लुम्बिनी–बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेटभन्दा करीब ५ सय मिटर दक्षिण पूर्वमा एउटा पौवाजस्तै पूरानो घर छ।
अध्येताहरुले फेला पारेका प्रमाणहरुका आधारमा त्यो घर २ सय ५० वर्षजति पूरानो हो। झिंगटीले छाएको छानो र त्यसका पूराना शैलीका कलात्मक डिजाइनमा बनाइएको घर अंग्रेजी अक्षरको ‘सी’ आकारको छ।
यो पूरानो घरसँग ऐतिहासिक र अनौठा कथा र गाथा जोडिएका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. १ मा रहेको यो घर कसले कहिले बनाएका थिए भन्ने पत्तो छैन। सायद यो घर नजोगिएको भए यो घरसँगका कथा यत्तिकै हराएर जाने थिए होलान्। घरमूलीहरुले गरेका योगदान पनि हराउँथे होला। यही घरका मुलीले बुद्ध जन्मस्थल लुम्बिनी संरक्षण र प्रचारप्रसारका लागि खर्चेको समय, योगदान र यहाँका चौधरी परिवारसँग जोडिएका केही कथा र गाथा।
खुनगाईका लुम्बिनी जोगाउने चौधरीहरु
अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईमा १५औं शताब्दीतिर खुनगाई चौधरी नाम गरेका जमिन्दार थिए। तिनै खुनगाईले लुम्बिनीको संरक्षण र रेखदेख गर्थे। विभिन्न पूस्तकहरुमा उल्लेख भएअनुसार खुनगाईको घर र मायादेवी मन्दिरको निर्माण शैली एउटै थियो। खुनगाईले मन्दिरको जिर्णोद्धार गराएका थिए।
अध्येता भोला गुप्ता भन्छन्–मायादेवी मन्दिरको भवन र खुनगाई चौधरीको घरको निर्माण शैली एउटै थियो भन्ने कुरा पूस्तकहरुमा र तस्वीरहरुमा पनि देखिन्छ, जिर्णोद्धार गर्दा एउटै शैली बनाइएको रहेछ।’ पछि मायादेवी मन्दिरको पुननिर्माण गर्दा भने अर्कै स्वरुपको बनाइएको छ।
खुनगाईले लुम्बिनी आउने पाहुनाहरुलाई बास बस्ने व्यवस्था गरिदिन्थे र लुम्बिनीको बारेमा बताउँथे। उनको बारेमा विस्तृत विवरण फेला नपरेपनि लुम्बिनीको संरक्षणमा अगुवाको भूमिका खेल्ने स्थानीयमा उनकै नाम पहिले आउँछ।
विंसं. १८०० देखि १९०० सम्म जिवित रहेका शिवचरणका कुप्रबाजेले सो समयमा लुम्बिनीको रेखदेख गरे। त्यसपछि उनका सन्तानहरुले निरन्तर लुम्बिनीको रेखदेख र संरक्षण गरेको अध्येताहरु बताउँछन्।
चौधरी परिवारबाट प्राप्त तथ्यांकअनुसार १८२० देखि १९२० सम्म शिवचरणका जिजुबाजे, १८४० देखि १९४० सम्म शिवचरणका बाजे, शिवचरणका बुवा १८८० देखि १९८० सम्म, शिवचरणको १९०० देखि १९९० सम्म, शिवचरणका छोरा सीतारामको १९२०देखि २००४ सम्म, शिवसरन प्रसाद चौधरी १९५७ देखि २०३६, विष्णुप्रसाद चौधरी १९७६देखि २०६५सम्म जिवित रहेका र लुम्बिनीको संरक्षणमा क्रियाशील रहेको पाइन्छ।
सीताराम चौधरी, शिवसरन प्रसाद चौधरी र विष्णुप्रसाद चौधरीको समयमा लुम्बिनीको अध्ययन गर्न, जानकारी लिन, भ्रमण गर्न र अनुसन्धान गर्न धेरै विद्वानहरु आएका थिए। त्यसका लिखित प्रमाणहरु उनीहरु आफैले संकलन गरेर राखेका छन्। कतिपय अहिले पनि सुरक्षित छन् भने केही अध्येताहरुले लगेर फिर्ता नगरेको विष्णुप्रसाद चौधरीका छोरा मनमोहन चौधरी बताउँछन्। उनीहरु निरन्तर लुम्बिनीको संरक्षणमा जुटेको स्थानीय पनि बताउँछन्।
