाट कोठाहरु सबै प्याक भएकाले केही गर्न नसक्ने जवाफ पाएपछि रात काट्न त्यो चिसो रातमा हामी होटल खोज्न यत्रतत्र दौडियौं । धन्न नजिकै होटल भेटियो । तर, हाम्रो लागि निकै महंगो, एक रातको दुई कोठाको लगभग नेपाली ३० हजार नेपाली ।
उता २० हजार गयो, यता ३० हजार । मौसम पुसजस्तै चिसो थियो । निकै थकाइ लागेको थियो । अनि खाना खाइवरि हामी सिरक ओढेर ५० हजारको निद्रा सुत्यौं ।
भोलिपल्ट बिहान झ्याल खोल्दा टलक्क घाम लागिरहेको थियो । घामको किरणले गर्दा रुखहरुबाट तप तप शितका थोपाहरु खसिरहेका थिए । बिहान ८ बजे ब्रेकफास्ट गरी हामी ओस्लो शहर घुम्न निस्कियौं । शहर शानदार छ । तर मानिसहरु भने निकै पातलो । स्टोकहोम भन्दा पनि पातलो ।
नर्वेको जनसंख्या निकै कम छ । ३ लाख ८५ हजार २ सय ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नर्वेको जनसंख्या सिर्फ ५० लाख छ । तेल र ग्याँसका कारण नै नर्वे समृद्ध बनेको रहेछ ।
नर्वेमा मजदुरको ज्याला पनि निकै रहेछ । नेपालबाट ओस्लो युनिभरसिटिमा पढ्न गएका विद्यार्थीहरुले समेत काम गरेर महिनाको तीनचार लाख कमाउँदा रहेछन् ।
नर्वेमा आइटी इन्जिनियरहरुका लागि त हिरा कटाइ छ । त्यसो त आम्दानीका आधारमा हरेक व्यक्तिले सरकारलाई निश्चित कर अनिवार्य तिर्नै पर्छ । यहाँ कर छलेर काम गर्ने तथा लगानी गर्ने भन्ने कल्पना नगरे हुन्छ ।
नर्वेमा स्थायी बसोवास गर्नेहरुका लागि सरकारले उसले आम्दानीबाट तिरेको कर पेन्सनको रुपमा बुढेसकालमा फिर्ता गर्ने रहेछ ।
ओस्लो घुम्ने क्रममा बाटोमा एकाध नेपालीहरु भेट्यौं ।
नर्वेमा कति नेपाली छन्, त्यसको गैर आवासीय नेपाली संघ नर्वेसँग पनि एकिन तथ्यांक छैन । तीन हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिन्छ । अधिकांश नेपालीहरु ओस्लोमा नै बस्ने गर्छन् । नर्वेमा खासगरी विद्यार्थी आउँछन् ।
स्वीडेनमा जस्तै नर्वेमा पनि शिक्षा निःशुल्क छ । पोर्चुगल लगायतका देशबाट पार्सपोर्ट बनाएर आउने नेपालीहरुको संख्या धेरै छ । नर्वे बसाई र आम्दानीको हिसाबले युरोपकै राम्रो मानिन्छ ।
नर्वेका मानिसहरु विश्वमा सबैभन्दा बढी किताब पढ्नेमा गनिन्छन् । सरकारले किताब लेख्नेहरुलाई निकै प्रोत्साहन गदर्छ । कसैले पनि राम्रो किताब लेखेको खण्डमा सरकारले एक हजार प्रति खरिद गर्दछ ।
सबैभन्दा पहिला हामी ओस्लो युनिभरसिटीको मनोविज्ञान विभागमा गयौं । प्रा. डा. म्यारियन स्लेरी तथा प्रा. डा. ज्यारेन ओल्सेनेरा मेरा पूराना परिचित हुन् ।
मेन्टल हेल्थ विषयका उनीहरु त्यहाँका हस्ती नै हुन् । उनीहरु मनोवैज्ञानिक समस्याहरुलाई मानसिक रोग मान्नुको पक्षमा आफुहरु नभएको बताउँछन् ।
मेडिसिनले मानसिक समस्यालाई झन जटिल बनाएको उनीहरु लगायत थुप्रै मनोवैज्ञानिक तथा मनोचिकित्सकहरुको पनि भनाइ छ । त्यस दिन ओस्लो युनिभरसिटी घुम्दाघुम्दै दिन सकियो ।
अर्को दिन हामी राजदरवार तथा किल्ला आदि हेर्ने योजनाका साथ निक्लियौ । नर्वेको राजदरवार देखेर त म छक्क परें । एक सामान्य मानिसको जस्तै घरमा राजारानी बस्दा रहेछन् ।
