हरितालिका तीज नेपाली हिन्दु महिलाहरुको महान् चाड हो। तीजले नेपाली महिलाहरुको मनमा उत्साह, उमंग र रंग भर्ने कार्य गर्छ।
वास्तवमा तीजको ठूलो मनोवैज्ञानिक महत्व छ। तर विगत केही वर्षयता तीजमा व्यापारीकरण भएको छ।
तीज निकै भड्किलो र खर्चिलो भएको छ। तीजका गीत र नाचहरुमा अश्लिलता र नांगोपना बढेको छ। महिनौभरि तीजको दर खाने र नाच्ने विकृतिले गाउँशहर सबैलाई निकै प्रभावित पारेको छ।
तर यसवर्ष भने कोरोनाको कारण तीजको चलहपहल पहिला जस्तो नदेखिए पनि चुरा, पोते र रातो साडीमा सजिएर महिलाहरुले आआफ्ना घरमा तीजको दर खाएर नाचगान गरेको भने सामाजिक सञ्जाल मार्फत देखियो।
तीजको वैज्ञानिकता
तीज भनेको ‘सौभाग्य र समृद्धि’ को निम्ति धार्मिक परम्पराअनुसार नारीहरूले शिवपार्वतीको पूजाआजा गर्ने भाद्र शुक्ल तृतीयाको दिन हो।
हरितालिका पूजा हो। यो पूजा सँगिनीद्वारा जंगलमा पुर्याइएकी पार्वतीले ‘विष्णुसँग विवाह नहोस्, महादेव नै पति पाउँ’ भनि गरिएको निराहार व्रतको मान्यतामा अविवाहित महिलाले आफुले चाहेजस्तो पति मिलोस् भन्नको लागि तथा विवाहित महिलाले सौभाग्यको स्थिरताको लागि निराहर बसेर गरिने शिवपूजा हो।
हरितालिका तीज नेपाली नारीहरूको मौलिक परम्परा हो। त्यसो त भारतका कतिपय ठाउँहरूमा र नेपाली नारीहरू रहेका विदेशहरूमा पनि तीज मनाइने गरिन्छ।
हरितालिका दिन शिवपार्वतीको पूजाले आफ्नो मनोकामना पूर्ति हुने विश्वासमा सँगिनीहरू भेला भएर दिनभरि भजनकीर्तिन तथा दुःखसुखका गीत गाएर रमाइलो गर्ने चलन चलेको हो।
तीजको दिन दिनभरि निराहार बस्नु पर्ने भएकोले व्रत बस्ने स्त्रीहरूलाई पोसिलो र आडिलो खाना आवश्यक पर्ने भएकोले तीजको अघिल्लो साँझ दरखाने परम्परा बसेको हो।
दर भनेको आड हो, आधार हो। त्यसैले तीजको अघिल्लो साँझ स्त्रीहरूले खाइने पोसिलो खाना वा भोज नै दर हो। धान रोपेर तथा गोडमेल गरेपछि यो चाड आउने हुनाले नै माइतीले विवाहित छोरीहरूलाई बोलाएर यो चाड मनाउने गरिएको हो।
मानिसको जीवनमा व्रतउपवास को ठूलो महत्व छ। व्रतको अर्थ व्यापक छ। सरल शब्दमा भन्ने हो भने कुनै कार्य पूरा गर्ने संकल्प नै व्रत हो। व्रत उपवासका साथ गरिन्छ।
मानिसको स्वास्थ्यका लागि उपवास कति महत्वपुर्ण छ भन्ने कुरा अब भनिरहनु नपर्ला। जापानका बायोलोजिष्ट योशिनोरी ओहसुमीले उपवासले कसरी अटोफेजी (शरीर सफाइ गरेर नयाँ बनाउने कार्य) लाई सक्रिय बनाउने कार्य गर्दछ भन्ने उनले गरेको अध्ययनका लागि सन् २०१६ को नोबेल परस्कार दिइएको थियो।
तीज उपवास, पुजाप्रार्थनाको मात्र चाड नभएर नाचगान गरी रमाइलो गरेर दुःखपीडा बिर्साउने माध्यम पनि हो। अर्को शब्दमा भन्नु पर्दा तीज उदास, निराश र थकित जीवनमा रंग छर्ने उत्सव पनि हो।
साउन महिनालाई सबै नेपालीहरुले हरियो रंगले रंगाउनु तथा हरितालिका तीजमा नाचगान गरेर मनाउनु प्राकृतिक, मनोवैज्ञानिक तथा धार्मिक दृष्टिले पनि उपयुक्त हो। तर आफ्नो धर्मसंस्कृतिलाई विकृति बनाउनु कुनै पनि कोणबाट ठीक होइन।
डा. खुसीको तीजः
गत वर्षको कुरा हो अमेरिकामा अध्ययनरत डा. खुसी नेपाल भूमि के टेकेकी थिईन्।
डा. खुसी आएको थाहा पाउने बित्तिकै साउन महिनामा नै उनीकहाँ तीज निम्तोको ओइरो लाग्न थाल्यो। कतिपय संघसंसस्थाहरूले उनलाई तीजप्रतियोगिताको जुरीमा बसिदिन आग्रह गर्न थाले, कतिले प्रमुख अतिथि।
तर डा. खुसीले कसैको निम्तो स्वीकारिनन्। उनले तीज भन्दा पहिला नै तीज प्रतियोगिता आयोजना गर्नेहरूलाई त मजाले झपारेर नै पठाईन्।