‘पहिले देखि नै लुम्बिनीको सुरक्षा गर्ने, रेखदेख गर्ने, व्यवस्थापन गर्ने परिवार भनेर मनमोहन चौधरीको परिवार र उहाँका जिजुहजुरबुवाहरुलाई चिनिन्छ,–७७ वर्षका रामशुभक कुर्मी भन्छन्–म सानो सानो छँदा लुम्बिनी हेर्न भन्दै धेरै मानिसहरु आउँथे, हात्ती, घोडा लिएर उनीहरुलाई घुमाउनुहुन्थ्यो।’
शिवशरनप्रसाद चौधरीलाई तत्कालीन राजाले लुम्बिनीको व्यवस्थापकको रुपमा जिम्मेवारी दिएका थिए। सन् १९५६ मा लुम्बिनी आएका तत्कालीन राजा महेन्द्रले विष्णुप्रसाद चौधरीलाई लुम्बिनीको व्यवस्थापक भएर काम गर्न आग्रह गरेका थिए। व्यवस्थापक भएवापत् मासिक ३ सय रुपैयाँ लिन महेन्द्रले आग्रह गरेपनि चौधरीले निःशुल्क काम गर्ने वाचा गरेका थिए।
पछि सरकारी स्तरबाट लुम्बिनी विकास समिति र त्यसपछि लुम्बिनी विकास कोष स्थापना भएपछि चौधरी परिवारले लुम्बिनीको रेखदेख गर्न छाडेको थियो।
सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी त्यसलाई लुम्बिनी संरक्षणको जिम्मेवारी दिइएको थियो। सन् १९८५ देखि स्वायत्त निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन् संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ।
त्यो २ सय ५० वर्ष पूरानो घर
घर कसले कतिबेला बनाएको भन्ने प्रमाण त भेटिन्न। तर मनमोहन चौधरीका अनुसार उनका जिजुबाजे सीतारामलाई समेत घर निर्माणको कुरा थाहा थिएन।
जिजुबाजेले घरको बैठक कोठा थप गरेको हजुरबुवाहरुबाट थाहा पाएको उनी बताउँछन्। ‘यो घर यतिवर्षअघि बनेको भन्ने कुरा मेरा पूर्खाहरुलाई पनि थाहा थिएन,–उनी भन्छन्–केही लिखत, पूस्तकहरु र हजुरबुवा, बुवाहरुले भनेका कुराका आधारमा यो घर करीब २ सय ५० वर्ष पूरानो हुनुपर्छ।’
घरमा साना साना कोठा छैनन्। ठूला ठूला आकारका कोठा छन्, जसमा धेरै व्यक्तिहरु एकसाथ बस्न, खाना खान र सुत्न मिल्छ। लुम्बिनी आउने पाहुनाहरुका लागि भनेर चौधरी परिवारले खाना पकाउने भण्डारीहरु र कामदारहरु राखेको थियो। ‘खाना पकाउनका लागि भण्डारीहरु थिए, अरु काम गर्नका लागि पनि धेरै मानिसहरु राख्नुभएको थियो–कुर्मी सम्झिन्छन्–लुम्बिनी आउने विदेशीहरुको भाषा बुझ्न सकिन्न भनेर भारतबाट धेरै भाषा जानेको गाईड ल्याएर राख्नुभएको थियो।’
घर र आगन गरेर करीब १ बिगाहा जमीन छ। जहाँ पाहुनाहरु आएर सुस्ताउन चौपारी बनाइएको छ। बौद्धकालीन मानिने पाकरीको रुखमुनि अहिले पनि चौपारी छ। त्यही चौपारीमा लुम्बिनी घुम्ने पर्यटक आएर सुस्ताउँथे। लुम्बिनीमा होटल र बास बस्न अरु ठाउँ नभएकाले लुम्बिनी आउनेजति चौधरी परिवारकै घर पुग्थे।
फुहररदेखि दलाई लामासम्मका पाहुना
भारत भएर लुम्बिनी पुग्ने पाहुनाले चौधरीको घरमा चिठी पठाउँथे। आफु आउने जानकारी गराउँथे र सहयोग गर्न अनुरोध गर्थे। त्यसपछि चौधरी परिवारले उनीहरुको समूहको संख्या र हैसियत हेरेर स्वागत गर्न टोली पठाउँथ्यो।
‘कहिले हात्ती, कहिले घोडा, टाँगा पठाइथ्यो–मनमोहन चौधरी आफु किशोर हुँदाका कुरा सम्झिन्छन्–कहिलेकाँही त उताबाट म आउँछु भनेर पठाएको चिठीभन्दा मान्छे पहिले आउँथे।’
सन् १८९६ मा जर्मनका पूरातत्वविद् डा. ए. फुहरर, सन् १८९९ मा पी सी मुखर्जी, सन् १८९८ मा अनागरिक धम्मपाल र थाई राजकुमार भिक्षु पी जी जिनवरवंश, १९१२ मा जापानका प्रसिद्ध बौद्धभिक्षु ईकाई कावागुची, १९२० मा संस्कृतिविद् राहुल सांकृत्यायन आए।
