बुटवल-पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो सिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानको सुरुवात भएको छ ।
घरबारबिहीन बेसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरुलाई हामी तयार छौं भन्ने नाराका साथ अभियानको सुरुवात गरिएको हो । पहिलो चरणमा मठमन्दिरमा बसेर भिक्षा माग्नेलाई हटाइने प्रदेश सरकारको योजना छ ।
सोमबार सिद्धबाबामा मन्दिरमा भिक्षा मागेर खाने १८ जना सन्तमहन्तहरुलाई बुटवलस्थित मानव सेवा आश्रममा लगिएर राखिएको छ ।
प्रदेश सरकारले गत वर्षदेखि नैं सुरु गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो ।
प्रदेशले सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयां विनियोजन गरेको छ । यो अभियानले भिक्षा दिने र भिक्षा लिने सबैलाई निरुसाहित गर्ने अपेक्षा गरिएको छ ।
प्रदेश नम्बर पांचका विभिन्न धार्मिक मठमन्दिर, शहरका पार्टी पौवामा भिक्षा मागेर जीवन गुर्जाने धेरै मानिसहरु छन् । प्रदेशमा सडक मानव कति छन् भन्ने एकिन तथ्याङक भने प्रदेश सरकारसँग छैन् ।
सडक मानवहरुलाई राख्ने व्यवस्था मानव सेवा आश्रमले लिएको छ । त्यस्तै प्रदेश सरकारले अनाथ र जेष्ठ नागरिकको लागि रुपन्देहीकैं सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयां विनियोजन गरेको छ ।