बुटवल- संविधानले नै बाध्यात्मक व्यवस्था गरेकाले धेरै स्थानिय तहहरुमा महिलाले उपप्रमुखको जिम्मेवारी पाएका छन्। महिलालाई नीति निर्माणको पहुँचमा पु¥याउन ३३ प्रतिसत आरक्षणको व्यवस्था गरिएको छ। स्थानिय सरकारमा झण्डै ४० प्रतिसत झण्डै महिलाको उपस्थीति छ। तर अझै पनि मुख्य पदहरुमा महिलाको पहुँच पुग्न सकेको छैन।
लुम्बिनी प्रदेशका १ सय ९ स्थानिय तह मध्ये एउटा स्थानिय तहमा मात्र महिला प्रमुख छन्। यसले मुख्य पदमा महिलाको उपस्थिती एक प्रतिसत भन्दा पनि कम देखाउँछ ।
रुकुम पुर्वको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतम प्रदेशकै एक मात्र महिला पालिका प्रमुख हुन्। २०७४ सालमा भएको स्थानिय चुनावमा उनी तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेकी थिइन्। चुनाव पनि जितिन्।
आफ्नो क्षेत्रमा चुनाव जित्न भन्दा पार्टीबाट टिकट पाउन बरालले बढी संघर्ष गर्नुपर्यो। ‘तीन जना पूरुष र म गाउँपालिकाको अध्यक्षको दाबेदारी थियौं। अन्तिममा दुई जना पछि हट्नुभयो ।’ उनले भनिन्‘ एक जना पुरुष साथी र म भयौं। पार्टीले मलाई उमेद्वार छान्यो।’
बराल २०५६ सालको अन्त्यबाट तत्कालिन नेकपा माओवादी पार्टीमा आबद्ध भएर भूमिगत भएकी थिइन। माओवादीको केन्द्रीय महाधिवेसन आयोजक समिति सदस्य, राज्य समिति सदस्य लगायतका पदमा रहिन। पार्टीमा आफूले गरेको मेहनत, लगानी र योगदानका कारण चुनावमा आफूलाई मुल्यांकन गरिएको उनी सुनाउँछिन।
बराल बाहेक अरु महिला लुम्बिनी प्रदेशको स्थानिय तह प्रमुख भएर आउन सकेनन्। सक्ने महिलालाई पनि राजनीतिक दलको नेतृत्व तहबाट विश्वास नगर्ने उनी सुनाउँछिन्। ‘महिलालाई उमेद्वार बनाएर पनि चुनाव जितिन्छ र ? भन्ने खालको सोँच नेतृत्व तहमै छ।’ कुमारी भन्छिन् ‘समान राजनीतिक योगदान भएपनि टिकट पाउन पुरुषलाई भन्दा महिलालाई धेरै गाह्रो छ।’
तर महिलाले जिम्मेवारी पाएमा पुरुषले भन्दा निकै राम्रो भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ। आफ्नो क्षेत्रमा तुलनात्मक रुपमा पुरुषले भन्दा आफूले धेरै राम्रो काम गरेको सिस्ने गाउँपालिका अध्यक्ष बरालको दाबी छ। राजनीति क्षेत्रमा आबद्ध महिलालाई घरायसी र सामाजिक कामको दोहोरो जिम्मेवारी हुने गर्दछ। तर अवसर पाएमा महिलाले दुबै जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सक्ने उनको भनाई छ।
कतिपय ठाउँमा कुमारी बराल गौतमलाई गाउँपालिका अध्यक्ष हुन् भनेर विश्वास पनि गर्दैनन्। प्रदेश समन्वय परिषदको बैठकको लागि बुटवलमा आउँदा बरालले आफ्नो लामो परिचय दिनुपर्यो। एउटा सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे।
उनले सोधे ‘हजुर कुन पदमा हुनुहुन्छ?’
बरालले भनिन ‘अध्यक्ष हुँ।’
‘ए वडाध्यक्ष?’
‘होइन म गाउँपालिका अध्यक्ष हो।’
ति सञ्चारकर्मीले फेरी सोधे ‘ए गाउँपालिकाको उपाध्यक्ष भन्नुभएको ?’
‘होइन गाउँपालिका अध्यक्ष नै हुँ।’
ति सञ्चारकर्मी दंग मान्दै भने ‘ए महिला पनि स्थानिय तहका प्रमुख हुँदा रहेछन्। मैले त यहाँ महिला प्रमुख छैनन् भन्ने सोंचेको थिएँ।’
प्रदेशकै एक मात्र महिला पालिका प्रमुख भएकाले कुमारी बराल गौतम धेरै कार्यक्रमहरुमा पुग्छिन्। प्रदेश सरकार र संघ सरकारका धेरै कार्यक्रममा सहभागी भएकी छन्।
कुमारी सहित देशभरमा १८ जना महिलाले मात्र स्थानिय तहमा प्रमुखको जिम्मेवारी पाएका छन्। एक महानगरपालिका र ६ वटा नगरपालिकामा महिला नगरप्रमुख छन्। ११ वटा गाउँपालिकामा महिलाले अध्यक्षको भूमिका निर्वाह गरेका छन्। आगामी चुनावमा ७ सय ५३ स्थानिय तह मध्ये धेरैमा महिलाले नगरप्रमुख तथा अध्यक्षको जिम्मेवारी पाउनुपर्ने उनको भनाई छ। ‘अहिलेको अनुसार पालिका प्रमुखमा महिलाको सहभागीता तीन प्रतिसत पनि छैन। हाल उपप्रमुख रहनुभएकाहरु धेरैले आफ्नो क्षमता देखाउनुभएको छ।’ बरालले भनिन्‘ उहाँहरु मध्ये धेरैलाई पालिका प्रमुखको जिम्मेवारी दिने वातावरण बनाउनु पर्छ। अर्को चुनावमा महिलालाई सहायक पदमा मात्र सिमित राख्न हुँदैन। मुख्य पदमा पनि पु¥याउनुपर्छ।’
संसदीय चुनावमा पनि महिलाको सहभागीता समानुपातिकमा मात्र सिमित देखिन्छ। नेताहरुले पुरुष उमेद्वारहरुलाई मात्र प्रत्यक्ष उमेद्वारको टिकट दिने गर्दछन्। अब समानुपातिक तर्फबाट सांसद भएर राम्रो भूमिका खेलेकालाई पार्टीले प्रत्यक्षमा पनि टिकट दिनुपर्ने बराल बताउँछिन्।