फेसबुक खोल्ने बित्तिकै मेमोरीका आँखा उनलाई निकै मन पर्ने ब्रेन बाइट्स पोष्टमा पर्यो । कौतहलपूर्ण आँखा नचाउँदै उनले स्टाटस पढ्न थालिन्ः
‘मद्यरातमा सूर्य उदाउने देश नर्वे एक लोककल्याणकारी राष्ट्र हो । त्यहाँका रेष्टुराँहरुमा जाने हो भने यस्ता अनौठा दृश्यहरु पनि देख्न सकिन्छः
दृश्य १ः
एउटी महिला रेष्टुराँ भित्र पस्छिन्, क्यास काउन्टरमा जान्छिन् र भन्छिन्ः ५ कप कफी, १ सस्पेन्सन । अनि उनले ५ कप कफीको पैसा तिर्छिन् र ४ कप कफी लिएर जान्छिन् ।
दृश्य २ः
केही छिन पछि एक भद्र पुरुष आउँछन् र खाना अर्डर गर्छन्, ४ लन्च, २ सस्पेन्सन । उनले ४ वटा लन्चको पैसा तिर्छन् र २ वटा लन्च प्याकेज लिएर जान्छन् ।
दृश्य ३ः
फेरि अर्को व्यक्ति आउँछन् । अर्डर दिन्छन्, १० कप कफी, ४ सस्पेन्सन । १० कप कफीको पैसा तिर्छन्, ६ कप कफी लिएर जान्छन् ।
दृश्य ४ः
केही समयपछि एक वृद्ध मानिस आउँछन् र सोध्छन्ः कुनै सस्पेन्डेड कफी छ ? काउन्टरकी केटी खुसी हँुदै भन्छिन्, छ, छ । अनि एक कफ तातो तातो कफी दिन्छिन् । कठ्याग्रिंने जाडोमा वृद्धले आरामसँग बसेर मजाले तातो कफी पिउँछन् ।
दृश्य ५ः
मानिसहरु रेष्टुराँमा आउने जाने क्रम चलिरहेको हुन्छ । अर्को दाह्री पालेको व्यक्ति आउँछन् र काउण्टरमा गएर सोध्छन्, कुनै सस्पेन्डेड लन्च छ ? काउण्टरमा बसेकी केटीले उनलाई खानाको एक प्याकेट र एक बोत्तल पानी दिन्छिन् ।
यसरी गरीब र खाँचोमा परेका अपरिचित व्यक्तिलाई आफ्नो पहिचान नदिइकन सहयोग गर्ने नर्वेको परम्परा हो । अहिले यो परम्परा युरोपका धेरै देशहरुमा फैलिएको छ ।
तर हाम्रो देश नेपालमा ?
दृश्य ६ः
कुनै संस्था तथा पार्टीको तर्फबाट तुल र झण्डा लिएर एक हुल व्यक्तिहरु अस्पताल तथा गरीबको झोपडीमा जान्छन्, एउटा केरा र एउटा सुन्तला वा एक किलो चामल तछाडमछाड सबैले हात लगाएर बाँड्छन् र एक ट्रक फलफूल तथा खाद्यान्न बाँडेझैं गरी अखबारमा छपाउँछन्, सामाजिक संजालमा पोष्ट गर्छन् ।’
..........................
फेसबुकमा यो पोष्ट पढेपछि मेमोरीलाई एउटा आइडिया फुर्यो । हामी नेपाली पनि के कम भनेर मेमोरीले साथीहरुमाँझ कुरा उठाइन् । मेडुलाले क्या ब्यूटिफल आइडिया भन्दै तत्काल सहमति जनाइन् ।
पोन्स र जोन्स पनि तुरुन्त राजी भए । तर कोर्टेक्सले पहिला आनाकानी गरेता पनि मेमोरीको कुरा काट्न सकेन ।
र, तिमीहरुको यो इच्छा पूरा गर्न मेरो तर्फबाट सक्दो सहयोग गर्छु भन्यो । तर, कोर्टेक्सको भाइ नियोकोर्टेक्स भने फेरि नेपालमा पश्चिमबाट घाम उदाउला नि भन्दै घरतिर गयो ।
दृश्य १ः
मेमोरी, मेडुला, पोन्स, जोन्स र कोर्टेक्स शहरकै शानदार रेष्टुराँ, रेड चिल्ली रेष्टुराँ भित्र पसे र टेबुलमा बसे । वैटर आए । मेमोरीले भनिन्, १० कप कफी, ५ सस्पेन्सन । वैटरले भने, सस्पेन्सन त छैन ।
कोर्टेक्सले भने, सस्पेन्सन भनेको कुनै आइटम होइन, गोप्य दान हो, नर्वेमा जस्तो हामी गोप्यरुपमा अरुलाई सहयोग गर्ने परम्परा बसाल्न चाहन्छौं । यस अभियानको शुरुवात यस रेष्टुराँबाट गर्न चाहन्छौ ।