महापण्डित सांकृत्यायन पनि भारतको नौगढ भएर लुम्बिनी आएका थिए। ३० वटाभन्दा बढी भाषाका जानकार सांकृत्यायनलाई भारतमा यात्रा साहित्यका पिता पनि भनिन्छ। राहुल सांकृत्यायनले आफ्ना पूस्तकमा लुम्बिनी आएर चौधरीको घरमा बसेको र उनले पाहुनाहरुका लागि आवास बनाएको उल्लेख गरेका छन्।
सन् १९३१ मा जापानका बौद्धगुरु निची दात्सु फुजीई चौधरीको घरमा करीब २ महिना बसेका थिए। चौधरीका अनुसार सन् १९२७ मा जापानका गुरु फुजी पानीजहाज चढेर भारत हुदै लुम्बिनी आएका थिए। उनी लुम्बिनी घुमेर बास बस्न चौधरीको घरमा आएका थिए। ‘उहाँ त्यसबेलाको प्रसिद्ध बौद्धगुरु हुनुहुँदो रहेछ, उनले हजुरबुवा र बुवाहरुले भनेका कुराहरु सम्झिँदै भने–ईनारको पानी निकालेर नुहाउनुभयो। २÷३ दिन यहीँ बसेर फर्कनुभएको थियो।
सन् १९३३ मा अर्नेष्ट वेल्डस्मिथ, १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त, १९८१ मा राष्ट्रसंघका तत्कालीन महासचिव डा. कुर्तवाल हाइम लुम्बिनी आए। २००८ मा राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन आए। उनीहरुमध्ये ऊ थान्तलाई चौधरीकै परिवारले हात्तीमा लुम्बिनी घुमाएका थिए।
यहाँ तिब्बती बौद्धगुरु चौधौं दलाई लामा पनि आएका थिए। तिब्बतको टाक्सरमा जन्मिएका दलाई लामा तत्कालीन तिब्बतको राजा र प्रमुख धर्मगुरु थिए। उनले केही समय लुम्बिनीमा र चौधरीको घरमा बिताएका थिए।
‘म सानै छँदा दलाई लामा हाम्रो घरमा आउनुभएको थियो, अरु धेरै भिक्षुहरु पनि सँगै आएका थिए–मनमोहन चौधरी भन्छन्–उहाँले २–३ दिन लुम्बिनीमै बिताएको जस्तो लाग्छ।’
दलाई लामा पंचहेन लामासँगै आएको चौधरीले उल्लखे गरे। पंचहेन लामा दलाई लामा पछिका तिब्बती धर्मगुरु मानिन्छन्। लुम्बिनीमा घुम्न आएका उनीहरु ३ रात चौधरीको घरमा बिताएका थिए। लामा खटियामा सुतेका थिए। उनी सुतेको खटिया अहिले पनि सुरक्षित छ।
लुम्बिनीको ईतिहासबारेका जानकार वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले सन् १९६० तिर दलाई लामा लुम्बिनी आएको पुस्तकहरुमा उल्लेख रहेको बताए। उनले त्यसबेला लामा कहाँ बसेका थिए भन्ने जानकारी प्राप्त नभएको उल्लेख गरे। उनी गोप्य रुपमा लुम्बिनी आएकाले त्यसका अरु प्रमाण फेला नपर्ने चौधरीहरु बताउँछन्।
लुम्बिनी गुरुयोजना बनाउने जापानी वास्तुविद् प्रा.केन्जो टांगे १९७२ मा लुम्बिनी आएका थिए। तत्कालीन राजा महेन्द्र सन् १९५६ मा लुम्बिनी आए। महेन्द्रले चौधरी परिवारको घरको अवलोकन गरेका थिए।
सन् १८९६ मा पाल्पाली गर्भनर जनरल खड्ग शमशेर लुम्बिनी आए। १९३० को दशकमा केशर शमशेर राणाले खुनगाई चौधरीद्वारा जीर्णोद्धार गर्दै आएको मायादेवी मन्दिरलाई पुनः जीर्णोद्धार गरेर नयाँ आकार दिएका थिए।
नेपाली र भारतीय अध्येताहरु महिनैपिच्छे लुम्बिनी आइरहेका हुन्थे र सबैजसो चौधरीकै घरमा बस्थे। तत्कालीन लुम्बिनी अञ्चलका अञ्चलाधीश काजीमान कन्दङ्वा, लुम्बिनी विकास कोषको अध्यक्ष हुनुपुर्व लोकदर्शन बज्राचार्य लुम्बिनीमा आएका थिए। तत्कालीन एमाले नेतृ साहना प्रधान पनि लुम्बिनी आएर लामो समय सोही घरमा बसेकी थिईन्। पाहुनाका लागि भनेर बनाएको घर भने अहिले जीर्ण अवस्थामा छ। घरसँग जोडिएका धेरै कुराहरु पनि हराउँदै गएका छन्।