नेपालीको आफ्नो मौलिक चाडमा समेत यसरी विदेशी विकृतिहरू मौलाएको देख्दा डा. खुसी निकै दुःखीत भईन्। त्यसैले उनले तीजलाई मौलिकरूपमा मनाउने निर्णय गरिन्। अनि अमेरिकाकी साथी डा. बाबी नोर्थरुपलाई समेत तीज मनाउन नेपाल बोलाईन्।
दरखाने दिनको साँझ डा. खुसीले आफैँ दर बनाईन्ः गाउँबाट ल्याएको शुद्ध घिउमा काजु, बदाम, पिस्ता, तेजपत्ता आदि समेत हालेर अनादी चामलको चाम्रे (ढडयाइएको चामल घिउमा भुटी भस्र्याइएको भोजन) बनाईन्, पनीर पालुंगो र क्वाँटी (टुसाएको गेडागुडी)–को दुईथरि तरकारी, अचार, आफु शुद्ध शाकाहारी भएपनि दिदी र फुपुहरूका लागि दुईथरिका मासुका परिकारहरू बनाईन्।
अमेरिकाबाट तीज मान्न आएकी डा. खुसीकी सँगिनी, डा. बाबी नोर्थरुपले उनलाई सगाईन्। खाना तयार भयो। अनि डा. बाबी, फुपु, दिदी, भाइ र आमाबासँग बसेर डा. खुसीले दर खुवाईन, खाईन्।
दर जति आडिलो थियो, त्यत्ति नै औँला चुस्ने मीठो थियो। डा. खुसीकी फुपु भन्दै थिईन्, यत्ति मीठो र आडिलो खाना त मैले कहिल्यै चाखेकी थिईन्।
यस्तो आडिलो खानाले त दस दिन पनि निराहार बस्ने सकिन्छ। खानापछि डा. खुसीले सबैलाई एक–एक गिलास आयुर्वेदिक लस्सी दिईन्।
चिसो, मीठो र गजबको स्वादिलो लस्सीले सबैको आत्मा नै तृप्त भयो। डा. बाबी नोर्थरुपले त जिब्रो फटकार्दै एक गिलास अरु भन्दै थिईन्।
खाना खाइसकेपछि सबैले बसेर डा. खुसीले अमेरिकाबाट ल्याएको भीसीडी हेरे, डा. नर्थरुपले एउटा हैन्सम् डाक्टरलाई देखाउँदै भन्दै थिईन्, मेरो पति त्यही हो। अनि केही क्षण तीजको गीतमा नाचे।
मानिसको जीवनमा व्रतउपवासको ठूलो महत्व छ। व्रतको अर्थ व्यापक छ। सरल शब्दमा भन्ने हो भने कुनै कार्य पुरा गर्ने संकल्प नै व्रत हो। व्रत उपवासका साथ गरिन्छ। मानिसको स्वास्थ्यका लागि उपवास कति महत्वपूर्ण छ भन्ने कुरा अब भनिरहनु नपर्ला। जापानका बायोलोजिष्ट योशिनोरी ओहसुमीले उपवासले कसरी अटोफेजी (शरीर सफाइ गरेर नयाँ बनाउने कार्य) लाई सक्रिय बनाउने कार्य गर्दछ भन्ने उनले गरेको अध्ययनका लागि सन् २०१६ को नोबेल पुरस्कार दिइएको थियो।
राती ११ बजे डा. खुसीले बदाम मिश्री आदि हालेर बनाएको विशेष दुध पिएर सबै आ–आफ्नो बिछ्यौनामा भोलि बिहान उठेर तीजको व्रत बस्ने संकल्प लिएर सुते। बिहान सबेरै उठेर सबैले नुहाइधुआइ गरेपछि डा. खुसीको निर्देशन बमोजिम ‘मम उमामहेश्वरसायुज्यसिद्धये हरितालिकाव्रतमहं करिष्य’–को संकल्प गरे।
अनि डा. खुसी, डा. बाबी नोर्थरुप, फुपु, दिदी र छिमेकी दिदीबहिनीहरू शिबमन्दिर गएर, पवित्र मनले शिवपार्वतीकोे पूजा गरे।
डा. खुसीले भन्दै थिईन्, पवित्र मनले गरेको प्रार्थना अवश्य नै पुरा हुन्छ। प्रार्थनाले संकल्पशक्ति बढाउँछ। डा. बाबी नोर्थरुपले डा. खुसीको कुरामा ‘हो मा हो’ थप्दै थिईन, मेरो एउटा प्रार्थना त तीजव्रतले पूरा गरिदिइसकेको छ, मैले हिजो जसलाई चाहेको थिएँ, आज उसलाई नै पति पाएकी छु।
अब उसँग नै आनन्दपुर्वक सारा जीवन बिताऊन पाऊँ भन्ने मेरो प्रार्थना छ।
मन्दिरबाट फर्किएपछि सबै चोकमा जम्मा भए। वरपरका दिदीबहिनीहरू पनि थपिए। तीजको गीत गाए, नाचे र आफ्नो पवित्र प्रार्थना पुरा हुने विश्वासमा मन भित्रका चोट, पीर, दुःख तथा वैरहरू तिरोहित हुने गरी खुब रमाइलो गरे।
यसै मौकामा डा. खुसीले धर्मसंस्कृतिका वैज्ञानिक तथा मनोवैज्ञानिक पक्षहरूलाई प्रकाश पारिन्।
अनि उपस्थित सबैले अब तीज मात्र होइन हरेक चाडपर्व तथा रितिरिवाजलाई नेपाली मौलिकता र वैज्ञानिक आधारमा बनाउने संकल्प गरे। तीज सकियो। यसपाली पनि डा. खुसीले अमेरिकामा यसरी नै तीज मनाउँदै छिन्।
(लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन्।)