मेडुलाले थपिन्, १० कप कफीको पैसा हामीले तिर्छौ, तर ५ कप कफी मात्र खान्छौं, अनि बाँकी ५ कफ कफी खान चाहने पैसा नभएका कुनै मानिसहरु आए भने उनीहरुलाई दिनु होला । वैटरः वाह कति राम्रो आइडिया ।
दृश्य २ः
दिउँसो पोन्स फेरि रेष्टुराँ आउँछ र भन्छ, ५ प्लेट चिकन मःमः, १ सस्पेन्सन । अनि पोन्सले ५ प्लेट मःमःको पैसा तिर्छ, ४ प्लेट मःमः लिएर जान्छ ।
दृश्य ३ः
जोन्सले रेड चिल्ली रेष्टुराँमा फोन गर्छ, मैले ५ बोटल बियर र ५ प्लेट तासको पैसा पठाइदिएको छु । ३ बोटल बियर र ३ प्लेट तास यहाँ पठाइदिनु बाँकी सस्पेन्सन ।
दृश्य ४ः
एक जना अर्धबैंसे झुत्रे मानिस रेष्टुराँको ढोकामा आउँछ र भन्छ, साहुजी केही खानेकुरा छ भने दिनुहोस् न हिजो देखि मैले केही पनि खाएको छैन । रेष्टुराँको मालिक कुकुर भुकेझैं कराउँछन्, ए कान्छा यसलाई लखेट त, यस्तो भुसतिघ्रे छ, कामगरी खानु छैन, माग्न हिँड्छ । भाँडा सफा गर्दै गरेको कान्छा आउँछ र उक्त मानिसलाई झाडुले खुट्टामा हान्दै धपाउँछ ।
दृश्य ५ः
मम्मीसँग मेडुला रेस्टुराँमा आउँछिन् । अनि खाना अर्डर गर्छिन्, ७ थाली खाना, ३ तीन थाली सस्पेन्सन । ७ थालीको पैसा तिर्छिन् र ४ थाली खानाको प्याकेट लिएर जान्छिन् ।
दृश्य ६ः
एक जना किशोर रेस्टुराँ पस्छ । र, वैटरलाई भन्छ, दाइ केही खानेकुरा दिनुहोस् न, खाएपछि टेबलकुर्सी सफा गरिदिन्छु । मालिक कराउँदै आउँछन्, हैन यो खातेलाई किन भित्र पस्न दिएको ? बाहिर धपाऔ । अनि कठालो समाएर घिसार्दै बाहिर निकाल्छन् ।
वैटरः सर, हामीसँग सस्पेन्डेड फुड छ, त्यो खान दिएर सफा गर्ने काम गराएको भए हुन्थ्यो नि ?
मालिकः कहाँ छ सस्पेन्डेड फुड ? सबै सस्पेन्डेड फुड बुक भइसक्यो । फेरि यस्ता खातेहरुलाई पल्काउनु हुँदैन ।
दृश्य ७ः
राती नियोकोर्टेक्सले फेसबुक खोल्यो, आफुसँग स्कुल पढ्ने रेड चिल्ली रेष्टुराँ मालिककी छोरीले पोस्ट गरेको एउटा फोटो देख्यो, फोटोमा वैटर र उसको डैडीले बियर र तास खाँदै गरेको अनि उसकी मम्मी, ऊ र उसको भाइले चिकन, मटन, दही, पालकपनिर र फ्राइ राइस खाएको दृश्य थियो ।
अरे बाफ रे बाफ । पोस्टलाई ४ हजार लाइक र ५ सय कमेन्ट । नियोकोर्टेक्सको आँखा केही कमेन्टहरुमा पर्यो, याम्मी याम्मी । वाह खाउँखाउँ लाग्यो । मुख नै रसायो ।
एक्लै खाने हो कि हाम्लाई पनि खुवाउने होइन ? हैट, फोटो त बबाल छ नि । आहा कति सुन्दर र खुसी परिवार । कति धेरै परिकार हो ? कति खाना सकेकी ? होइन यो सस्पेन्डेड फुड भन्ने कुन आइटम हो मैयाँ ?
सस्पेन्डेड फुड पढ्ने बित्तिकै नियोकोर्टेक्स झसंग भयो । अनि उसको आँखा एकाएक फोटो माथिको स्टाटसमा हुर्रियो, माथि लेखिएको थियो, आज परिवारसँग सस्पेन्डेड फुड खाएर बहुत इन्जोय गरियो ।
नियोकोर्टेक्स खित्ता छोडेर हाँस्यो, हैट, मैले पहिला नै भनेको थिए नि ? अनि तुरुन्त त्यो पोष्ट मेमोरी, मेडुला, पोन्स, जोन्स तथा कोर्टेक्सलाई फरवार्ड गर्दै लेख्यो, ल अब भोलि नेपालमा पश्चिमबाट घाम उदाउने भो ।
(लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)