चौधरी परिवारले आगन्तुकहरुको विवरण राख्नका लागि बनाएको आगन्तुक पूस्तिकामा धेरै आगन्तुुकले आफ्ना कुरा लेखेका थिए। तर त्यो पूस्तिका लुम्बिनी विकास कोषका कर्मचारीले फोटोकपी गर्न भन्दै लगेर फिर्ता नगरेको मनमोहन चौधरी बताउँछन्।
‘को पाहुना कहिले आउनुभयो भन्ने सबै कुरा लेखेका ४ वटा पूस्तिका थिए, दलाई लामाले पनि त्यसमा यहाँ आएर खुशी लागेको भन्ने कुरा लेख्नुभएको थियो, चौधरी भन्छन्–यी चीजहरु महत्वपूर्ण छन्, यिनको सुरक्षा गर्नुपर्छ, एककपी मलाई दिनुस् फोटो कपी गर्छु भनेर कोषका कर्मचारी बाबुकृष्ण रिजालले लगेका थिए, त्यसपछि ती मान्छे पनि गायब भए, पूस्तिका पनि गायब भए।’ ४ वटा आगन्तुक पूस्तिकामध्ये एउटा पूस्तिका भने अझै पनि सुरक्षित छ।
गाउँलेले सुरक्षा र भरोसा मान्ने परिवार
चौधरी परिवार लुम्बिनीको संरक्षणमा मात्रै हैन, गाउँलेको सुरक्षा र भरोसा बनेको थियो। गाउँका सामाजिक गतिविधिदेखि धनमालको सुरक्षामा पनि चौधरी परिवारलाई गाउँलेले विश्वास गर्थे। त्यो विश्वास चौधरी परिवारले अझै पनि जोगाएको देखिन्छ।
गाउँमा सुनचाँदीको व्यवसाय गर्नेहरुले चौधरी परिवारलाई बैंकको रुपमा मान्छन्। गाउँका करीब आधा दर्जन सुनचाँदी व्यापारीहरुले चौधरीको घरमा सुनचाँदी राख्ने गोदाम बनाएका छन्। उनीहरुले दिनभर व्यापार गरेर बाँकी रहेको सुनचाँदी चौधरीको घरमा ल्याएर राख्छन् र अर्को दिन बिहान फेरि बजारमा लैजान्छन्।
‘म यही घरमा जन्मे, हुर्केँ, यहाँ कुनै पनि हिसाबले सुरक्षाको कमी भएन, चौधरी परिवारसँगै हुर्किएका लुम्बिनी विकास कोषमा सुरक्षा इन्चार्जको भूमिका निर्वाह गरेर अवकाशप्राप्त रामचन्द्र सिंह भन्छन्–राजनीतिक आन्दोलनहरु हुँदा, द्वन्द्वकालमा पनि यहाँ असुरक्षा महसुस भएन, त्यसैले पनि होला सबैले विश्वास गर्छन्।’
व्यापारीलाई सुनचाँदी राख्नका लागि चौधरीको घरमा छुट्टै कोठा छ। त्यो कोठामा पूस्तौंदेखि सुनचाँदी र गरगहना राख्ने गरेको स्थानीय हरिशचन्द्र बर्माले बताए।
उनका हजुरबुवाको पालामा त्यसअघिका पूस्ताले राख्नेगरेकोले त्यसलाई नै निरन्तरता दिएको उनी बताउँछन्। ‘अहिलेसम्म केही कुरा हरायो, चोरी भयो भन्ने छैन, उनले भने–मेरा हजुरबुवा पारसनाथ, बुवा देवीशरणले पनि राख्दै आउनुभएको थियो, मैले पनि यहीँ ल्याएर राख्छु।’
चौधरी परिवारले राजनीतिक रुपमा पनि स्थानीयको मन जितेको छ। सीताराम चौधरी रुपन्देही जिल्ला पञ्चायतका सभापति भए।
उनका ५ भाई छोरामध्ये जेठा ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद निर्वाचित भए र श्रम, कृषि, युवामन्त्री भए। साईँला छोरा मनमोहन चौधरी तत्कालीन भगवानपूर गाउँ पञ्चायतका प्रधानपञ्च भए।
अहिले उनी स्वतन्त्र उम्मेदवारबाटै विजयी भएर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख छन्। यिनै प्रमुख चौधरी आफ्ना पुर्खाले बनाएको, जोगाएको घर अब कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छन्।