अहिले कोरोना भाइरस(कोभिड १९) ले विश्वलाई आक्रान्त बनाएको छ । संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । विश्वका महाशक्तिशाली राष्ट्रहरु पनि यसको चपेटामा परेका छन् । गरिब मुलुकको त कुरै छोडौ विश्व अर्थतन्त्र धरासायी बन्ने अवस्था छ ।
नेपाल जस्तो गरिब राष्ट्रहरुले कोरोना भाइरस(कोभिड १९) लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केही सैद्धान्तिक पक्षहरुलाई व्यवहारमा लागू गर्न आवश्यक देखिन्छ ।
अहिले सम्म नेपालमा तिनै तहका सरकारहरुले कोरोना भाइरस(कोभिड १९) लाई व्यवस्थापन गर्न विभिन्न किसिमका विधि तथा पद्दतिहरु अवलम्बन गर्दै आएका छन् । जस्तै विभिन्न तहमा क्वारेन्टाईन तथा आईसोलेसन अस्पतालहरु निर्माण भई सञ्चालनमा आएका छन् ।
तर, संक्रमण दिन प्रतिदिन बढेकाले अबका दिनमा आईसोलेसन अस्पतालहरुले मात्र थेग्न नसक्ने निश्चित नै छ ।
अब के गर्ने
नेपाल सरकारले जति सक्यो चाँडो तीन ‘प’ को नमूना बिधी अपनाउनु जरुरी देखिन्छ ।
नेपाल सरकारले निजी क्षेत्र सँग सहकार्य गरी बन्द रहेका होटल तथा लजहरुलाई सदुपयोग गर्दा गुमेका रोजगार सृजना हुने र धरासायी बनेका होटल तथा लजहरुको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने छ । जस्ले गर्दा सरकारलाई कोरोना भाइरस(कोभिड १९) लाई व्यवस्थापन गर्न सजिलो हुने छ ।
तीन ‘प’ भनेको के हो ?
तीन ‘प’ भनेको अग्रेजीमा पब्लिक, प्राइभेट पार्टनरसिप अर्थात सरकार र निजीक्षेत्र संगको सहकार्य हो । यो नमूना अनुसार सरकार र निजी क्षेत्रको साझेदारीमा कोरोना भाइरस(कोभिड १९) लाई व्यवस्थापन गर्ने कार्यहरु अगाडी बढाउन सकिन्छ ।
यसले गर्दा निजी क्षेत्रको पनि आफ्नो देश र जनताप्रति उत्तरदायी हुने भावनाको विकास हुन्छ जसले गर्दा निजी क्षेत्रहरुले आफुलाई गौरवान्वित र अपनत्व भएको महसुस गर्ने छन् ।
कसरी गर्ने
नेपालमा विभिन्न मापदण्डका प्रसस्त होटल तथा लजहरु छन् । तिनीहरुलाई प्रोत्साहन गरौँ र यस महान कार्यमा संलग्न हुनका लागि सरकारको तर्फबाट आव्हान गरौ । किनकी यसो गर्दा गुमेको रोजगारी पनि केही हदसम्म सृजना हुने र धरासायी बनेका होटलहरुको आर्थिक अवस्था पनि मजबुत हुन सक्छ ।
नेपालका जति पनि होटलहरु छन् तिनीहरुलाई स्तर अनुसार ३ तहमा विभाजन गरेर पहिलो तहका होटल तथा लजहरुमा भेन्टिलेटरको व्यवस्था गरी लक्षण देखिएका संक्रमित विरामीहरुलाई राखेर उपचार गर्ने ब्यवस्था मिलाउन सकिन्छ ।
यस्तै दोस्रो तहका होटल तथा लजहरुमा लक्षण नदेखिएका तर रिपार्ट पोजेटिभ देखिएका विरामीहरुलाई राखेर उपचार गर्ने ब्यवस्था मिलाउन सकिन्छ ।
तेस्रो तहमा बर्गिकरण गरिएका होटल तथा लजहरुमा आरडिटी पोजेटिभ देखिएका तर पिसिआर नेगेटिभ देखिएका विरामीहरुलाई कम्तिमा १५ दिन सम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्ने ब्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
निष्कर्ष
कोरोना भाइरस(कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । नेपालका तीन तहका सरकारले हालसम्म गरेका विधि पद्धतिले मात्र पुग्न सक्ने अवस्था छैन । निजी क्षेत्रको सहकार्य जरुरी छ । सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइन तथा कोरोना भाइरस(कोभिड १९) अस्पतालहरुले भविष्यमा संक्रमण हुने विरामीहरुलाई थेग्न सक्ने अवस्था नहुन सक्छ ।
त्यसैले बन्द रहेका होटल तथा लजहरुलाई कोरोना भाइरस(कोभिड १९) उपचारको बिधी सञ्चालनमा ल्याउनका लागि होटल व्यवसायीहरु सँग सहकार्य गरी अगाडी बढ्दा कोरोना भाइरस(कोभिड १९) लाई व्यवस्थापन गर्न सजिलो हुने र केही गुमेका रोजगारहरु सृजना भई आर्थिक रुपमा धरासायी अवस्थामा पुगेका होटलहरुको अवस्था पनि सुदृढ हुने देखिन्छ ।
(केसी प्रदेश ५ मुख्यमन्त्रीको निजी सचिवको रुपमा कार्यरत छन्।)