दरवार अगाडि नै मानिसहरु घुमिरहेका छन्, तीन चार सुरक्षाकर्मी मात्रै छन् । पयर्टकहरुले सुरक्षाकर्मीहरुसँग फोटो खिचाइरहेका थिए । मलाई पनि फोटो खिच्ने रहर लाग्यो । मैले ढोकामा उभिएका सुरक्षाकर्मीसँग फोटो खिचाएँ ।
रोयल गार्डसँग फोटो खिच्दा एक प्रकारको आनन्द अनुभूति भयो । त्यो किनभने हाम्रोमा उतिबेला दरबारमा तैनाथ शाही नेपाली सेनाले दरवारको गेटबाहिरबाट भित्रतिर हेर्न पनि दिदैनथे ।
मलाई संसारको ठूलो स्कल्प्चर पार्क ओस्लोको नमूना केन्द्र लाग्यो । हामीहरु निकै बेर पार्कमा घुम्यौ, फोटोहरु खिच्यौ, भिडियोहरु बनायौं । रमायौं । पार्कमा रमाउन पाउँदा मलाई निकै आनन्दको अनुभूति भयो ।
.JPG)
नर्वे राजतन्त्रात्मक देश हो । यहाँ सेरेमोनियल राजा छन् । राजा छन् भन्ने अधिकांशलाई थाहा छ । तर, राजा र राजपरिवार कहिल्यै समाचार बन्दैनन् । राजा र राजपरिवारले के गर्छन् कसो गर्छन् कसैलाई चासो छैन । राजा को हो, रानी को हो ? प्रधानमन्त्री को हो ? अधिकांश नागरिकहरुलाई खासै थाहा छैन ।
न त उनीहरुबारे नेपालमा जस्तो बारम्बार समाचार आइरहन्छन् । न त उनीहरु रिबन काट्ने, केक काट्ने तथा पुस्तक विमोचन गर्ने जस्ता कार्यक्रमहरुमा जान्छन् ।
न त नागरिकले नेपालमा जस्तो उनीहरुलाई सार्वजनिक कार्यक्रममा ल्याउँछन् । यसैले पनि नर्वेका राजनीतिक व्यक्तिहरुलाई मिडियाहरुमा बारम्बार देख्न नपाइनेरहेछ । बरु आवश्यक परेका खण्डमा नागरिकले उनीहरुलाई सजिलै भेट्न पाउने रहेछन् । सदनमै गएर नागरिकले आवाज उठाउन ठाउँ रहेछ ।
नर्वेका स्व. राजा ओलाव पाँचौले यात्राका लागि सार्वजनिक यातायातको प्रयोग गर्थे र टिकटको पैसा दिन्थे । सन् १९२८ को ओलम्पिकमा उनले स्वर्ण पदक समेत जितेका थिए ।
भिनाज्यु भन्दै हुनुहुन्थ्यो, एक पटक नर्वेका एक मन्त्रीको समाचार छापियो । सार्वजनिक यातायात चढ्दा ट्राभल कार्ड नकिनेका मन्त्री चेकिङमा परी जरिवाना तिरेको समाचार थियो त्यो ।
भिनाज्युको कुरा सुनेर मैले आफैलाई प्रश्न गरेँः ‘के नेपालमा त्यसरी मन्त्रीलाई कारबाही हुँदो हो ?’
पहिलो कुरा त नेपालका मन्त्रीले सार्वजनिक सवारी चढेर कार्यालय जाने कल्पना समेत गर्दैनन् । दोस्रो कुरा नेपालमा करोडौ अरबौंको घोटाला गर्ने मन्त्रीहरु छाती फुलाएर निर्धक्क हिँड्छन ।
मिडियाहरुमा आएर ठूलाठूला कुरा गर्छन्। अनि यस्ता भ्रष्टाचारहरुलाई जोगाउन प्रधानमन्त्री स्वयं न्यायाधीश भएर लाग्छन् । धन्य छ हाम्रो देश ।
नर्वेको भ्रमण निकै रोमान्चकारी र ज्ञानवर्द्धक भयो ।
भ्रमणले नयाँ ठाउँ देख्ने अवसर मात्र होइन कि निकै आनन्द पनि दिलायो । वास्तवमा नयाँ ठाउँको भ्रमण माइण्डबोडी हेल्थका लागि निकै फाइदाजनक हुन्छ । अझ दिनभरि खटेर मानसिक कार्य गर्नेहरुले त बेला बेलामा छोटो वा लामो भ्रमण गर्न जरुरी छ ।
(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)